छिमेक लघुवित्तको लाभांश घट्यो, नगद बढायो
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कूल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।
सन् २०२२ मा एयरबसद्वारा ६६१ व्यावसायिक विमान उत्पादन
एजेन्सी । एयरबसले सन् २०२२ मा ६६१ वटा व्यावसायिक विमान ग्राहकलाई उपलब्ध गराएको जनाएको छ । कम्पनीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२२ मा हामीले ८४ जना ग्राहकलाई ६६१ विमानलाई ग्राहक समक्ष पुर्याएका छौँ । यो सङ्ख्या सन् २०२१ को तुलनामा ८ प्रतिशतले बढी हो ।’ सन् २०२२ मा कम्पनीको ‘ए ३२०’ सबैभन्दा लोकप्रिय विमान प्रकार बनेको छ । यो नमूनाका विमानहरू विश्वभर ५१६ वटा ग्राहकलाई हस्तान्तरण गरिएको थियो । यद्यपि, उक्त अवधिमा कम्पनीको नयाँ नमूनाको विमान ‘ए ३५०’ भने ६० वटा बजारमा पठाइएको थियो । एयरबसका प्रमुख कार्यकारी अधिकृत गुयलाउम फाउरीले व्यावसायिक विमानको आपूर्ति लक्ष्यभन्दा कम भएको बताएका छन् । एयरबसले सन् २०२२ मा एक हजार ७८ नयाँ विमानका लागि निवेदन दता भएको र डिसेम्बर अन्त्यसम्ममा सात हजार विमान निर्माणको क्रममा विभिन्न अवस्थामा रहेको उनले बताए। ‘मालवाहक जहाजसहित हाम्रा सबैप्रकारका विमानहरूलाई समेट्ने महत्वपूर्ण मागले हाम्रो उत्पादन लाइनको शक्ति र प्रतिस्पर्धात्मकतालाई प्रतिबिम्बित गर्दछ’, फाउरीले भने। जुलाई २०२२ मा, फाउरीले आपूर्ति श्रृङ्खलाको समस्याको कारण विमान हस्तान्तरण गर्ने लक्ष्य ७२० रहेपनि यो सङ्ख्या लगभग ७०० को हाराहारी रहने बताएका थिए ।
स्वरोजगार लघुवित्तको २३.१५७९ प्रतिशत लाभांश घोषणा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र १.५७७९ प्रतिशत नगद गरी कूल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
सत्ता साझेदार दलको बैठक ३ बजे बालुवाटारमा बस्ने
काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेका छन् । उनलाई तत्काल उपस्थित सात सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । सत्ता साझेदार दलमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् । यसैबीच, आजै मन्त्रिपरिषद्को नियमित बैठक पनि राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ ।
२४ वर्षकै उमेरमा गाविस अध्यक्ष बनेका सरोजकुमार यादव मधेस प्रदेशका मुख्यमन्त्री
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पटकपटक कार्यकारी पदमा रही अनुभव बटुलिसकेका छन् । यसअघि मधेस प्रदेशको सभामुखको भूमिका निर्वाह गरिसकेका मुख्यमन्त्री यादव सङ्घीय सरकारमा दुईपटक राज्यमन्त्री बनिसकेका छन् । वि.सं. २०३० मा जन्मेका यादव सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन् । भारतीय सीमावर्ती क्षेत्र भारत विहारका नेतासँग उनको राम्रो सम्बन्ध छ । गाउँ आसपासमा धार्मिक, शिक्षा, सामाजिक र स्वास्थ्य क्षेत्रमा उहाँको परिवारले जग्गा र नगद दान गरेकाले यस क्षेत्रमा उनको परिवारको योगदानको चर्चा हुने गर्दछ । धनाढ्य परिवार (जमिन्दार) उनका स्व.पिता परमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता थिए । मुख्यमन्त्री यादव सद्भावना पार्टीका महासचिव थिए । जसपा, लोसपा, सद्भावना लगायतका मधेस केन्द्रित दल एकीकरण भएर राजपा बन्दा उनी राजपाका राष्ट्रिय उपाध्यक्षसमेत भएका थिए । उनले प्रवीणता प्रमाणपत्र तह (आइएससी)सम्म अध्ययन गरेका छन् । माध्यमिक शिक्षा गाउँ नजिकै सिम्रौनगढस्थित कङ्काली माविबाट प्राप्त गरेका हुन् । २४ वर्षकै उमेरमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दापढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित हुँदै उनले राजनीतिक यात्रा थालेका थिए । वि.सं. २०५९ सम्म उनी गाविस अध्यक्ष हुँदा लोकप्रियता कमाउन सफल भएका थिए । वि.