विकासन्युज

डेढ दशकमा हुलाकी राजमार्गको प्रगति ८३ प्रतिशत

काठमाडौं । निर्माण सुरु भएको डेढ दशकमा हुलाकी राजमार्गको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । तराई मधेस क्षेत्रको समृद्धिको आधारका रूपमा रहेको सो राजमार्गमा हालसम्म नौ सय १० किमी सडक र एक सय १५ पुल निर्माण सम्पन्न भएका छन् । केही वर्षयता कोभिड, बन्दाबन्दीले गर्दा निर्माणमा ढिलाइ भइरहेको हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख धर्मेन्द्रकुमार झाले बताए । पहिले निर्माणस्थलका कारण निर्माणमा अवरोध पुगेको थियो, जुन अझै समाधान भइसकेको छैन । झण्डै दुई सय ५० किमी ठेक्का लगाउन बाँकी रहेको र पाँच सय किमी निर्माणाधीन रहेको निर्देशनालयले जनाएको छ । दाङ, बर्दिया र कपिलवस्तु गरी झण्डै ९० किमी ठेक्का लगाउन बाँकी रहेको प्रमुख झाले बताए । कतिपय ठेक्कामा निर्माण कम्पनीले काम नगरेको भए पनि विनियमावलीको व्यवस्थाका कारण विगतमा अवधि थप भइरहेको निर्देशनालयका प्रमुख झाले बताए । उनका अनुसार काम नभएका ठेक्कामा पनि पटक–पटक जरिवाना नलिएरै अवधि थप भइरहेको थियो । सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधनले ठेक्काको अवधि असारसम्मका लागि थप गरेको छ । विगतमा कानुनका कारण काम नगर्दा पनि अवधि थप हुने व्यवस्था भएपछि अहिले काम नहुँदा जरिवाना गराउन सकिने प्रमुख झाले बताए । थपिएको अवधिमा यो समयसम्ममा यति गरिसक्नु पर्छ भनी तालिका बनाइएको र त्यसअनुसार नहुँदा कारबाही हुने उनको भनाइ छ । अहिले आयोजनाअन्तर्गत झण्डै पाँच सय किमी सडक निर्माणाधीन रहेको छ । अहिले रुग्ण ठेक्का नभए पनि विगतमा काम नगरी अवधि थपिएको र अहिले पनि प्रगति हुन नसकेका ठेक्का पनि रहेको उनले बताए । कार्यतालिकाअनुसार काम नगरेमा ठेक्का तोडिने निर्देशनालयले जनाएको छ । उनले भने, ‘अहिले सडकका छ–सात ठेक्का र छ–सात पुलको ठेक्कामा समस्या देखिएको छ ।’ चालु आवमा २७ पुल र एक सय ६० किमी सडक कालोपत्रको लक्ष्य रहेको आयोजनाले जनाएको छ । पछिल्लोपटक थपिएको अवधि आव २०७९/८० सम्म रहेको छ । कोभिडका कारण अरु धेरै विकास आयोजनाजस्तै यो आयोजनालाई असर गरेको प्रमुख झाले बताए । आयोजनामा खासगरी वन क्षेत्र र संरक्षण क्षेत्रमा निर्माणका लागि स्वीकृति नहुँदा निर्माण हुन नसकेको हो । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलेको रेखाङ्कनअनुसार निर्माण गर्न नसकिएपछि त्यसको विकल्पका रूपमा पूर्व–पश्चिम राजमार्गको प्रयोग गर्ने गरी योजना बनाइएको प्रमुख झाले बताए । उनले भने, ‘अहिले निर्माण गर्न नसकिएको क्षेत्रमा हुलाकी राजमार्गकै उत्तर–दक्षिण सडकबाट पूर्व–पश्चिम राजमार्ग जानुपर्ने हुन्छ ।’ यो आवमा ५० पुल र ९० किमी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने निर्देशनालयको तयारी रहेको छ । आयोजनाको निर्माण हाल छ योजना कार्यालय र एक डिभिजन कार्यालयमार्फत अघि बढाइएको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । योजना कार्यालय जनकपुर, वीरगञ्ज, कपिलवस्तु, नेपालगञ्ज र धनगढीमा रहेका छन् भने डिभिजन कार्यालय भरतपुरले समेत चितवन खण्डमा निर्माण गरिरहेको छ । इटहरी योजना कार्यालयअन्तर्गत तीन सय ३६ किमी सडकमध्ये जम्मा एक सय ९१ किमी कालोपत्र सम्पन्न भएको छ । जनकपुर योजना कार्यालयले दुई सय ८९ किमीमध्ये एक सय ६७ किमी, वीरगञ्ज योजनाले दुई सय तीन किमीमध्ये एक सय ८३ किमी सम्पन्न गरेको छ । कपिलवस्तुस्थित योजना कार्यालयले जम्मा एक सय २६ किमीमध्ये ५२ किमी, नेपालगञ्जले दुई सय ८४ किमीमध्ये एक सय १९ किमी र धनगढीले एक सय ५७ किमीमध्ये ५५ किमी सम्पन्न गरेको छ । डिभिजन सडक कार्यालय भरतपुरले ४१ भरतपुर माडी सडक २० किमी सम्पन्न गरेको छ । चालु आवमा लक्ष्यअनुसारको सडक र पुल निर्माण गरेर आगामी आवमा एक सय ५३ किमी सडक र ६० पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाने प्रमुख झाले बताउनुभयो । उहाँका अनुसार निर्माणमा जान बाँकी खण्डमध्ये गाईघाट बनियानी खण्डमा ३५ सडक निर्माणका लागि र ३० किमीको चिराइनाका–कल्याणकोट–गोबरडिहा–गढावा–राजपुर–ठोकुवा सडकखण्डमा प्रारम्भिक वातावरणीय मूल्याङ्कन ९इआइए० भइरहेको छ । तीस किमी अमुवा–माढी–रिउखोला सडकको केही खण्ड र चितवन नवलपुरको जगतपुर–बहुवन सडकखण्ड ३८ किमी निकुञ्ज क्षेत्रमा तथा नवलपरासीको महेन्द्र राजमार्गबाट दुम्कीबास त्रिवेणी सडकखण्ड २० किमी जङ्गली क्षेत्रमा रहेको छ । आयोजनाअन्तर्गत हाल १६ वटा निषेधाज्ञा मुद्दा रहेका छन् । सडक सीमासम्बन्धी विवादका कारणले गर्दा निर्माणस्थल खाली गराउन समस्या भइरहेको प्रमुख झाले बताउनुभयो । बिजुली र टेलिफोनका खम्बा स्थानान्तरणमा कठिनाइ भइरहेको छ । निर्माणस्थलमा देखिएको समस्या समाधानका लागि स्थानीय निकाय र प्रशासनको सहयोगमा समाधानका लागि प्रयास भइरहेको आयोजनाले जनाएको छ । सडक सीमा विवादका कारण जनकपुर, पुलचोक, तेतरिया बजार, वीरेन्द्रबजार यदुकोहा, तीनकोरियालगायतका स्थानमा निर्माणमा अवरोध पुगेको उनले बताए । उनले भने, ‘कतिपय ठाउँमा सडक छेउमा रहेका मन्दिरलाई स्थानान्तरण गरी सडक निर्माण गर्नुपर्ने छ ।’ भारतीय अनुदानमा बनेका सडकमध्ये कतिपय नेपाल सरकारलाई हस्तान्तरण भइसकेका र कतिपय निर्माणका क्रममा रहेको आयोजनाले जनाएको छ । विगतमा निर्माण सम्पन्न भएको भनी हस्तान्तरण भएका सडकमा समेत पैदलयात्रु मार्गलगायतका संरचना निर्माण बाँकी रहेकाले हाल निर्माण भइरहेको छ । ती सडकमा सवारीसाधन भने चलिरहेका आयोजनाले जनाएको छ । आयोजनाको कुल बजेट ६५ अर्ब २० करोड रहेकामा हालसम्म ५४ अर्ब ७५ करोड खर्च भएको छ । बजेटमा रु आठ अर्बको भारतीय सहयोग रहेको छ भने बाँकी ५६ अर्ब २० करोड नेपाल सरकार/आइएमएफको रहेको छ । सो आयोजनाले आव २०६५/६६ मा निर्माण सुरु गरेर आव २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो तर पछि त्यसलाई संशोधन गरेर आव २०७९/८० पु¥याइएको थियो । राणाकालमा चिठ्ठी आदान–प्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामकरण गरिएको थियो । उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो । विसं २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने उल्लेख थियो । पछि विभिन्न कारणले त्यो ‘मोडालिटी’मा काम हुन सकेन । आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर हुलाकीको पूर्व–पश्चिम सडकसँगसँगै ‘फिडर रोड’ अघि बढाइएको थियो । पूर्व–पश्चिम र उत्तर–दक्षिणका राजमार्ग गरी जम्मा लम्बाइ एक हजार आठ सय ५७ किमी र जम्मा पुल सङ्ख्या दुई सय ५० रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । पूर्व–पश्चिम सडक नौ सय ४५, उत्तर–दक्षिण नौ सय १२ किमी रहेको छ । आयोजनामा हालसम्म वित्तीय प्रगति जम्मा ८३ दशमलव ९८ प्रतिशत रहेको छ । जम्मा तीन सय सात किमी सडक निर्माणका लागि भारतीय सरकार अनुदानका रूपमा रु आठ खर्ब सहयोग गरेको छ । रासस

