विकासन्युज

१ करोडको अवैध औषधिसहित एकजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगञ्जको छपकैयाबाट एक करोड ३४ लाख रुपैयाँ भन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकी राखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । हुसैनलाई आवश्यक कारबाहीका लागि राजस्श्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।  

खुल्यो जग्गाको कित्ताकाट

डुम्रे । तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले मालपोत कार्यालय तनहुँका प्रमुख चिरञ्जीवी पौडेल, तनहुँ नापी अधिकृत कृष्णप्रसाद आचार्य, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई वर्गीकरण पुस्तक तथा पत्र हस्तान्तरण गरे। जग्गाको कित्ताकाट खुला भएको पुस्तक हस्तान्तरण भएसँगै म्याग्दे गाउँपालिका तनहुँको जग्गाको कित्ताकाट खुलाउने पहिलो पालिका बनेको छ। विसं २०७९ साउनदेखि रोकिएको जग्गाको कित्ताकाट अब गाउँपालिकामा खुलेको मालपोत कार्यलयका प्रमुख पौडेलले बताए। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनका साथै भूउपयोग ऐन, २०७६ को दफा ४ तथा भूउपयोग नियमावली, २०७९ को नियम ५, अनुसूची १ मा भएको व्यवस्थाको आधारमा गाँउपालिकाले विभिन्न चरण पार गरी पालिकाभित्रको जग्गा वर्गीकरण गरेको थियो। जग्गा वर्गीकरणको पुस्तक स्थानीय भूउपयोग परिषद्बाट स्वीकृत गरी कार्यान्वयनका लागि नापी कार्यालय, मालपोत कार्यलय, सङ्घीय भूउपयोग परिषद् (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबार, नापी विभाग मीनभवन काठमाडौं, प्रदेश भूउपयोग परिषद्) भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमा पत्र पठाइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए। जग्गाको वर्गीकरणसँगसँगै अब गैरकृषि क्षेत्रमा चार आना एक पैसा र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न पाइनेछ। यो निर्णय कार्यान्वयन भएसँगै पालिकाभित्रका जग्गाको कित्ताकाट खुला हुँदा नागरिकलाई राहत हुने अध्यक्ष श्रेष्ठले बताए। रासस

विकास सहायता कार्यक्रमका लागि २०४ आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मङ्सिर १ गते कामपाले सार्वजनिक सूचना प्रकाशन गरेको थियो । उक्त सूचनाका आधारमा १० क्षेत्रगत कार्यक्रमका लागि ती प्रस्ताव पेस भएका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोरखेलले जानकारी दिन । महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ हो । यो कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ । एक करोड विनियोजन भएको खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई सहयोग कार्यक्रमका लागि २६ प्रस्ताव आएका छन् । यसैगरी लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसाविरुद्धको अभियान, अपाङ्गताका क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य, विभिन्न स्रष्टाको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदानलगायतका लागि रकम विनियोजन गरिएको छ । आएका प्रस्तावमध्ये कार्यक्रमको प्रकृति, लक्षित वर्ग, भौगोलिक अवस्थाजस्ता सूचकका आधारमा दोहोरिएका कार्यक्रम घटाउने तथा अपुग भएका क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी थप काम अघि बढाउने कामपाले जनाएको छ ।

