प्रदेश नं १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित
विराटनगर । प्रदेश नं १ को सभामुखमा प्रदेशसभा सदस्य बाबुराम गौतम आज निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत)को नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी दिए । सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो भने उनको प्रस्तावकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी तथा समर्थकमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, गोपालबहादुर विश्वकर्मा र कमलप्रसाद जवेगु थिए । यसैगरी सभामुख र उपसभामुखको शपथ ग्रहणसम्बन्धी अनुसूची–२ मा भएको प्राविधिक त्रुटी सच्याउन प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश सर्वसम्मतिले अनुमोदन भएको छ । प्रदेश सभाको अर्को बैठक आजै अपराह्न २ बजे बस्ने छ ।
जाडोमा हृदयाघातबाट कसरी बच्ने ? यस्तो छ डा. ओममूर्ति अनिलको सुझाव
काठमाडौं । नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ । नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन् । नेपालले स्वास्थ्य क्षेत्रमा निकै प्रगति गर्न सके पनि नसर्ने रोगको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । उपचार सेवा र चिकित्सकहरू सहरी क्षेत्रमा नै केन्द्रित हुँदा ग्रामीण क्षेत्रका जनता आधारभूत जानकारी र अवसरबाट बञ्चित छन् । बालबालिका र युवाहरूमा बढ्दै गइरहेको अस्वस्थ आहारको सेवन, शारिरीक गतिविधिमा कमी, धुमपान, मदिरापानले भोलिको नेपाललाई अस्वस्थ बनाउने देखिन्छ । निम्न र मध्यम वर्गीय नेपालीहरूका लागि मुटुरोगको उपचार महँगो र असहज भएका कारणले यसको रोकथाम तथा नियन्त्रण नै एकमात्र विकल्प रहेको छ । यतिबेला चिसो मौसमका कारण मुटुको समस्या भएका बिरामीको सङ्ख्या धेरै रहेको पाइन्छ । चिसो समयमा अस्पताल वा क्लिनिकहरूमा बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने गर्दछ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोलजस्ता रोगहरूको समयमै उचित उपचार भएमा मुटुरोगको प्रकोपलाई घटाउन सकिने बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल बताउँछन् । खासगरी चिसो याममा मुटुरोगबाट कसरी स्वस्थ रहन सकिन्छ भन्ने विषयमा डा अनिलसँग गरिएकाे कुराकानी संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ । हाल डा अनिल ग्राण्डी इन्टरनेशनल अस्पतालमा मुटुको शल्यक्रियामा संलग्न छन् भने बसुन्धरामा उनको आफ्नै नेशनल कार्डियाटिक सेन्टरमा कार्यरत छन् । चिसो बढेसँगै जनजीवन नराम्ररी प्रभावित भएको छ । जाडो मौसममा विभिन्न प्रकारका रोगहरू लाग्ने गर्छन् । चिसोले निम्त्याउने स्वास्थ्य समस्याहरूमा मुटुसम्बन्धी समस्या मुख्य रहेको छ । चिसोले रक्तनली र शरीरमा सिधा प्रभाव पार्दछ । चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरूले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्ने हुँदा मुटुभित्रका नलीमा रक्त सञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढ्न जान्छ । गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटुरोगसम्बन्धी जोखिम बढी रहने गर्दछ । यस्तो अवस्थामा बिरामी र वृद्धहरूलाई हृदयाघात हुने सम्भावना बढी हुने गर्दछ । रक्तचापको नियन्त्रण नगरेमा हृदयाघातको खतरा दुई गुणा बढी हुन्छ । मधुमेहले पनि हृदयाघातको जोखिमलाई दुईदेखि तीन गुना बढाउँछ । लामो समयसम्म मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । मधुमेहका रोगीमा रक्तचाप र कोलस्ट्रोलको राम्रो नियन्त्रण नभएमा हृदयाघातको खतरा झन् बढी हुन्छ । संसारभरि नै हेर्ने हो भने सबैभन्दा बढी मानिसको मृत्यु मुटु र रक्तनलीसम्बन्धी रोगहरूले हुने गर्छ । हृदयाघात र मस्तिष्कघात नै मुटु र रक्तनलीसम्बन्धी प्रमुख रोगहरू हुन् । हृदयाघातपछि सबैभन्दा बढी मानिसको मृत्यु मस्तिस्कघातले हुने गर्दछ । गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटुरोगसम्बन्धी जोखिममा बढी हुने हुँदा संसारभर नै चिसोको बेला मुटुका रोगीको सङ्ख्या बढ्ने गर्दछ । मुटुको रोगको जटिलता बढ्दा मृत्युको सङ्ख्या पनि बढ्न जाने अनुसन्धानबाट पुष्टि भएको छ । चिसोको समयमा हृदयाघातमात्र होइन, मस्तिष्कघात पनि बढी हुने गर्दछ । चिसोमा रक्तसञ्चार प्रणालीमा बढी समस्या आउने गर्दछ । यसले गर्दा व्यक्तिको उच्च रक्तचाप बढ्ने, रक्त प्रवाहमा गडबडी गर्दछ । जसले गर्दा मुटुमा रक्तसञ्चार कमी हुन्छ । छाती दुख्ने, मुटु ढुकढुक हुने हुन्छ भने कतिपयलाई हृदयाघात पनि हुन्छ । जाडोमा कोलस्ट्रोलको मात्रा पनि बढी हुन्छ । जाडो मौसममा चिसोका कारणले हाम्रो शरीरमा विभिन्न रसायन वा हार्मोनहरू बढ्न जान्छ । शरीरमा उत्पन्न हुने हर्मोनहरू हुन् जसले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्छन् । ती हार्मोनहरूले हाम्रो रक्तनलीलाई साँघुरो बनाउँछ । चिसोका कारण मुटुभित्रका नलीमा रक्तसञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढाइदिन्छ । यसले गर्दा रगतको नशामा जम्ने हुन्छ । मुटुको रक्तनलीमा भयो भने हृदयाघात हुन्छ भने यदि मस्तिष्कको नलीमा भयो भने मस्तिष्कघात हुन्छ । यस्तै वायु प्रदूषण, शारीरिक व्यायाममा कमी, मानसिक दबाब, खानपानमा खराबी र मौसमका कारण पनि ह्दयाघातको खतरा बढ्छ । जो व्यक्तिहरूको मुटु कमजोर हुन्छ, उनीहरूमा रोग लाग्ने सम्भावना बढी हुन्छ । मौसम खराब हुने कारण सबैभन्दा बढी समस्या श्वासप्रश्वासमा पर्छ । यसका साथै, फ्लु र निमोनियाजस्ता रोगहरू हुने सम्भावना जाडो मौसममा धेरै हुन्छ । यसैले जाडो मौसममा हाम्रो शरीर र मुटुलाई शरीरको तापमान सन्तुलनमा राख्न विशेष ध्यान दिनुपर्छ । जोखिममा रहने वर्ग उमेरले ६० नाघेका मानिसहरू मधुमेह वा दमका रोगी, अन्य रोग लागेका वा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्दछन् । मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूमा मुटुको अनियमित चाल, उच्च वा न्यून रक्तचाप, बाइपास सर्जरी गरेका वा मुटुको काम गर्ने शैलीमा समस्या भोगेका बिरामीहरूलाई लिन सकिन्छ । यस्ता जोखिम वर्गमा रहेका व्यक्तिले विशेष सतर्कता अपनाउनुपर्छ । मुटुको परीक्षण गर्नुपर्छ । चिसोमा हिँड्न भएन, चुरोट मदिरा सेवन गर्नु भएन । कुनै औषधि नियमित सेवन गरिरहेका व्यक्तिले अझ बढी सचेत भई औषधि नछुटाइ खानुपर्छ । जोखिममा