विकासन्युज

साँझमा कसरी मुस्कुराउँछ काठमाडौं, हेर्नुहोस तस्बिरहरुमा (फोटो फिचर)

काठमाडौं । यतिबेला काठमाडौं शहरका मुख्य रात्रीकालीन व्यापार, व्यवसाय हुने ठाउँहरु उज्यालोले धपक्क बलेको छ । बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ छ । शहरका चोक, गल्लीहरु र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा सडक र भवनहरु यतिबेला धपक्क बलेको देख्न सकिन्छ । मठ मन्दिरहरुमा बिजुली बत्तीको चमक छरपस्ट छ । मन्दिर, व्यापारिक भवन र काठमाडौंको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र, न्युरोड लगायतका सडकहरु नै रंगीचंगी बत्तीले चम्किरहेका देख्न सकिन्छ । अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत बढीरहेको पनि छ । बत्तीको प्रकाशले मन्दिरहरु धपक्क बलेका देखिन्छन् । जसकारण पनि साँझको समयमा काठमाडौंका यी ठाउँहरुको दृश्य हेर्न लायक बन्छ । फोटो : न्युज एजेन्सी नेपाल ।

कृषि विकास बैंकका अधिकांश सूचक ऋणात्मक, खराब कर्जा ४.५२ प्रतिशत पुग्यो

काठमाडौं । कृषि विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत घटेर ३ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ११ करोड १५ करोड सञ्चालन घाटा भएको छ । गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ११ अर्ब ९५ करोड रुपैयाँ, निक्षेप १ खर्ब ७२ अर्ब रुपैयाँ र कर्जा १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.१० रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा बढेर ४.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा २.०८ प्रतिशत रहेको थियो । बैंकको सीडी रेसियो ८७.५४ प्रतिशत र आधार दर ११.०६ प्रतिशत रहेको छ।

कुमारी बैंकको नाफा १ अर्ब माथि, ब्याज आम्दानी ६१.६४ प्रतिशत बढ्यो

काठमाडौं । एनसीसी बैंकसँग मर्ज गरेको कुमारी बैंकको चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा खुद नाफा ६ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६१.६४ प्रतिशत बढेर ४ अर्ब २४ करोड रुपैयाँ, सञ्चालन नाफा १५ प्रतिशत बढेर १ अर्ब ५७ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा २२ करोड ४४ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ, जगेडा कोष १२ अर्ब ५ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब ९९ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.६७ रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.९४ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १६.२८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७.१७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा बढेर ३.१५ प्रतिशत पुगेको छ । बैंकको सीडी रेसियो ८९.५८ प्रतिशत र आधार दर ११.७३ प्रतिशत रहेको छ ।

नेपालका ओटिटी प्लेटफर्ममा किन छैन आफ्नै कन्टेन्ट ?

काठमाडौं । ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे । नेपालमा समेत विदेशी ओटिटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरुपमा खर्च गर्न मिल्नेगरी कार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै आएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाए पछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमाघरले सब्स्क्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको यसका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए। अभिनेता, निर्माता, लेखकसँगै पछिल्लो फिल्म ‘पानीफोटो’ मार्फत निर्देशक बनेका लामिछानेले सिनेमाघर एपसँग सन् २०१८ मा जोडिएका थिए। ‘हामीले नयाँ फिल्म ल्याउदा दर्शक बढछन् । फिल्मले पनि राम्रो आमदानी गरिरहेका छन्’, अध्यक्ष लामिछानेले भने, ‘हामीले आफ्नै कन्टेन्ट ल्याउने तयारी गरिरहेका छौँ । यद्यपि त्यसको लाइनअप पूरा नहुँदासम्म आँट गरेका छैनौँ ।’ उनका अनुसार वार्षिक क्यालेन्डर बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्ने उनको बुझाइ छ । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसक्नुभएका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा जोखिम रहेको बताए । ‘पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन’, सञ्चालक अग्रवालले भने। ‘ओएसआर प्ले’ नामक एपको तयारी गरिरहेका सञ्चालक अग्रवालसहितको टोलीले ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शकमाझ पुर्याइरहेको छ । अध्यक्ष लामिछानेले पाइरेसीसम्बन्धी शिक्षाको कमीले यस्तो भइरहेको बताए । ‘पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ’, उनले भने। डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्डले नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गरिरहेको सदस्य फणिन्द्र कटवालले जानकारी दिए । ‘ओटिटी सम्बन्धि कार्यविधि बनाएर नै हामीले काम अगाडि बढाउने सोच बनाएका छौँ’, उनले भने ।