सं. २०६४ को पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै उनले संसदीय यात्रा सुरु गरेका थिए । तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार रामबाबु यादवलाई पराजित गरी यादव विजयी भएका थिए । त्यसबेला नेकपा माओवादीको सरकार थियो । पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलो पटक सङ्घीय स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका थिए । वि.सं. २०७० मा भने फेरि यसै क्षेत्रबाट दोस्रोपटक संविधानसभा सदस्यमा उम्मेदवार बन्दा कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । वि.सं. २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बनेका थिए । मुख्यमन्त्री यादव एमाले र जसपाबीचको चुनावी तालमेलमा बारा निर्वाचन क्षेत्र नं १ को (२)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित भएका हुन् । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट राजनीति यात्रा सुरु गरेका यादवले पहिलो पटक तत्कालीन राजपाबाट चुनावी प्रतिस्पर्धा गरेका थिए भने यसपटक जसपामा प्रवेश गरी उम्मेदवारी दिएका थिए । दोस्रो पटकको चुनावमा उनको क्षेत्रमा गत मङ्सिरको चुनावमा वाम लोकतान्त्रिक गठबन्धन थिएन । यादवले ४ हजारभन्दा बढी मतान्तरले निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नागेन्द्र साह पराजित गर्दै विजयी भएका हुन् । यसरी ५ वर्षसम्म सभामुखको अनुभव बटुलेका यादवले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाका तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्री भएका हुन् ।
कर्णालीका मुख्यमन्त्रीको राजनीतिक यात्रा : १० कक्षासम्मको शिक्षा, त्रिवेणी चौकी आक्रमण विशेष क्षण
काठमाडौं । सङ्घीयताको इतिहासमा कर्णाली प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालको नेतृत्व नेकपा (माओवादी केन्द्र)ले नै गरेको छ । पहिलो कार्यकालमा प्रदेशसभामा नेकपा (एमाले) पहिलो दल बने पनि सत्तागठबन्धनको भागबण्डामा कर्णाली सरकारको नेतृत्व पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका थिए । पछिल्लो राष्ट्रिय राजनीतिमा आएको फेरबदलसँगै वि.सं.२०७४ को प्रदेशसभा सदस्यमा प्रत्यक्षमा एक स्थान मात्र जितेको नेपाली कांग्रेसबाट जीवनबहादुर शाहीले १४ महिना १० दिन प्रदेश सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बने । वि.सं.२०७९ को प्रदेशसभा निर्वाचनमा मुख्यमन्त्री बन्ने चाहनाका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएर आए पनि राष्ट्रिय राजनीतिमा आएको अर्को बदलावका कारण उनले प्रमुख प्रतिपक्षी दलको नेतामा चित्त बुझाउनु परेको छ । नेकपा एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेल वि.सं.२०७४ र ०७९ मा मुख्यमन्त्री हुने सपना बोकेर प्रदेशसभा सदस्यमा निर्वाचित भए । विडम्बना १ उनी आफैँले नै फरक पार्टीको सदस्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्नुपर्ने बाध्यता सामना गर्नुपरेको छ । नेता कँडेलकै प्रस्तावमा माओवादी प्रदेशसभा दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री शर्माको राजनीतिक यात्रा कर्णाली प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित प्रदेशसभा सदस्य छन् । वि.सं. २०२८ भदौ २८ गते चौरजहारी नगरपालिका– १४ साक्चा, नुवाकोट (साविक नुवाकोट गाविस)मा जन्मेका उनले नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वका विभिन्न मोर्चामा रहेर काम गरेका थिए । उनले वि.सं. २०४१ मा स्कुल पढ्दै गर्दा अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति यात्रा सुरु गरेका थिए । सानो छँदा निर्दल र बहुदलका बारेमा चासो राख्दै २०४१ सालमै उनकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी भएर तत्कालीन राजतन्त्रको विरोध र जनयुद्धको तयारीका क्रममा २०५०/५१ सालमा रुकुम रोल्पामा सञ्चालित ग्रामीण वर्ग सङ्घर्षको थालनीकर्ताका रूपमा सशस्त्र द्वन्द्वमा पूर्णकालीन कार्यकर्ता बने । वि.सं. २०४३ मा सदरमुकाम मुसीकोट पुगेर विद्यार्थीको एकाइ कमिटी सदस्य हुँदै वि.सं.