राष्ट्रपति र सभामुख सहमतिमा चयन गर्न प्रधानमन्त्री दाहालको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मंगलबार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राखेका हुन् । प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले नेपाली काँग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भुमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेका धारणा बैठकमा राखेको जानकारी दिए । यता, सत्तारुढ दलहरुबीच भने राष्ट्रपति र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको छ ।
बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो दैनिक तरलताको अवस्था र अन्तर–बैंक कारोबारको विवरण अनिवार्यरुपमा ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ (एआइएस) रिपोर्टिङ पोर्टलमा प्रविष्ट गर्न निर्देशन दिएको हो । यसअघि सबै वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा पूर्वाधार बैंकको अन्तर–बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्नासाथ र दैनिक तरलता विवरण अर्को कार्यदिनको मध्याह्न १२ बजेसम्म नेपाल राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा अपलोड गर्नुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्थाअनुसार तरलता विवरण अर्को कार्यदिनको मध्याह्न १२ बजेसम्म र अन्तर बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरीवेक्षकीय सूचना प्रणालीमार्फत नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ । यस्तै, २०७८ असार १ गतेदेखि नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने रिटर्न पनि सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा अनिवार्यरुपमा अद्यावधिक गर्नुपर्नेछ । ‘कुन मितिदेखिका रिटर्न बैंक तथा वित्तीय संस्थाले सुपरिवेक्षकीय सूचना प्रणालीमा समेत अनिवार्य रुपमा तथ्याङ्क र विवरण पठाउनुपर्ने स्पष्ट पार्न आवस्यक देखिएको हुँदा यस्तो व्यवस्था लागू गरिएको हो’, राष्ट्र बैंकले मार्गदर्शन संशोधनको कारण खुलाउँदै भनेको छ । यसअघि प्रत्येक त्रयमास समाप्त भएको सात दिनभित्र निक्षेप तथा कर्जाको ब्याजदरसम्बन्धी विवरण र ब्याजदर संशोधन गरेको सातदिनभित्र सोको पूर्ण विवरण राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो । अब त्यस्तो विवरण पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमार्फत अद्यावधिक गर्नुपर्नेछ ।
तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ
काठमाडौं । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । ‘तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ’, उनले भने, ‘फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ । अभिनेता शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा पटकपटक तोकिएर स्थगित हुँदै आएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइमा आज वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए । तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिए पनि उनी कारागारमै रहने छन् । सोही प्रकृतिको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएकामा नवलपुर जिल्ला अदालतले शाहविरुद्ध गत भदौ २१ गते दुई वर्ष छ महिना कैद र २५ हजार जरिवानाको फैसला सुनाएको थियो । साथै पीडितलाई दश लाख क्षतिपूर्ति दिनुपर्ने फैसला भएको थियो । शाहले उक्त फैसलाउपर गत कात्तिक २५ गते उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत वर्ष फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । उनलाई चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
प्रत्येक आधा घण्टामा एउटा झोलुङ्गे पुल
काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले झोलुङ्गे पुलसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् । प्राथमिकताका आधारमा काम अगाडि बढाइने भन्दै मन्त्री पाण्डेले अहिलेको आवश्यकता र रोकिएको कामलाई प्राथमिकता दिइने बताए । मन्त्रालयअन्तर्गत शुरु भएर अघि बढ्न नसकेका आयोजना कसका कारण अघि बढ्न नसकेको हो भनी बुझेर तुरुन्त अघि बढाउने उनको भनाइ थियो । हरेक आधा घण्टामा जनताले झोलुङ्गे पुलबाट खोला पार गर्न पाउन् भनेर झोलुङ्गे पुल निर्माण अघि बढाउन लागिएको मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । पहिले कहाँकहाँ कति आवश्यकता छ भनी नक्साङ्कन गरिने उनको भनाइ छ । तीन वर्षमा सकिने गरी आयोजना अघि बढाउन लागिएको हो । उनले भने, ‘हरेक आधा घण्टामा एउटा पुल हुन कति चाहिन्छ अध्ययन गरेर निर्माण गरिनेछ ।’
हिमालय एयरलाइन्सको काठमाडौं–बेइजिङ उडान सुरु