रहेका व्यक्तिमा मुटुरोगी, दमका रोगी र अन्य दीर्घरोगी (मिर्गौला, कलेजो र मस्तिष्क)का बिरामी पर्दछन् । बच्ने उपाय मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्वपूर्ण उपाय हो । सबै व्यक्तिले चिसोबाट बच्नु पर्छ । घरभित्र बस्दा र घर बाहिर जाँदा पनि न्यानो कपडा लगाउनुपर्छ । बिहानै अति चिसोमा गरिने हिँडडुल कम गर्ने वा बन्दै गर्नुपर्छ । चिसो समयमा उच्च रक्तचाप, मधुमेह र कोलस्ट्रोललाई राम्रो अवस्थामा राख्नुपर्छ । सामान्यतः साठी वर्ष माथिका व्यक्ति बढी जोखिममा रहेका हुन्छन् । उच्च कोलस्ट्रोलले हृदयाघातको खतरा तीन गुना बढाउँछ । कोलस्ट्रोलको मात्रा रगतमा जति धेरै हुन्छ, हृदयाघातको खतरा पनि त्यति नै बढी हुन्छ । चिसो समयमा प्रायः रक्तचाप, मधुमेह र कोलस्ट्रोलको मात्रा बढ्ने गर्छ । यतिबेला कतिपय बिरामीलाई औषधि परिवर्तन गर्नु हुनसक्छ । त्यसैले त्यस्ता रोगीहरूले समय–समयमा चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्यसम्बन्धी कुनै पनि प्रकारको समस्या आएमा चिकित्सकको सल्लाह लिनुपर्छ । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी राख्नुपर्छ । स्वस्थ मुटुका लागि खानपानमा समेत विशेष ख्याल गर्नुपर्छ । चिसोको महिना धेरै चिल्लो कुरा खानु हुँदैन । चुरोट सेवन, मदिरा सेवन गर्नु हुँदैन । त्यस्तै बोसोयुक्त खाना बढी खाने गरिन्छ, जुन मुटुका रोगीहरूका लागि राम्रो होइन । विशेषगरी जाडो छल्न भन्दै बढ्ने चुरोट र मदिरापानमा नियन्त्रण गुमाउँदा धेरै मानिसहरूमा मुटुको जोखिम बढ्ने र कसै–कसैको यही बेला हृदयाघात भइ मृत्यु पनि हुने गर्दछन् । धुमपानले हृदयाघातको खतरा दुईदेखि चार गुणा बढाउँछ । जाडोमा व्यायाम पनि कमै गरिन्छ । यसले गर्दा थप जोखिम बढ्न जान्छ । योग, ध्यान, शारीरिक व्यायाम आदिलाई बढाउनुपर्छ । मोटोपन घटाउनुपर्छ । निद्रा पुग्ने गरी सुत्नुपर्छ । स्वास्थ्य व्यक्तिले पनि दैनिक व्यायाम, बिहानको हिँडाइ गर्न छाड्न हुँदैन । काठमाडौं उपत्यकामा साँझको समय बढी हावा चल्ने हुँदा यस्तो बेला हिँड्नु थप जोखिमपूर्ण हुनेछ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक छ । स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गहरूलाई स्वास्थ राख्न मद्दत गर्दछ । वनस्पतिहरूबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरूलाई स्वस्थ आहार भनिन्छ । फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थहरूले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ । फलफूल र सागसब्जीमा पाइने भिटामिनहरूले हाम्रो रोग निरोधक क्षमतालाई बढाउँछ र सङ्क्रमण हुनबाट बचाउँछ । त्यसैले बजारमा पाइने तयारी खानेकुरा, विलासी जीवनशैली र मानसिक तनाबबाट मुक्त हुनु नै निरोगी र दीर्घजीवी बन्ने उपाय हो । रासस
सिद्धार्थ बैंकको लाभांश पारित
काठमाडौं । सिद्धार्थ बैंकको लाभांश पारित भएको छ । बैंकको बिहीबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले बैंक संचालक समितिद्वारा प्रस्तावित १३.१६ लाभांश पारित गरेको हो । सभाले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
१५ प्रतिशत लाभांश दिने साल्ट ट्रेडिङको घोषणा
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेनशनले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
केबलकार भित्रै रेष्टुरेन्टदेखि सुत्ने सुविधा
काठमाडौं । केबलकार भित्रै रेष्टुरेन्टमा बसेर विभिन्न परिकारका खानेकुरा खाँदै परिवार वा साथीभाइसँग गफिदा कस्तो आनन्द आउँछ होला ? दिनभर कामले थाकेको शरिरलाई केबलकारभित्रकै ओछ्यानमा सुत्दा कस्तो महसुस हुन्छ होला ? यी प्रश्न, जिज्ञासा र कौतुहलता मेटाउन अब धेरै समय पर्खनु पर्दैन । आउँदो नयाँ वर्षदेखि तपाईंले कल्पिएको सपना पुरा गर्दैछ बन्दीपुर केबलकार एण्ड टुरिजमले । बन्दीपुर केबलकार एण्ड टुरिजमले केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्था सहित केबलकार सञ्चालनको तयारी थालेको छ । पहाडकी रानीका नामले परिचित बन्दीपुरमा आगामी नयाँ वर्र्षदेखि केबलकारभित्रै रेष्टुरेन्ट, सुत्ने ओछ्यान सहितको सुविधा भएको बन्दिपुर केबलकार सञ्चालनमा आउने भएको छ । यात्रु बोक्ने र ओराल्ने बाहेक केबलकारमा नयाँ सेवा सुविधा थप्दै फरक ढंगले बन्दिपुरमा केलबकार सञ्चालनको तयारी भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । पर्यटनमा नौलो स्वादका साथ बन्दिपुरमा आउने पर्यटकलाई लक्षित गरी आगामी नयाँ बर्ष अर्थात बैशाखदेखि केबलकार सञ्चालनमा आउने उनको भनाइ छ । उनका अनुसार आगामी बैशाखदेखि बन्दीपुर आउने पर्यकटले पारदर्शी सिसाभित्र सुतेरै पर्यटकले केवलकार घुमेर रमणीय प्राकृतिक स्थलको अवलोकन गरी आनन्द लिन पाउनेछन् । आगामी नयाँ वर्ष २०८० साल बैशाख महिनादेखि बन्दीपुरमा पर्यटकलाई नयाँपन दिन खाना र सुत्न पाइने केबलकार सञ्चालन गर्न लागिएको उनले बताए । दक्षिण एसियामै यस्तो सुविधा दिनेमा बन्दीपुर केबलकार पहिलो हुने दाबी कम्पनीको छ । आवतजावतको समय पश्चात् साँझ पख केबुलकार भित्र रेष्टुरेण्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिनेछ । प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने उनले बताए । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ’, शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । कति लाग्छ शुल्क ? केबलकार भित्रै रेष्टुरेन्ट तथा सुत्ने ओछ्यानका लागि कम्पनीले छुट्टै शुल्क तोकेको छ । रेस्ट्रो–कार नाम दिइएकोे केबलबार रेष्टुरेन्ट र ओछ्यानका लागि १ घण्टाको समय तोकिएको छ । २५ हजार रुपैयाँ शुल्कमा रेष्टुरेन्ट र ओछ्यान बुक गर्न सकिन्छ । ८ जना बस्न मिल्ने उक्त रेस्ट्रो कार तोकिएको समयभित्र तल माथि भइरहनेछ । एक घण्टाभन्दा धेरै समय बस्न चाहे पुनः बुकिङ गर्नुपर्छ । त्यसको थप २५ हजार रूपैयाँ शुल्क लाग्छ । ‘रेष्टुरेन्टभित्र खानाका लागि प्याकेज बनाइएको हुन्छ, आफूलाई आवश्यक पर्ने खानुकुरा अर्डर गर्न सकिन्छ’, उनले भने, ‘पुनः थप्नुपर्ने भए थप शुल्क सहित अर्डर गर्न सकिन्छ, हामीले रेस्ट जोन बनाएको छाैँ, खाने कुरा त्यहीँबाट लिन सकिन्छ ।’ कम्पनीले शाकाहारी, मांशाहारी खानेकुरासँगै पेय पदार्थ समेत उपलब्ध गराउने बताइएको छ । ६५ वर्ष माथिका नागरिक र टिकटमा सहुलियत दिइएको कम्पनीले जनाएको छ । १७५ रुपैयाँमा केबलकार चढ्न पाइनेछ । न्यूनतम टिकट ५ सय रुपैयाँ देखि २५ हजार रुपैययाँ तोकिएको छ । यस्तै, ठूलो संख्यामा आउने पर्यटकलाई लक्षित गर्दै कम्पनीले टिकटमा सहुलियत दिने जनाएको छ । उनले बन्दीपुरमा खर्च गर्न आउने पर्यटकलाई नै लक्षित गर्दै केबलकार, रेस्ट्रोकार, तारे स्तरको होटल बनाइएको बताए । होटलभित्रै केबलकार हाइवेमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको १७ तल्ले होटलभित्रै केबलकार छिर्नेछ । ‘बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ, माथि सिधै होटलभित्र पस्छ, मलेसियामा बाहेक अन्यत्र यस्तो प्रकारको केबलकार निर्माण भएको छैन्, यो दुलर्भ नै हो’, उनले भने । उनले बन्दीपुर केबलकारको बटम स्टेशन अन्य केबलकारभन्दा फरक रहेको बताए । ‘बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक छ, टर्मिनल भवन छ, सोही भवनमा भीआइपी लाउन्ज, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), गेष्टलाई स्वागत गर्ने रुम लगायतका कामहरु एउटै भवनबाट हुन्छ, उनले थपे । ‘क्वीन टावर’ नाम दिइएको १७ तल्ले भवनबाट बन्दीपुर उपत्यका सहित काठमाडौं देखिनु हो । ९० रुम रहेको हिलपटमा ७८ वटा रुप प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ । सेमिनारलगायत अन्य कामका लागि १ हजार जना मान्छे अट्ने ठूलो हल पनि बन्ने भएको छ । केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्म १७ सय किलाेमिटर दूरीको यात्रा गर्न पाउनेछन् । एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ । केबुलकार र तारे हाेटल सहितकाे माेडलमा होटल निर्माणसहित साढे तीन अर्ब लगानी हुने देखिएको अध्यक्ष शर्माले बताए । पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्यवृद्वि भएकाले लागत बढ्ने सङ्केत देखिएको उनले जानकारी दिए । भौतिक पूर्वाधार बनाउनका लागि ३ अर्ब १६ करोड लागत अनुमान होे तर निर्माणको अबधि थपिदा साढे ३ अर्ब खर्च हुने अनुमान कम्पनीले गरेको छ । ‘हाम्रो सुरुको योजना केबलकार मात्रै बनाएर सञ्चालन गर्ने थियो, जम्मा ५६ कराेड रुपैयाँको योजना थियो, पछि हाम्रो सोच फराकिलो बन्यो, पहाडकी रानी नामले परिचित बन्दीपुरमा होटल सहित मोडल लेबलको केबलकार बनाउने भन्ने भयो’, उनले भने, ‘सामान्य केबलकारबाट आधुनिक केलबकारसँगै तारे स्तरको होटलसँगै अन्य संरचना बनाउँदा लगानी थपियो ।’ १७ तल्लाको माथिल्लो भवनको १७ औं तल्लाबाट सबैभन्दा लामो हिमालयको रेञ्ज देखिन्छ । उनले लामो हिमालयको रेञ्ज हेर्नका लागि टेलिस्कोप राखिने बताए । ‘गर्मी महिनामा बिहानको समयमा हिमाल खुलेको देखिँदैन, बन्दीपुरको दृश्य सबै देख्नका लागि हामीले दृश्य रुम बनाउने तयारी गरेका छौँ, त्यो रुममा टेलिस्कोप लगाएर नजिक ल्याउने र आर्टिफिसियल रुपमा हिउँ नै आखाँ अगाडि झरेको जस्तो देख्ने बनाउने हाम्रो योजना छ’, उनले भने । माथिल्लो तल्लामा नै ‘रुफ टप’ भन्ने रेष्टुरेन्ट छ, पर्यटकका लागि लक्षित गर्दै नेपालमै पहिलो पटक वाक्स र फाइबर म्यूजियम राखिने भएको छ । उनले अधिकांश स्थानमा वाक्स म्यूजियम राख्ने भनेर कल्पना गरिएको भन्दै केही ठाउँमा फाइबर पनि मिसाएर नयाँ कन्सेप्ट नेपालमा ल्याउन लागिएको जानकारी दिए । अध्यक्ष शर्माले बन्दीपुरमा तारे स्तरको होटलसहित केबलकार बनेपछि आउने पर्यटकको संख्या दुई गुणाले बढ्ने बताए । ‘पहिला वार्षिक रुपमा २ साढे २ लाख पर्यटक बन्दीपुर आउने गरेका थिए, हामीले केबलकार सहित चार तारे स्तरको होटल बनाउन थालेपछि पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ’, उनले भने, ‘हाम्रो प्रोजेक्ट बनि रहना वार्षिक रुपमा ५ लाखभन्दा बढी पर्यटक आउन थालेका छन् ।’ उनले केबलकार, होटल र अन्य संरचना निर्माण भएपछि वार्षिक १० लाखभन्दा बढी पर्यटक बन्दीपुरमा आउँने अनुमान गरिएको बताए ।
को हुन् मधेस प्रदेशका मुख्यमन्त्री बनेका सरोजकुमार यादव ?
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पटकपटक कार्यकारी पदमा रही अनुभव बटुलिसकेका छन् । यसअघि मधेस प्रदेशको सभामुखको भूमिका निर्वाह गरिसकेका मुख्यमन्त्री यादव सङ्घीय सरकारमा दुईपटक राज्यमन्त्री बनिसकेका छन् । विसं २०३० मा जन्मिएका यादव सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन् । भारतीय सीमावर्ती क्षेत्र भारत विहारका नेतासँग उनको राम्रो सम्बन्ध छ । गाउँ आसपासमा धार्मिक, शिक्षा, सामाजिक र स्वास्थ्य क्षेत्रमा उनको परिवारले जग्गा र नगद दान गरेकाले यस क्षेत्रमा उनको परिवारको योगदानको चर्चा हुने गर्दछ । धनाढ्य परिवार (जमिन्दार) का उनका स्व पिता परमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता थिए । मुख्यमन्त्री यादव सद्भावना पार्टीका महासचिव थिए । जसपा, लोसपा, सद्भावना लगायतका मधेस केन्द्रित दल एकीकरण भएर राजपा बन्दा उनी राजपाका राष्ट्रिय उपाध्यक्षसमेत भएका थिए । उनले प्रवीणता प्रमाणपत्र तह (आइएससी) सम्म अध्ययन गरेका छन् । माध्यमिक शिक्षा गाउँ नजिकै सिम्रौनगढस्थित कङ्काली माविबाट प्राप्त गरेका हुन्। चौबिस वर्षकै उमेरमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दापढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित हुँदै उनले राजनीतिक यात्रा थालेका थियो । विसं २०५९ सम्म उनी गाविस अध्यक्ष हुँदा लोकप्रियता कमाउन सफल भएका थिए । विसं २०६४ को पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै उनले संसदीय यात्रा सुरु गरेका थिए । तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार रामबाबु यादवलाई पराजित गरी यादव विजयी भएका थिए । त्यसबेला नेकपा माओवादीको सरकार थियो । पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलो पटक सङ्घीय स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका थिए । विसं २०७० मा भने फेरि यसै क्षेत्रबाट दोस्रोपटक संविधानसभा सदस्यमा उम्मेदवार बन्दा कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । विसं २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बनेका थिए । मुख्यमन्त्री यादव एमाले र जसपाबीचको चुनावी तालमेलमा बारा निर्वाचन क्षेत्र नं १ को (२) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित भएका हुन् । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट राजनीति यात्रा सुरु गरेका यादवले पहिलो पटक तत्कालीन राजपाबाट चुनावी प्रतिस्पर्धा गरेका थिए भने यसपटक जसपामा प्रवेश गरी उम्मेदवारी दिएका थिए । दोस्रो पटकको चुनावमा उनको क्षेत्रमा गत मङ्सिरको चुनावमा वाम लोकतान्त्रिक गठबन्धन थिएन । यादवले चार हजारभन्दा बढी मतान्तरले निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नागेन्द्र साह पराजित गर्दै विजयी भएका हुन । यसरी पाँच वर्षसम्म सभामुखको अनुभव बटुलिसकेका यादवले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाका तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्री भएका छन् । रासस
माछापुच्छ्रे बैंकको मोबाइल एप ह्याकरले पासवर्ड पाए पनि ह्याक गर्न नसक्ने
काठमाडाैं । माछापुच्छ्रे बैंकले आफ्नो मोवाईल बैंकिङ्ग एपमा नयाँ प्रविधी थप गरेकाे छ । बैंकले मोवाईल बैंकिङ्ग एप एमबिएलएम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एसएमएस प्रमाणिकरण प्रविधि थप गरेको हो । पछिल्लो समय मोबाईल बैंकिङ्ग एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न बैंकले मोबाईल बैंकिङ्ग एपमा एसएमएस प्रमाणिकरण प्रविधि थप गरेको जनाएकाे छ । बैंकले यस प्रविधिको शुरुवात गरे सँगै ह्याकरले ग्राहकबाट ओटिपी प्राप्त गरी मोबाइल बैंकिङ्ग एपमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ । ह्याकरहरुले कुनै पनि माध्यमबाट ओटिपी पाए पनि माेबाइल बैंकिङ एप ह्याक गर्ने नमिल्ने बैंकले जनाएकाे छ ।
गलेश्वर मन्दिरको पाँच महिनाको आम्दानी ३ करोड
म्याग्दी । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औं कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनाको अवधिमा तीन करोड ३७ लाख छ सय ४५ आम्दानी भएको जानकारी गराइएको हो । कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सो अवधिमा २० लाख दुई हजार खर्च भई तीन करोड १६ लाख ९७ हजार बचत भएको जनकारी दिए । ‘गत असारसम्मको आम्दानी दुई करोड ९० लाख ८२ हजार थियो’, उनले भने, ‘खातामा रहेको ब्याज, भक्तजनले चढाएको भेटी, दान र भाडालगायत शीर्षकमा भएको आम्दानीबाट खर्च कटाएर पाँच महिनाको मात्र २६ लाख १५ हजार बचत भएको छ ।’ मेलापर्वमा भेटी २२ लाख ५६ हजार, मण्डप भेटी आठ लाख २२ हजार, ब्याज आम्दानी पाँच लाख ५९ हजार, यज्ञ दर्ताबापत एक लाख ६३ हजार, यात्री निवास शुल्कबाट एक लाख ३१ हजार, दान दुई लाख ५८ हजार ८६, जिन्सी सामान बिक्रीबाट एक लाख ९९ हजार र स्टल भाडा दुई लाख २२ हजार सङ्कलन भएको छ । आव २०७८/७९ मा रु ४० लाख ८५ हजार भेटीसहित ९१ लाख ८२ हजार आम्दानी भएको थियो । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । ‘गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ’, उनले भने, ‘भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।’ जडभरत संस्कृत माविका तीन शिक्षकको तलबका लागि मासिक ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्न क्षेत्रका भान्छेलाई मासिक १७ हजार तलब मन्दिरको आम्दानीबाट दिने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्छ । अन्य समय दैनिक पूजाआजा हुने गलेश्वर मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ । रासस