सरकारले ५० युनिट बिजुली निःशुल्क दिने
काठमाडौं । सरकारले गार्हस्थ्य उपभोक्तालाई ५० युनिट बिजुली निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । हाल सरकारले त्यस्ता उपभोक्तालाई २० युनिट बराबरको बिजुली निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । आन्तरिक रुपमा ऊर्जाको खपत बढाउने र आर्थिक विकासको कामलाई अगाडि बढाउने लक्ष्यका साथ निःशुल्क बिजुली उपलब्ध गराउने योजना अगाडि सारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको उपस्थितिमा आज सार्वजनिक भएको नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा ऊर्जा विकासलाई महत्वका साथ समावेश गरिएको छ । सरकारले गार्हस्थ्य उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने योजना अगाडि सारेको छ । यस्तै, विद्युत् उत्पादन विस्तारमार्फत आर्थिक वृद्धिदर बढाउने, विद्युतीकरणमार्फत आम नागरिकको जीवन सहज तुल्याउने, इन्धनमाथिको परनिर्भरता न्यून गर्ने, मुलुकको औद्योगिकीकरणमा टेवा एवम् पुर्याउने र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत वातावरणमा सुधार ल्याउने योजना अगाडि सारिएको छ । यस्तै, आगामी ५ वर्षमा विद्युत् उत्पादन क्षमता ६ हजार ५ सय मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाट घण्टा पुर्याउने लक्ष्य राखिएको छ । विद्युत् महसुललाई सर्वसाधारणले व्यहोर्न सक्नेगरी समायोजन गर्ने तथा २ वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शत्प्रतिशत पुर्याउने महत्वाकाङ्क्षी योजना अगाडि सारिएको छ । निर्माणाधीन जलविद्युत् आयोजना समयमै सम्पन्न गरी जलविद्युत् निर्यातमा वृद्धि गर्नेर राष्ट्रिय आय बढाउने तथा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको योजना छ ।
‘अर्को हप्ताको फ्लाइट छ, तर कतै पनि फाइजर खोप छैन’
काठमाडौं । कोभिड–१९ विरुद्धको जोनसोन एन्ड जोनसोन खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) फाइजर खोप सकिएको छ । फाइजर खोपको बुस्टर (अतिरिक्त मात्रा) सकिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने सेवाग्राही निराश भएर फर्किन बाध्य भएका छन् । वैदेशिक रोजगारका लागि कोरिया जाने प्रक्रियाका लागि फाइजर खोप लगाउन टेकु अस्पताल पुग्नुभएका डिआर चौधरीले खोप नपाएको गुनासो गरे । उनले भने, ‘अर्को हप्ताको फ्लाइट छ । तर धेरै खोप केन्द्र चहारिसक्दा पनि फाइजर खोप पाउन सकेको छैन । टेकु अस्पतालमा पाइन्छ भन्ने आशा थियो यहाँ पनि सकिएको रहेछ ।’ फाइजर खोप लगाउन टेकु अस्पताल पुगेका तपिन घर्ती मगरले निराश हुँदै भने, ‘जापानको भिसा प्रक्रियाका लागि अग्रिमरूपमा अतिरिक्त खोप लगाएको प्रमाण आवश्यक पर्नेरहेछ । यहाँका कर्मचारीले १५/२० दिनमा फेरि आउनु भन्नुभयो ।’ अस्पतालको प्राङ्गणमा सञ्चालित खोप केन्द्रकी नर्स मन्दिरा तिमल्सेना दैनिक एक सयजना फाइजरको अतिरिक्त मात्राका लागि आउने गरेको बताउँछन् । ‘अहिले एकदेखि डेढ सय जनालाई भेरोसेलको अतिरिक्त मात्रा दिइरहेका छाैं । तर दैनिक एक सयजना फाइजर खोपका लागि आउनुहुन्छ । फाइजर कात्तिक महिनादेखि उपलब्ध छैन ।’ आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरासियाले अहिले केन्द्रसँगै देशभर फाइजर अतिरिक्त मात्राको मौज्दात सकिएको बताए । उनले भने, ‘प्रदेशहरूमा कहिलेदेखि सकियो थाहा छैन । देशभर भेरोसेल र फाइजर पेडियाट्रिक खोप छ । तर फाइजर खोप सकिएको हो ।’ उनका अनुसार मङ्सिर महिनासम्म खोपको खपत कम थियो । कोरोना सङ्क्रमण घटेको र मौज्दात खोपको प्रयोग कम भएपछि शाखाले थप खोप ल्याएको थिएन । तर छिमेकी देश भारत र चीनमा पिएफ डट सेभेनको सङ्क्रमण बढेपछि फाइजर खोपको माग बढेको उनको भनाइ छ । तर मौज्दात नभएको हुँदा फाइजर सकिएको हो । ‘अनुदानस्वरुप आउने ९२ लाख फाइजर खोपमा ३७ लाख नेपाल भित्रिसकेको छ । केही महिनाअघिसम्म खोपको खपत कम थियो । बाँकी खोप तत्काल ल्याउँदा खेर जाने सम्भावनाका कारण केही समयका लागि स्थगित गरिएको थियो । अहिले पिएफ डट सेभेनका कारण अहिले माग बढेपछि खोप सकिएको छ’, उनले भने । परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले फेब्रुअरी ३मा १५ लाख फाइजर खोप भित्रिने बताए । उनले भने, ‘खोपका लागि ग्लोबल एलायन्स गाभीबाट प्राप्त हुने १५ लाख खोप फेब्रुअरी ३ मा आउँदैछ । त्यसलाई अतिरिक्त खोपका रूपमा प्रयोग गरिनेछ ।’ उनका अनुसार खोप आपूर्ति पाइप लाइनमा राखिएको र ढिलामा फेबु्रअरीको पहिलो सातासम्म भित्रिनेछ । सोमबारसम्म दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । अतिरिक्त मात्रा लगाउनेको सङ्ख्या ७९ लाख ७२ हजार सात सय ९१ जना रहेका छन् । आपूर्ति शाखा प्रमुख चौरासियाका अनुसार अहिले देशभर ४० लाख मात्रा खोपको मौज्दात रहेको छ । त्यसमा दुई लाख भेरोेसेल र चार लाख पेडियाट्रिक फाइजर खोप मौज्दात छ । नेपालमा छ करोड १७ लाख ७६ हजार सात सय ७० खोप भित्रिएको छ । पछिल्लो समय गत १२ सेप्टेम्बरमा फाइजरको खोप भित्रिएको थियो । अनुदानस्वरुप ९२ लाख फाइजर खोप आउने भए पनि ३७ लाख मात्रै खोप भित्रिएको थियो । फाइजर ३७ लाख ६३ हजार आठ सय ९० रहेको छ । जोनसोन एन्ड जोनसोन खोप ३७ लाख ११ हजार पाँच सय मात्रा रहेको छ । रासस
उपत्यकामा हर्न बजाउने १०७ जना चालकलाई ट्राफिक प्रहरीको कारबाही
काठमाडौं । हर्न बजाएर ध्वनी प्रदुषण गर्ने १०७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकामा सोमबार गरिएको विशेष चेकिङको क्रममा चालकहरु कारबाहीमा परेका हुन् । २०७४ वैशाख १ गते देखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरीएतापनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारवाहीलाई तिव्रता दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन हुन प्रवक्ता भट्टले सम्पुर्ण चालकलाई अनुरोध समेत गरेका छन् ।
कुमारी बैंकको नयाँ शाखा जनबाहल, भेडासिंह संचालन
काठमाडाैं । कुमारी बैंकले बागमती जिल्लास्थित वडा नं.२५ मा रहेको जनबाहल, भेडासिंह शाखा पुस २५ गतेबाट सञ्चालनमा ल्याएको छ । काठमाण्डौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले उक्त शाखाकाे उद्घाटन गरेका थिए । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको जनाएकाे छ । बैंकले आफ्ना देशभर रहेका २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएकाे छ ।
पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।
को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी ?