२०४६ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महामन्त्री रहेको नेकपा (मसाल) को साङ्गठनिक सदस्यता लिई वि.सं. २०४७ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा राजनीतिमा होमिएका थिए । त्यस्तै २०४८ मै सर्वहारावादी श्रमिक सङ्गठन, पातलो मसालको केही हिस्सा, मोटो मशाल र मसालसहित नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र भएसँगै पछि बाहिर जनमोर्चाका नाममा वैधानिक राजनीतिक गतिविधिमा उनी संलग्न भए । त्यो बेलामा शर्माको अगुवाइमा सशस्त्र द्वन्द्वको आवश्यकताबारेमा जनजागरण, सशस्त्र द्वन्द्वको तयारी, जनसेवा तथा जनपरिचालनमार्फत विकास निर्माण र स्थानीय जाली फटाहा विरोधी जनसङ्घर्षका थुप्रै कामहरु भएका थिए । वि.सं. २०५० मा महतको फूलबारी जङ्गलमा ४५ दिने सशस्त्र तालिम गरेर ‘जनयुद्ध’ का लागि फौजी आधार तयार गर्न शर्माले महत्त्वपूर्ण भूमिका खेले । सशस्त्र युद्धको आधार तयार गर्न रुकुममा सञ्चालित ग्रामीण सङ्घर्षका क्रममा भएका स्थानीय थुप्रै जनसङ्घर्षका कामको नेतृत्व लिँदै सशस्त्र द्वन्द्वपूर्व नै पूर्णकालीन राजनीतिमा होमिएका शर्माले २०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चौकी कब्जाको नेतृत्व गरेका थिए । प्रचण्ड नेतृत्वमा सशस्त्र द्वन्द्व सुरु भएपछि उनको भूमिगत राजनीति सुरु भएको थियो । वि.सं.२०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी शर्माका लागि उक्त लडाइँ विशेष स्मरणीय रहेको छ । एउटा एसल्ट टोली (आक्रमणमा सहभागी मुख्य लडाकु टिम)को कमाण्ड गरी उक्त लडाइँमा सहभागी शर्माका लागि मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) लाई गुमाउनुपरेका कारण पनी विशेष स्मरणीय रहेको थियो । वि.सं. २०५४ मा साविक कर्णालीका जिल्लामा विभिन्न सैन्य कमाण्डको नेतृत्व सम्हालेका शर्मा २०५८ पछि मुगु, डोल्पा र विसं २०६१ को शान्ति प्रक्रियापछि पनि दैलेखमा रहेर काम गरे । जतिबेला दैलेखमा माओवादीविरुद्ध प्रतिकार अभियान चलाइएको थियो । सो बखतमा उनले जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखलगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इञ्चार्जका रूपमा नेतृत्वदायी भूमिका खेलेका थिए । तत्कालीन विद्रोही र राज्य पक्षबीच विस्तृत शान्ति प्रक्रियामा हस्ताक्षर हुँदा शर्मा थरुहट राज्य दाङ, बाँके, बर्दिया र कैलाली, कञ्चनपुरको प्रमुख थिए । वि.सं.२०६७ पछि नेवाः राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभाग, वि.सं.२०७४ मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख, पार्टीको जिल्ला कमिटी इञ्चार्ज, २०७८ मा प्रदेश कमिटी अध्यक्ष हुँदै कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका छन् । कक्षा १० सम्मको औपचारिक शिक्षा पूरा गरेका मुख्यमन्त्री शर्मा पार्टीमा आर्ट नामले परिचित छन् । हाल उनी नेकपा (माओवादी केन्द्र) को पोलिटब्युरो सदस्यका रूपमा काम गर्दै आएका छन् । आफूले राजनीतिमा लाग्न प्रेरित गरेका र समकालीन राजनीतिक पृष्ठभूमिका थुप्रै सहकर्मीहरूले राज्य सञ्चालनका क्रममा सुविधाका पदधारण गर्दै गर्दा उनले संसदीय राजनीतिको यात्रामा पहिलो पटक प्रवेश गरेका हुन् । राज्यसत्ता परिवर्तनका लागि सशस्त्र द्वन्द्वका क्रममा सिङ्गै कर्णालीलाई पैदल हिँडेर पूरा गरेका शर्माले कर्णालीका जनताका मुहारमा खुसी र सम्पन्नता ल्याउने सङ्कल्प गरेका छन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सका लाभांश घोषणा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.७५ प्रतिशत बोनस सेयर र ०.१४ प्रतिशत नगद कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश साविक हिमालयन जनरल इन्स्योरेन्सको नाफाबाट मात्रै हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिने छ ।
पहिलो संसद यात्रामै सुदूरपश्चिमका मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल को हुन् ?
