बच्चा नहुने समस्यामा महिला र पुरुष ३३/३३ प्रतिशत जिम्मेवार हुन्छन् : डा. सिंह
शुद्ध खानाहरु नपाउने, बढ्दो वायु प्रदुषण जस्ता वाह्य कारणहरु पनि नेपालका महिला, पुरुषहरुमा बाँझोपन दखिएको अनुमान गरिन्छ । आफ्नो समस्या डाक्टरलाई सेयर नगरेसम्म उपचार हुँदैन । बच्चा जन्माउनको लागि दुवै जना श्रीमान श्रीमती स्वस्थ छौं की छैनौं र अगाडि योजना बनाउन मिल्छ की मिल्दैन भनेर आइरहेका छन् । यो राम्रो पक्ष हो । निःसन्तानको समस्या महिला र पुरुष जो कोहीमा पनि हुनसक्छ, त्यसैले दुवैले परिक्षण गराउँदा उपयुक्त हुन्छ । कतिपय बच्चा नभएका दम्पतिहरुलाई यौन सम्पर्क राख्ने समय भनिदिए पुग्छ, धेरैको यौन सम्पर्क राख्ने समय नमिल्दा पनि बच्चा नभएको पाइएको छ । पछिल्लो समय नेपालसहित विश्वाभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन नहुने, वीर्यमा शुक्राणुको कमी वा शुक्राणु नहुने समस्याले गर्दा पुरुषको कारणले निःसन्तान हुने गर्छ । त्यस्तै महिलामा डिम्बाशय नलीको बन्द हुने, डिम्बा ननिस्कने, नलीमा खराबी हुने, जन्मजात नै पाठेघरमा खराबीले गर्दा सन्तान नहुने गरेको डाक्टरहरु बताउँछन् । हाम्रो समाजमा महिलाका कारणले बच्चा भएन भनेर विभेद गरेको देख्न सकिन्छ । तर अध्ययनले भने सन्तान नहुनुमा महिला र पुरुष दुवैमा हुने समस्या बराबर रहेको पुष्टि गरेको छ । बच्चा नहुने समस्यामा ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष जिम्मेवार हुन्छन् । ३४ प्रतिशत अन्य कारणले असर गर्ने अध्ययनबाट प्रमाणित भएको छ । पछिल्लो समय जीवनशैली, मानसिक समस्या र धेरै युवा वैदेशिक रोजगारीमा गएकाले यो समस्या बढ्दै गएको अध्ययनले बताउँछ । निःसन्तानको समस्या लिएर अस्पतालमा उपचारमा आएकाहरुमा ८५ प्रतिशतको उपचारपछि बच्चा हुन्छ । बाँकी १५ प्रतिशतमा भने अन्य समस्या देखिने गरेको छ । उनीहरूलाई इन भिट्रो फर्टिलाइजेसन (आईभिएफ) प्रजनन समस्या भएका मानिसलाई बच्चा जन्माउन मद्दत गर्ने प्रविधिमार्फत उपचार सम्भव भएको चिकित्सकहरुको भनाइ छ । यसै सन्दर्भमा केन्द्रित रहेर प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. श्वेता सिंहसँग कुराकानी गरिएकाे छ । डा. सिंह जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत छिन् । कस्ता खालका समस्याका कारण निःसन्तानको समस्या देखिन्छ ? कुनै पनि दम्पतीले एक वर्षसम्म सम्बन्धमा बस्दा कुनै किसिमको अस्थायी साधन प्रयोग नगर्दा पनि बच्चा हुन सकिरहेको छैन भने त्यस्तो