विकासन्युज

पढाइसँगै पैसा, सात साथी मिलेर ल्याए ‘कलेज टिफिन’

काठमाडौं । विद्यालय या कलेजमा पढ्ने जोकोहीलाई पनि घण्टौंसम्म खाजाका लागि क्यान्टिन अथवा होटलमा पर्खिनु परेको अनुभव पक्कै हुनु पर्छ । खाजा खानैका लागि लामो समयसम्म होटलमा बसेकै कारण कक्षा कोठामा शिक्षक/शिक्षिकाको गालि नखाएकाहरु पनि सायद विरलै होलान् । तर, के गर्नु पेटको भोक मार्नै पर्यो । गालि खानै परेपनि खाजा खाएरै जाने हामी सबैको बाध्यता हुन्छ । यस्तै बाध्यता र विवशता नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी (एनसीआईटी) का विद्यार्थीहरु अर्जुन, विवेक र आयुशा लगायतहरुलाई पनि थियो । उनीहरुले सोचे, यो बाध्यताको अन्त्य कसरी गर्न सकिन्छ होला ? उनीहरुको दिमाखमा धेरै आइडिया आए । ती मध्यको एउटा आइडिया हो ‘कलेज टिफिन’ । ‘हाम्रो आफ्नै अनुभवको कारण यो कन्सेप्ट ल्याएका हौं, कलेजले खाजा खानका लागि ४० मिनेट ब्रेक दिएको हुन्छ, सबै साथीहरुलाई खाजा बनाउन होटल/क्यान्टिनलाई समय लाग्छ, उता कक्षा सुरु भइसकेको हुन्छ, ढिलो गएपछि सर/म्यामहरुले कराउनु हुन्छ, यो समस्याको कसरी समाधान गर्न सकिन्छ भनेर हामीले कलेज टिफिन ल्यायौं,’ कलेज टिफिनका प्रमुख कार्यकारी अधिृकत विवेक ढकालले भने । विद्यार्थीहरूको समय बचत गर्ने उद्देश्यले कलेज टिफिन एपको लन्च गरेको ढकालले बताए । सो एप मंगलबार सार्वजनिक गरिएको छ । उक्त एप मार्फत् कलेज आसपासका रेस्टुरेण्टमा विद्यार्थीले खाना अर्डर गर्नसक्ने छन् । ‘कजेज टिफिन एउटा प्लेटफर्म हो, जहाँ कुनै रेस्टुरेण्ट जानु भन्दा अगाडि यसै एप मार्फत प्रि–अर्डर गर्न सकिन्छ, रेस्टुरेण्टको मान्छे पहिला नै अर्डर थाहा पाइसक्छ, त्यसपछि अर्डर गरेको ठाउँमा पुगेर धेरै समय नकुरेरै खाजा खाएर समयमै फर्किन सकिन्छ,’ उनले भने । यो एउटा स्टार्टअप बिजनेस हो । यो एप कलेजका विद्यार्थी र रेस्टुरेन्टहरूलाई जोड्ने एउटा माध्यम हो । ‘विद्यार्थीलाई भोलि बिहान १० वा १२ बजे छुट्टी हुन्छ भन्ने थाहा हुन्छ, भोलि म यो खान्छु भनेर यस एप मार्फत आजै अर्डर गर्न सकियो, पैसा भने सोही समय तिर्नुपर्ने हुन्छ, हाम्रो एपमा लिस्टेड भएका रेस्टुरेन्टहरूको मेनु उपलब्ध हुन्छ,’ उनले भने । एपका फाउण्डर अर्जुन घिमिरे आफैले धेरै पटक खाजा खाँदा कक्षा छुटेकैले यो बिजनेस सोचेको बताउँछन् । ‘म अफै टिफिन समयमा बाहिर खाजा खान जाँदा कयौं दिन पढाइ छुट्यो, यो समस्याको समधान गर्नको लागि मैले विभिन्न उपयाहरु खोजिरहेको थिएँ, समय पनि बचोस, पढाइ पनि नछुटोस् र सँगै बिजनेस पनि होस् भन्ने योजना सोचिरहेको थिएँ, मैले कलेज टिफनको विषयमा धेरै सोचेँ, साथीहरुलाई योजना सुनाएँ, साथीहरुलाई पनि मन पर्यो, साथ दिए, अहिले सार्वजनिक गर्न सफल भयौं,’ घिमिरेले भने । पकेट खर्चबाटै बन्यो ‘कलेज टिफिन’ एनसीआईटी कलेजका सात जना विद्यार्थी मिलेर ‘कलेज टिफिन’ एप सञ्चालनमा ल्याएका हुन् । सो कलेजा स्नातक तह पढ्ने अर्जुन घिमिरे, विवेक ढकाल, आयुषा श्रेष्ठ, प्रिन्स कुस्वाना, सरोज ढकाल, सुसन अधिकारी र सुसन चापागाईं मिलेर यो एप सञ्चालनमा ल्याएका हुन् । उनीहरुले फरक–फरक जिम्मेवारी तोकेर काम अगाडि बढाएका छन् । सीईओ ढकालका अनुसार केही साथीहरूको आफ्नै स्टार्टअप बिजनेस पनि गरिरहेका छन् । नेपालमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेको उनीहरुको भनाइ छ । फाउन्डर घिमिरे कलेज टिफिन एप बनाउन ८ महिना समय लागेको बताउँछन् । ‘हामीले पकेट खर्च कटाएर यो एपमा खर्च गरेका छौं, एक लाखको हाराहारीमा खर्च भएको छ, यो एपले विद्यार्थीहरुको समय बचत हुनेमा हामी विश्वस्त छौं, यो एप सबै विद्यार्थीका लागि प्रभावकारी रुपमा काम गर्र्नेमा हामी ढुक्क छौं,’ उनले भने । अहिले तत्कालका लागि यो एप सबैले प्रयोग गर्न पाउने छैनन् । घिमिरेका अनुसार यो एप विद्यार्थीको लागि मात्र बनाइएको हो । सबै कलेजमा लागू भएको छैन । अहिले एनसीआईटी कलेजमा मात्र प्रयोग गरेर सफल भएपछि अन्य कलेजमा पनि लागू गर्ने योजना रहेको उनको भनाइ छ । अहिले यस एपमा एनसीआईटी कलेज आसपासका ५/६ वटा रेस्टुरेण्टहरूलाई समावेश गरिएको छ । टिमले २/३ वर्ष भित्र आम सर्वसाधारणको लागि यो एप खुल्ला गर्ने योजना बनाएको छ । कसरी प्रयोग गर्ने एप ? यो एपलाई प्ले स्टोरबाट डाउनलोड गरेर सञ्चालन गर्न सकिन्छ । डाउनलोड गरेपछि उक्त एपलाई ‘लगइन’ गर्नुपर्ने हुन्छ । लगइन गर्दा विद्यार्थीको सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ भने कलेजको पनि छनोट गर्नुपर्ने हुन्छ । लगइन गरिसकेपछि एप भित्र सूचीकृत रेस्टुरेन्ट तथा होटलहरु देख्न सकिन्छ । अहिले एपमा सात वटा रेस्टुरेन्ट आवद्ध छन् । पछि ती रेष्टुरेण्ड बढ्दै जानेछन् । हरेक रेस्टुरेण्टमा पाइने खाजाको नामसहित मूल्य पनि एपमा राखिएको छ । कुन रेस्टुरेण्टको खाजा अर्डर गर्ने आफ्नो च्वाइस अनुसार छनोट गर्नु पर्छ । अर्डर गरेकै समयमा पैसा तिरेपछि आफुलाई पायक पर्ने समयमा खाजा खाएर समयमै फर्किन सकिन्छ ।

