काठमाडाैं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रूपैयाँ उपलब्ध गराउन थालेको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो ।
गाउँपालिकाले उक्त कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत सबैसँग निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणित हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । गाउँपालिकाले त्रैमासिकरूपमा बिरामीको खातामा पैसा जम्मा गर्न थालेको छ । अहिले साउनदेखिकै रकम प्रदान गरिएको र पछि आउने बिरामीलाई उनीहरूको कागजपत्रका आधारमा रकम प्रदान गर्ने दुलालले बताए ।
मेरुदण्डको पक्षघातबाट पीडित भएकी सुनकोसी–५ की सरिता थामीले पनि उपचारका लागि मासिकरूपमा पाँच हजार स्थानीय सरकारबाट पाउँदा खुसी लागेको बताइन् । सुनकोसी गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यविधिअनुसार गाउँपालिका स्थायी ठेगाना भएका र मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । गाउँपालिकाले यही माघ तेस्रो सातादेखि चारै रोगका बिरामीलाई सम्बन्धित वडा, स्वास्थ्यचौकी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत बिरामीले नियमित सेवन गर्दै आएको औषधि नै गाउँपालिकाले प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
गाउँपालिकाभित्र यी रोगका बिरामीले नियमित सेवन गरेको औषधिको विवरण प्राप्त भइसकेको र औषधि ल्याउने अन्तिम चरणमा रहेकाले माघभित्र नै सबै बिरामीको घर–घरमै औषधि पु-याउनका लागि गाउँपालिकाले कार्यक्रम बनाएको अधिकृत दुलालले जानकारी दिए ।