विकासन्युज

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले गति लिँदै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको आयोजनाले करीब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युत्मा कूल ६ हजार २७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म ३ हजार ७०० मिटर निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिए । मासिक १८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको उनको भनाइ छ । आयोजनाको आगामी १ वर्षभित्र सुरुङको ‘ब्रेक थ्रू’ गर्ने लक्ष्य छ । अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनामा सुरुङ मार्गसँगै बाँध र विद्युत् गृहतर्फको पूर्वाधार निर्माण धमाधम भइरहेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने आयोजनाको पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावर इन्टेक, मुख्य सुरुङमार्ग लगायत पूर्वाधार निर्माण भइरहेको विष्टले बताए । वडा नम्बर ३ पिप्लेको तिल्केनी चौरमा विद्युत् गृह रहने क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । दैनिक झण्डै ३०० मजदुर परिचालन गरिएको छ । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी) सँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि सन् २०२२ फेब्रुअरीमा सकिएपछि सन् २०२३ अगस्तसम्मका लागि पुनः म्याद थप भएको छ । अर्धजलाशययुक्त बाँध रहने यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । प्राधिकरणले सन् १९९८ मा सम्भाव्यता अध्ययन गरेको आयोजनालाई २०७० मा नै सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी आईभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको थियो । आईभीआरसीएल कमजोर आर्थिक अवस्थाका कारण ४ वर्षमा १० प्रतिशत पनि काम नगरी पन्छिएको थियो । यसअघि ३२ मेगावाट मात्र उत्पादन गर्ने गरी अघि बढाएको आयोजनाको क्षमता ८ मेगावाट बढाएर अहिले ४० मेगावाट पुर्‍याइएको छ ।

मर्जरमा रहेका बैंकहरु धमाधम एकीकृत कारोबार गर्दै, कुन बैंकको कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिले पनि निरन्तरता दियो । सोही सुविधा प्राप्त गर्नका लागि झण्डै एक दर्जन बैंकहरुले मर्जर सम्झौता गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर सम्झौता गरेका थिए । जसमध्ये कुमारी बैंक र एनसीसी बैंकले गत साता एकीकृत कारोबार सम्पन्न भइसकेको छ । अब बाँकी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंकले पनि एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गते सोमबार गर्ने गरी मिति तय भएको ग्लोलब आइएमई बैंकका कम्पनी सचिव विष्णु बास्कोटाले जानकारी दिए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । दुवै बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि ३ दिन अर्थात पुस २२, २३ र २४ गते सेवाहरु बन्द रहने भएका छन् । मर्जर पश्चात् ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्ने छन् । साथै, मर्जर पश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवण लाल मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी नियुक्त हुने सहमति भएको छ । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेका दिन हुने भएको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ गते हुने भएको छ । वार्षिक साधारणसभा सम्पन्न भएको ३ साताभित्र एकीकृत कारोबार गर्ने तयारी बैंकको छ । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीका अनुसार हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी छ । ‘दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बोलाएका छन्, वार्षिक साधारणसभाले पारित गरेको ३ साता भित्र अर्थात् माघ १८ गते एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छौं, यदि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति आउन ढिला र दोस्रो त्रैमासको दबाव भयो भने एक हप्ता ढिला हुन सक्छ, अन्ततः हामीले २५ गतेभित्र जसरी पनि एकीकृत कारोबार हुन्छ,’ उनले भने । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ । मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहने भएको हो । मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार पुस २६ गते मंगलबार हुने भएको छ । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । एकिकृत कारोबार प्रयोजनका लागि डाटा माईग्रेसन गर्न पुस २२ गते शुक्रबार राति १२ बजेदेखि पुस २६ गते बिहान पौने १० बजेसम्म दुवै बैंकको सम्पूर्ण सेवा बन्द रहने छ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका थिए ।

 मनकामना केबलकार आजदेखि सञ्चालनमा

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो । केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । गए राति मर्मतको काम सम्पन्न भएकाले आज बिहानैदेखि केबलकार सञ्चालनमा ल्याइएको उनले बताए । विद्युत् आपूर्तिमा भएको गडबडीले क्षति पुगेको केबलकारको प्यानल बोर्ड नै परिवर्तन गर्नुपरेको श्रेष्ठले बताए । सामान जडान गरेर परीक्षण गरेपछि केबलकार नियमित सञ्चालनमा आएको स्टेशन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिए । यहीँ पुस ११ गते प्यानल बोर्डमा आगलागी भएलगत्तै पुस १२ गते मङ्गलबारदेखि मनकामना केवलकार पूर्णरूपमा बन्द भएको थियो । बन्द भएको ११ दिनपछि केबलकार सञ्चालनमा आएपछि केबलकार चढेर मनकामना मन्दिर जाने भक्तजनको घुइँचो लागेको छ ।