सिजी ल्यान्डमार्कले डेढ दर्जन संस्थालाई दियो फुटबल

चितवन । चितवनको भरतपुरस्थित व्यापारिक कम्पलेक्स सिजी ल्यान्डमार्कले झन्डै डेढ दर्जन संस्थालाई फुटबल हस्तान्तरण गरेको छ । सिजी ल्यान्डमार्कले फुटबल खेल प्रवद्र्धन गर्न विभिन्न विद्यालय, युवा क्लब, सैनिक क्याम्प र रेडियो स्टेसनलाई फुटबल प्रदान गरेको ल्यान्डमार्कका महाप्रबन्धक उज्वल केसीले जानकारी दिए । उनका अनुसार सिजी ल्यान्डमार्कले चितवन मावि, राष्ट्रिय प्रावि–यज्ञपुरी, ठोरी खेत मावि, भद्रकुमारी निमावि, कैलाशनगर मावि, प्रेम वस्ती मावि, गौरीगन्ज मावि, राष्ट्रिय प्रावि–रामनगर, रामनगर मावि, सतिाराम मावि, न्यु युवा क्लब, देउराली युवा क्लब, नयाँ किरण मावि, रेडियो भरतपुर र कालीबहादुर गण लगायतलाई फुटबल प्रदान गरेको हो । खेल प्रवद्र्धनका लागि ती संस्थाहरुलाई ६० थान फुटबल निःशुल्क हस्तान्तरण गरेको महाप्रबन्धक केसीले जानकारी दिए । सिजी ल्यान्डमार्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएको र आगामी दिनमा यसलाई अझ सशक्त रुपमा निरन्तरता दिने उनले बताए ।

