विकासन्युज

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

लुक्ला । तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ । मौसममा आएको खराबीका कारण यही पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । तेन्जिङ हिलारी विमानस्थलबाट अहिले दैनिक सातभन्दा बढी उडान भइरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको जनाइएको छ । प्राधिकरण प्रमुख महेश श्रेष्ठका अनुसार काठमाडौँ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिएर आउने गरेका छन् । ती विमानले फर्किंदा लुक्लाबाट यात्रु लिएर जाने गरेका छन् । चिसो अत्यधिक बढेकाले चिसो छल्न खुम्बु छाड्नेको सङ्ख्या बढेसँगै फर्किने यात्रुको चाप अधिक भएको हो । त्यसका कारण एयरलाइन्सहरुका टिकट काउन्टरमा पनि यात्रुको चाप अधिक रहेको प्रमुख श्रेष्ठले बताए । मौसममा सुधार भएसँगै सोमबारदेखि नियमित उडान भइरहेको प्राधिकरणले जनाएको छ ।

उद्योगी व्यवसायीलाई सरकार रातो कार्पेटले स्वागत गर्छ : गृहमन्त्री लामिछाने

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरेपनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन् । उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनैपनि काममा नचुक्ने प्रतिवद्धतासमेत जनाए । गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेपनि बताए । उनले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गरे । उनले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने बताए । सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुले सल्लाह सुझाव दिन आग्रह गर्नुभयो । गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरुले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्नेपनि आश्वासन दिए । उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतिको विषय भएको बताउँदै यसलाई प्राथमिकतामा राख्ने बताए । चेम्बरले गृह मन्त्रीलाई कालोबजारी,सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।

लालबन्दीबाट पाँच महिनामा ८३ करोडको तरकारी निकासी

सर्लाही ।लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९र८० मा ८३ करोड ५० लाख ८४ हजार ७५ रुपैयाँको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मङ्सिर मसान्तसम्ममा १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रुपैयाँ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ । साथै आव २०७८र७९ को अन्तिम असारमा ५५ लाख ५० हजार दुई सय किलो तरकारी निकासी गर्दा रु २० करोड २३ लाख १७ हजार पाँच सय रकम आएको व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले बताए । उनका अनुसार आव २०७९र८० को पहिलो महिना साउनमा ५५ लाख ९१ हजार किलो तरकारीबाट २० करोड दुई लाख एक हजार सात सय ५० रुपैयाँ, भदौमा ४२ लाख ९२ हजार छ सय किलोको १८ करोड ८५ लाख ५२ हजार पाँच सय रुपैयाँ, असोजमा २५ लाख ६१ हजार आठ सय ७३ किलो तरकारीको २७ करोड ८० लाख ८३ हजार एक सय २५ रुपैयाँ, कात्तिकमा १५ लाख ३३ हजार नौ सय किलोको नौ करोड ६३ लाख ७८ हजार दुई सय ५० रुपैयाँ र मङ्सिरमा २५ लाख ९७ हजार चार सय किलोको सात करोड १० लाख ६८ हजार चार सय ५० रकम प्राप्त भएको हो । आव २०७९र८० को साउन १ गतेदेखि मङ्सिर मसान्तसम्म गरी पाँच महिनामा १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए । जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभैँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने गरेका कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ । कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष मगरका अनुसार देशका सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ । लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फुलकोभी, बन्दा कोभी, घिराँैला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाजर, भिन्डी, परबल, रूख कटहर, वल, फर्सी, धनियाँको पात, कागती, उदुवा, मटरकोसा, प्याज र भेँडेखुर्सानी गरी १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ । त्यसमध्ये सबैभन्दा धेरै परवल करिब एक करोड किलो निकासी भएको छ भने सबैभन्दा कम सिमी, रूख कटहर, धनियाँको पात, कागती, फर्सी, मटरकोसा, हरियो प्याज, वल, भिन्डी र झिँगनी निकासी भएको छ ।

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गते, यस्तो बन्दैछ सञ्चालक समिति