दम्पतीहरुलाई निःसन्तानको समस्या भएको अथवा बाँझोपनको समस्या भएको भनेर बुझ्नसक्छौं । यो बाँझोपनको समस्या श्रीमती वा श्रीमानमा मात्रै समस्या देखिएर हुने होइन । समस्या श्रीमान वा श्रीमतीमा पनि हुनसक्छ । दुवैमा पनि हुनसक्छ । बाँझोपन आउनुमा श्रीमतीको डिम्बासयमा समस्या छ वा पाठेघर वा पाठेघरको दुवैतिरको डिम्बासयमा समस्या देखिएको छ भने निःसन्तानको समस्या हुने हो । केहीगरी डिम्बासयमा समस्या देखिएको छ । डिम्बासयमा सिस्ट,ट्युमर हुनसक्छ । पोलिटिक्स पोलियन डिजिज भनिन्छ । त्यो समस्या छ भने राम्रो अण्डा ननिस्किने,समयमा अण्डा नफुट्ने समस्या देखापर्ने हुनसक्छ । पाठेघरको दुवै वा एक तर्फको नली ब्लक वा खुला छ भने बच्चा गर्भधारण गर्न समस्या आइरहेको हुनसक्छ । पाठेघरको कुरा गर्दा पाठेघरमा मासु पलाएको छ । कित भित्र क्यापिटीमा केही पलिपहरु छ । पाठेघर सुनिएको छ भने पनि यस्तो समस्याहरु आउँछ । पाठेघरको मुखको कुरा गर्दा महिलाको योनी ब्लक छ भने शुक्रकिटहरु माथि जान पाउँदैन । पाठेघरको मुखको कुरा गर्दा लामो वा ट्युमरको कारणले ब्लक भएको छ भने पनि शुक्रकिटहरु माथि जान पाउँदैन र बाँझोपन हुनसक्छ । पाठेघरमा मासुहरु पलाएको छ वा भ्रुम बस्ने ठाउँमा इन्टरमेटिभ पलिपहरु छ भने पनि बच्चा बस्न अवरोध गराइरहेको हुन्छ । पाठेघरको नलीका पानी भरीएको वा ब्लक भएको छ भने बच्चा बस्न समस्या हुन्छ । किनकी अण्डाहरु नलीहरुमा आउनुपर्ने हुन्छ । सम्पर्क राखिसके पश्चात शुक्रकिटहरु माथि गएर नलिसम्म आउनुपर्ने हुन्छ । नलीमा शुक्रकिट र अण्डाको मिलन भएर भ्रम बन्ने हुन्छ । बनेको भ्रुम फेरि पाठेघरमा आएर वाल्सहरुमा टाँसेर बच्चा बस्ने हुन्छ । नलिमा नै ब्लक भयो भने अण्डा र शुक्रकिट मिलन हुन पाएन । त्यो हुँदा महिलामा बाँझोपन हुनसक्छ । यो बाहेक श्रीमतीमा थाइराइट,डाइभिटिज र अन्य समस्याहरु भयो भने बाँझोपन हुनसक्छ । श्रीमानको कुरा गर्दा सबैभन्दा पहिला शुक्रकिटको कुरा आउँछ । शुक्रकिटको संख्या राम्रो छैन । संख्या राम्रो भएपनि त्यसको चालहरु राम्रो छैन । बनावटहरु राम्रो छैन भने बाँझोपन हुनसक्छ । श्रीमानमा पनि थाइराइट,डाइभिटिज र अन्य समस्याहरु भयो भने बाँझोपन हुनसक्छ । कित श्रीमान श्रीमतीलाई नै यौन सम्पर्क राख्दा ग्राहो भएको छ । त्यो समस्याको कारण पनि बाँझोपन भइरहेको हुन्छ । पहिला निःसन्तान हुँदा भन्न डराउने गरेका थिए, तर पछिल्लो समय अस्पतालहरुले यो सेवा दिन थालेसँगै मानिसहरु अस्पतालमा आउने गरेका