भिभो वाई २२ सिरिजमा यस्ता छन् विशेषता

काठमाडौं । भिभोले युवा प्रयोगकर्तालाई केन्द्रित गर्दै वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरू वाई २२ र वाई २२एस सार्वजनिक गरेको छ । भिभो वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरू, शक्तिशाली कार्यसम्पादन तथा अन्य आकर्षक विशेषताका लागि परिचित छन् । वाई २२ र वाई २२ एस दुई उत्कृष्ट र आकर्षक कलर भेरियन्टमा रहेको छ । यो फिंगरप्रिन्ट प्रतिरोधी हुनका साथै हातमा बोक्न पनि सहज र आरामदायक छ । त्यस्तै वाई २२ को मेटाभर्स ग्रीन र वाई २२ एस को समर क्यान कलर भेरियन्ट मेटाभर्सबाट प्रेरित भएर उन्नत टेक्स्चरिंग प्रविधिहरू मार्फत बनाइएको छ । वाई२२ र वाई२२एस को डिजाइन सरल, सुरुचिपूर्ण भएपनि निकै आकर्षक छ । यो उपकरणको करनरहरु स्मुद छ भने यसमा समतल फ्रेम, र २.५डी वक्रता छ । यसमा पछाडि दुईवटा ठूला क्यामेराहरू छन् जसले परिष्कृत र सुन्दर तस्वीरहरु खिच्छ । यसमा एन्टी–ग्लेयर (एजी) फ्रोस्टेड सतह छ जसले स्क्र्याच र फिंगरप्रिन्ट प्रतिरोधी बनाउँदै मजबुद अनुभूति दिन्छ । यसमा साइड फिंगरप्रिन्ट स्क्यानर र फेस वेक प्रकार्य जस्ता नयाँ सुविधाहरू पनि समावेश छन् । साइड फिंगरप्रिन्ट डिजाइनले स्मार्टफोनहरूलाई पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर थप सौन्दर्यपूर्ण रूप दिन्छ । वाई२२ सिरिजको ६.५५ इन्चको एचडी कलर–रिच स्क्रिनले प्रयोगकर्ताहरूलाई एकदम स्पष्ट र गुणस्तरिय जीवन्त दृश्य प्रदान गर्दछ । साथै आँखाको सुरक्षाका लागि आई प्रोटेक्शन मोड पनि छ । उत्कृष्ट गुणस्तरको क्यामेरा र पर्फमेन्शका लागि ब्याट्रीको पनि उत्तिकै अहम भूमिका हुन्छ । भिभो वाई२२ सिरिजमा ५००० एमएएच ब्याट्री र १८ वाट्टको टाईप सी चार्जर छ । यी स्मार्टफोनहरू गेमहरू खेल्न र अनलाइन चलचित्रहरू स्ट्रिम गर्नका लागि पनि उत्तम छन् । वाई २२ मा शक्तिशाली मिडिया टेक हेलियो जी८५ प्रोसेसर छ, भने वाई२२ एसमा स्न्यापड्रेगन ६८० प्रोसेसर छ । वाई२२ एसमा अल्ट्रा गेम मोडको साथमा मल्टि–टर्बो ५.५ सहितको एआई पावर सेभिङ टेक्नोलोजीसँग जोडिएको छ जसको चार्ज स्ट्यान्डबाइ अवस्थामा दुई दिनभन्दा बढि टिक्छ । दुबै मोडेलमा ५० एमपी रियर क्यामेरा छ जसले ग्राहकहरूको समग्र फोटोग्राफी र भिडियोग्राफी अनुभवहरू बढाउँछ । यसको भिडियो फेस ब्यूटी मोडले प्रयोगकर्तालाई उत्कृष्ट सेल्फी वा भिडियो खिच्न मद्दत गर्दछ । पछाडिको क्यामेरामा, सुपर नाइट मोडले बहु–फ्रेम डि–नोइजिङको प्रयोग गर्दछ जसले प्रयोगकर्ताहरूलाई कम उज्यालो अवस्थामा पनि रातको सुन्दर दृश्यहरू खिच्न अनुमति दिन्छ । अर्कोतर्फ, मल्टि स्टाइल पोट्रेटले व्यक्तिगत पोट्रेट खोज्ने प्रयोगकर्ताहरूको लागि विभिन्न पोट्रेट सुविधाहरु प्रदान गर्दछ । फोनमा ८एमपी एचडी फ्रन्ट क्यामेरा छ, जसले तपाईंलाई उज्यालो, स्पष्ट सेल्फीहरू लिन सक्षम बनाउँछ । सुपर नाइट सेल्फी मोडले कम उज्यालो अवस्थामा शीर्ष ग्रेड सेल्फी पोट्रेटहरू खिच्न मद्दत गर्छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट हुने भएको छ । बैंकले ललितपुरमा अवस्थित स्टार हस्पिटल र नयाँ बानेश्वरमा अवस्थित अल्फा केयर गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको हो । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ललितपुरमा अवस्थित स्टार हस्पिटल र नयाँ बानेश्वरमा अवस्थित अल्फा केयर गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सकिनेछ । बैंकका ग्राहकहरुले स्टार हस्पिटलका सेवाहरुमा अधिकतम १५% र अल्फा केयरका सेवाहरुमा अधिकतम १५% को आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने बैंकले जानाएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