काठमाडाैं प्रशासनको सेवामा ‘समय कार्ड’ : प्रजिअले गुनासो सुन्ने, सहयोगीमार्फत ६५ वर्ष माथिकालाई सेवा

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ । यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनेछन् भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ । यसले प्रशासनको सेवा प्रवाहलाई चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । कार्यालयबाट उपलब्ध हुने विभिन्न १० वटा सेवा प्रवाहका लागि समय तोकिएको र चारवटा सेवामा भने समय कार्ड लागू भएको छ । काठमाडाैंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नयाँ नागरिकता, सङ्घसंस्थाको नवीकरण, नाबालाक प्रमाणपत्र प्राप्ति र मुद्दाको पेशी तथा तारिखमा समय कार्ड लागू गरिएको छ । उनले नागरिकताका लागि एक घण्टा, संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक प्रमाणपत्र प्राप्तिका लागि एक घण्टा र मुद्दाको पेशी र तारिखमा ३० मिनेटभित्र सेवा प्रवाह गर्ने गरी समय कार्य तोकिएको जानकारी दिए । नयाँ नागरिकतामा मात्रै समय कार्ड लागू भएको तर प्रतिलिपि लिनका लागि भने लागू भएको छैन । कसैले आफ्नो नागकिरता बनाउनुपर्यो भने आवश्यक कागजपत्र लिएर प्रशासन गएर बुझाएपछि फाँटका कर्मचारीले हेरेर कागजात पुग्यो भनेको एक घण्टाभित्रमा नागरिकता दिने गरी टाइम कार्ड लागू गरिएको जनाइएको छ । तयार भएको राष्ट्रिय परिचयपत्र वितरणमा व्यक्ति सम्बन्धित फाँटमा आएर सम्पर्क गरिसकेपछि ३० मिनेटभित्रमा कार्ड प्राप्त गर्न सक्नेछन् । तयार भएको राहदानी वितरणमा सम्बन्धित फाँटमा पुगेपछि १५ मिनेटभित्रमा दिने गरी समय तोकिएको छ । अन्य सेवामा पनि समय तोकिइसकेको र निकट भविष्यमै लागू गर्दै जाने काठमाडौँ प्रशासनले जनाएको छ । मुख्यतः संस्था नवीकरण, नागरिकता प्राप्ति, नाबालिग परिचयपत्र, मुद्दा पेशी तोक्ने, मुद्दाको तारिख, प्रिन्ट भएर आएका राहदानी वितरण, राष्ट्रिय परिचयपत्र कार्ड वितरण, जिल्ला प्रशासनले गर्ने विभिन्न सिफारिसलाई समयबद्ध बनाइएको हो । अनुसन्धान सकिएपछि मुद्दाको अन्तिम किनारा ६० दिनभित्रमा सक्ने गरी टाइम कार्ड बनाइएको छ ।

बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एक पक्राउ

कैलाली । विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका–१ का पदमराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। प्रनाउ जोशीका अनुसार विभिन्न बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भनी आफ्नो वास्तविक परिचय लुकाई कैलाली, कञ्चनपुरलगायत विभिन्न स्थानमा बस्ने व्यक्तिलाई डर, त्रास तथा विभिन्न प्रलोभन देखाउने गरेको र महिलालाई ललाइफकाई गरी निजहरूको अश्लील भिडियो पोष्ट गरिदिने धम्की दिँदै ठगीमा संलग्न भट्टलाई पक्राउ गरिएको हो । उनलाई धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरी कार्यालयबाट थप अनुसन्धान भइरहेको बताइएको छ । निज व्यक्तिबाट ठगी भई पीडित भएका व्यक्तिहरूले प्रमाणसहितको जाहेरी दर्खास्त लिई कार्यालय सम्पर्क गर्न आउन हुनसमेत जिल्ला प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ ।