छन्, तपाईंहरुकोमा धेरै कस्ताकस्ता प्रकृतिका समस्या लिएर आउँछन् ? अहिलेसम्म आफ्नो प्राक्टिक्समा देखेअनुसार कोही गर्भधारणका विषयमा जानकारी लिन आउनुहुन्छ । उनीहरुले बच्चा जन्माउने योजना बनाउनुभएको हुँदैन । तर बच्चा जन्माउनको लागि दुवै जना श्रीमान श्रीमती स्वस्थ छौं की छैनौं र अगाडि योजना बनाउन मिल्छ की मिल्दैन भनेर आइरहनुभएको हुन्छ । यो खुशीको कुरा हो । यो विषयमा जानकारी लिनुपर्ने समाजमा हुनुपर्ने हुन्छ । बच्चा योजना बिना झुक्किएर बसेको हुन्छ । योजना बनाउँदा राम्रो बच्चा जन्मने हुनसक्छ । बाँझोपन भएर ३ वर्षसम्म योजना बनाएका वा एक वर्ष पनि नभएकाहरु पनि बच्चा के कारणले नभएको भनेर आउने गरेका छन् । कतिपय मानिसहरुलाई बाँझोपन हुन्छ भन्ने कुराहरु थाहा नभएको पाइन्छ । बाँझोपनको समस्या समाधानका उपायहरु छन् भन्ने कुराहरु पनि थाहा छैन उनीहरुलाई । ८ देखि १० वर्षसम्म बच्चा नभएर बच्चा बनाउन कोशिस गरिरहका पनि आउने गरेका छन् । अस्पतालमा सबै मिक्स प्रकृतिका समस्या भएका बिरामीहरु आउने गरेका छन् । कोही १० देखि २० वर्षसम्म बच्चा नजन्मेपछि किन नभएको रहेछ भनेर डाक्टरलाई देखाउन भनेर आउने गरेका छन् । उनीहरुलाई बाँझोपन सम्बन्धि जानकारी नभएर नै अहिलेसम्म बस्ने गरेको हुनसक्छ । अल्काले केही समय पहिलो बाँझोपन सम्बन्धि सिबिर क्याम्प राखेको थियो, विगतमा भन्दा कस्तो पाउनु भयो ? पाँच दिनको बाँझोपन सम्बन्धि क्याम्प थियो । त्यसमा निःशुल्क उपचारहरु गरेका थियौं । क्याम्पमा बाँझोपन भएका बिरामीहरुले टेष्ट ट्युब बेबी गर्नुपर्ने बुझाइरहेको पायौं । तर त्यस्तो होइन । बाँझोपनको समस्या हुने बित्तिकै श्रीमान श्रीमतीलाई इन्भेस्टिगेट गरेर हेर्छौं । पहिला श्रीमान वा श्रीमतीमा कस्तो समस्या छ भनेर छुटउनुपर्ने हुन्छ । उनीहरुलाई औषधिहरु मात्रै दिएर पुग्छ की यौन सम्पर्क राख्ने समय भनिदिए पुग्छ । धेरैको समय नमिल्दा बच्चा नभएको हुनसक्छ । उहाँहरुले आइवीएफतिर जानुपर्ने हो । दुवै जनालाई इन्भेस्टिकेट गरेपछि के गर्ने भनेर निर्णय लिन मिल्छ । १५ वर्षदेखि अस्पतालहरुमा भौंतारिरहेका बिरामी आउनुभएको थियो । डिम्बासयको नलीमा ब्लक भइरहेको केसहरु भेटिए । त्यस्तोको लागि अन्य उपाय गरेर हुँदैन त्यसको लागि टेष्ट्यु बेबीतिर जानुपर्ने हुन्छ । अहिले आइबिएफ र टेष्ट्यु बेबी चाहिने धेरै बिरामीहरु पाएको छृु । अहिले बाँझोपनको समस्या बढ्दै गएको भन्ने देखियो होइन ? पछिल्लो समय नेपालका महिला, पुरुषहरुमा बाँझोपन बढ्दै गएको भन्ने देखिएको छ । पछिल्लो समय आइबीएफको समस्या बढ्दो रुपमा छ । विगतको जस्तो अहिले शुद्ध खानाहरु पनि पाउँदैन । लाइफ स्टाइल (जीवन शैली) परिवर्तन रहेको छ । वायु प्रदुषण बढ्दो छ । यी सबै वाह्य कारणहरु भए । यसले गर्दा अहिले कतिपय मानिसहरुलाई मेडिकल समस्या आउने हुन्छ । थाइराइड,डाइभिटिज र अन्य प्रेसरको कारण समस्या बनाएको हुन्छ । बाँझोपन समस्या समाधान कसरी गर्ने त ? बाँझोपन समस्या समाधानको विषयमा कुरा गर्दा दुवै जना दम्पतीहरुको रगतको जाँचदेखि महिलाको भिडियोएक्स रे देखि श्रीमानको शुक्रकिटको जाँच गर्नुपर्ने हुन्छ । सबै परीक्षण गरेर के कारण बाँझोपन भयो भनेर थाहा पाएपछि सबै भन्दा पहिला मेडिकल परीक्षणमा कहिले काहीँ यौन सम्पर्क गर्दा समय मात्रै नमिल्दा बाँझोपन भइरहेको हुन्छ । सम्पर्क राख्ने समय एउटा, अण्डा फुटेर निस्किसकेर आफैँ मरेर गइसकेको हुन्छ । अर्को मेडिकल परीक्षण पछि दम्पतीको लागि अण्डा र शुक्रकिट राम्रो हुने औषधि राख्छौं । त्यो औषधि ३ देखि ६ महिना खाँदा राम्रो भएको हुन्छ । कतिपयलाई मेडिकल औषधिले काम नगरिरहेको अवस्था हुन्छ । त्यस्तो बिरामीलाई आइवाईतिर लैजान्छौं । युटायुटयाम इम्सेमिनेसनमा हामीले महिनावारी भएको दोस्रो दिनदेखि पाँच दिनसम्म डिम्बासयमा अण्डा बनाउने औषधि खान दिन्छौं । त्यसपछि अल्ट्रासाउण्ड गर्दै डिम्बासयमा अण्डाको साइज कत्रो भयो भनेर हेर्छौं । बाँझोपन भएर अस्पताल जान नसक्नेहरुको लागि के भन्नुहुन्छ ? दुर्गम क्षेत्रका पनि अस्पतालमा आउने गर्नुभएको छ । बाँझोपन भनेको लुकाएर राख्ने कुरा होइन । लुकाएर कसैको परामर्श नलिइ श्रीमान श्रीमतीसँग मात्रै सिमित राख्नुभयो भने मेडिकल उपचारबाट बच्चा पाउनसक्ने अवसर गुमाउनु हुन्छ । त्यस्तो छ भने आफ्नो वरपर भएको राम्रो बाँझोपन सम्बन्धि डाक्टरहरुसँग परामर्श लिएर आफ्नो कुरा खुलस्त रुपमा बोल्नुस् । आफ्नो समस्या डाक्टरलाई शेयर नगरेसम्म उपचारको योजना पनि पाउनुहुन्न । डाक्टरहरुले सल्लाह दिएर राम्रो बच्चा पाउने क्षमता हुन्छ । त्यो क्षमता डाक्टरहरुसँग सल्लाह नलिँदा वञ्चित हुनुहुन्छ जस्तो लाग्छ । बाँझोपन सम्बन्धि डाक्टरसँग परापर्श गर्नु उपयुक्त हुन्छ । डाक्टरहरुले जसलाई बच्चा चाहिन्छ उहाँहरुलाई मात्रै बाँझोपन समस्याको उपचार गर्ने हो ।
सुनको मूल्य वर्षकै उच्च, प्रति तोला एक लाख ५२ सय पुग्यो
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
के हो ब्ल्याक बक्स, कसरी पत्ता लाग्छ विमान दुर्घटनाको कारण ?
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा खोँचमा खसेको यती एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ समिति उक्त विमानको ब्ल्याक बक्सको पर्खाइमा छ । दुर्घटनामा हराइरहेका मानिसको खोजीमा आइतवार अबेरसम्म जुटेका उद्धारकर्मीहरू सोमवारबाट विमानको ब्ल्याक बक्सको खोजीमा पनि जुट्ने अधिकारीहरूले बताएका छन् । विमानको पछिल्लो भागमा हुने यो उपकरणबाट विमान दुर्घटनाको कारण पत्ता लाग्ने उनीहरूको विश्वास छ । ‘कुन उपकरणको कस्तो अवस्था थियो भन्नेचाहिँ त्यो ब्ल्याक बक्सले बताउँछ। कुन भागको सङ्केत के थियो। अचानक आएको समस्या हो कि। बाहिरी वा आन्तरिक कारणले भएको हो भन्ने बताउँछ,’ जाँचबुझ समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले भने । ‘यसले दुर्घटनाको जाँचबुझमा धेरै नै सहयोग पु¥याउँछ ।’ यो जहाजमा हुने ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा निकै महत्त्वपूर्ण हुने लामिछाने बताउँछन् । ब्ल्याक बक्स के हो ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ । ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ । विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ । ‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,’ एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने । प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन् । तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन् । उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ । फ्लाइट डेटा रेकर्डर फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्छ । त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो–पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ । ‘कुनै उपकरणले काम गरिरहेको थिएन भने त्यो कुरा यसमा नोट हुन्छ र त्यसबाट विमानको प्राविधिक पक्षको विश्लेषण गर्ने हो,’ सुमनले भने । तर कतिपय साना र ट्विनअटर विमानमा यो हुँदैन। यसअघि मुस्ताङमा दुर्घटनामा परेको तारा एअरको ट्विनअटर विमानमा यस्तो उपकरण थिएन । यसमा सामान्यतया २५ घण्टाको रेकर्डिङ अवधि हुन्छ । यो उपकरणमा चार वटा च्यानल हुन्छन् र चार स्थानका आवाजको रेकर्ड राखेको हुन्छ । यसमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्सेन्टको रेकर्ड हुने सुमन बताउँछन् । दुर्घटना अनुसन्धानको क्रममा यस्तो उपकरणमा सङ्ग्रह भएको आवाज नै अनुसन्धानकर्ताहरूले सुनेर विश्लेषण गर्छन् । ‘पाइलटले के बोल्यो, के सुन्यो, केही खराबी थियो भने को–पाइलटलाई जानकारी दियो कि दिएन, यात्रु र टावरलाई दियो कि दिएन त्यो कुराहरूको आवाज सुनेपछि धेरै थाहा हुन्छ,’ यसअघिको तारा एअर दुर्घटना जाँचबुझ समितिका संयोजक समेत रहेका सुमनले भने । पुराना जहाजहरूमा म्याग्नेटिक टेपमा यस्तो आवाज रेकर्ड हुन्थ्यो र सुन्नका लागि विदेश जानुपर्ने बाध्यता थियो । नागरिक उड्डयन प्राधिकरणको हवाई दुर्घटना अनुसन्धान शाखामा लामो समय काम गरेका इन्जिनियर सुमनले आफू सन् १९९२ मा ककनीमा दुर्घटना भएको थाई एअरको सीभीआर लिएर क्यानडा गएको बताए । ‘म आफैँ ब्ल्याक बक्स लिएर क्यानडा र फ्रान्स गएको छु। तर अहिले धेरै काम नेपालमै हुन्छ,’ उनले भने । पछिल्ला विमानहरूमा यस्तो आवाज डिजिटल माध्यममा रहने र नेपालमै सुन्न सकिने सुमनले बताए । पछिल्लो समय नेपालमै ब्ल्याक बक्सको विश्लेषण हुने भए पनि फ्लाइट डेटा रेकर्डरको कतिपय अध्ययनका लागि विदेशी विशेषज्ञहरूको पनि सहयोग लिने गरिएको छानबिन समितिका सदस्यसचिव लामिछानेले बताए । डेटा विश्लेषण गर्ने ‘प्रोग्राम’मा राखेर हेरेपछि कतिपय अवस्थामा दुर्घटनाको कारण थाहा हुने उनी बताउँछन् । ‘दुर्घटना नहुँदै पनि विमानको स्वास्थ्य अवस्था परीक्षणका लागि र मर्मतका लागि पनि यसको प्रयोग र विश्लेषण गर्ने गरिएको छ,’ उनले भने । दुर्घटना अनुसन्धानमा ब्ल्याक बक्सको महत्व काठमाण्डूको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भासिएको टर्किश एअर दुर्घटना, काठमाण्डूको विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यूएस बाङ्ग्ला एअरसहित धेरै हवाई दुर्घटनामा ब्ल्याक बक्सले वास्तविकता पत्ता लगाउन सहयोग गरेको लामिछानेले बताए । ‘हो यूएस बाङ्ग्लाको दुर्घटनामा गलत एप्रोच गरेको हो। गलत दिशाबाट अवतरण गर्न खोजेको हो भन्ने यसले देखायो,’ सुमनले थपे । लुक्ला विमानस्थलमा भएको समिट एअरको विमान दुर्घटना अध्ययनमा पनि ब्ल्याक बक्सले घटनाको कारण पत्ता लगाउन सहयोग गरेको लामिछानेले बताए । कहिलेकाहीँ कुनै कुरा निश्चित गर्न पनि ब्ल्याक बक्सले सहयोग गर्ने उनीहरू बताउँछन् । बीबीसी
सभामुखबारे छलफल गर्न बालकोट पुगे प्रचण्ड
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको बताइएको छ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । भामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतम निर्वाचन अधिकृत तोकिएका छन् । नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
कति पाउँछन् यती एयरको जहाज दुर्घटनामा मृत्यु भएकाको परिवारले बीमा रकम ?
काठमाडौं । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडान भरेको यती ययरको जहाज दुर्घटनामा पर्यो । काठमाडौंबाट बिहान १०ः३३ बजे पोखराका लागि उडान भरेको यती एयरलाइन्सको जहाज ९ एन–एएनसी जहाज पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको नयाँ गाउँस्थित सेतीको खोचमा दुर्घटनामा परेको थियो । जहाजमा क्याप्टेन कमल केसी, को–पाइलट अञ्जु खतिवडा र एयर होस्टेज सृजना होंगचुन र ओसीन आलो मगर थिए । जहाजमा चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु गरी ७२ जनाको मृत्यु भएको छ । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । दुर्घटनामा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रशियन, एक जना आयरल्याण्ड, एक जना अष्ट्रेलियन, एक जना अर्जेटिनी, दुई जना कोरियन, एक जना फ्रान्सेली गरि ६८ जना र चालक दलका ४ जना सहित ७२ जना थिए । उक्त जहाज दुर्घटनामा मृत्यु भएकाको परिवारले जनही २० हजार अमेरिकी डलर पाउने भएका छन् भने भने चालक दलका सदस्यको बीमा भने ४० हजार अमेरिकी डलरको हुन्छ । हालसम्म नेपालमा आन्तरिक उडान वार्सा महासन्धी र हेग प्रोटोकल अन्तर्गत रहेको छ । जसमा यसको दायित्व २० हजार अमेरिकी डलर रहेको छ । आइतबारको अमेरिकी प्रतिडलर विनियम दर १२९.४६ रुपैयाँ अनुसार हिसाब गर्दा यती एयर दुर्घटनाबाट मृत्यु भएका मृतका परिवारले २५ लाख ८९ हजार २ सय रुपैयाँ पाउँछन् । उक्त प्रोटोकल अन्तर्गत नै विमान कम्पनीले बीमा रकम दिने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले यती एयर दुर्घटनामा मृत्यु भएका मृतका परिवारलाई वार्सा महासन्धीलाई नै आधार बनाएर बीमा रकम दिनुपर्ने जनाएको छ । उक्त रकम विमान कम्पनीले नभएर बीमा कम्पनीले भुक्तानी गर्नुपर्छ । सो जहाजको बीमा हिमालयन एभरेष्ट बीमा कम्पनीले गरेको छ । हिमालयन एभरेष्टले कुल बिमांक रकमको ०.०५ क्षति आफूले व्यहोर्ने गरी पुनर्बीमा गराएको छ । आइतबारको दुर्घटनाको क्षति मूल्यांकलनका लागि इन्स्योरेन्स कम्पनीले सिंगापुरबाट सर्भेयर झिकाएको पनि बताएको छ । यस्तै, सम्बन्धित वायुसेवा कम्पनीले चालक दलका सदस्यको छुट्टै बीमा गरेको हुन्छ । यती एयरका एक पाइलटका अनुसार चालक दलका सदस्य ९पाइलट० को १ करोड रुपैयाँ बराबरको बीमा गरिएको हुन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् १९९९ देखि लागू गरेको मोन्ट्रियल महासन्धि नेपालमा २०७५ मंसिर २९ देखि लागू भएको हो । अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाई यात्रुहरुको दुर्घटनाबाट मृत्यु भएमा, चोटपटक लागेमा १ लाख १३ हजार १ सय एसडिआर (अन्तराष्ट्रिय मुद्रा कोषको मौद्रिक इकाइ) रहेको छ । यो रकम भनेको १ लाख ५८ हजार ३४० अमेरिकी डलर बराबर हो ।
रसुवामा झोलुङ्गे पुल निर्माण गर्न माग
रसुवा। लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् । विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पुर्याएको थियो । तत्काल आवागमन सञ्चालन गर्न निजी स्तरबाट काठेपुल निर्माण समेत गरिएको थियो । पछिल्लो समय सो काठेपुलसमेत जीर्ण भइसकेका स्थानीयवासीले जनाएका छन् । हिमाली पदयात्राको लागि हजारौँ पर्यटक लाङटाङ जाने गर्दछन् । स्थानीयवासीले थाङसेप माथि छार्तिङ खोलामा समेत झोलुङ्गे पुल निर्माण गरिदिन माग गरिएका छन् । सो स्थानमा भूकम्पको असरले हिमपहिरो आउँदा सोे झोलुङ्गे पुल बगाइ पर्यटक आवागमनमा असर परेको जनाइएको छ । स्याफ्रुबेँसीदेखि खोलाको तिरैतीर लाङटाङ जाने १८ किलोमिटर पदमार्गअन्तर्गतका भागमा पर्ने झोलुङ्गे पुल निर्माणको साथसाथै पदमार्गसमेत मर्मत एवं पुनःनिर्माण गरिदिन माग गरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डुप लामा ज्याङ्वाले बताए । पदमार्ग सहज नहुँदा विशेष गरी वर्षायाममा पदयात्रीको ज्यानसमेत जोखिममा परिरहेको कारण सरोकारवाला निकायले समयमै ध्यान दिन स्थानीयद्वारा आग्रह गरिएको उनले बताएको हो । लाङटाङ जाने बृद्विम तर्फबाट खाम्जिङ, शेर्पागाउँ, रिम्चेतर्फको पुरानो बाटो भए पनि स्याफ्रुबेँसीदेखि खोला तिरतिरैतर्फकै पदमार्ग बढी प्रयोगमा आउने गरेको छ । नेपालको तेस्रो पर्यटकीयस्थलको रूपमा मानिएको लाङटाङ पदमार्गको विकासका लागि नेपाल पर्यटन वोर्डलगायत सरोकारवाला निकायले विशेष कार्यक्रम ल्याई पर्यटन विकासको प्रवद्र्धनमा सहयोग गरिदिन लाङटाङका बासिन्दाले माग गरेका छन् । लाङटाङ पदयात्रामा जाने पर्यटकका लागि हिमालबाट हिउँ पग्लेर छ्याङछ्याङ गर्दै झरेको लाङटाङ खोलाको झर्ना, ठाउँठाउँमा बनेको ताल, भोजपत्र, ल्यारेक्स सल्लोलगायतका अनगिन्ती मिश्रण वनस्पति, सयौँ प्रजातिका चरा, फाट्टफुट्ट देखिने विविध प्रकारका जनावर, क्याङ्जेन भ्याली, मानव नजिक रहेको हिमनदी, यालापिक, गञ्जलालगायतका सम्पदाले मनमोहक बनाउने गरेको बताइएको छ । यसैगरी पर्यटकका लागि खानेपानीको व्यवस्था, फोहरमैलाको उचित व्यवस्थापनको कार्यक्रमसमेत सञ्चालन गरिदिन लाङटाङका पर्यटन व्यवसायीले संघीय सरकारसंग आग्रह गरेका छन् । रासस
आँबुखैरेनी अस्पताललाई १०० शय्यामा विस्तार गर्न पहल
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी क्षेत्रमा एक सय शय्या क्षमताको अस्पताल अतिआवश्यक भइसकेको बताए । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल निर्माण गरिने चुमानले बताए । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको चुमानले उल्लेख गरे । ‘पन्ध्र शय्याको अस्पताल हामी आफैँ चलाइरहेका छौँ, एक सय शय्याको अस्पताल प्रदेश र संघीय सरकारको सहकार्यमा बनाउने लक्ष्य राखेका छौँ’, चुमानले भने, ‘त्यसपछि आँबुखैरेनी मात्र नभई छिमेकी जिल्लाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’ गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजनका लागि सरकारको ध्यानाकर्षण गराइसकेको छ । ‘तीनवटै तहको सरकारको आवश्यक समन्वयबाट अस्पताल सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छौँ’, चुमानले भने । गाउँपालिकाले मङ्सिर १ देखि आँबुखैरेनी गाउँपालिका-३ मा सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई सेवा विस्तार गरी अस्पतालमा रुपान्तरण गरिसकेको छ । स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गरिएको चुमानले बताए । अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा सुरु गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको छ । गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको चुमानले बताए । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायतका ठाउँमा उपचार गर्न जानुपर्ने बाध्यता छ । गाउँपालिकाले ७० वर्षभन्दा माथिको ज्येष्ठ नागरिक र सुत्केरी हुँदा गर्भवती महिलालाई गाउँपालिकाको अस्पतालबाट निःशुल्क सेवा दिनेछ । ‘अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा दिन्छौँ’, चुमानले भने । गाउँपालिकाले केही समय अगाडि स्वास्थ्य मन्त्रालयसँग एक थान एक्सरे मेसिन, एक थान अल्ट्रासाउण्ड मेसिन, एक थान ग्रामीण अल्ट्रा साउण्ड मेसिन, एक थान डिजिटल एक्सरे मेसिन, पाँच थान क्यासेट, एक थान इसिजी मेसिन, पाँच थान डायलासिसका लागि आवश्यक पर्ने मेसिन, एक थान अटो एनालाइजर माग गरेको थियो । गाउँपालिकाले अस्पतालबाटै मिर्गौला बिरामीलाई डायलासिस सेवा दिने तयारी गरेको छ । हाल दमौली अस्पतालबाट मात्र डायलासिस सेवा उपलब्ध हुँदै आएको छ ।
ज्येष्ठ नागरिकलाई खुसी दिन उपमहानगरद्वारा अभियान सञ्चालन
तुलसीपुर । ज्येष्ठ नागरिकलाई खुसी दिन तुलसीपुर उपमहानगरपालिकाले अभियान चलाएको छ । धेरै ज्येष्ठ नागरिक आर्थिक अभावकै कारण न्यानो कपडा किन्न सक्ने अवस्थामा नभएको जनाउँदै न्यानो कपडा वितरण गरेको छ । उपमहानगरपालिकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । उपमहानगरपालिकाका १९ वडाका ज्येष्ठ नागरिकलाई बल्याङ्केट सहयोग गरिएको उपप्रमुख स्यानी चौधरीले बताइन्। ‘हामीले १९ वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छौँ’, उनले भने, ‘वडाको सिफारिसका आधारमा उहाँहरुलाई ती कपडा वितरण भयो ।’ अतिविपन्न, गरिब, न्यानो कपडा किन्न नसक्नेलाई लक्षित गरी प्रत्येक वडाबाट १५ जनालाई वितरण गरिएको उपप्रमुख चौधरीको भनाइ छ । अहिले बजेट न्यून भएकाले प्रत्येक वडाबाट १५ जनालाई मात्रै वितरण गरिएको भए पनि अर्को पटक यसलाई बढाउने लक्ष्य रहेको समेत उनले बताइन्। सबै वडा-वडामा पुगेर न्यानो कपडा वितरण गरिएको हो । साथै आगामी वर्षदेखि ज्येष्ठ नागरिकको घर-घरमै गएर स्वास्थ्य जाँच गर्ने व्यवस्थासमेत मिलाउने बताइन्। विपन्न ज्येष्ठ नागरिकको अवस्था दयनीय भएको जनाउँदै सहयोग गर्नु सकारात्मक कार्य रहेको ज्येष्ठ नागरिक मञ्च लुम्बिनी प्रदेशका संयोजक खुमानन्द अधिकारीले बताए । ‘धेरै ज्येष्ठ नागरिकले आर्थिक अवस्था कमजोर हुँदा चिसो खप्नुपर्ने अवस्था छ’, उनले भने, ‘यसलाई मध्यनजर गरि जुन कार्यक्रम भएको छ, यो एकदमै सकारात्मक छ ।’