गण्डकी । गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित बनेका अधिकारीलाई संविधानको धारा, १६८(२) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बुबा शेषरमण उपाध्याय र आमा लीलादेवीका सन्तानका रुपमा कास्कीको बेगनासमा २०१८ साल चैत १३ गते जन्मनुभएका अधिकारी बाल्यावस्थादेखि नै राजनीतिक संस्कारयुक्त परिवेशमा हुर्किएका थिए । स्कुले जीवनदेखि नै राजनीतिक चेतना बढाउँदै जानुभएका उहाँले ११ वर्षकै उमेरमा आनन्दज्योति माविमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिको जिम्मेवारी पाउनुभएको थियो । उहाँ २०३३ सालमा पुष्पलाल समूहको एरिया कमिटी सदस्यका रुपमा अघि बढे । विसं २०३६ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को कास्की जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएका अधिकारी उच्च शिक्षा अध्ययनका लागि सुरुमा काठमाडौं पुग्नुभएकामा पुनः कास्कीमा नै फर्किएर पोखराको पृथ्वी नारायण क्याम्पस (पिएन क्याम्पस)मा विज्ञान अध्ययनका लागि भर्ना भएका थिए । २०३७ सालमा पिएन क्याम्पसमा स्ववियु सदस्य भएका अधिकारी २०३८ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य रहे । त्यसको दुई वर्षपछि अनेरास्ववियुको उपाध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका उनले २०४० सालमा पहिलो पटक पिएन क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बने । दोस्रो पटक २०४१ सालमा फेरि क्याम्पसको स्ववियु सभापति बनेका थिए । तत्कालीन समयमा खुलेर बहुदलको पक्षमा लागेकाले तत्कालीन प्रशासनको तारो बनेका उनी २०३६ सालदेखि नै अर्धभूमिगत रही पार्टी र सङ्गठनका काममा क्रियाशील बने । २०४२ सालमा स्ववियु सभापति हुँदाहुँदै प्रशासनबाट पक्राउ परेका अधिकारीले २०४६ सालसम्म देशका विभिन्न स्थानमा जेलजीवन बिताएका थिए । कास्की, रौतहट, दमौलीलगायत जिल्लाका जेलमा पठाइएका उनी २०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालको संस्थापक केन्द्रीय सदस्य बने । २०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य भएका उहाँले २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बने । विसं २०५४ मा उहाँले दलको सचेतकको जिम्मेवारी पाएका थिए । २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अधिकारी गणतन्त्र स्थापनापश्चात् सरकारको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उाले २०७० साल चैत १३ देखि २०७२ साल असोज २५ गतेसम्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी लिएका थिए । २०६५ सालमा भएको एमालेको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनलाई पार्टीले गण्डकी इन्चार्ज, सङ्गठन विभागको सदस्य तथा पोलिटब्यूरो सदस्यको जिम्मेवारीसमेत दिएको थियो । २०७३ सालमा एमालेको केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी पाएका उनी २०७४ सालको आमनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ बाट विजयी बन्दै २०७८ साल जेठ २७ गते नेपाल सरकारको गृहमन्त्री नियुक्त भएका थिए । विसं २०७८ मङ्सिरमा चितवनमा सम्पन्न पार्टीको दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी हाल एमालेको स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बन्दै उनी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । रासस
