विकासन्युज

लोकतन्त्रको रक्षाका लागि सक्रिय भूमिका खेल्छौँ : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको छ, त्यस्तै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पार्टीले सदैव अग्रणी भूमिका खेल्नेछ ।’ अध्यक्ष राउतले आफूहरुलाई संसद्मा पु-याउन भूमिका खेल्ने जनताको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि स्मरण गरे । ‘आवेग र अग्रजप्रति पार्टीको सम्मान पनि छ । हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकाङ्क्षा हो, त्यसलाई सकारात्मक ऊर्जाका रुपमा उपयोग गर्न सकौँ भनेर यहाँ आएको छु’, उनले भने । नेपाल विविधतायुक्त मुलुक नेपालको समस्यालाई सामूहिकरुपमा समाधान गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिए । उनले किसानले बेहोरिरहेको विभिन्न समस्याबारे सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

ग्लोबल आइएमईका नवनियुक्त अध्यक्ष ढकालले लिए शपथ, यस्तो छ सञ्चालक समिति

काठमाडाैं । ग्लाेबल आइएमई बैंकका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । ढकालले साेमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गाेपनियताकाे शपथ लिएका छन् । ग्लाेबल आइएमई बैंकले साेमबारबाट बैंक अफ काठमाडाैंसँग ‘ग्लाेबल आइएमई बैंक’ नामबाट एकिकृत काराेबार सुरु गरेकाे छ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहेकाे छ । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याबिनेट श्रेष्ठ र राम बहादुर भण्डारी रहेका छन् । यस्तै, बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशी रहेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।  

चार वर्षपछि पोखरा र भैरहवा विमानस्थल यात्रुले भरिभराउ हुन्छन् : महानिर्देशक अधिकारीसँगको कुराकानी