काठमाडौं । हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको र बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालको काठमाडौं र बेइजिङलाई सीधा जोड्ने यो पहिलो उडान भएको छ । चीनको राजधानी बेइजिङमा झण्डै तीन वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेका छन् । तीमध्ये हिमालय एयरलाइन्स पहिलो भएको बताइएको छ । राजधानीको नयाँ विमानस्थल बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा एक पटक उडान भर्ने भएको छ । चीनले कोभिड–१९ महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । अब चीनको चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, बेइजिङ क्यापिटल एयरलाइन्ससँगै हिमालय एयरलाइन्सले पनि उडान सुरु गरेको हो । तीमध्ये हिमालयले हाललाई साताको एक पटक काठमाडौँबाट उक्त विमानस्थलमा उडान भर्ने र चाइना साउर्दनले हङकङमा साताको तीन उडान गर्ने बताइएको छ । अब ती उडानबाट बेइजिङ हुँदै हवाई यात्रु युरोप, अमेरिका, एसिया र अष्ट्रेलियाका विभिन्न मुलुकमा जानसक्ने छन् । त्यसको निम्ति चीनले एक सय ४४ घण्टाको भीसा फ्रि नीति पनि सार्वजनिक गरेको जनाइएको छ । उक्त अवधिको सो नीति बेइजिङ, थ्येन्चिन र हपेइ क्षेत्रमा लागू हुनेछ । बेइजिङको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अक्टोबर २७ का दिन उडानको निम्ति खुला गरिएको थियो तर कोभिड–१९ महामारीका कारण पाँच महिनापछि नै बन्द भएको थियो । रासस
एक वर्षमै माइपे डिजिटल वालेट ५ लाख पटक डाउनलोड, ल्यायो क्यासब्याक अफर
काठमाडौं । स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाख भन्दा बढी डाउनलोड भएको छ । सोहि अवसरमा माइपे वालेटले माघ ३ र ४ गते बेलुका ४ बजेदेखि राती १२ बजेसम्म बढीमा १०० रुपैयाँसम्म क्यासब्याक अफर दिने बताएको छ । स्थापना भई कार्य संचालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलता हात पारेको हो । माइपेमा प्लेस्टोर, एप स्टोर र वेव साइट समेत गरी हालसम्म ८ लाख भन्दा बढी ग्राहक संख्या पुगिसकेका छन् । यो सफलताले निकै उत्साहित भएको माइपे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले बताए । ‘युवा ग्राहक महानुभावहरुको पहिलो रोजाइको वालेट भएकालेनै यो सफलता हाता पारेका हौं,’ उनले भने । डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको यस वालेट मार्फत ग्राहकहरुले हवाई टिकट बुकिङ, मोबाइल टपअप सँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरु दिँदै आएको छ । जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरु रहेका छन् । साथै यस वालेटबाट कुनै पनि कारोबार गर्दा माइपे क्वाइन प्राप्त गर्न सकिन्छ जसको मूल्य १ क्वाइन बराबर रु १ नै हुन्छ । उक्त क्वाइन हरेक कारोबारमा प्रयोग गर्न सकिन्छ । यसका साथै कुनै पनि बैंक खातामा मात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ । माइपे हालैमात्र फोनपे नेटवर्कमा जोडिएको थियो ।
बीमाका बारेमा राम्रो ज्ञान भएकालाई मात्र अभिकर्ता बनाउन अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । मंगलबार प्राधिकरणको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमाप्रति प्रतिवद्ध, दक्ष र योग्य बीमा अभिकर्ताबाट बीमा व्यवसायको गुणस्तर र बीमाप्रतिको विश्वास बढ्ने तथा कम्पनी पनि सशक्त हुने भएकाले बीमा अभिकर्ता इजाजतपत्रका लागि सिफारिश गर्दा यी विषयमा गम्भीर हुन निर्देशन दिए । ‘एउटा बीमकको बीमा अभिकर्ताले अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भएर काम गर्न नपाउने कानूनी व्यवस्था छ, अब बीमा कम्पनीले आफ्नो बीमा अभिकर्ता अर्को कम्पनीको बीमा अभिकर्ता छैन भन्ने निश्चित गर्नुपर्छ, बीमा अभिकर्ताको जिम्मा कम्पनीले लिनुपर्छ । बीमा अभिकर्ता हुन तोकिएको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ,’ उनले भने । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले विगतका कमी कमजोरी नदोहोरिने गरी सङ्ख्याभन्दा गुणस्तरलाई ध्यान दिएर काम गर्न तथा इजाजतपत्र नलिएकालाई बीमा अभिकर्ताका रूपमा काम नगराउन बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट संचालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र निर्देशक पूजन ढुङ्गेल (अधिकारी) उपस्थित हुनुहन्थ्यो । अन्तरक्रिया कार्यक्रममा जीवन बीमा कम्पनीहरूका बीमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहकारीका बचतकर्ताको लाखौं रकम र जग्गा हडपेको आरोपमा बैंकका पूर्व सञ्चालक पक्राउ
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक ध्रुब यादव पक्राउ परेका छन् । सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष समेत रहेका यादवलाई प्रहरीले आज पक्राउ गरी मुद्दा चलाएको बताइएको छ । यादवलाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए । उनका अनुसार यादवले बचतकर्ताको लाखौं रकम अनियमितता गरेकाे र बचतकर्ताले धितोका रुपमा राखेकाे जग्गा हडपेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।