७ महिनादेखि नगरपालिकाका कर्मचारीले पाएनन् तलब भत्ता, सबै सेवा बन्द
महेन्द्रनगर (धनुषा) । धनुषाको एक नगरपालिकाका कर्मचारीले तलब भत्ता नपाएपछि सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले नियमित खोपका कार्यक्रमसमेत पूर्णरुपमा बन्द गरेका छन् । नगराइन नगरपालिकाका जनप्रतिनिधिबीच विवाद भएपछि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट पारित हुन सकेको छैन । दुई महिनादेखि नियमित खोप कार्यक्रम प्रभावित भएका कारणले बालबालिकामा प्राणघातक रोगको जटिलता आउने खतरा रहेको स्वास्थ्य कार्यालय धनुषा प्रमुख जुगलकिशोर यादवले बताए । करिब सात महिनाको तलब भत्ता नपाएका कर्मचारी तलब भत्ताको माग गर्दै आन्दोलनमा उत्रेपछि सो नगरपालिकामा सबै प्रकारका नियमित खोप सेवा बन्द भएको नगराइन नगरपालिका–७ का वडाध्यक्ष सूर्यनारायण साहले जानकारी दिए । नगरपालिकामा रहेका सबै प्रकारको खोप सेवा प्रभावित भएका कारणले जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई दिइने विभिन्न प्रकारको नियमित खोप सेवा बन्द भएका छन् । स्वास्थ्य कार्यालय धनुषा प्रमुख यादवका अनुसार क्षय रोगबाट शिशुलाई जोगाउनका लागि विसिजि, पेन्टा, पोलियो, एफआईटिभी, निमोनियाको पिसिभि, दादुरा रुवेलासहितका १३ प्रकारका खोप दिने गरिन्छ । नगरपालिकामा कर्मचारी हड्तालमा उत्रेका कारणले अत्यन्तै संवेदनशील खोप कार्यक्रम बन्द भएको र यसले बालबालिकाको स्वास्थ्यमा समस्या आउने खतरा रहेको स्वास्थ्य कार्यालय धनुषा प्रमुख यादव बताउँछन् । शिशुहरूलाई समयमा खोप दिएको खण्डमा प्राणघातक रोगबाट जोगाउन सकिने भएकाले नियमित खोजजस्ता कार्यक्रम रोक्ने अवस्था आउन नहुने बाल विशेषज्ञ डा जामुनप्रसाद सिंहको भनाइ छ । समस्या समाधानका लागि पटकपटक प्रयास गर्दा सफल नभएका कारण खोप जस्तो संवेदनशील विषय बन्द हुनु चिन्ताको विषय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए । स्थानीय राजकिशोर यादवले गुनासो पोख्दै भने नगराइन नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुखका बीचमा योजनाको सञ्चालन तथा अनुगमनसहितको विषयमा नीतिगत विवाद भएका कारणले बजेट कार्यक्रम पास हुन सकेको छैन । प्रादेशिक अस्पताल जनकपुरधामका उपनिर्देशक डा केडी दासले भने सबैभन्दा बढी स्थानीयलाई आर्थिक समस्या र गाउँबाट अर्को ठाउँमा औषधि वा कुनै उपचार गराउन जानमा कष्ट हुने बताए । रासस
कर उठाउन सरकार सक्रिय, शनिबार पनि आन्तरिक राजस्व विभागका सबै कार्यालय खुला हुने
काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गको सबै कार्यालय पुस ३० गते शनिबारको दिन पनि खुला हुने भएको छ । विभागले सोमबार सूचना जारी गर्दै आउँदो पुस ३० गते शनिबार आफु अन्तर्गतको सबै कार्यालय खुला रही सेवा प्रवाह हुने जनाएको छ । विभागले आफु अन्तर्गतको सबै मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय खुला रहने जनाएको छ । ‘पौष महिना आयकरको ४० प्रतिशत किस्ता दाखिला हुने र आय विवरणको म्याद थप भई आय विवरण तथा रकम जम्मा हुने समय भएको कुरा विदितै छ, तर २०७९ / ०९ / ३० गते शनिबार सार्वजनिक विदा परेको हुँदा उक्त दिन राजस्व संकलन गर्ने बैक शाखा तथा काउण्टरसँग समन्वय गरी उक्त दिनमा समेत कार्यालय खुला राखी राजस्व बुझ्ने व्यवस्था हुन मिति २०७९/०९/२५ को निर्णयानुसार अनुरोध छ,’ सूचनामा उल्लेख छ ।