धितोपत्र बोर्डले पनि दियो मेगा र इन्भेष्टमेन्ट बैंकलाई मर्जरको अन्तिम स्वीकृती
काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डले मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरकाे अन्तिम स्वीकृती दिएकाे छ । बाेर्डले धिताेपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ काे दफा ८ काे उपदफ (४) बमाेजिम अन्तिम स्वीकृती दिएकाे हाे । मेगा र नेपाल इन्भेष्टमेन्टले मर्जरको अन्तिम स्वीकृतीको लागि धितोपत्र बोर्डलाई संयुक्त रुपमा पुस ११ गते पत्र पठाएको थियो । राष्ट्र बैंकको गत बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेदेखि हुँदैछ ।
सेयर बजारबारे प्रधानमन्त्रीकोे चासो, अनुत्पादक क्षेत्रमा ऋण ठप्प पार्न निर्देशन
काठडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुत्पादक क्षेत्रमा कर्जा लगानी ठप्प पार्न निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्री विष्णु पौडेलर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्दै उनले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह ठप्प पार्ने निर्देशन दिएका हुन् । उनले छलफलमान सेयर बजारको विषयमा पनि चासो राखेको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य किरणले बताए । ‘प्रधानमन्त्रीज्यूले अनुत्पादन क्षेत्रमा कर्जा लगानी रोक्न निर्देशन दिनु भएको छ, उहाँले सेयर बजारको विषयमा पनि चासो राख्नु भएको छ, देशको अर्थतन्त सुधारका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने उहाँको धारणा थियो,’ उनले विकासन्युजसँग भने । यस्तै, देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा गर्भनर र अर्थमन्त्रीसँग छलफल गरेका छन् । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए ।
कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे धारण सार्वजनिक गर्ने
काठमाडौं । नेपाली कांग्रेसलेसमसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ । कांग्रेसले बुधबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीले आफ्नो धारण सार्वजनिक गर्न लागेको प्रष्ट पारे । यस्तै, कांग्रेसले आज निर्वाचन परिचालन तथा प्रचारप्रसारमा खटिएका पार्टीका नेता/कार्यकर्ता लगायतलाई पनि धन्यवाद दिने कार्यक्रम तय गरेको छ ।
जनशक्ति नहुँदा विकास प्राधिकरणको काममा समस्या
काठमाडौं । काठमाडौं उपत्यकाको समन्वयात्मक रुपमा योजनाबद्ध एवं एकीकृत विकास गर्ने उद्देश्यले स्थापना भएको काठमाडौं उपत्यका विकास प्राधिकरणमा स्वीकृत दरबन्दी अनुसारका कर्मचारीको व्यवस्था नहुँदा कार्यसम्पादनमा असर गरेको छ । प्राधिकरणमा स्वीकृत दरबन्दीअनुसार विकास आयुक्तसमेत एक सय ३७ जनाको दरबन्दी छ । तर हाल कार्यरत भने ६० मात्र रहेको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले जानकारी दिए । प्राधिकरणमा दरबन्दी अनुरुपका कर्मचारी नभएपछि लेखासहित १३ जना कर्मचारी भने निजामती सेवाबाट काजकमा ल्याएको पनि उनले बताए । लामो समयदेखि पदपूर्ति नभएकाले हाल कार्यालयमा आठौँदेखि दसौँ तहसम्मका कर्मचारी पनि छैनन् । यसका कारण हाल प्राधिकरणमा आठौँ तहका ‘डिभिजनल प्लानर’, ‘डिभिजनल इञ्जिनियर’, ‘वरिष्ठ कानुन अधिकृत’ र ‘प्रशासकीय अधिकृत’ पद रिक्त छ । यसैगरी नवौँ तहका ‘सिनियर डिभिजनल इञ्जिनियर’ र ‘वरिष्ठ प्रशासकीय अधिकृत’ पद पनि रिक्त रहेको छ । दसौँ तहका इञ्जिनियरिङ र प्रशासनतर्फका उपविकास आयुक्त पद पनि प्राधिकरणमा लामो समयदेखि रिक्त रहेको जनाइएको छ । कार्यालय स्वीकृत दरबन्दीको करिब ४० प्रतिशत जनशक्तिका भरमा सञ्चालन गर्नुपर्दा प्राधिकरण ऐन २०४५ र नियमावली २०६८ ले तोकेका काम गर्न असहजता भएको प्रशासकीय अधिकृत अर्यालले बताए । प्राधिकरणलाई ऐनले तोकेका अन्य कार्यसम्पादनमा पनि जनशक्ति अभावले प्रभाव परेको छ ।
आइएमई पेबाट आईएमई लाइफको प्रिमियम तिर्दा १ हजारसम्म क्यासब्याक