विदेश जाने अवस्था शून्यमा पुर्याउँछु : श्रममन्त्री अर्याल

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पु¥याउने बताए । उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ’, उनले भने । स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । ‘दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ’, उनले भने, “त्यसको निराकरणका लागि मैले काम गर्छु ।’ मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । ‘बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो’, उनले भने ।

बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

काठमाडौं । बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा १५ प्रतिशत छुट हुने भएको छ । स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको हो । यस आफर र अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० सम्म छुट प्राप्त गर्न सकिने कम्पनिले जनाएको छ । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सकिनेछ । यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्री भण्डारीको पहिलो निर्णय

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । आज मात्रै मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन । उनले पुस १० मा विनाविभागीय मन्त्रीको शपथ लिएका थिए । मन्त्रालयमा उनलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनी स्वागत गरेका थिए । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको सहभागिता थियो । पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले काम गर्ने बताए । यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने प्रतिबद्धता उनले व्यक्त गरे । सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने उनको भनाइ छ । यसका लागि रुग्ण उद्योगको पुनस्र्थापना र साना तथा मझौला उद्योगको प्रवद्र्वनमा ध्यान दिइने उनले बताए । आफ्नो कार्यकालमा धेरै बोल्नेभन्दा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । आजको पहिलो निर्णयसँगै उक्त नीतिको मस्यौदा अब प्रदेश सरकारका सम्बद्व मन्त्रालयहरुमा सुझावका लागि पठाइनेछ । प्रदेशहरुबाट प्राप्त सुझावलाई समेटेपछि नीतिले अन्तिम रुप दिइने मन्त्रालयले जनाएको छ । पाटन नगरपालिका–६ बैतडीका मन्त्री भण्डारी २०३० कात्तिक २० मा उदयसिंह भण्डारी र कमला भण्डारीको सुपुत्रका रुपमा जन्मिएका हुन् । स्नातकसम्म अध्ययन गरेका उनको रुचिको क्षेत्र अर्थतन्त्र हो । विसं २०४६ को जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा आवद्ध भएका भण्डारी २०५० सालमा अनेरास्ववियु बैतडीको जिल्ला अध्यक्ष बनेका थिए । त्यस्तै, विसं २०५० सालमा तत्कालीन नेकपा (एमाले)को जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला उपसचिव हुँदै बैतडीको अध्यक्ष समेत थिए । विसं २०७० मा संविधानसभा सदस्यका रुपमा बैतडी १ बाट निर्वाचित भएका उनले विभिन्न भूमिकामा कार्यसम्पादन गरेका छन् । मन्त्री भण्डारी २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने विसं २०७३ मा अर्थराज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी राजनीतिक आन्दोलनका क्रममा पटक-पटक प्रहरी हिरासतमा परेका छन् । मुलुकको अर्थतन्त्र बलियो भएमात्र विकास हुने धारणा राख्ने मन्त्री भण्डारीले संविधान निर्माणमा भूमिका खेलेबापत संविधानसभा पदक प्राप्त गरेका छन । रासस

वायुसेवा निगमलाई गौरव गर्न लायक संस्था बनाउँछु : मन्त्री किराती

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताएका हुन । उनले हवाई सुरक्षामा विशेष ध्यान दिने बताउँदै हवाई उडानलाइ व्यवस्थित र सुरक्षित बनाउनका लागि काम गर्ने बताए । मन्त्री किरातीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने स्पष्ट पारे । आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले बताए । कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने स्पष्ट पारे । म जहाजको ककपिटमा छु, एकैचोटी जहाज उडाउँदैनौँ, सबै जाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ, जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन’, उनले भने । यही माघ १ गते मात्रै ठूलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उनले बताए । हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने मन्त्री किरातीको भनाइ छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य किराती मुलुकको ४० औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।