विकासन्युज

म्याग्देमा दश शय्याको अस्पताल बन्दै

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्रगतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । भवन निर्माणको ठेक्का ऋषि शक्ति/होम निर्माण जेभी कम्पनीले पाएको छ । उक्त भवन विसं २०८० जेठ १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कुल लागत १० करोड ५० लाख ४२ हजार दुई सय ७५ रुपैयाँ रहेकामा बोलपत्रमार्फत सात करोड ३४ लाख ५० हजार एक सय ९६ रुपैयाँमा ठेक्का लागेको हो । हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णयबमोजिम अस्पताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार एचए, दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहनेछ । अस्पताल निर्माण सम्पन्न भएपछि म्याग्दे गाउँपालिकावासीलाई आधारभूत तहको स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास लिइएको छ । ‘मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा परेको सन्दर्भमा यो अस्पतालको सुरुआतसँगै जटिल प्रकारको सेवा सञ्चालनमा जोड दिनेछौँ’, अध्यक्ष श्रेष्ठले भने ।

सनराइज क्यापिटलले माघ १० गतेदेखि फोकस्ड इक्विटी फण्ड बिक्री खुला गर्ने

काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फोकस्ड इक्विटी फण्ड एक बन्दमुखि योजना हो । योजनाको अवधि १० वर्षका रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई निष्काशन गर्ने भएको हो । जसमध्ये १ करोड ८० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकलाई सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्ने भएको हो । क्यापिटलको उक्त फण्ड छिटोमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २४ गतेसम्म लम्बिनेछ । उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी ३) रेटिङ्ग प्रदान गरेको छ । कोष प्रबद्र्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

काठमाडौंमा विद्यालयको नामाकरण अंग्रेजी राख्ने अभ्यास बढ्दो, बालेनको पहिचानको मुद्दा छायामा

काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि सोही महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ५ वटा शैक्षिक संस्थाहरुले नाम परिवर्तन गरेका छन् । जसमध्ये सबै स्कुलहरुले अंग्रेजी शब्दबाट उच्चारण गरिने विद्यालयको नाम परिवर्तन गरेर नै अंग्रेजी नाम कायम गरेका छन् । त्यस्तै गत मंसिर २० गते काठमाडौं महानगरले ३ वटा निजी विद्यालयको नाम परिवर्तनको लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ । सो प्रकाशित सूचनामा २ वटा विद्यालयले नेपाली नामबाट अंग्रेजी नामको प्रस्ताव गरेका छन् भने अर्को एउटा विद्यालयले अंग्रेजी शब्द उच्चारण हुने नामबाट अंग्रजी नाम नै प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले विकासन्युजलाई उपलब्ध गराएको सूचनाअनुसार शिक्षा सम्बन्धी अधिकार सो महानगरमा आइसकेपछि १७ वटा शैक्षिक संस्थाहरुले नाम परिवर्तन गरिसकेको छ । जसमध्ये ९ वटा शैक्षिक संस्थाले अंग्रेजीबाट नेपाली, ४ वटा शैक्षिक संस्थाले नेपालीबाट नेपाली र ४ वटा शैक्षिक संस्थाले अंग्रेजीबाट अंग्रेजीमा नाम परिवर्तन गरेका छन् । त्यस्तै अन्य शैक्षिक संस्थाहरुले पनि कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन गरिरहेको विभागका अधिकारीले बताएका छन् । बालेनको पहिचानको मुद्दा र विद्यालयहरुको नाम काठमाडौंमा मेयर बालेनको उदय हुनुको एउटा कारण उनले उठाएको पहिचानको मुद्दा पनि हो । मेयर बालेनले आफ्नो चुनावी घोषणापत्रमा ४ वटा विषयलाई काठमाडौंको पहिचानसँग जोडेका थिए । घोषणापत्रमा मात्रै नभएर मेयर बालेनले स्थानीय तहको निर्वाचन पूर्व भएका अधिकांश सार्वजनिक कार्यक्रम, अन्र्तक्रिया तथा छलफलहरुमा समेत काठमाडौंको ऐतिहासिकताको संरक्षणलाई निकै जोड दिएर विषयवस्तु राख्ने गर्दथे । काठमाडौंको पहिचानसँग इतिहास, सम्पदा, कला संस्कृति, समुदाय, भाषा, सार्वजनिक क्षेत्र, विकासक्रम लगायत धेरै विषयहरु जोडिएका हुन्छन् । यी मध्ये आम मानिससँग जोडिएको शैक्षिक क्षेत्र पनि एक हो । तर, काठमाडौंमा बालेनको आगमनपछि नै निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुको नामाकरण अंग्रेजीकरण गर्ने पहल बढ्न लागेको प्राप्त तथ्यांकले देखाएको छ । मेयर बालेनले काठमाडौंलाई नेपाः उपत्यकाका रुपमा विकास गर्ने विषयको उठान घोषणापत्रमार्फत गरेका थिए । त्यस्तै, स्थानीय संस्कृति, भाषाको पवद्र्धन, पुराना स्तुप, गुम्बा र मन्दिरहरुलाई लिच्छबी तथा मल्लकाल अनुसार पुनर्निमाण गरिने विषयलाई उनले आफ्नो घोषणापत्रमा प्राथमिकता दिएर उठान गरेका थिए । शैक्षिक संस्थाहरु कम्पनीमा दर्ता भएको कारणले गर्दा उनीहरुको नाम परिवर्तनको विषयसँग महानगर नजोडिने शिक्षा विभाग बोर्डिङ शाखाका प्रमुख मोतीराज खनालले बताए । ‘विद्यालयहरु कम्पनीमा दर्ता भएर सञ्चालन भएका छन्, उतैबाट नाम परिवर्तन गरेर आउँछन्, हामीले सो संस्थासँग जोडिएको कुनै विषय कसैको केही छ की भनेर मात्रै सूचना प्रकाशित गर्ने हो’, खनालले भने । कम्पनीको कार्यक्षेत्र राष्ट्रिय स्तरमा हुने भएको र महानगरसँग नजोडिएर नै शैक्षिक संस्थाहरुले आफ्नो नाम हेरफेर गर्न सक्ने भएकाले महानगरले सो विषयमा केही गर्न नसक्ने प्रमुख खनालले बताए । तर, विद्यालयहरुका नामहरुको सन्दर्भमा महानगरको धारणाको विषयमा भने उनले केही बताउन चाहेनन् । शैक्षिक संस्थाहरुको अंग्रेजी नामाकरण नै गर्न नहुने भन्ने नभएको तर मुलुकको पहिचानसँग नै नजोडिएको विदेशी ठाउँ र पहिचानको नाम भने उपयुक्त नहुने प्याब्सनका अध्यक्ष डिके ढुंगाना बताउँछन् । ‘अंग्रेजी नाम नै राख्न हुन्न भन्ने हुँदैन, एउटा राम्रो अर्थ बोकेको अंग्रेजी नाम राख्न सकिन्छ तर विदेशी ठाउँको पहिचान दिने नाम राख्ने विषय भने उपयुक्त हुँदैन’, उनले भने । काठमाडौं महानगरपालिका क्षेत्र भित्र पर्ने १७ वटा शैक्षिक संस्थाले पछिल्लो ३ वर्षमा महानगरबाट स्वीकृति लिएर नाम परिवर्तन गरेका छन् र अरु पनि कम्पनीमार्फत प्रकृयामा रहेको देखिएको छ । शैक्षिक क्षेत्र भनेको स्थायी क्षेत्र हो, जहाँ विद्यार्थीको सर्टिफिकेटको नाता सँधै जोडिएको हुन्छ तर पनि काठमाडौं महानगर क्षेत्रभित्र पर्ने निजी क्षेत्रमार्फत सञ्चालित शैक्षिक संस्थाहरुले नाम परिवर्तन गरिरहेका छन् । केही समयअगाडि विद्यालयहरुको नामको सन्दर्भमा प्रश्न उठेको र पछिल्लो समयमा धेरै नेपाली नामाकरण गर्ने होडबाजी देखिएको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताए । उनले नाम परिवर्तन गर्दा विद्यालयको पुरानो अस्तित्वलाई पनि ख्याल गरेर कहिँ न कहिँ जोडिनेगरी गर्दा राम्रो हुने बताए । काठमाडौं महानगरले शैक्षिक क्षेत्रमा पहिचानसँग सम्बन्धित पुस्तकको विकास गरेतापनि नामसँग जोडेर अन्य कुनै पहल नभइरहेको सम्बन्धित अधिकारीहरुले बताएका छन् । पछिल्लो ३ वर्षमा नाम परिवर्तन गरेका शैक्षिक संस्थाहरुको नामावली १. ब्लुमिङ फ्लावर प्राइमरी इङ्लिस स्कुल, कामपा–२९ – शिक्षार्थी पाठशाला २. मर्टियन्स मेमोरियल बोर्डिङ, कामपा–३० – शहीद स्मारक आवासीय विद्यालय ३. लिटिल जेनियस इङ्लिस स्कुल, कामपा–१५ – हार्दिक एकेडेमी ४. किण्डरपिलर एकेडेमी, कामपा–४ – शिब नर्सिङ शिक्षालय ५. गोल्डेन होराइजन, कामपा–१६ – बैदिक विद्यापिठ ६. दिव्यतारा बोर्डिङ स्कुल, कामपा–१४ – बोधिसत्व स्कुल ७. शताब्दि बोर्डिङ स्कुल, कामपा–३१ – काठमाडौं निष्ट ८. आशा इङ्लिस बोर्डिङ स्कुल, कामपा–३१ – दिव्य वाणी स्कुल ९. ब्राइट ल्यान्ड स्कुल, कामपा–१६ – ब्रुकलिन एकेडेमी १०. पूर्व पश्चिम मा.वि., कामपा–१४ – दक्षता इन्टरनेशनल स्कुल ११. प्याराडाइज इन्टरनेशनल स्कुल, कामपा–७ – सुनौलो क्षितिज १२. श्री रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, कामपा–३ – श्री रिपुमर्दिनी सैनिक महाविद्यालय १३. एमिटि विट्स को–एजुकेसन इङ्लिस स्कुल, कामपा–३ – सुप्रिम स्कुल १४. प्राक्सिस इन्टरनेसनल एकेडेमी, कामपा–७ – मनास्लु वर्ड स्कुल १५. ड्रिमल्यान्ड पब्लिक एकेडेमी, कामपा– २८ – लिबर्टी सेकेन्डरी स्कुल १६ . भ्याली भ्यू इङ्लिस स्कुल, कामपा–३१ – भ्याली भ्यू स्कुल १७. लोयोला मा.वि., कामपा–३१ – अर्वाना स्कुल अफ साइन्स

आगलागी हुँदा सुनचाँदी र फेन्सी पसलमा क्षति

  चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ३ः४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४ः१५ बजे नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।

ब्राउनसुगरसहित झापाबाट चार जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । मङ्गलबार झापा गाउँपालिकाबाट तीन र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । टाघनडुब्बा प्रहरी चौकीबाट झापा गाउँपालिका–१ स्थित सुकुम्बासी टोलमा खटिएको प्रहरी टोलीले मे८प ५३४४ नंको मोटरसाइकललाई रोकी जाँच गर्दा कनकाई–५ का २२ वर्षीय गौरव चुडाल र कनकाई–४ का ४४ वर्षीय भीमबहादुर बस्नेतको साथबाट तीन ग्राम सात सय मिलीग्राम ब्राउनसुगर एक थान डिजिटल तराजु बरामत गरेको थियो । त्यस्तै काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भट्टराई चोकमा पैदल हिँडिरहेका सोही स्थानका २८ वर्षीय दिलीप लिम्बूलाई शङ्का लागेर जाँच गर्दा उनको साथबाट एक ग्राम पाँच सय मिलीग्राम ब्राउनसुगर बरामद गरेको थियो । यसैगरी झापा गाउँपालिका–४ र ५ को सिमानामा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–७ का २३ वर्षीय वामदेव मिश्रको साथबाट ब्राउनसुगर बरामद गरेको थियो । शङ्कास्पद अवस्थामा देखिएका उनलाई जाँच गर्दा तीन ग्राम पाँच सय मिलीग्राम ब्राउनसुगर फेला पारेको थियो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

निर्धन उत्थान लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । निर्धन उत्थान लघुवित्त लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा

गलकोट । नियमित पुनःनिर्माणको काम भए ३० महिनापछि उच्च अदालत पोखरा बागलुङ इजलासले सुविधासम्पन्न भवन पाउनेछ । भूकम्पको चपेटामा परेको उक्त इजलासको भवन निर्माण थालिएपछि अहिले उच्च अदालतको सेवा बागलुङ जिल्ला अदातलबाटै दिन थालिएको छ । विसं २०७२ को भूकम्पले कमजोर  बनाएको भवन भत्काएर सात वर्षपछि नयाँ भवन निर्माण गर्न थालिएकाले अहिले उच्च अदालतको सेवा जिल्ला अदालतकै भवनबाट दिन थालिएको हो । जिल्ला अदालतले आफ्नै भवन निर्माण गरेको जम्मा दुई वर्ष भयो । भाडाको भवनबाट जिल्ला अदालतको सेवा दिँदै आइएकामा सुविधासम्पन्न तीनतले पक्की भवन बनेपछि बागलुङ नगरपालिका–२ रुद्रेपिपलबाट आफ्नो सेवा दिइरहेको थियो । एक महिनादेखि जिल्ला अदालतको भवनबाटै उच्च अदालतको सेवा पनि  दिन थालिएको उच्च अदालतका  रजिष्ट्रार नेत्रप्रसाद भुसालले जानकारी दिए । ‘मङ्सिरको २८ गते कायममुकायम प्रधानन्यायाशीश हरिकृष्ण कार्कीले उच्च अदालतको भवन पुनःनिर्माणका लागि शिलान्यास गरेका थिए, हामीले त्यसअघि नै उच्च अदालतको सेवा जिल्ला अदालतको दोस्रो तलाबाट दिन थालिरहेका थियौँ, न्याय सम्पादनमा  एक दिन पनि असर नपर्ने गरी उच्च अदालतको सेवा अहिले एक महिनादेखि जिल्ला अदालतबाट दिन थालेका छौँ भने आवासलाई भाडाको घरमा पुर्याएका छौँ’ उनले भने, ‘जिल्ला अदालतको तीन तले भवनमाथि हामीले एक तला ट्रस्ट हालेका छौँ, पक्की भवनको दोस्रो तलासमेत हामीले प्रयोग गर्दैआएका छौँ, नागरिकले एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा पाएका छन्, जिल्ला अदालतको भवन नयाँ र फराकिलो भएकाले सेवा दिनलाई कुनै समस्या छैन ।’ रजिष्ट्रार भुसालका अनुसार ३० महिनाभित्रै उच्च अदालतको भवन पुनःनिर्माण सक्ने गरी अहिले धमाधम काम भइरहेको छ । अहिले उच्च अदालतको भवन निर्माणका लागि पुरानो जीर्ण भवन भत्काएर नयाँ भवनका लागि जग खन्ने कार्य सम्पन्न भइसकेको छ । अदालतको मुख्य भवन तथा आवास निर्माणका लागि ५७ करोड ४२ लाखमा काठमाडाँैस्थित श्यामसुन्दर पशुपति जेभीले ठेक्कामार्फत काम थालेको हो । उक्त इजलासको भवन पुनःनिर्माण गर्न बजेट अभावका कारण सात वर्षपछि मात्रै थालिएको त्यहाँका  मुख्य न्यायाधीश कृष्ण गिरीले जानकारी दिए । भूकम्पपछि जिर्ण भवन प्राविधिक दृष्टिले निकै खतरापूर्ण भए पनि सात वर्षदेखि जोखिम मोलेरै न्याय सम्पादन भइरहेकामा अहिले बल्ल पुनःनिर्माण थालिएको हो । बागलुङ नगरपालिका –२ स्थित सात रोपनी जग्गामा रु ५७ करोडको  लागतमा सुविधासम्पन्न उच्च अदालतको भवन र सामूहिक आवास, अथितिगृहलगायत संरचान एकैसाथ निर्माण थालिएको छ । प्राविधिकरूपमा बस्नै नमिल्ने अदालतको भवनलाई सामान्य मर्मतसम्भारपश्चात् अहिलेसम्म सेवा दिँदै आइएको थियो । जिल्ला अदालतको भुइँतला र पहिलो तलाबाट जिल्ला अदालतको सेवा र दोस्रो तला र छतमा बनाइएको ट्रस्टको छाप्रोबाट उच्च अदालतको सेवा दिइएको छ । नयाँ निर्माण हुने उच्च अदालतको भवन प्रविधिमैत्री, अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी हुनाका साथै बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवनभन्दा ठूलो र आधुनिक भएको सघन सहरी तथा भवन निर्माण कार्यालयका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनमा विद्युतीय लिफ्टको समेत व्यवस्था छ । भवनसँगै दुई–दुई तलाका अन्य भवन र अथितिगृहसमेत निर्माण गरिनेछन् । दुईवटा इजलास रहेको उच्च अदालतमा नयाँ भवन निर्माणसँगै छवटा इजलास कक्ष हुनेछन् । तीस महिनाभित्र भवन निर्माण सक्ने गरी पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरिएको थियो । रासस

हल्ट प्राइजका सहभागीलाई सौरभ ज्योतिको आइडिया

काठमाडौं । हल्ट प्राइजले सफ्टवेरिका कलेजमा हल्ट प्राइज प्रतियोगितामा सहभागी विद्यार्थीहरुका लागि ‘आइडिया टु इन्टरप्रेन्योर’ विषयक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा उद्यमी सौरभ ज्योतिले नेपालमा औद्योगिक अवस्थाको बारेमा आफ्ना विचारहरु सेयर गरेका थिए । उनले सहभागीहरुसँग भने, ‘कोरोना भाइरसको महामारीले विश्वभरका व्यवसायका लागि अभूतपूर्व चुनौति खडा गरेको छ तर नेपालको आइटी उद्योगका लागि यसले वृद्धि र विकासका अवसरहरु पनि प्रदान गरेको छ ।’ ‘महामारीको समयमा आइटी उद्योगको ठूलो विकास भएको छ’, ज्योतिले भने, ‘घरबाटै काम गर्नु र अनलाइन सञ्चार सामान्य बनेका कारण व्यवसायीहरुले यो परिवर्तनमा आफूलाई अनुकूलन गर्नुपरेको छ ।’ ज्योतिले नेपाल शून्य कार्बन उत्सर्जन गर्ने मुलुक बन्न सक्ने सम्भावनालाई पनि प्रकाश पार्दै मुलुकमा दिगोपनको उच्च सम्भावना रहेको बताए । उनले भने, ‘यो संक्रमणमा तथ्यांकले महत्वपूर्ण भूमिका खेल्छ ।’