काठमाडौं । आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनीबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँँसम्म क्यासब्याक प्राप्त गर्न सकिने भएको हो । कार्यक्रममा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए । सम्झौता पश्च्यात आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सकिनेछ । प्रयोगकर्ताले भुक्तानी गरेपछि १ हजार रुपैयाँँको बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
‘बैंकको ब्याजदर घटाउनुस्, मौद्रिक नीतिमा गरिएका कडाइ सहज गर्नुस्’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा गर्भनर र अर्थमन्त्रीसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् । उनले अर्थतन्त्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए । छलफलका प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताएका थिए । निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न लागेको भन्दै तत्काल सुधारका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायतले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेटवार्ता गरी ब्याजदरमा स्थिरता प्रदान गर्न, पूँजीगत खर्च बढाउन अनुरोध गर्दै आएका छन् ।
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीले पाए ४ लाख भत्ता
पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै चार लाख रुपैयाँ वितरण गरेको छ । आर्थिक वर्ष २०७९र८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार विसं २०७८ को एसइई परीक्षामा सामुदायिक विद्यालयबाट तीनदशमलव ६५ वा सोभन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीलाई उक्त रकम उपलब्ध गराइएको हो । अध्ययनमा अब्बल रहेका विद्यार्थीलाई प्रोत्साहन तथा कक्षा १२ सम्म सघाउनका लागि मासिक दुई हजार पाँच सय रुपैयाँका दरले एक वर्षको रकम दिइएको थियो । योसँगै प्रतिविद्यार्थी ३० रुपैयाँ हजारका दरले कुल तीन लाख ९० हजार रुपैयाँ निकासा दिइएको गुरुङले बताए । यो सुविधा पाउनका लागि कुश्मा नगरपालिकामा रहेका १८ वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भएको हुनुपर्ने शर्त राखिएको थियो । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गइरहेकाले विद्यार्थी सङ्ख्या बढाउन कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसइईमा उक्त जिपिए ल्याएका विद्यार्थीलाई मात्रै सुविधा दिइएको हो । ‘सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सहयोग पुगोस्, उसको अध्ययनमा थप प्रेरणा मिलोस् भनेर यो कार्यक्रम स्वीकृत गरिएकाले सोहीअनुसार कार्यान्वयन गरेका हौँ । यसले सामुदायिक विद्यालयमा अध्ययन गर्नका लागि पनि विद्यार्थीलाई प्रेरणा दिने छ’, अधिकृत गुरुङले भने, ‘वर्षमा ३० हजार रुपैयाँ आउनु पनि विद्यार्थीका लागि राम्रो हो । कुश्मा नगरपालिकाका १८ माविबाहेक अन्यत्रबाट उत्तीर्ण भएकाको हकमा यो कार्यक्रम लागू भएको छैन । रकम थोरै भए पनि उनीहरूको थप अध्ययनमा यसले सघाउ पुग्ने छ ।’ नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । सामुदायिक विद्यालयबाट एसइई परीक्षामा समावेश हुने कतिपय विद्यार्थी गरिब तथा विपन्न अवस्थाका हुने भएकाले सामुदायिक विद्यालयका लागिमात्रै कार्यक्रम लागू गरिएको उनको भनाइ थियो । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने तथा कक्षा ११ बाट उत्तीर्ण हुन नसके छात्रवृत्ति भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको पनि नगरप्रमुख जोशीले बताए । नगरपालिकाको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीका अनुसार छात्रवृत्ति प्राप्त गर्ने १३ मध्ये ११ जना सदरमुकाम कुश्माबजारमा रहेको नमूना विद्यालय नारायण माध्यमिक विद्यालयका अभिषेक लामिछाने, आविष्कार पौडेल, सौगात लामिछाने, मुन्दीप भुसाल, केबलकिशोर बाँस्तोला, सागरप्रसाद शर्मा, मानव पोखरेल, प्राची श्रेष्ठ, प्रशन्न श्रेष्ठ, निशा आचार्य र आशिष आचार्य हुन् । यस्तै हिमालय माध्यमिक विद्यालयका रविन सुनाम र शिवालय माध्यमिक विद्यालय कुश्माका सुप्रिम पौडेलले पनि छात्रवृत्ति पाएका छन् ।