राष्ट्रिय वाणिज्य बैंकको १२.५ प्रतिशत लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको लाभांश पारित भएको छ । बैंकको बिहीबार सम्पन्न भएको १७ औं वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरेको १२.५ प्रतिशत लाभांश पारित गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसपछि बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुनेछ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

राष्ट्रिय योग दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन

काठमाडौं । राष्ट्रिय योग दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन गरेको छ । केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई मार्फत सबै विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन निर्देशन गरेको हो । केन्द्रले ‘स्वस्थ जीवनको चाहना : योग शिक्षा र साधना’ भन्ने आदर्श वाक्यकासाथ राष्ट्रिय योग दिवस २०७९ विभिन्न कार्यक्रम गरी भव्यतापूर्वक मनाउन विद्यालयहरुमा समन्वय गर्न शिक्षा तथा समन्वय इकाईहरुलाई निर्देशन गरेको छ ।

ह्यारी भण्डारीले गरे अमेरिकी संसद्मा शपथ ग्रहण

वाशिङ्टन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गरेका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन् । नेपालीमुलबाट अमेरिकाको राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो व्यक्ति हुन् । मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारी हिन्दूहरुको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ लिएका हुन् । शपथ ग्रहणपछि रासससँगको संक्षिप्त कुराकानीमा भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रुपमा मतदाताले मत दिएर विजयी गराउनु महत्वपूर्ण उपलव्धि भएको टिप्पणी गरे । भण्डारीले अगाडि थपे, ‘म मेरो जिम्मेवारी वहन गदैँगर्दा अमेरिकामा रहनुभएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु ।’ भण्डारीले आफनो कार्यकालय रहेको स्थानमा नेपालको झण्डा र सगरमाथाको फोटोसमेत राखेका छन् । यस अगाडि आयोजित एक बधाई कार्यक्रममा डा भण्डारीले गीताको सार जस्तै कर्म गर्न आफू लागिरहने बताएका थिए । उनले अगाडि थपे, ‘सार्वजनिक सेवामा काम गर्न मलाई गीताको सारले सदैव प्रेरित गर्ने बताउनुभएको छ ।’ साथमा नेपाली समुदायका अगुवाहरुले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । मेरिल्याण्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिष्ट्रिक आठ बाट १९ हजार सात सय दुई मत ल्याएर गत नोभेम्बर महिनाको ८ तारिखमा भएको निर्वाचनमा विजयी हुनुभएको हो । उहाँ उक्त क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन । भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधयेक संसद्बाट पारित गराउन सफल भएका थिए । स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गर्नुभएका भण्डारीले महामारीको बेलामा कसरी जुँध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताएका छन् । अमेरिकामा एक आप्रवासीको रुपमा नेपालबाट सन् २००५ मा अमेरिका आउनुभएका भण्डारीले डेढदशक भन्दा बढी मेरिल्याण्डको विद्यालयमा अध्यापन गराउनुभएको अनुभव छ, भने मेरिल्याण्डमा रहेको युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारीधिसमेत गरेका छन् । नेपालको पर्वत जिल्लाको थापाथानामा बुबा अम्मरबहादुर भण्डारी र आमा कान्तिकुमारीको कोखबाट जन्मिएका भण्डारी आफ्नी पत्नी सङ्गीता भण्डारीसहित सपरिवार अमेरिकामा बस्दै आएका छन् । व्यावसायिक, राजनीतिक र अध्ययनमा भण्डारीको सफलता आप्रवासी नेपाली अमेरिकनको लागि मात्र नभइ एशियाली अमेरिकनहरुको लागि पनि रोचक रहेको छ । आगामी चार वर्ष भण्डारीले मेरिल्याण्ड राज्यको विधायकको रुपमा काम गरेर आवश्यकपर्ने कानुनको तर्जुमा तथा बजेट निर्माणमा एक विधायकको हैसियतले काम गर्नेछन् । रासस

अर्थ मन्त्रालयका सचिव रायाले लिए राष्ट्र‍ बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले पद तथा गोपनियताको शपथ लिएका छन् । रायाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र‍ बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ ९१० मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

सिभिल बैंकको साधारण सभाले पारित गर्यो हिमालयनसँगको स्वाप रेसियो

काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकसँग १००:८०.२८ स्वाप रेसियो अनुपातमा मर्ज गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको पुस २८ गते बिहीबार बसेको १२ औं साधारण सभाले १००:८०.२८ हिमालयन बैंकसँगको स्वाप रेसियो पारित गरेको हो । योसँगै मर्जरपछि सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंककाको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन् । यस्तै, सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०।२६ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । साथै सभाले आ.व. २०७९.८० को लेखापरिक्षण गर्नको लागि एस राई एण्ड एशोसियट्सलाई लेखापरिक्षकमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात दुवै बैंकको एकिकृत कारोबार माघभित्र गरिने योजना बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले जानकारी दिए । करिब ८ लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा १०२ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

‘सेयर लगानीमा कडाइ गर्दा बैंकको नाफा घट्यो, अब उचित लाभांश दिन्छौं’