सचिवले गरे मालपोत कार्यालयको आकस्मिक निरीक्षण

काठमाडौं । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयको दैनिक सेवाप्रवाह तथा अभिलेख व्यवस्थापनबारे आकस्मिक निरीक्षण गरी जानकारी लिएका छन् । देशका विभिन्न कार्यालयमध्ये डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयलाई सेवा प्रवाहको दृष्टिले संवेदनशील कार्यालयका रूपमा लिने गरिएको छ । त्यस अवसरमा सचिव डा रेग्मीले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख रामकृष्ण उप्रेती र कर्मचारीलाई सेवाप्रवाह गुनासोरहित, झन्झटमुक्त र पारदर्शी तवरबाट कार्यसम्पादन गर्न निर्देशन दिए । उनले भूकम्पले कार्यालयका धेरै भित्ता चर्किएको र सोको तत्काल सुधार गर्न तथा अभिलेख व्यवस्थापनका लागि आवश्यक रकम प्रस्ताव गरी पठाउन सुझाव दिए । डिल्लीबजार मालपोत कार्यालयमा विभिन्न जिल्लाको जग्गाको ऐतिहासिक तथा प्रामाणिक अभिलेख, ऐतिहासिक अभिलेख तथा पुराना रजिस्ट्रेसन अभिलेख गरी एक लाखभन्दा बढी लिखतसहितका कागजात रहेका छन् । देशका सबै मालपोत कार्यालयमा करिब २० लाखको हाराहारीमा यस्ता लिखत अभिलेखहरू रहेको अनुमान गरिएको छ । तत्कालीन बाइसे–चौबिसे राज्य र राणाकालीन प्रमाणका दृष्टिले यी अभिलेखहरू दीर्घकालसम्म सुरक्षित राखिनुपर्ने भए पनि यिनीहरूको विद्युतीय प्रति नहुँदा कागज च्यातिने र हराउने उत्तिकै सम्भावना छ । त्यस अवसरमा सचिव डा.रेग्मीले यस्ता ऐतिहासक महत्त्वपूर्ण अभिलेखहरूको संरक्षण गर्ने व्यहोरोपयोगी कार्ययोजना तत्काल तयार गरी कार्यान्वयनमा ल्याउन विभाग र मातहतका निकायलाई निर्देशन दिए । सचिव रेग्मीले विभागको विद्युतीय प्रणालीलाई प्रभावकारी बनाउन र मालपोतको सेवा प्रवाहमा हुन सक्ने अनियमितता रोक्न विद्युतीय प्रणालीको सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले राष्ट्रिय भूमि आयोगको निरीक्षण गरी काम कारबाहीबारे पनि आजै जानकारी लिए । भूमि आयोगका सदस्य सचिव विदुर खनालले मन्त्रालय र सरकारको लक्ष्य पूरा गर्न र मन्त्रालयको साख बढाउन प्रतिबद्ध रहेको बताए ।

१ करोडको अवैध औषधिसहित एकजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगञ्जको छपकैयाबाट एक करोड ३४ लाख रुपैयाँ भन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकी राखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । हुसैनलाई आवश्यक कारबाहीका लागि राजस्श्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।  

खुल्यो जग्गाको कित्ताकाट

डुम्रे । तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले मालपोत कार्यालय तनहुँका प्रमुख चिरञ्जीवी पौडेल, तनहुँ नापी अधिकृत कृष्णप्रसाद आचार्य, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई वर्गीकरण पुस्तक तथा पत्र हस्तान्तरण गरे। जग्गाको कित्ताकाट खुला भएको पुस्तक हस्तान्तरण भएसँगै म्याग्दे गाउँपालिका तनहुँको जग्गाको कित्ताकाट खुलाउने पहिलो पालिका बनेको छ। विसं २०७९ साउनदेखि रोकिएको जग्गाको कित्ताकाट अब गाउँपालिकामा खुलेको मालपोत कार्यलयका प्रमुख पौडेलले बताए। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनका साथै भूउपयोग ऐन, २०७६ को दफा ४ तथा भूउपयोग नियमावली, २०७९ को नियम ५, अनुसूची १ मा भएको व्यवस्थाको आधारमा गाँउपालिकाले विभिन्न चरण पार गरी पालिकाभित्रको जग्गा वर्गीकरण गरेको थियो। जग्गा वर्गीकरणको पुस्तक स्थानीय भूउपयोग परिषद्बाट स्वीकृत गरी कार्यान्वयनका लागि नापी कार्यालय, मालपोत कार्यलय, सङ्घीय भूउपयोग परिषद् (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबार, नापी विभाग मीनभवन काठमाडौं, प्रदेश भूउपयोग परिषद्) भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमा पत्र पठाइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए। जग्गाको वर्गीकरणसँगसँगै अब गैरकृषि क्षेत्रमा चार आना एक पैसा र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न पाइनेछ। यो निर्णय कार्यान्वयन भएसँगै पालिकाभित्रका जग्गाको कित्ताकाट खुला हुँदा नागरिकलाई राहत हुने अध्यक्ष श्रेष्ठले बताए। रासस