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार रावल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । विद्यार्थी छँदादेखि राजनीतिक यात्रा थाल्नुभएका रावल राजनीतिककर्मीसँगै लेखक, साहित्यकार र इतिहासका अध्येयताका रुपमा समेत परिचित छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा बसोबास गर्दै आएका रावलको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा बुबा दानसिंह र आमा कलादेवीको सन्तानका रूपमा २०२१ जेठ १६ गते भएको हो । मुख्यमन्त्री रावलले आधारभूत तहकोे शिक्षा भारत मेघालयको सिलङ, मध्यप्रदेशको जबलपुर र उत्तराखण्डको पिथौरागढबाट हासिल गरेका हुन् । बुवा दानबहादुर भारतीय सेनामा जागिरे थिए । बैतडीको शाहीलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट कक्षा १० उत्तिर्ण गर्नुभएका मुख्यमन्त्री रावलले प्रमाणपत्र तहको शिक्षा भारतको पिलिभितबाट तथा स्नातक तहको शिक्षा कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसबाट गरेका हुन् । उनी नेपाली, अंग्रेजी, हिन्दी, डोटेली, कुमाउँनी, थारुलगायत भाषामा पोख्त छन् । वि.सं. २०३६ मा जनमत संग्रहका लागि भएको आन्दोलनबाट रावलको राजनीतिक यात्राको थालनी भएको हो । मुख्यमन्त्री रावलले बैतडीमा आफूले पढेको विद्यालयमा अध्यापन गरेका थिए । वि.सं. २०४२ मा उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आवद्ध भइ आन्दोलनको नेतृत्व गर्ने क्रममा पक्राउ परेका थिए । वि.सं. २०४५ मा माक्र्सवादी अध्ययन दलको सदस्यका रुपमा समेत उनले काम गरेका थिए । वि.सं. २०४६ को जनआन्दोलनमा रावल प्रेमसिंह धामी नेतृत्वको तत्कालीन नेकपा (माले) को प्रथम जिल्ला संगठन कमिटीमा आवद्ध भएर काम गर्नुका साथै २०४७ सालमा अनेरास्ववियुको तेश्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । वि.सं. २०४८ मा मुख्यमन्त्री रावल अनेरास्ववियु पाँचौँ राष्ट्रिय परिषद् सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज भएका थिए । वि.सं. २०५१ मा नेकपा (एमाले) को जिल्ला संगठन विभाग प्रमुख, २०५४ सालदेखि २०५९ सम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति, २०५४ सालमा नेकपा (एमाले)को जिल्ला उपसचिव तथा २०५७ सालदेखि २०६२ सालसम्म एमाले कञ्चनपुरको सचिव (दुई कार्यकाल)का रुपमा काम गरेको अनुभव मुख्यमन्त्री रावलसित छ । वि.सं. २०६२/२०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका रावललाई राजकाज मुद्दाअन्तर्गत पक्राउ गरिएको थियो । उनी २०६२ मा एमालेको महाकाली अञ्चल समन्वय कमिटीको सचिव, २०७५ देखि २०७७ सम्म एमाले केन्द्रीय कमिटी सदस्य तथा २०७८ सालमा एमाले केन्द्रीय र प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इञ्चार्ज भएर मुख्यमन्त्री रावलले काम गरेका थिए । उनी हाल एमाले पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम सहइञ्चार्जका रुपमा रहेका छन् । मुख्यमन्त्री रावल २०७९ सालमा एमालेको समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । रावल एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीमा चयन भएका हुन् । उनी राजनीतिसँगै लेखन क्षेत्रमा समेत दख्खल राख्नछन् । उनले तत्कालीन डोटी राज्यको मध्यकालीन इतिहास लेखेका छन् । रावलका कविता संग्रह पनि प्रकाशित छन् । यसबाहेक मुख्यमन्त्री रावलका विभिन्न विषयका कार्यपत्र, सोधपत्र र लेखरचना पनि प्रकाशित छन् । उनले चुरे संरक्षण आवाज बुलेटीनको सम्पादकका रुपमा समेत काम गरेका छन् । मुख्यमन्त्री रावल सुदूरपश्चिम विश्वविद्यालयको संस्थापक सदस्य, महाकाली अञ्चल अस्पताल सञ्चालक समितिको अध्यक्ष, सिद्धनाथ बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस र शारदा विद्यापीठको सञ्चालक समितिको सदस्यका रुपमा समेत काम गरिसकेका छन् । उनी महाकाली साहित्य समाजको वरिष्ठ उपाध्यक्षसमेत रहेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि राससलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री रावलले आफूमा महत्वपूर्ण जिम्मेवारी थपिएको अनुभूति भएको बताए । शिक्षाको गुणस्तर, कृषि, पर्यटन, सामाजिक पूर्वाधारको विकास, जैविक विविधताको संरक्षण र रोजगारी सिर्जनामा प्राथमिकता दिन्छु,’ उनले भने । रावललाई मुख्यमन्त्रीमा नियुक्त गर्न नेकपा (माओवादी केन्द्र)का ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका १ गरी २९ सदस्यको समर्थन रहेको छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक हुन्छ । प्रदेश प्रमुख जोशीले बहुमत सांसदको समर्थन जुटाउनसक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेस गर्न एक हप्ताको समय दिएको थियो । केन्द्रमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको थियो ।