सिन्धुपाल्चोकको गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकाे जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ । मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ । यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ । स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व र जडीबुटीका हिसाबले पनि गुफाडाँडा भूःस्वर्गजस्तै छ । प्रथम राष्ट्रिय जलवायु सम्मेलन पूर्व चौँरीखर्क मात्रै रहेको ठाउँमा जलवायु सम्मेलनपश्चात पर्यटकीय गन्तव्यको विकाससँगै गुफाडाँडा जलवायु उद्यान घुम्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको वातावरणमा रमाउन पाउँदा खुसी लागेको काभ्रेपलाञ्चोकका आशाकाजी श्रेष्ठले बताए । चौताराबाट आएकी बिन्दु सापकोटा दोस्रो पटक घुम्न आएको बताउँछिन् । लामाहरू ज्ञान प्राप्तिका लागि गुफा बसेका कारण गुफाडाँडा भनिएको किंवदन्ती रहेको पछिल्लो समय आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताए । विभिन्न सङ्घसंस्थाको बैठक, गोष्ठीलगायतका कार्यक्रमसमेत गुफाडाँडा जलवायु उद्यानमा आयोजना हुन थालेपछि चहलपहल बढेको छ । गुफाडाँडाको प्रचार–प्रसारसँगै स्थानीयको आयआर्जनमा पनि टेवा पुगेको मेलम्ची नगरपालिका–९ का युवराज पुरी बताउँछन् । पर्यटक पर्खाइमा बसेको डाँडामा पुग्न भने बर्खायाममा सकस हुने गरेको छ । यहाँ होटेल तथा होमस्टेको अभाव छ । पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर यो क्षेत्रमा चिया बगान, वनभोजस्थल, भ्यूटावर, रिसोर्ट, खेलमैदान, संस्कृति झल्किने सङ्ग्रहालयलगायत स्थापना गर्ने उद्देश्य रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको भनाइ छ । रासस

१ महिने स्वस्थानी व्रत आजदेखि आरम्भ हुँदै

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ फूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ। सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास गरिन्छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ। सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ’, उनले भने। यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ। रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत नेपाली समुदायमा प्रचलित छ। सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग–नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ। गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए। शालि नदीमा माधवनारायण एवं स्वस्थानी व्रत यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालि नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ। प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ। ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्’, इतिहासकार प्रकाश श्रेष्ठले भने। बर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले जनाएको छ। बर्तालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउँछन्। बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि सुरु हुन्छ।

आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु

काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । विभागले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही पश्चिम र मध्य तराइका धेरै भू–भागमा हुस्सु/कुहिरो लागिरहेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव आठ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस छ ।

राष्ट्रिय वाणिज्य बैंकले ५ वटा शाखा कार्यालय सञ्चालन गर्न घर भाडामा लिँदै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ५ वटा शाखा कार्यालय सञ्चालनका लागि घर भाडामा लिने भएको छ । बैंकले सुकेधारा, मङ्गलबजार, भरतपुर, पाँचखाल र विदुर शाखा कार्यालयका लागि घर भाडामा लिने भएको हो । बैंकको मुख्य बजार क्षेत्रभित्र पानी, बत्ती बिजुली, टेलिफोन, पार्किङ सुविधा, घरको भुई तल्लामा एटिएम मेसिन जडान गर्ने सुविधा, जेनेरेटर, सौर्य ऊर्जा उपकरण राख्ने सुविधा, सुरक्षा एवं बैंकिङ व्यवस्था सञ्चालन गर्न उपयुक्त व्यापारिक क्षेत्रमा कम्तीमा २ वटा ट्वाइलेट भएको सुविधा सम्पन्न पक्की घर भाडामा लिने भएको हो । इच्छुक घरधनीहरूले आफूले मासिक भाडामा दिन चाहेको रकम उल्लेख गरी घरको चार किल्ला प्रमाणपत्र, जग्गा धनीको प्रमाण पुर्जा, नेपाली नागरिकताको प्रतिलिपि, घरको नक्सा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोलपत्र पेस गर्न आग्रह गरेको छ । बैंकले काठमाडौं महानगरपालिका ४, बागमती प्रदेश कार्यालय, सुकेधारा, ललितपुर महानगरपालिका १६, मङ्गलबजार, भरतपुर भरतपुर महानगरपालिका १० चितवन, पाँचखाल नगरपालिका ४ काभ्रे र विदुर नगरपालिकास्थित विदुर लोकतान्त्रिक चोक चौतारादेखि काठमाडौँ त्रिशूली जाने मुख्य सडक अन्तर्गत बट्टार खोल्सीसम्म भएका घर भाडामा लिने भएको हो ।

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । पाल्पामा गएराति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । गएराति करिब सवा १० बजे उक्त बस दुर्घटना भएको बताइएको छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको एडमनसिटी हस्पिटल जितगढी, बुटवल तथा १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।