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार मिति तय भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गते सोमबार गर्ने गरी मिति तय भएको ग्लोलब आइएमई बैंकका कम्पनी सचिव विष्णु बास्कोटाले जानकारी दिए । यस्तै, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालय लगायत सबै नियामकबाट पनि दुवै बैंकले अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । ‘दुवै बैंकका वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको छ, मर्जर अन्तिम स्वीकृति नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारले दिइसकेको छ, अब आन्तरिक व्यवस्थापन गरेर पुस २५ गते एकीकृत कारोबार गर्ने तयारी छ,’ उनले भने । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । बैंकले एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि २ दिन सेवा बन्द गर्ने जनाएका छन् । यसकारण दुवै बैंकका शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु २ दिन बन्द रहने उनले बताए । नेपाल राष्ट्र बैंकले पुस १४ गते ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)लाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । मर्जर पश्चात् ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार हुनेछ । प्रारम्भिक सम्झौतामा ‘ग्लोबल आइएमई बिओके’ नाम राख्ने सहमति भएको थियो । बैंक शब्द नभएको भन्दै राष्ट्र बैंकले नयाँ नाममा ल्याउन भनेको थियो । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्ने छन् । साथै, मर्जर पश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवण लाल मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । यस्तो बन्नेछ सञ्चालक समिति ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको थियो । सोही सहमति अनुसार मर्जर पश्चात् बन्ने बैंकको सञ्चालक समितिको पनि टुङ्गो लागेको छ । मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी नियुक्त हुने सहमति भएको छ । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ । कर्मचारी व्यवस्थापनका लागि दुवै बैंकले भिरआरएस सुविधा जारी गर्ने भएका छन् । मर्जर पश्चात् दुवै बैंकका कर्मचारी जुन पोजिशनमा रहेका छन् सोही अनुसार कायम रहने छ । ‘बैंकले भिआरएस स्किम निकालेको छ, भिआरएस स्किममा चित्त नबुझेका कर्मचारी जान सकनुहुन्छ, अब बाँकी रहेका कर्मचारीहरुलाई समान पदमा समायोजन गर्ने हो,’ उनले भने, ‘मर्जर पछि बैंकको सीईओ पछिको दोस्रो वरियतामा बिओकेका सीईओ रहने सहमति भएको छ ।’ भिआरएसमा को–को बाहिर निस्किने भनेर अन्तिम टुङ्गो नलागेको उनको भनाइ छ । मर्जर पश्चात् बैंकको कर्मचारी संख्या ३ हजार ७९३ जना पुग्नेछन् । मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । तर, दुवै बैंकले गत वर्षको नाफाबाट बोनस सेयर वितरण गरेको हुँदा चुक्ता पूँजी थप हुन सक्नेछ । बैंकको जेगडा कोष १९ अर्ब ५६ रुपैयाँ पुग्नेछ । बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब ८० अर्ब ५२ करोड रुपैयाँ र कर्जा ३ खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । मर्जर पश्चात् बैंकको शाखा सञ्जाल ३६५ वटा र एटीएम ३२८ वटा पुग्नेछन् । आवश्यकताका आधारमा शाखा कार्यालय मर्जर गर्ने कम्पनी सचिव बास्कोटाले बताए । ‘शाखा सञ्जाल जुन जुन ठाउँमा एउटै घरमा कार्यालय छन् भने त्यसलाई मर्ज गर्दै लैजाने हो, एकीकृत कारोबारसम्म सबै शाखा सञ्चालन हुन्छन्, त्यसपछि एउटै घर र ठाउँमा परेका शाखालाई मर्जर गराउने हो,’ बास्कोटाले भने ।

विद्युत् नहुँदा कुटानी– पिसानी गर्न घट्टकै भर

कालीकोट। कालीकोट नरहरिनाथ गाउँपालिकाका बासिन्दा कुटानी–पिसानीका लागि पानी घट्टको प्रयोग गर्ने गरेका छन् । रहगाड खोलामा परम्परागत पानी घट्ट रहेका छन् । विद्युत्को सुविधा नभएको गाउँपालिकामा कुटानी–पिसानीका लागि आधुनिक मिल अहिलेसम्म छैन । नरहरिनाथ–८ खुलालुदेखि वडा नं ९ लालु, ५ को रुप्सा र ७ को उच्छवसम्म पानी घट्ट छन् । नरहरिनाथ –९ लालुमा स्थित श्री जनप्रभात माविका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले भने, ‘खुलालुदेखि लालु, माल्कोट र रुप्सासम्म रहेको रहगाड खोलामा पराम्परागत पानी घट्ट रहेका छन् ।’ आधुनिक मिल नहुँदा गहुँ, कोदो, मकै पीठो बनाउनका लागि पराम्परागत पानी घट्टको प्रयोग हुँदै आएका कारणले एउटै खोलामा धेरै पानी घट्ट भएको नरहरिनाथ–१ कोटबाडाका स्थानीय कटबहादुर विष्टले बताए । ‘नरहरिनाथ गाउँपालिकामा पाँचवटा गाउँ रहेका छन् । लालु, माल्कोट, रुप्सा, कोटवाडा र कुमालगाउँ यहाँका सबैले कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन् ।’ उनले भने, ‘त्यसैले रहगाड खोलामा धेरै पानी घट्ट रहेका हुन् ।’ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनगणनाअनुसार नरहरिनाथ गाउँपालिकामा पारिवारिक घरधुरीको सङ्ख्या चार हजार चार सय २२ रहेको र जनसङ्ख्या २२ हजार चार सय १४ जना रहेकामा सबैले पानी घट्टमा नै कुटानी–पिसानी गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले जानकारी दिए । ‘गाउँपालिकाभरि कुटानी– पिसानीका लागि आधुनिक मिल छैन ।’ उनले भने, ‘गाउँपालिकाका सबै जनाले पानी घट्टमा नै कुटानी–पिसानी गरेको पीठो खान्छन् ।’ रासस