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल सञ्चालनमा आएको झण्डै ७५ वर्षपछि भैरहवा र पोखरामा दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत जेठ २ गतेदेखि भैरहवामा गौतमबुद्ध अन्तर्र्राष्ट्रिय विमानस्थल र पुस १७ गतेदेखि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको छ । दुई ठुला विमानस्थल निर्माण भएर सञ्चालनमा आएतापनि अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । केही समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएतापनि अहिले उडान विहीन भएको छ । पोखरा विमानस्थलको औपचारिक उद्घाटन नै आन्तरिक उडान बाट भएको थियो । दुई ठुला विमानस्थलमा किन अन्तर्राष्ट्रिय उडान हुन सकेनन ? आवश्यक उपकरण सञ्चालनमा भारतको अवरोध, आन्तरिक उडानको भाडादर लगायतका विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीसँग विकासन्युजले कुराकानी गरेको छ । गत जेठबाट नियमित उडान भएको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान किन हुन सकेन ? अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नहुनुको मुख्य कारण नै खराब मौसम हो । अहिले हामीले आइएलएस सिष्टम सञ्चालन गर्न सकेका छैनौं । उक्त सिष्टम सञ्चालन नहुँदा बिहान लाग्ने बाक्लो तुवालोले उडान तथा अवतरण ठप्प भएको हो । जजिरा एयरलाइन्सले बिहान उडान गर्ने गरेको थियो । बिहानको समयमा मौसम खराबकै कारण जजिराले उडान पोष्टपोन्ट गरेको हो । अन्य वायुसेवा कम्पनीलाई हामीले भैरहवाबाट उडान गर्न आग्रह गरेका थियौं । कोभिडका कारण खोसिएको व्यवसाय पहिलेकै रुपमा नआएको हुँदा उहाँहरुकै आग्रहमा हामीले फोर्स उडानलाई नियमित गर्न सकेनौं । सन् २०२६ मा मात्रै पुरानै अवस्थामा फर्कने हामीले अनुमान गरेका छाैं । आइएलएस सिष्टम सञ्चालनमा भारतकै अवरोध हो ? हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस सिष्टम जडान गरिसकेका छौं । सञ्चालनका लागि केही कामहरु बाँकी हुँदा सञ्चालन नभएको हो । हामीले नेगोसेसन गर्न बाँकी छ । सिष्टम अहिले पनि अपग्रेड भैरहेको छ, सञ्चालन मात्रै हुन नसकेको हो । उक्त सिष्टम सञ्चालन गर्न हामीले मित्रराष्ट्र भारतबाट अनुमति लिएर मात्रै पब्लिक गर्नुपर्ने हुन्छ, उताबाट अनुमति नपाउँदा तत्काल रोकिएको हो नेपाल आउने बाटो भारतसँग समन्वय नगरी छैन । उक्त सिष्टम सञ्चालनका लागि समन्वय भैरहेको छ, अब छिट्टै सञ्चालन हुने अपेक्षा छ । भारतसँग प्राविधिक समन्वय गर्नुपर्छ । हाम्रा सबै तयारी र काम सकिसकेका छन । उताको सहमति मात्रै कुरेका हौं ।’ भैरहवामा जहाज कहिलेदेखि चल्छन ? अहिले चिसोका कारण तराईमा सितलहरका कारण बाक्लो हुस्सो लाग्ने गरेको छ । मौसम अलि सफा भएपछि उडान सुरु भैहाल्छ । मौसमका कारण उडान रोकिएको हो, अन्य कारण छैन, मौसममा सुधार आउनासाथ धमाधम उडान भैहाल्छ । भारत सरकारसँग उडान अनुमतिको कुरा बाइल्याटर एग्रिमेन्ट हो, यसमा क्यानले केही गर्न सक्ने अवस्था छैन । पराराष्ट्र मन्त्रालय, प्रधानमन्त्री लगायतका उच्च निकायबाट कुरा भैरहेको छ, हामीले आधिकारिक रुपमा पत्र पठाइसकेका छौं, अहिलेसम्म उताबाट केही जवाफ आएको छैन । हामी लागिरहेका नै छौं । अब यसको समाधान कुटनीतिक तवरबाट हुनुपर्छ । अन्य क्षेत्रमा माग बढी हुँदा मूल्य घट्छ र माग कम हुँदा मूल्य घट्छ तर हवाई सेवामा माग बढी भयो भने भाडा बढ्छ कम माग भयो भने घट्छ, यस्तो किन ? आन्तरिक उडानमा चर्काे भाडादर हुनुको मुख्य कारण नै हवाई इन्धन हो । नेपाल आयल निगमले हवाई इन्धनमा मात्रै ३५ देखि ४० प्रतिशतभन्दा बढी नाफा खादा हवाई भाडादर महंगो भएको हो । एक त हवाई इन्धनको मूल्य छ, अर्काे नेपाल एयरलाइन्सको आन्तरिक उडानमा न्यून प्रतिस्पर्धाका कारण उडान भाडादर महँगो भएको हो । नेपाल एयरलाइन्स सेवा प्रदायक निकाय हो, थोरै नाफा राखेर निगमले आन्तरिक उडानमा प्रतिस्पर्धा गर्न सके अहिले कायम भएको भन्दा आधा भाडा घट्छ । सरकारी वायुसेवा कम्पनीको न्यून सहभागिता छ, निजी वायुसेवा कम्पनीको मोनोपोली छ, उनीहरु व्यापार गर्न आएका हुन । मोनोपोली हुन नदिन सरकारले वायुसेवा कम्पनी सञ्चालन गरेको हो । यसमा निगमले हस्तक्षेप गर्न सके दुर्गमका बस्ने सेवाग्राहीले पनि जहाज चढ्न सक्छन् । नेपाल वायुसेवा निगम जहाज थन्काएर उडान नगर्ने, नेपाल आयल निगम हवाई इन्धनमा मात्रै ४० प्रतिशतभन्दा बढी नाफा राख्ने, अनि महंगो हुँदैन हवाई टिकट ? चर्काे शुल्क खाएर पनि निजी वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । प्राधिकरणले भैरहवा र पोखरा विमानस्थल बनाउन लागेको ऋण तिर्न सक्छ ? वार्षिक रुपमा प्राधिकरणको आम्दानी २० अर्ब बढी छ । जसमा हाम्रो खर्च ९ अर्ब हाराहारीमा आउँछ । वार्षिक रुपमा ९ अर्ब हामीसँग बचत हुन्छ, ऋण तिर्न समस्या नै छैन । हामीले वार्षिक रुपमा सरकारलाई १ अर्ब बराबर आयकर, ६ अर्ब सञ्चालन खर्च र विभिन्न आयोजनाका लागि लिइएको ऋणको ब्याज २ अर्ब भुक्तानी गर्ने गरेका छौँ । वार्षिक २० अर्ब हाराहारीमा आम्दानी गर्ने प्राधिकरणको ऋण करिब ३८ अर्ब बराबर छ । जसमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न चिनियाँ एक्जिम बैंक र चीन सरकारमो मिनिस्ट्री अफ कमर्शबाट २२ अर्ब, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एशियाली विकास बैंकको ७ अर्ब र नयाँ परियोजनाका लागि करिब ९ अर्ब हाराहारीमा हामीले ऋण लिएका छौं । उक्त ऋणको हामीले वार्षिक रुपमा सावाँ र व्याज भुक्तानी पनि गर्दै आएका छौं । दुई विमानस्थल बनाउन लिएको ऋण तिर्न क्यान सक्षम छ । भर्खर सञ्चालनमा आएका दुई विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जस्तो भरिभराउ देख्न सम्भव छ ? नेपालको हवाई क्षेत्र कोरोना अगाडीकै अवस्थामा फर्कन हामीले अझै पर्खनु पर्ने देखिएको छ । कोरोना अगाडिकै तुलनामा हवाई क्षेत्र फर्कन हामीले सन् २०२६सम्म पर्खनु पर्ने विभिन्न आंकलन गरिएको छ । विश्वभर असर गरेको कोरोनाकै असर गौतमबुद्ध र पोखरा विमानस्थलमा देखिएको हो । काठमाडौंको जस्तो यात्रुको भीड लाग्न हामीले केही समय पर्खनु पर्छ । आजभन्दा ७५ वर्ष अगाडि काठमाडौं विमानस्थल सञ्चालन गर्दा पनि यस्तै अवस्था थियो । यो प्रश्न काठमाडौं विमानस्थल निर्माण भएको भोलिपल्टै सोधिएको भए पनि त्यसबेला पनि सान्दर्भिक हुने थिएन । धेरै लामो पखाईपछि मात्र काठमाडौं विमानस्थल चलेको हो ।

पाकिस्तानको दक्षिण पश्चिममा बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना घाइते भएका छन् । प्राप्त जानकारी अनुसार त्यहाँस्थित राजमार्गमा मध्यरातमा बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो । मृतक र घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका कर्मचारीले सञ्चारमाध्यमलाई बताएका छन् । पाकिस्तानमा प्रायः सडक मुख्य कारण जीर्ण सडक र सडक सुरक्षाका उपायको अवलम्वनको कमी नै हुने गरेको अनुसन्धानले देखाएको छ । रासस

एभियन फ्लुका कारण जापानमा एक करोड पंछी मारिए

जापान । एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानमा यस याममा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ । टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा बर्डफ्लूको प्रकोप पुष्टि भएकाले चरा, कुखुरालगायत पक्षी नष्ट गरिएको कृषि, वन तथा मत्स्य मन्त्रालयले जनाएको छ। रासस

सिङ्गै संसद् विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।’ प्रतिनिधिसभाको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आआफ्नो धारणा राखेको उल्लेख गर्दै उनले नयाँ सुरुआत गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै सांसदबाट व्यक्त भएको बताए । ‘देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको छ’, उनले भने ।

नवलपरासीको अवैध क्रसर उद्योग बन्द

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा अवैध रुपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा कूल सात वटा क्रसर उद्योग रहेकोमा एउटा यस अघिनै बन्द थियो । मन्त्रालयको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । ‘बन्द गरिएका उद्योगलाई तीन दिनभित्र सक्कल कागजातसहित जिल्ला प्रशासन कार्यालयमा सम्र्पक राख्न भनिएको छ’, पोखरेलले भने । सुनवल नगरपालिका ११ को ईन्द्रेणी क्रसर उद्योग, सुस्ता गाउँपालिका ५ को ओम गिट्टी क्रसर उद्योग, बर्दघाट नगरपालिका १३ को ओम बालुवा प्रशोधन उद्योग, सरावल गाउँपालिका २ को मामाभाञ्जा बालुवा गिट्टी प्रशोधन तथा निर्माण सामग्री प्रालि, सुनवल नगरपालिका ४ को नारायणगढ बुटवल सडक आयोजनाको क्रसर र प्रतापपुर गाउँपालिका ९ मा हुलाकी सडक आयोजनाद्वारा सञ्चालित क्रसरलाई बन्द गराइएको हो । सुनवल ४ मा रहेको लुम्बिनी रोडा क्रसर उद्योग यसअघि देखिनै बन्द छ । जिल्लामा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा थिए ।

मंगलबार विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराए । प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए । ज्येष्ठ सदस्य जबराले मङ्गलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको जानकारी गराए ।