विकासन्युज

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब बढी, निक्षेप र कर्जामा पनि वृद्धि

काठमाडौं । माछापुच्छ्रे बैंकले १ अर्ब खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही त्रैमासमा पनि बैंकले १ अर्ब १ कराेड रुपैयाँ बढी नाफा गरेको थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४८ अर्ब कायम भएको छ भने बैंकले १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही त्रैमासमा१ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो भने १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको निक्षेप र कर्जा दुवै बढेको छ । यस्तै, बैंकको खराब कर्जा १.४ प्रतिशत छ भने आधारदर ११ प्रतिशत छ । गत आर्थिक वर्षको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.५७ प्रतिशत थियो भने आधारदर ७.५६ प्रतिशत थियो ।

सिटिजन्स बैंकको नाफा ८४ करोड बढी, यस्ता छन् अन्य सूचक

काठमाडौं । सिटिजन्स बैंकले ८४ करोड रुपैयाँ बढी खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८४ करोड बढी नाफा गरेको हो । बैंकले गत आर्थिक वर्षको सोही त्रैमासमा १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस बैंकको नाफा ३१.७० प्रतिशतले घटेको छ । यस्तै, बैंकको निक्षेप भने बढेको छ । बैंकले दोस्रो त्रैमाससम्म कुल १ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा १ खर्ब ४२ अर्ब रुपैयाँ लगानी गरेको छ । यस बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने कुल १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । दोस्रो त्रैमासमा बैंकहरुको ऋण असुलीमा समस्या भएको कारण नाफा घटेको बैंकले जनाएको छ । दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा २.९९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा बैंकको खराब कर्जा २.८९ प्रतिशत थियो ।

नेपाल बैंकको नाफा सवा १ अर्ब, निक्षेप र कर्जा कति ?

काठमाडौं । नेपाल बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सो नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद नाफा १७.०२ प्रतिशतले घटेको हो । बैंकका अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ऋण असुलीमा समस्या हुँदा बैंकको नाफा घटेको हो । यस्तै, बैंकले दोस्रो त्रैमाससम्म कुल २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो भने १ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएका छन् । बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्दै मन्त्री किराँतीले हवाई सुरक्षाको क्षेत्रमा प्रगति हुनेगरी काम गर्न आग्रह गरे । हवाई सुरक्षामा सुधार गर्दै परिणाममुखी काम गर्न पर्यटनमन्त्रीले निर्देशन दिनुभएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘हवाई पूर्वाधार विकासमा फड्को मार्नेगरी काम गर्नुस, देशलाई समृद्धिको दिशामा अघि बढाउन निर्माण र सुरक्षाको क्षेत्रमा फड्को मार्नुपर्छ । हवाई सुरक्षा अभिवृद्धिका साथै पूर्वाधार विकासको कामलाई समयमै सम्पन्न गर्नेतर्फ बसैको ध्यान जान जरुरी छ’, मन्त्री किराँतीको भनाइ उद्धृत गर्दै प्रवक्ता निरौलाले भने । पर्यटनमन्त्री किराँतीले क्यानको सेवा प्रणालीबारे ब्रिफिङ लिएको थियो । क्यान स्थापनादेखि पछिल्ला गतिविधिबारे मन्त्रीलाई क्यानको टोलीले ब्रिफिङ गरेको प्रवक्ता निरौलाले बताए । पर्यटनमन्त्री किराँतीले विदेशी नागरिकलाई नेपालको पहिलो झल्को दिने ऐनाको रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको सेवासुविधा र पूर्वाधारयुक्त बनाउन पनि निर्देशन दिए । रासस

सर्वोच्चमा अनलाइनबाट पनि मुद्दा दर्ता गर्ने व्यवस्था गरिँदै

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्नसकिने गरी तयारी गरिरहेको बताएका छन् । शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ता गर्नसकिने व्यवस्था गर्न लागिएको बताएका हुन् । ‘यसको निम्ति अध्ययन भइ कार्यान्वयनको तयारीमा रहेको छ, त्यस्तै अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायतको प्रविधिहरुको प्रयोग गर्ने प्रयास गरिरहेका छाैं, त्यस्तै पेसी अटोमेशनका लागि सफ्टवेयर लगायतको पूर्वाधार तयार गरिरहेका छाैं,’ उनले भने । का.मु. प्रधानन्यायाधीश कार्कीले अदालतहरुमा रहेका अभिलेख मिसिलहरुलाई डिजिटाइजेशन गर्न शुरु गरिएको बताए । अदालतले ३६ लाख मुद्दाका मिसिल कागजातहरुलाई स्क्यान गरी विद्युतीय अभिलेमा प्रविष्ट गराउने सोच राखेको पनि उनले जानकारी दिए । ‘सर्वोच्च अदालतले सूचना प्रविधि सम्बन्धी विभिन्न प्रकारका प्रणालीहरुको प्रयोग गर्नाले कार्य सम्पादनमा सहजता ल्याएको छ, यसबाट मुद्दाका पक्षहरु र अदालत स्वयम्लाई कार्य सम्पादनमा सहज भएको छ, विद्युतीय प्रणालीको प्रयोगका कारण अदालतहरुमा पक्षहरुको उपस्थितिलाई न्युन गर्दै मुद्दाको कारबाहीको बारेमा सहज जानकारी उपलब्ध गराउन सकिएको छ,’ उनले भने ।  