कांग्रेस केन्द्रीय परिचालन समिति बैठकमा प्रतिवेदन पेस

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो उपसमितिको प्रतिवेदन पेस गरेका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । केन्द्रीय परिचालन समितिका संयोजक श्रेष्ठको संयोजकत्वमा आज बसेको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो समितिको प्रतिवेदन पेस गरेका हुन् । उक्त प्रतिवेदनहरुलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिमा समितिका प्रस्तुत गरिने पार्टी कार्र्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य जीपछिरिङ्ग लामा, आनन्दप्रसाद ढुङ्गाना, मीन विश्वकर्मा, गोविन्द भट्टराई, सरिता प्रसाईं, रमा कोइराला पौडेल, चन्द्रबहादुर केसी, मञ्जु खाँण, हरिशरण नेपाली, जानकी सिंह, कान्तिका सैंजुवाल, पूर्वकेन्द्रीय सदस्य किरण गिरी र अनुगमन तथा सुपरिवेक्षण उपसमितिका सहसंयोजक डा कृष्णप्रसाद पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य माओवादी केन्द्रमा फर्किए

काठमाडौं । रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उनी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका थिए । उनी लुम्बिनी प्रदेशसभामा भारी मतले विजयी हुनुभएको थियो । मगरले पार्टी छाडेकामा आत्मआलोचित हुँदै पुनःमाओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन् । पार्टी छाडेर निर्वाचनमा उम्मेदवार बनेपछि उहाँलाई माओवादीले निष्कासन गरेको थियो । मगरलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रोल्पाका प्रतिनिधिसभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गरे ।

नवलपुरबाट चितवन निकुञ्जमा जङ्गल सफारी हुने

नवलपुर । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी बर्दघाट सुस्तापूर्वमा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वबाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ट्र्याक खोल्न लागिएको हो । हालसम्म जिल्लाका मध्यवर्ती सामुदायिक वनहरुमा जङ्गल सफारी हुने गरे पनि पहिलो पटक निकुञ्जको कोर एरियामा सफारी गर्ने प्रबन्ध गर्न लागिएको छ । जङ्गल सफारी ट्र्याक जिल्लाको सिख्रौली मध्यवर्ती क्षेत्र, शिसवार मध्यवर्ती क्षेत्र, लामिचौर मध्यवर्ती क्षेत्रमा पर्नेछ । यसले गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकालाई छुने देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताए । ट्र्याक निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज, होमस्टे तथा होटल एसोसिएसन नवलपुर, देवचुली नगरपालिकाको आर्थिक र शिसवार मध्यवर्ती उपभोक्ता समितिको प्राविधिक सहयोग रहने जनाइएको छ । ‘नवलपुरको पर्यटन प्रवद्र्धनमा यसले मुख्य भूमिका खेल्नाका साथै यो ठाउँको पहिचानका लागि ठूलो अवसरका रुपमा नगरले लिएको छ’, नगरप्रमुख न्यौपानेले भने, ‘पर्यटकीय क्षेत्रमा निकै सम्भावना बोकेको देवचुली डाँडादेखि सिजी शाश्वतधाम र नारायाणी नदीमा पर्यटकहरुलाई रमणीयस्थल घुमाउनका निम्ति नगरपालिकाले विशेष योजना बनाएको छ ।’ पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई यसै वर्ष पर्यटकीय क्षेत्र घोषणा गर्ने तयारी गरिएको देवचुली नगरपालिका–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताए । ‘जङ्गल सफारीको बाटो निर्माणको सुरुआतमा रहेको र आगामी माघ ५ गते हुने चौथो देवचुली महोत्सवबाट पर्यटकलाई जङ्गल सफारी गर्ने व्यवस्था गरिनेछ’, चालिसेले भने । पर्यटकीय क्रियाकलापलाई अगाडि बढाउनाले यहाँका बस्तीको आर्थिक जीविकोपार्जनका लागि नयाँ सुरुआत हुने शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए ।