विकासन्युज

लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने, टावरको सिभिल काम सम्पन्न

काठमाडाैं । रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सन्चालनमा आउने बताएका छन् । ‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु,’ उनले भने । उनले केबलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ ९ वटा टावर मध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए । त्यस्तै टप स्टेशनमा केबलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य अगाडी बढिरहेको छ, उनले भने । साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरुको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए । यो केबलकार परियोजनाको निर्माण कार्य २०७८ साल पुस महिनामा सुरु भएको थियो ।

‘५ वर्षभित्र एनआइसी एशिया १० खर्बको बैंक बन्छ, लाभांशमा टप वान हुन्छ’

काठमाडौं । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानले एनआइसी एशिया बैंक अबको ५ वर्षभित्र १० खर्बको बैंक बन्ने धारणा राखेका छन् । बैंकको २५औं वार्षिक साधारणसभामा उनले बैंकले पछिल्लो समय बिजनेसमा एकपछि अर्का छलाङ मार्दै गएकोले अबको ५ वर्षपछि कुल ५ खर्बको सम्पत्ति भएको बैंक हुने बताएका हुन् । उनले बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको बताउँदै हालसम्म ती लक्ष्य र योजनाहरु पनि हासिल गर्दै गएको बताएका छन् । ‘बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको छ, ती योजनाहरुमा हामी सफल पनि भइरहेका छौं, उपलब्धिहरु पनि हासिल भइरहेका छन्, अबको ५ वर्षमा एनआइसी एशिया कुल १० खर्बको बैंक हुन्छ,’ उनले कार्यक्रममा भने । यस्तै, उनले नेपाल राष्ट्र बैंकले क्यापिटल एडुकेसीमा कडाइ गर्दा लाभांश दिन नसकेको पनि प्रष्ट पारेका छन् । वर्षभर नै क्यापिटल एडुकेसी कायम गर्न निर्देशन दिए पनि बैंकले नसक्दा लाभांश वितरणमा रोक लगाएको उनको भनाइ छ । तर, अघिल्लो वर्ष र गत वर्षको नाफाबाट सेयरधनीले लाभांश नपाएपनि उनीहरुको सम्पत्तिमा भने क्षयीकरण नभएको धारणा राखे । यस्तै, बैंकिङ क्षेत्रभन्दा एनआइसी एशियाको तीन गुणा बढी प्रतिसेयर आम्दानी रहेको उनको भनाइ छ । उनले आगामी वर्ष लाभांश दिन कुनै समस्या नभएको बताए । ‘बैंकिङ क्षेत्रकै धेरै लाभांश दिने क्षमता एनआइसी एशिया बैंकसँग छ, सेयरधनिले तत्काल लाभांश नपाएपनि लगानीकर्ताको सम्पत्तिमा कुनै क्षयिकरण हुँदैन, यो दुई वर्ष लाभांश पाउन नसके पनि विगत ५ वर्षमा बैंकका सेयरधनीले धेरै लाभ लिएका छन्,’ उनले कार्यक्रममा भने ।

दुई दिन सार्वजनिक विदा

काठमाडौं । दुई दिन लगातार सार्वजनिक विदा हुने भएको छ । पुस ३० र माघ १ गते लगातार सार्वजनिक विदा हुने भएको हो । पुस ३० गते शनिबार भएकाले र माघ १ गते आइतबार माघे संक्रान्तिको अवसरमा दई दिन लगातार सार्वजनिक विदा हुने भएको हो । माघे संक्रान्ति विशेष गरेर थारु र मगर समुदायको विशेष चाडको रुपमा मनाइन्छ ।

नारायणगढ– मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने

काठमाडौं । भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ । उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल बनिसकेका छन् । यसअघिनै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच वटा पुल निर्माणाधीन रहेका छन् ।

सरकारमा जाने राप्रपाको निर्णय, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारीमा सहभागी हुने तय भएको छ । यीबाहेक राप्रपाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत पाउने भएको छ । अर्को एक मन्त्रालयको भने अझै टुंगो लागेको छैन ।

सडक भत्काउने निकायलाई पन्ध्र दिनभित्र मर्मत गर्न निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा हाल खराब अवस्थामा रहेको सडक जुन निकायले बिगारेको हो उसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशन दिएका छन्। उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयमा आज नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार संस्थान, मेलम्ची खानेपानी विकास समितिलगायत सेवा प्रदायक संस्थाका प्रमुख र प्रतिनिधिसँगको बैठकमा तत्कालको समस्या समाधान गरेर भविष्यमा समस्या दोहोरिन नदिन मिलेर लाग्न भनेका छन् । उनले कुनै पनि निकायले काम गर्दा सडक भत्केमा सडक विभागको गुणस्तर अनुसार आफैँले मर्मत गर्नुपर्ने बताए। उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाको सडक राम्रो बनाउन र नागरिकलाई सजिलो बनाउन एकले अर्कोलाई दोष दिनुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए। सबै निकायले एकीकृतरुपमा योजना बनाएर पूर्ण गतिमा काम गर्न लाग्नुपर्ने उनले बताए। उनले भने, ‘कहिले कुन कहिले कुन निकायले भत्काउँदा जनता निरासा भएका छन्, त्यसको समाधान गर्नेगरी लाग्नुपर्छ ।’ उपत्यकाका सडकमा संरचना रहेका सबै निकायका प्रतिनिधिको बैठक महिनामा दुई पटक बस्न पनि उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए। प्रत्येक महिनाको दोस्रो शुक्रबार र अन्तिम शुक्रबार २ बजे बैठक बस्ने तय भएको र पहिलो बैठक सडक विभागमा बस्ने निर्णय भएको छ । उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी स्थलगत अवलोकनका लागि सबै सरोकारवाला निकायका प्रतिनिधि शुक्रबार भैँसेपाटी जम्मा भएर विभिन्न स्थानमा पुग्ने भएका छन्।

सुन तोलामा ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

नवीन शर्मा : १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म

काठमाडौं । काठमाडौंको पद्मोदय मोडदेखि सिंहदरवार अगाडिसम्मको फूटपाथमा बिहानैदेखि ठूलो भीड लाग्छ । त्यो भीडमा नेपालका बेष्ट ब्रेन भएका युवायुवतीहरु हुन्छन् । डाक्टर, नर्स, इन्जिनियर बन्ने वा लोकसेवा पास गरेर सरकारी जागिर खाने लक्ष्य बोकेका मानिसहरुको भीड हुन्छ त्यहाँ । जो पढ्नको लागि बिहान सबेरै उठेर त्यहाँ पुगेका हुन्छन् । तर, त्यहाँ कुनै विश्वविद्यालय छैन । नेम नामको ट्यूशन इन्स्टिच्यूट छ । जहाँ वर्षमा १० हजारभन्दा बढी युवाहरु एमबीबीएस, नर्सिङ, लोकसेवा तयारी लगायतको विषयमा अध्ययन गर्न पुग्छन् । नेमका प्रबन्धक निर्देशक नवीन कुमार शर्मा भन्छन्, ‘बैशाखदेखि साउनसम्म नेपालभरीमा सबैभन्दा धेरै मान्छे आउने संस्था नेम नै हो, फिल्म हलमा पनि यति मान्छे जम्मा हुँदैनन् ।’ नेमले गत आर्थिक वर्षमा करिब ४८ करोड रुपैयाँ ब्रिजकोर्स पढाएर शुल्क संकलन गरेछ । इन्स्टिच्यूटको क्षेत्रमा नेम एक्लैले ७० प्रतिशत स्थान ओगटेको शर्माको भनाइ छ । नेम कसरी बन्यो ? यसले छोडेका पदचिन्ह के हुन् ? सफलताको कथा रिर्पोटिङ गर्न हामी नेममा पुग्यौं । रिसेप्सनमा नवीन कुमारलाई भेट्न चाहेको कुरा ग¥यौं । ‘ऊ उहाँ हुनुहुन्छ’ रिसेप्सनकी कर्मचारीले गेट बाहिर उभिएर अभिभावकसँग कुरा गर्दै गरेको मोटो, अग्लो र फूर्तिलो मान्छेलाई चिनाइन् । हामीले भेटेर आफ्नो परिचय दियौं, अन्तरवार्ता लिन चाहेको कुरा गर्यौं । ‘म बैङ्कमा जान लागेको, ल भनिहाल्नुहोस्, के छ प्रश्न’ मोटरसाइकल पार्किङ क्षेत्रतर्फ लम्कँदै भने । हामीले कार्यकक्षमा बसेर अन्तर्वार्ता गर्दा सहज हुने प्रस्ताव गर्यौं । ‘मेरा कार्यकक्ष छैन, भित्र चिसो छ, एसी पनि छैन, यहाँ घाम ताप्दै कुरा गर्दा राम्रो हुन्छ’ उनले भने । क्यान्टिनवालासँग कुर्सी मगाए । प्लास्टिकको कुर्सीमा बसेर हत्केलाले अनुहारमा घाम छेक्दै उनी पत्रकारसँग कुरा गर्न थाले । पार्किङ क्षेत्रबाट मोटरसाइकल स्टार्ट गर्नेको घ्यारघ्यार, विद्यार्थीहरुले गर्ने हल्लाकै बीचमा हामीले नवीनको सफलताको कथा कैद गर्न थाल्यौं । नवीन कुमार शर्मा सन् १९८९ एमबीबीएसमा त्रिभुवन विश्वविद्यालयको टपर रहेछन् । त्यसपछि उनलाई एमडीस्तरको अध्ययन गर्नको लागि अमेरिका जाने इच्छा भयो । त्यो समयमा एमडी अध्ययन गर्नको लागि ७/८ लाख रुपैयाँ आवश्यक पर्दथ्यो । उक्त रकम जुटाउनको लागि उनले विभिन्न योजना बनाए । त्यही क्रममा एमबीबीएसको ब्रिजकोर्स अध्यापन गराउनको लागि इन्स्टिच्युट खोले, जुन अहिले नेपालको सबैभन्दा ठूलो ब्रिजकोस सेन्टर बनेको छ । बुवाको पालामा नै शर्माको परिवार पाँचथरबाट बिराटनगर झरेको थियो । तर, शर्माको जन्म भने बुटवलमा भएको हो । शर्माले स्कूल शिक्षादेखि आइएससीसम्मको अध्ययन विराटनगरमा हासिल गरे । एमबीबीएस अध्ययन उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पूरा गरे । एमबीबीएस पढ्दा पनि ट्युसन पढाएर आफ्नो खर्च धान्दै आएका शर्मा घरबाट पैसा मागिरहनु हुँदैन भन्ने मान्यतामा थिए । अध्ययनकै क्रममा अभ्यास गर्न कलेजले ३ महिना पोखरा पठायो । उनले त्यहाँ पनि विद्यार्थीलाई ट्यूशन पढाउन थाले । ट्यूशन सेन्टर चलाउँदा राम्रो आम्दानी हुने सम्भावना उनले त्यही देखे । र, एमडी पढ्नको लागि आवश्यक रकम जुटाउने उद्देश्य राखेर ब्रिजकोर्स पढाउन शुरु गरे । सन् १९९६ मा शर्माले आफ्नी दिदीसँग १२ हजार ऋण लिएर इन्स्टिच्युटको शुरुवात गरेका थिए । २ वटा कोठामा फर्निचर राखेर सो इन्स्टिच्यूटको प्रारम्भ भएको थियो । ‘शुरुको २ वर्ष निकै दुःख भयो, राम्रोसँग फर्निचरको व्यवस्था गर्न सकेनौं, शिक्षकहरुलाई तलब दिने अवस्था पनि बनेन ।’ शुरुको २ महिना इन्स्टिच्युटमा पढ्ने ५ जना विद्यार्थी मात्रै थिए । थोरै विद्यार्थी भएकाले शिक्षक राख्ने अवस्था थिएन । शर्माले आँफैले पढाए । उनका अनुसार ६/७ महिनासम्म अन्य स्टाफ राखिएन । दिन बित्दै गए । विद्यार्थी बढ्दै गए । ‘पहिलो वर्ष हामीले २ सय ५० जना विद्यार्थी पढायौं, दोस्रो वर्ष ५/७ सय भयो भने तेस्रो वर्षमा १५ सय जति विद्यार्थी पढ्न आएका थिए’ शर्माले भने । केही वर्षसम्म कोठाहरु भाडामा लिने र त्यही कक्षा सञ्चालन गर्ने गर्दथे । विद्यार्थी संख्या बढ्दै गएपछि नेपाल ल क्याम्पसमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरेको शर्मा बताउँछन् । नवीन शर्मालाई लामो समय व्यवसाय गर्छु भन्ने पनि लागेको थिएन । तर बिस्तारै यसले व्यावसायिक आकार लियो । नेमलाई संस्थागत बनाउँदै लगे । ब्रिजकोर्स पढ्नेमध्ये सबैभन्दा धेरै विद्यार्थी नेममा जान थाले । ५ वर्ष पार गर्दा नेम नेपालकै टप लेभलको ब्रिजकोर्स पढाई हुने इन्स्टिच्युटको रुपमा स्थापित हुन पुग्यो । ०५२ सालमा सञ्चालनमा आएको नेमले ०६२ सालमा काठमाडौं पुतलीसडकमा ३७ आना जग्गा किन्यो । त्यसपछि नेमको व्यावसायिक गतिले रफ्तार लियो । त्यही जग्गा धितो राखेर भवन बनाउन शर्माले नबिल बैङ्कबाट ऋण लिए । ‘जग्गाको मूल्यभन्दा अलि बढी नै कर्जा पाए, त्यसपछि मलाई भवन बनाउनेदेखि व्यवसाय सञ्चालन गर्न सजिलो भयो’ उनले खुलस्त बताए । नेम इन्स्टिच्युटभित्र ३/४ वटा कार्यक्रम सञ्चालन भएका छन् । जसको नेतृत्व शर्माको पारिवारिक टिमले नै गर्दै आएको छ । ‘नेमले मेडिकल इन्ट्रान्स र नर्सिङ इन्ट्रान्सको कक्षा सञ्चालन गर्छ, सेडेपले लोकसेवा र बैंकिङ क्षेत्रको विषयमा कक्षा सञ्चालन गर्छ र नर्सिङ प्लसले नर्सिङको लोकसेवा कक्षा सञ्चालन गर्छ,’ शर्माले भने । आम्दानीको विस्तारसँगै शर्माले लगानीको क्षेत्र पनि विस्तार गर्दै लगेका छन् । जसमध्ये उनले बानेश्वरमा रहेको ह्वाइट हाउस इन्टरनेशनल कलेजको ७० प्रतिशत सेयर लिएका छन् । त्यस्तै गत सालदेखि अर्वाना स्कुल अफ साइन्स नामको प्लस टु कलेज स्थापना गरेका छन् । नेम अगाडिको जग्गा किनेर उनले बहुउद्देश्य भवन बनाउने तयारी थालेका छन् । साथै, शर्माले वीरगञ्जमा चिनियाँ लगानीकर्तासँग मिलेर स्लटर हाउस पनि सञ्चालन गरेका छन् । इन्स्टिच्युट व्यवसायको प्रकृति भनेको मौसमी हुने शर्माको भनाइ छ । मौसमी र दैनिक आंशिक समय मात्रै कक्षा सञ्चालन हुने भए पनि भौतिक पूर्वाधारको पर्याप्त व्यवस्था गर्नुपर्ने भएकाले सोही पूर्वाधारमा प्लस टु सञ्चालन गर्ने गरी अगाडि बढेको उनी बताउँछन् । ‘बैशाखदेखि ४ महिना बिहानदेखि साँझसम्म सञ्चालन हुन्छ, त्यसपछि भने बिहान चल्छ, दिउँसो खाली हुन्छ’, उनले भने । त्यसैले खाली भएको समयलाई लक्षित गरेर प्लस टु सञ्चालनमा जोड दिएका छन् । आफूलाई व्यवसायको विषयमा छिटो निर्णयकर्ताको रुपमा शर्मा परिचय गराउँछन् । ‘म प्रचण्ड जस्तै हो, राती दिमागमा आयो भने बिहान काम गरिसक्छु’, उनले भने । पछिल्लो समयसम्म आउँदा व्यवसायको कारोबार र नाफा राम्रो भएको र त्यसकै आधारमा नयाँ लगानीको क्षेत्रमा लगानी गरिएको उनले बताए । शर्मा इन्स्टिच्युटमा प्रायः बिहान साढे ५ बजे नै आउने गर्छन् । सरसफाइ गर्ने कर्मचारी आउन केही ढिला हुने हुँदा उनी आँफैले सामान्य सरसफाइको काम गर्छन् । ‘कामदार साढे ६ बजे आउँछन्, उनीहरुलाई पर्खेर त भएन, साढे ५ बजे नै आएर एउटा हातमा कुचो र एउटा हातमा पोछा लिएर तुफान गतिमा सफा गर्ने काम गर्छु,’ उनी भन्छन् । ‘निरन्तर मिहिनेत गर्दा सफल हुन सकिन्छ, व्यवसायले तुरुन्त नाफा दिँदैन’, उनले भने, ‘एउटा जागिर खाने मान्छेले भन्दा व्यवसाय गर्ने मान्छेले बढी दुःख गर्नुपर्छ ।’ व्यवसाय गर्ने मान्छे आफ्नो व्यावसायिक स्थलमा अरुभन्दा अगाडि आउनुपर्ने र अरुभन्दा पछाडि घर फर्कनु पर्ने बताउँछन् । उनका अनुसार अमेरिका लगायत अन्य विकसित देशमा पनि सो अभ्यास हुन्छ । नेपालमा कुनै व्यवसायको क्षेत्रमा लामो समयसम्म प्रतिस्पर्धी नभएको र व्यवसाय गर्न सजिलो पनि भएको शर्माको अनुभव छ । नेम जस्तै गर्छु भनेर धेरै संस्था आए । नेपाली र विदेशी धेरैले लगानी पनि गरे । ठूला लगानीकर्ताहरुले पनि राम्रो गर्न सकेनन् । पछिल्लो २० वर्षमा नेमसँग प्रतिस्पर्धा गर्ने गरी कोही पनि बजारमा नआएको उनी बताउँछन् । ‘धेरै पैसा लगानी गरेर मात्रै इन्स्टिच्युट सञ्चालन गर्न सकिन्न, यो क्षेत्रको विषयमा ज्ञान र काम गर्ने इच्छा हुनुपर्छ’ उनले भने– ‘पहिलो, विद्यार्थीलाई चाहिने राम्रो शिक्षक हो, दोस्रो, राम्रो शिक्षकले पनि नचाहिँदो विषय पढाउने चलन छ, त्यसलाई करेक्सन गर्न आँफैले जान्नुपर्छ, त्यसैले विषयकै ज्ञान हुनुपर्छ ।’ पाकिस्तानमा करोड डुब्यो सन् १९९९ मा शर्माले पाकिस्तानमा मेडिकल कलेज सञ्चालन गर्न लगानी गरे तर त्यो डुव्यो । ‘पाकिस्तानको एउटा कलेजमा लगानी गरेँ, पछि रिकग्नाइज भएन, मैले गल्ती गरेँ, १ करोड पैसा डुव्यो, त्यो त्यतिबेलाको ५/७ वर्षको आम्दानी थियो,’ उनले भने । नेपालमा निजी क्षेत्रका मेडिकल कलेज नभएको अवस्थामा नेपाली विद्यार्थी चिकित्सा शिक्षा पढ्न जाने कलेज बनाउने उनको सोच रहेछ । ‘त्यतिबेला नेपालमा विद्यार्थीले डाक्टर पढ्नको लागि मेडिकल कलेजमा भर्ना पाउँदैन थिए, पाकिस्तानमा प्राइभेट मेडिकल कलेजमा लगानी गर्यो भने राम्रो हुन्छ भन्ने सल्लाह आयो विश्वास गरेर ५०/५० लाख गरेर दुई पटक पैसा लगानी गरेँ, तर सबै स्वाहा भयो,’ उनले भने– ‘पछि कानुनी प्रक्रियामा पनि गएँ, त्यसमा पनि थप खर्च भयो तर पाकिस्तानको अदालतमा मुद्दा नै हारियो’ उनले ठूलो असफलतासहितको कथा सुनाए । नेपालको कानुनले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएकोले उनले नेपालको अदालतमा न्याय खोज्न पनि सकेनन् । त्यस्तै, शर्माले फिल्म क्षेत्रमा पनि लगानी गरेर डुबाए । सन् २००० अगाडि उनले आफ्नो साथीमार्फत ‘के भो लौ न नि’ फिल्ममा लगानी गरेका थिए । सो फिल्मले ३५ लाख घाटा खाएको र १७ लाख रुपैयाँ आफ्नो डुबेको उनले सुनाए । ‘धेरै क्षेत्रमा हात हालेर हुँदैन, धेरै कम्पनी खोल्ने व्यवसायीले पनि १/२ वटा कम्पनीबाट राम्रो कमाएका हुन्छन्, बाँकी कम्पनी नोक्सानमा हुन्छन्’ उनले केही कर्पोरेट हाउसहरुको उदाहरण पनि प्रस्तुत गरे । अमेरिकामा ट्याक्सी ड्राइभर व्यवसायले धेरै ठूलो आकार लिइसकेपछि पनि शर्माभित्र एमडी गर्ने इच्छा मरेको छैन । आफ्ना सहपाठीहरुले सोही विधाका विभिन्न क्षेत्रको नेतृत्व तहमा पुगेको कुराले उनलाई चुक–चुक बनाइरहेको छ । पैसा वा व्यवसायको आकारले मात्रै सन्तुष्टी नदिने धारणा सुनाउँछन् शर्मा । ‘ओभरल कारोबारको परिणाम हेर्नुहुन्छ भने त धेरै छ, तर यसमा मेन्टल सेटिस्फ्याक्सन हुँदैन्, २५ वर्षदेखि नै कहिले विद्यार्थी क्लासमा आएन भन्ने हुन्छ, कहिले शिक्षक,’ उनले भने, ‘मेरो यो पेसा नै होइन भन्ने लाग्छ ।’ शर्माको पारिवारिक बसोवास अमेरिकामा पनि छ । उनी अमेरिका जाँदा आवश्यक खर्चको लागि डलर साटेर लैजाने विषय आफ्नो मनले नमान्ने बताउँछन् । पछिल्लो समय ३ महिनाको लागि शर्मा अमेरिका गएका थिए । सो क्रममा उनले आफ्नो जाने आउने र आवश्यक खर्चको लागि वासिङटन डीसीमा ट्याक्सी चलाएको बताउँछन् । ‘मैले ३ महिनासम्म बिहान साँझ ट्याक्सी चलाएँ, दैनिक ३ सय डलरसम्म आम्दानी गर्थें,’ उनले भने, ‘दिनको २/३ सय डलर कमाउँथे, त्यहाँ दिनको २/३ सय डलर कमाउँदा जुन आराम छ यहाँ वर्षको ५/७ करोड कमाउँदा पनि त्यो आराम छैन ।’ अमेरिकामा कामको सम्मान गर्ने वातावरण भएको र नेपालमा नभएको उनको अनुभव छ । ठूलो व्यवसाय गर्दैमा गुणस्तरीय जीवन नहुने उनको भनाइ छ । मान्छेलाई पोजिसनको आधारमा सम्मान गर्नेभन्दा पनि उसको योगदानको आधारमा सम्मान गर्नुपर्ने धारणा शर्माको छ । उनी भन्छन्, ‘देश विकास भनेको सबै मान्छेको भ्यालु हो ।’ सबै मान्छेलाई भ्यालु दियो भने मात्रै काम गर्ने वातावरण हुने उनी बताउँछन् । ‘अमेरिकामा जुनसुकै स्तरको काम गर्ने मान्छेलाई बराबर सम्मान गरिन्छ ।’ नेपालमा विकास भनेको सरकारले गर्छ भन्ने भ्रम परेको तर त्यसो नभएको उनको भनाइ छ । नेपालको विकासमा धेरै योगदान उद्यम गर्ने र राज्यलाई धेरै कर बुझाउनेहरुको भएको उनी बताउँछन् । करदाताहरुले कर बुझाएकै कारणले राज्यले जनतालाई विभिन्न विषयमा सुविधा दिन सकेको बताउँदै शर्माले कर बुझाउनेले त्योभन्दा अगाडि उत्पादन र रोजगारीको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताउँछन् । जुन मान्छेले जुन क्षेत्रमा काम गरिरहेको छ, सोही क्षेत्रलाई सफल बनाउने कोशिस गर्दा नै देशको विकास हुने उनको तर्क छ ।  (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल