विकासन्युज

आँबुखैरेनी अस्पताललाई १०० शय्यामा विस्तार गर्न पहल

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो ।  गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी क्षेत्रमा एक सय शय्या क्षमताको अस्पताल अतिआवश्यक भइसकेको बताए । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल निर्माण गरिने चुमानले बताए । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको चुमानले उल्लेख गरे । ‘पन्ध्र शय्याको अस्पताल हामी आफैँ चलाइरहेका छौँ, एक सय शय्याको अस्पताल प्रदेश र संघीय सरकारको सहकार्यमा बनाउने लक्ष्य राखेका छौँ’, चुमानले भने, ‘त्यसपछि आँबुखैरेनी मात्र नभई छिमेकी जिल्लाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’ गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजनका लागि सरकारको ध्यानाकर्षण गराइसकेको छ । ‘तीनवटै तहको सरकारको आवश्यक समन्वयबाट अस्पताल सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छौँ’, चुमानले भने ।  गाउँपालिकाले मङ्सिर १ देखि आँबुखैरेनी गाउँपालिका-३ मा सञ्चालन भइरहेको  स्वास्थ्य चौकीलाई सेवा विस्तार गरी अस्पतालमा रुपान्तरण गरिसकेको छ । स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गरिएको चुमानले बताए ।  अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा सुरु गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको छ । गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको चुमानले बताए । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायतका ठाउँमा उपचार गर्न जानुपर्ने  बाध्यता छ ।  गाउँपालिकाले ७० वर्षभन्दा माथिको ज्येष्ठ नागरिक र सुत्केरी हुँदा गर्भवती महिलालाई गाउँपालिकाको अस्पतालबाट निःशुल्क सेवा दिनेछ । ‘अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा दिन्छौँ’, चुमानले भने ।  गाउँपालिकाले केही समय अगाडि स्वास्थ्य मन्त्रालयसँग एक थान एक्सरे मेसिन, एक थान अल्ट्रासाउण्ड मेसिन, एक थान ग्रामीण अल्ट्रा साउण्ड मेसिन, एक थान डिजिटल एक्सरे मेसिन, पाँच थान क्यासेट, एक थान इसिजी मेसिन, पाँच थान डायलासिसका लागि आवश्यक पर्ने मेसिन, एक थान अटो एनालाइजर माग गरेको थियो । गाउँपालिकाले अस्पतालबाटै मिर्गौला बिरामीलाई डायलासिस सेवा दिने तयारी गरेको छ । हाल दमौली अस्पतालबाट मात्र डायलासिस सेवा उपलब्ध हुँदै आएको छ ।

ज्येष्ठ नागरिकलाई खुसी दिन उपमहानगरद्वारा अभियान सञ्चालन

तुलसीपुर । ज्येष्ठ नागरिकलाई खुसी दिन तुलसीपुर उपमहानगरपालिकाले अभियान चलाएको छ । धेरै ज्येष्ठ नागरिक आर्थिक अभावकै कारण न्यानो कपडा किन्न सक्ने अवस्थामा नभएको जनाउँदै न्यानो कपडा वितरण गरेको छ ।  उपमहानगरपालिकाले  दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । उपमहानगरपालिकाका १९  वडाका ज्येष्ठ नागरिकलाई बल्याङ्केट सहयोग गरिएको उपप्रमुख स्यानी चौधरीले बताइन्। ‘हामीले १९  वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छौँ’, उनले भने, ‘वडाको सिफारिसका आधारमा उहाँहरुलाई ती कपडा वितरण भयो ।’ अतिविपन्न, गरिब, न्यानो कपडा किन्न नसक्नेलाई लक्षित गरी प्रत्येक वडाबाट १५ जनालाई वितरण गरिएको उपप्रमुख चौधरीको भनाइ छ । अहिले बजेट न्यून भएकाले प्रत्येक वडाबाट १५ जनालाई मात्रै वितरण गरिएको भए पनि अर्को पटक यसलाई बढाउने लक्ष्य रहेको समेत उनले बताइन्। सबै वडा-वडामा पुगेर न्यानो कपडा वितरण गरिएको हो । साथै आगामी वर्षदेखि ज्येष्ठ नागरिकको घर-घरमै गएर स्वास्थ्य जाँच गर्ने व्यवस्थासमेत मिलाउने बताइन्।   विपन्न ज्येष्ठ नागरिकको अवस्था दयनीय भएको जनाउँदै सहयोग गर्नु सकारात्मक कार्य रहेको ज्येष्ठ नागरिक मञ्च लुम्बिनी प्रदेशका संयोजक खुमानन्द अधिकारीले बताए । ‘धेरै ज्येष्ठ नागरिकले आर्थिक अवस्था कमजोर हुँदा चिसो खप्नुपर्ने अवस्था छ’, उनले भने, ‘यसलाई मध्यनजर गरि जुन कार्यक्रम भएको छ, यो एकदमै सकारात्मक छ ।’

मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

जनकपुरधाम। मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगबारका लागि तय गरिएको छ । आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । यसअघि आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । प्रदेशसभा सचिवालय सचिव यादवले प्रदेशसभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि भोली मङ्गलबार दिउँसो १ बजेका लागि बैठक सारिएको बताए । मुख्यमन्त्री सरोजकुमार यादवले पनि विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र परिवारजनमा गहिरो दुःख व्यक्त गर्दै देश शोकमा डुबेको र राष्ट्रिय शोक बिदा दिइएकाले आफूले भोलिको बैठकमा विश्वासको मत लिने जानकारी दिए । गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल रायको उम्मेदवारी दर्ता भएको छ ।

काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट खुल्याे

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ। जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धुलिखेल नगरपालिका र बनेपा नगरपालिकामा मात्र जग्गाको कित्ताकाट हुने जनाएको छ। यी दुई पालिकाले जग्गाको वर्गीकरण सम्पन्न गरेकाले कित्ताकाट खुला गरिएको हो। मालपोत अधिकृत गंगाप्रसाद पोखरेलका अनुसार जग्गा वर्गीकरण सकाएका काभ्रेपलाञ्चोकका अरू स्थानीय तहलाई कित्ताकाट अनुमति लिन पत्र समेत पठाइएको छ। कार्यालयले घर बाटोको सिफारिसमा एकरूपता हुनुपर्ने भएका वडा तहबाटै निश्चित ढाँचाको फाराम भरेर घरबाटो तथा जग्गा वर्गीकरण सिफारिस पठाइदिन अनुरोध गरेको हो। ‘जग्गा वर्गीकरण भएका मध्ये बनेपा र धुलिखेलमा मात्रै कित्ताकाट खुलाइएको हो,’ पोखरेलले भने। काभ्रेमा धुलिखेल र बनेपा नगर तथा चौँरीदेउराली र खानीखोला गाउँपालिकाले जग्गा वर्गीकरण गरेर जिल्ला मातपोत कार्यालयमा पठाएका थिए। चौँरीदेउराली र खानीखोला गाउँपालिकाको भने वर्गीकरणमा समस्या देखिएपछि पुनः वर्गीकरणका लागि पठाइएको पोखरेलले बताए। अरू पालिकाबाट भने मालपोत कार्यालयमा अहिलेसम्म जग्गा वर्गीकरण भएका निवेदन परेको छैन। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गएको जेठ २७ गते घरजग्गा कारोबारमा लगाएको रोक करिब सात महिनापछि काभ्रेपलाञ्चोकमा खुलेको हो। मन्त्रालयले गत मङ्सिर २२ गतेसम्म स्थानीय सरकारले स्थानीय भू-उपयोग परिषद्बाट जग्गाको स्थायी तथा अस्थायी वर्गीकरण गर्नुपर्नेमा जिल्लाका नौ स्थानीय तह नागरिक प्रति अझै अनुत्तरदायी देखिएको बताइन्छ । कार्यालयले भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेको अवस्थामा जग्गाको वर्गीकरण भइसकेका स्थानीय तहहरुबाट आएका भू–उपयोग परिषद्को निर्णयअनुसार सबै कित्ता जग्गाको जग्गाधनी श्रेस्ता/पुर्जा तथा नक्सामा अध्यावधिक गरेर मात्र सेवा प्रवाह गर्नुपर्ने भएकाले अनिवार्यरुपमा मिति २०७९ साल माघ २ गतेबाट खुला गरिएको जनाएको हो । लिखत रजिष्ट्रेसन पास बैंक तथा वित्तीय संस्थाको रोक्का, नामसारीलगायत अन्य निवेदनसम्बन्धी सेवा भू–उपयोग वर्गीकरण क्षेत्र खुल्ने गरी स्थानीय तहहरुबाट सिफारिस आएपश्चात् मात्र सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ । जल्लास्थित चौँरीदेउराली र खानीखोला गाउँपालिकाले सबै भूमि गैरकृषि क्षेत्र कायम गरिएको जानकारी गराएकाले पुनः वर्गीकरण गर्न भनिएको हो । गत जेठ २७ गतेदेखि मङ्सिर २२ गतेसम्म जग्गा वर्गीकरणमा आलटाल गरिरहेका स्थानीय सरकारले विज्ञ नभएका कारण समस्या भएको बताएका छन् । जग्गा वर्गीकरण नहुँदा नागरिकका अंशबण्डासमेत हुन नसकेको बताइन्छ । नेपाल लेखापढी कानुन व्यवसायी सङ्घका अध्यक्ष रोशनकुमार श्रेष्ठका अनुसार जसका कारण राज्यको राजस्व घटिरहेको छ भने नागरिकले आफ्नो जमिन धितो राखेर उपचारसमेत गर्नबाट वञ्चित बनेका छन् । सङ्घले जिल्लाका सबैै स्थानीय तहमा जग्गाको भू–वर्गीकरण समयमै सम्पन्न गर्न ज्ञापनपत्रसमेत बुझाएको थियो । नियमावलीमा स्थानीय सरकारले जग्गा भू-वर्गीकरण गर्न नसके प्रदेश सरकारले गर्ने उल्लेख छ । जग्गा वर्गीकरण नहुँदा मालपोत कार्यालयले प्राप्त गर्ने करोडौँ राजस्व घटेको छ । यसअघि नामसारी, दृष्टिबन्धक (व्यक्तिगत), पूरा कित्ता (अंश बण्डा), पूरा कित्ता (पास), छोडपत्र (पूरा) सगोलनामा मात्रै कारोबार हुने गरेको थियो । रासस

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण सोमबार बिहानैदेखि आन्तरिक उडान प्रभावित भएको छ । अधिकांश विमानस्थलमा हुस्सु र कुहिरोका कारण उडान प्रभावित बनेको त्रभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान/अवतरण भने रोकिएको छैन ।

पोखरा विमान : दुर्घटना २६ जनाको शव पहिचान

पोखरा । आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए । पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।

नवलपरासीमा अवैध रुपमा सञ्चालनमा रहेका थप छ क्रसर उद्योग बन्द

नवलपरासी । पछिल्लोपटक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । सोही पत्रअनुसार थप छ क्रसर उद्योग बन्द भएका हुन् । गृहको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । सुनवल नगरपालिका–११ को इन्द्रणी क्रसर उद्योग, सुस्ता गाउँपालिका–५ को ओम गिट्टी क्रसर उद्योग, बर्दघाट नगरपालिका–१३ को ओम बालुवा प्रशोधन उद्योग, सरावल गाउँपालिका–२ को मामा भान्जा बालुवा गिट्टी प्रशोधन तथा निर्माण सामग्री प्रालि, सुनवल नगरपालिका–४ मा नारायणगढ बुटवल सडक आयोजनाको क्रसर र प्रतापपुर गाउँपालिका–९ मा हुलाकी सडक आयोजनाद्वारा सञ्चालित क्रसरलाई बन्द गराइएको छ । जिल्लामा यसअगावै सात क्रसर उद्योग रहेकोमा एउटा यसअघिनै बन्द थियो । सुनवलमा रहेको लुम्बिनी रोडा क्रसर उद्योग यसअघि देखिनै बन्द छ । जिल्लामा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा छन् ।

फलफूल खेतीमा रमाउँदै डोटीका युवा, मनग्य आम्दानी

दिपायल । डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका-५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा ।  उनले व्यावसायिक फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । स्नातक तह उत्तीर्ण गरेका उनी विद्यार्थी राजनीतिक अनुभवसँगै अहिले फलफूल खेतीमा जमेका छन् । जिल्लाको जोरायल गाउँपालिका-५ गडसेरामा काफली गन्याप फलफूल तथा तरकारी फार्म दर्ता गरी १० लाखको लगानीमा आफ्नो निजी बाजो जमिनमा झण्डै ५४ रोपनी जमिनमा तीन हजार बोट कागती, अमिलो, सुन्तला  केरा  रोपेर उनले व्यावसायिक खेती  सुरु गरेका छन् । कागती खेतीबाट उनले वार्षिकरूपमा चार लाख  आम्दानी लिएका छन् । लगानीको तुलनामा कागती खेतीबाट नाफा बढी हुने उनी बताउँछन्। ‘खर्च कम, मलजल पनि थोरै भए पुग्ने, मिहेनत पनि कम लाग्ने, आम्दानी भने राम्रो हुने भएकाले कागतीखेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् ।’ किसान देउवाले भने। उनले बर्सेनि रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै  आयआर्जनमूलक  काममा लगाउनुपर्ने सुझाव दिए। लामो समय भरतमा रोजगारी गरे पनि सोचेजस्तो कमाइ नभएकाले स्वदेशमा आई व्यावसायिक कृषि पेसामा लागेको बडीकेदार गाउँपालिका-५ थान्कोटका प्रकाश मल्लले बताउँछन् । भागरथी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी चार सय कागती र दुई सय सुन्तलाका बिरुवा लगाएको उनले जानकारी दिए । साथै वार्षिकरुपमा एक लाख आम्दानी हुने गरेको मल्लले जानकारी दिए । स्थानीय सरकारले कृषि व्यवसायलाई प्रभावकारी बनाउनका लागि अनुदानमा ऋण, सीपमूलक तालिम, कृषि कार्यक्रम दिनुपर्ने उनको भनाइ छ । डोटी जिल्लामा कागती ८८ हेक्टर, निबुवा दुई सय ८१ हेक्टर, मौसम एक सय ७२ हेक्टर र सुन्तला तीन सय १३ हेक्टर, गरेर जम्मा आठ सय ५४ हेक्टर क्षेत्रफलमा हिउँदे फलफूल खेती विस्तार भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।