एभरेष्ट बैंकको नाफा ८२ प्रतिशतले बढ्यो, निक्षेप र कर्जामा पनि सुधार

काठमाडौं । एभरेष्ट बैंकले साढे १ अर्ब खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८३ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ८१.९२ प्रतिशतले बढेको छ । यस्तै, बैंकले दोस्रो त्रैमाससम्म १ खर्ब ८२ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कर्जा लगानी र निक्षेप संकलनमा पनि सुधार गरेको छ । यस्तै, बैंकले २ अर्ब २६ करेाड रुपैयाँ सञ्चालन नाफा गरेको छ भने बैंकको खराब कर्जा ०.५० प्रतिशत रहेको छ । बैंकको खराब कर्जा भने गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.२६ प्रतिशत थियो ।

उपसभामुखका उम्मेदवार यादवलाई मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौं ।  नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ । माघ ७ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचन सम्बन्धि प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उक्त बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न आज ह्विप जारी गरेका हुन् । साथै, उनले इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदानसमेत गर्न ह्विप जारी गरेका छन् ।

मुआब्जा नदिइ क्रसर उद्योगहरु बन्द गराउनु कानून विपरित : महासंघ

काठमाडौं ।  क्रसर तथा खानी उद्योगी व्यवसायी महासंघले कानून बमोजिम दर्ता भएर सञ्चालन भएका उद्योग गृह मन्त्रालयले बन्द गराउनु कानूनविपरित भएको भन्दै आपत्ति जनाएको छ । शुक्रबार नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पत्रकार सम्मेलन गर्दै कानून बमोजिम दर्ता भएर राज्यलाई नियमित रुपमा कर तिरिरहेका उद्योगहरुमा उत्पादन तथा बिक्री वितरण समेत बन्द गराउनु कानूनविपरित भएको भन्दै गृह मन्त्रालयको कदमप्रति आपत्ति जनाएको हो । महासंघले पत्रकार सम्मेलनमार्फत उद्योगबाट उत्पादन भएका ढुङ्गा, गिटी, बालुवा तथा रोडा उद्योग तत्काल सञ्चालन गर्न दिन सरकारसँग माग गरेको छ । कानून बमोजिम दर्ता भएका तथा इजाजत पत्र लिइसकेका ढुङ्गा, गिटी, बालुवा तथा रोडा उद्योग तत्काल सञ्चालन गर्न दिनुपर्ने बताएको छ । महासंघका महासचिव पुरुषोत्तम रेग्मीले इजाजत पत्र लिएका उद्योगहरु कानूनी प्रक्रिया पु¥याई दर्ता खारेजी गरेपछि मात्र उद्योग बन्द गर्न पाइने भएपनि मन्त्रालयले इजाजत पत्र खारेज नगरी प्रहरी लगाएर उद्योग बन्द गर्नु गलत भएको बताए । उनले सरकारको उक्त कार्य लोकतान्त्रिक विधि अनुरुप नभएको भन्दै आपत्ति जनाए । उनले दर्ता भइ लगानी गरीसकेपछि मुआब्जा नदिइ क्रसर उद्योगहरु बन्द गराउनु कानून विपरित भएको भन्दै उक्त नियम नयाँ मापदण्ड नयाँ दर्ता हुने उद्योगहरुलाई लागू गर्नुपर्ने बताए । पत्रकार सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको क्रसर उद्योग बन्द गर्ने निर्णयले देशको अर्थतन्त्रलाई ठूलो नोक्शानी पुर्याएकाे बताए । ‘यो व्यवस्थाले एक अर्ब रुपैयाँ भन्दा बढी लगानी भएका क्रसर उद्योगहरु बन्द हुने अवस्थामा पुगेको छ, क्रसर उद्योग बन्द गर्दा ८ खर्बका पूर्वाधारका ८ हजारभन्दा बढी आयोजना बन्द भएको छ, ३४० अर्ब लगानी भएको निर्माण उद्योग समेत बन्द हुँदा व्यवसायीहरु मारमा परेका छन्,’ उनले भने । त्यस्तै, क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले क्रसर उद्योग सञ्चालनको मापदण्ड नमान्ने नभनेको भन्दै देशको कानून अनुसार नै स्थापना भएको बताए । उनले सरकारले बनाएको मापदण्डले कुनैपनि एउटा शहरमा घर समेत बनाउन नसक्ने अवस्था रहेको बताए । महासंघले कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग सञ्चालनसँग जोडेर मूल्याङ्कन गर्न नमिल्ने बताउँदै उत्खनन कार्य स्थानीय निकायमाफत र क्रसर उद्योग सञ्चालन कार्य उद्योग विभागमार्फत व्यवस्था गर्न माग समेत गरेका छन् । उनीहरुले क्रसर उद्योग अन्य स्थानमा स्थानान्तरण गर्न कम्तीमा १० वर्षको म्याद दिई स्थानीय सरकारले स्थानान्तरण गर्ने स्थान पहिचान गरी सिफारिस गरेको स्थानमा सो समय भन्दा अगावै उद्योग स्थानान्तरण गर्न तयार रहेको पनि जनाएका छ । मन्त्रालयको मंसिर २० गते परिपत्रबाट ढुङ्गा, गिटी, बालुवा तथा रोडा उद्योगहरुलाई ७७ जिल्ला प्रशासनले उत्खनन, उत्पादन तथा बिक्री वितरणमा रोक लागाएको थियो ।