काठमाडौं । सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडियाले बैंकका सेयरधनीहरुलाई उचित प्रतिफल दिने बताएका छन् । पछिल्लो सयम कोरोना महामारी र तरलता अभावका कारण धेरै लाभांश दिन नसकेपनि आगामी वर्षमा भने सेयरधनीलाई उचित प्रतिफल दिने उनले बताएका हुन् । सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष केडियाले राष्ट्र बैंकले जारी गरेका निर्देशनले पनि काम गर्न गाह्रो भएको समेत बताए । ‘कोरोना महामारीले अर्थतन्त्रमा नकारात्मक असर पर्याे, तरलता अभाव खेप्नुपर्याे, जसले गर्दा बैंकको नाफा घट्न पुग्यो, नाफा घट्नुमा राष्ट्र बैंकले ल्याउका नयाँ–नयाँ निर्देशन पनि हो,’ उनले भने, ‘अब विस्तारै सुधार हुँदै गएकाले आगामी दिनमा सेयरधनीहरुलाई उचित प्रतिफल दिने छौं, बैंकले नयाँ नयाँ क्षेत्र खोजिरहेको छ ।’ सिद्धार्थ बैंकले डिजिटल पहिलो अभियान नै सञ्चालन गरेको उनको भनाइ छ । पछिल्लो समय डिजिटल प्रविधिको विकाससँगै बैंकले पनि नयाँ प्रविधिलाई पच्छ्याई रहेको उनले बताए । ‘डिजिटलमा थुप्रै काम पनि भइसकेका छन्, आगामी दिनमा बैंकको सेवालाई डिजिटलमा रुपान्तरण गर्ने योजना छ, बैंकको परिसरमा ग्राहकरु नआएर घरबाट नै सेवा उपभोग गर्न सकिने बनाउँदै छौं, ग्राहकलाई घरदैलोबाट नै सेवा प्रदान गर्ने योजना छ,’ उनले भने । बैंकमा खाता भएका ग्राहक वा खाता नभएका ग्राहकलाई सेवा दिन तत्पर रहेको उनले बताए । कर्मचारीको सहि व्यवस्थापनले बैंकले उचाइ लिएको बताए । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कडेलले निक्षेप तथा कर्जा, बैंकको भौतिक विकास, गैर ब्याज आम्दानी वृद्धि गर्ने, साइबर सुरक्षामा कडाइ गर्ने लगायतलाई आत्मसाथ गर्दै अघि बढेको बताए । ‘बैंकलाई सुदृढ गर्न हामी निरन्तर रुपमा अघि बढेका छौं, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गरेको कडाइका कारण सेयर बजारमा काम गर्न पाएनौं, जसले गर्दा गैरब्याज आम्दानी घट्यो, डिजिटलमा जोड दिँदा साइबर हमलाको खतरा रहेकाले सुरक्षीत गर्ने चुनौति रहेको छ,’ उनले भने ।

डेढ वर्षमा पहिरोपीडितले राहतको नाममा पाए ५ केजी चामल

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका विष्ट परिवारले आफ्नो घर छोडेको करिब डेढ वर्ष हुन थाल्यो । गत वर्ष असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षापछिको पहिरो आउँदा विष्ट परिवारले रातारात भागेर ज्यान जोगाएको थियो । ढल्नै लागेका घरबाट सामान ओसार्दै नजिकै रहेको खापरदेव क्याम्पसको भवनमा आश्रय लिएका थिए उनीहरू । विष्ट टोलको आँगनदेखि वरिपरि पहिरोमय नै भयो । नौ परिवार रहेको विष्ट टोल भर्खरै बनेको क्याम्पसको भवनमा गयो । त्यहाँ पनि नअटाएपछि गुलेनीचौर, कालुखेती, चाकेगडा गएर पनि आश्रय लिए । त्यसयता चार परिवार भने अझै क्याम्पसकै दुईकोठे भवनमा आश्रय लिइरहेका छन् । ‘खेती गर्नलाई जमिन छैन । सानो–तिनो मजदुरी गरेर पेट पालिरहेका छौँ’, भरत विष्ट दुःखेसो पोख्छन् । आफ्नो अवस्था देखाएर धेरै निकायलाई गुहार्दा पनि कसैले कुनै सहयोग नगरेको उनको गुनासो छ । ‘दर्जनौँ सङ्घसंस्था, सरकारी निकायलाई गुनासो पोख्दा पनि कसैले पनि चासो देखाएनन् । अहिले त कसैलाई पीडा सुनाउन पनि औचित्यहीन लाग्छ’, उनले भने । पहिरो आएको दिन सम्झँदै भरतकी श्रीमतीले भनिन्, ‘त्यो दिन त सम्झँदा पनि शरीर काँप्छ । मेरो त सातो उडिसकेको थियो, धन्न भाग्न सफल भयौँ, उतिबेला पहिरोबाट ज्यान त बचाइयो तर अहिले भोकभोकै मरिने अवस्था आयो ।’ बाढीपहिराले नोक्सान गरेको भोलिपल्टै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा निरीक्षण गर्न खप्तडछान्नामै पुगे। तर उनी सवार हेलिकोप्टर आकाशबाटै निरीक्षण गरेर फर्कियो । त्यसै दिन सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा, कानुनमन्त्री पूर्णा जोशीसहितको टोली पनि निरीक्षणमा आयो । तर विष्ट परिवार भएको ठाउँमा कसैको नजर परेन । दोस्रोपटक फेरि प्रदेश सरकारको ठूलो टोली राहत वितरणमा आयो । टोलीले खप्तडछान्ना–१ मा एक–एक बोरा चामल दियो । विष्ट परिवारका नौ परिवारको भागमा भने २५–२५ केजीका दुई बोरा चामल, दुई केजी दाल, दुईवटा टर्च लाइट, नौवटा कम्मल परेको थियो । ‘राहतका नाममा पाएको त्यही हो’, विष्टले भने, ‘दुई बोरा चामल नौ परिवारलाई बाँड्दा साढे पाँच केजीजति मात्रै भागमा प¥यो ।’ सम्पत्तिका नाममा भएको जायजेथा सबै नोक्सान भएपछि स्थानीय सरकारसँग सहयोग माग्दासमेत केही नपाएको पुतली विष्टले बताइन् । खातीगाउँका प्रेम खाती, धन्दुरी खातीको सर्वस्व बाढीले लुट्दा पनि राहत नपाएको गुनासो गर्छिन् । बाढीको दोस्रो दिनमा प्रदेश सरकारले एक बोरा चामल दिएकोबाहेक अहिलेसम्म केही नपाएको उनी बताउँछिन् । बाढी आएको दुई सातापछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाण पनि बाढी प्रभावित क्षेत्रमा निरीक्षणमा आए । बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने र पूर्वाधार निर्माणमा जोड दिने आश्वासन दिए । मङ्सिर २१ गते सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्दा बझाङका पनि चार स्थानीय तह परे तर त्यो घोषणा त्यसैमा सीमित रह्यो । विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकाहरूमा पुनःनिर्माणका लागि कत्ति पनि पैसा नआएको खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशीले बताए । खप्तडछान्ना गाउँपालिकाका मात्रै बाढीपीडित ७६ परिवार छन् । गाउँपालिकाका सूचना अधिकारी ऐनबहादुर रोकायाले भने, ‘७६ मध्ये ६६ परिवारको विवरण भरिसकेका छौँ । अब १० परिवारको मात्रै बाँकी छ’, उनका अनुसार पीडितले जमिन किनेर लालपुर्जा प्राप्त गरेपछि प्राधिकरणले मागेको विवरणमा भरेर पठाउनुपर्छ । खप्तडछान्नामा विष्ट परिवारले भने जमिन खरिद नगरेको हुँदा विवरण पेस नगरेको उहाँले बताउनुभयो । “हामीले सबैको विवरण पेस गरिसकेका छौँ, पाटादेवलमा एक परिवार, माझिगाउँमा एकसहित विष्ट परिवारको लालपुर्जा ढिलाइ भएकाले पठाउन सकिएको छैन ।” विष्ट परिवार बसेको टोलको लालपुर्जा एउटैको नाममा छ । तर दुई पुस्ताका सन्तानहरू अलग हुँदा नौ परिवार भइसकेको छ । सरकारले जमिन किनेपछि घर बनाउनलाई पैसा दिने भनेको छ । तर उनीहरूसँग जमिन किन्नलाई पैसा नभएकाले उनीहरूका लागि सरकारी आश्वासन केबल भनाइमै सीमित बनेको छ । रासस