टीकापुर महोत्सवमा स्थानीय उत्पादन देखि कृषि प्रदर्शनीसम्म

कैलाली । कैलालीको टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव सञ्चालन भइरहेको छ । आन्तरिक आयस्रोत वृद्धिका लागि भन्दै टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा कला संस्कृतिसँगै विभिन्न स्थानीय उत्पादनको प्रदर्शनसमेत छ । स्थानीय कृषि उत्पादनदेखि बेत बासबाट बनेका विभिन्न सामग्रीका साथै कृषि औजारकोसमेत प्रदर्शन राम्रो छ । नगरपालिकाकै वडा नं ७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बासका लागि चर्चित छ । त्यहीँबाट सङ्कलन भएको बेत बासबाट विभिन्न सामग्री बनाएर महोत्सवमा बिक्रीका लागि राखिएको छ । बेत बासको सामानले राम्रो मूल्य पाएको व्यापार गर्दै आउनुभएका सुरेश विश्वकर्मा बताउँछन् । पूजा सामान राख्ने टोकरीदेखि बस्नको लागि आवश्यक सामानको प्रदर्शन गर्दै आएका छन् । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विज्ञान सङ्काय टीकापुर बहुमुखी क्याम्पसमा अध्यनरत रविना सुवेदी महोत्सवको प्रदर्शनीमा राखिएका उपकरणको जानकारी दिन व्यस्त थिइन् । महोत्सव अवलोकन गर्न आएका बृहत् कृषि प्रदर्शनीमा पुगेपछि कृषिमा आधुनिकीकरण र व्यावसायीकरण कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी दिने गरेको उनले बताइन्। ‘हामीले सिकेको कुरालाई अवलोकनका लागि आएकालाई भन्ने गरेका छौँ । उत्पादन बढाउन अपनाउनुपर्ने सावधानीको बारेमा बुझाउँछौँ’, रविना भन्छिन्, ‘कृषिलाई व्यावसायीकरण र आधुनिकीकरणका लागि आवश्यक उपकरण त्यहीँ प्रदर्शनीमा राखिएको हुँदा त्यसलाई देखाएर बुझाउन सजिलो भएको छ ।’ सोही क्याम्पसमा तेस्रो वर्षमा अध्ययनरत रविना हुमागाईले दैनिक दुई सयभन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने गरेको बताउँछिन् । उनले आएका नागरिकलाई कृषि उपकरण, बालीमा लाग्ने रोगको बारेमा र कम्पोस्ट मलले माटो तथा उत्पादन वृद्धिमा पु¥याउने टेवाको बारेमा जानकारी दिने गरेको बताइन् । ‘हाम्रा लागि पनि महोत्सवको कृषि प्रदर्शनी सिकाइजस्तै बनेको छ । सिकेको सिकाउने काम गर्दै आएका छौँ भने नबुझेको कुरालाई साथीहरूको सहजीकरणबाट सिकाई पनि हुँदै आएको छ’, हुमागाईले भनिन्, ‘त्यसमा पनि तीन क्याम्पसले कृषि प्रदर्शनीमा सामग्रीको प्रदर्शन गर्दै आएका छन् । त्यसले सिकाइमा थप टेवा पुगेको छ ।’ त्यसैगरी प्रदर्शनीमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, पोलिटिक इन्स्टिच्युट टीकापुरले पनि कृषि उपकरणसहितका सामग्री प्रदर्शनमा राखेका छन् । प्रदर्शनीमा अन्य कृषि उत्पादनका वस्तुसमेत प्रदर्शनका लागि राखिएका छन् । कृषि प्रदर्शनीमा उत्कृष्ट किसानलाई महोत्सवको समापनको दिन सम्मान गर्ने कार्यक्रमसमेत रहेको कृषि प्रदर्शनी उपसमितिका संयोजक टीका शाही बताउँछिन् । ‘महोत्सवले कला मनोरञ्जनलाई मात्रै नभई स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको छ’, संयोजक शाहीले भनिन्, ‘त्यसमा राम्रो उत्पादकलाई सम्मानको कार्यक्रम राखेका छौँ । जसले किसानलाई कृषि क्षेत्रमा थप उत्प्रेरित गर्न विश्वास छ ।’ महोत्सव दैनिक पाँच हजारभन्दा बढीले अवलोकन गर्दै आएका छन् । माघ ४ गतेबाट सञ्चालनमा आएको महोत्सवमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव मूल समारोह समिीतका अध्यक्ष चक्रपाणी सापकोटा बताउँछन् । महोत्सव १५ गतेसम्म चल्नेछ । ‘महोत्सव अवधिभर एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा हामीले लिएका छौँ’, अध्यक्ष सापकोटाले भने, ‘दुई वर्ष कोरोनाको कारण स्थगित भएको महोत्सवको अवलोकनका लागि स्थानीयको उत्साह राम्रो छ ।’

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा पौने २ अर्ब, अधिकांश सूचक बढ्दा सीडी रेसियो ७८.६ प्रतिशत

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६१.३६ प्रतिशत बढेर १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशत बढेर २ अर्ब ८४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ५२ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ, बैंकको सञ्चालन मुनाफा ६१.९१ प्रतिशत बढेर २ अर्ब ५१ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ५ दाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ३.६९ प्रतिशत बढेर ९ अर्ब २ करोड रुपैयाँ, निक्षेप ९.६० प्रतिशत बढेर १ खर्ब २ अर्ब ७१ करोड रुपैयाँ र कर्जा २.३२ प्रतिशत बढेर ८१ अर्ब ३ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ १४ पैसा बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ । बैंकको खराब कर्जा ०.२८ प्रतिशत बढेर ०.७२ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ७.५ प्रतिशत, आधार दर ९.६७ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेड ३.९३ प्रतिशत र सीडी रेसियो ७८.६ प्रतिशत रहेको छ ।

फोहर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै ‘तुलसीपुर’

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ । काठमाडौँको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहर व्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको छ । त्यसका लागि उपमहानगरपालिकाको छैटौँ कार्यपालिका बैठकले ठेक्का दिने गरी प्रक्रिया अगाडिसमेत बढाएको छ । बैठकले यसका लागि विपद् व्यवस्थापन समितिका संयोजक तथा तुलसीपुर–६ का वडाध्यक्ष वर्षात भण्डारीको नेतृत्वमा कार्यदल बनाएको छ । त्यो कार्यदलले प्रतिवेदन तयार गरेपछि मात्रै ठेक्का प्रक्रिया अघि बढ्नेछ । ‘हामीले यसमा छानबिन गरिरहेका छौँ’, भण्डारीले भने, ‘अहिले जिम्मा दिने कुरा छैन, कार्यदलले प्रतिवेदन तयार पारेपछि त्यहीअनुसार नै हामी अघि बढ्छौँ ।’ उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले पनि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताए ।

सन् २०२२ मा जापानको जनसङ्ख्या ०.४३ प्रतिशतले घट्यो

एजेन्सी । जापानको कुल जनसङ्ख्या सन् २०२२ मा ०.४३ प्रतिशत अर्थात् करिब पाँच लाख ३८ हजारले खुम्चिएको सरकारी अनौपचारिक तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसङ्ख्या १२ करोड ४७ लाख ७० हजार रहेको छ । यो सङ्ख्या एक बर्षअघि १२ करोड ५३ लाख १० हजार रहेको थियो । सन् २०२१ मा जनसङ्ख्या ०।६ प्रतिशतले घटेको थियो भने सन् २०२१ मा यो दर केही कम भएको थियो । पछिल्लो गणनामा ६५ वर्ष वा सोभन्दा माथिका तीन करोड ६२ लाख १० हजार जनसङ्ख्या रहेको छ । यो कूल जनसङ्ख्याको २९ प्रतिशत हो । तथ्याङ्कले १५ वर्षमुनिका बालबालिकाको औसत जनसङ्ख्या एक करोड ४४ लाख ५० हजार पुगेको छ । यो कूल जनसङ्ख्याको ११।६ प्रतिशत हो । घट्दो जन्मदर र वृद्धवृद्धाको जनसङ्ख्या, घट्दो श्रमशक्ति र चिकित्सा तथा सामाजिक सुरक्षा प्रणालीमा ठूलो आर्थिक भारले जापानका लागि चुनौतीबनिरहेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी हप्ता संसदको नियमित सत्रको उद्घाटनमा आफ्नो भाषणमा जापानको घट्दो जन्मदरसँग जुध्ने नीतिका लागि कोष सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गर्ने बताइएको छ । नयाँ वर्षको शुरूमा गरिएको पत्रकार सम्मेलनमा किशिदाले यस वर्ष बालबालिकासँग सम्बन्धित नीतिहरूमा ध्यान केन्द्रित गर्ने वाचा गरेका थिए र ‘अभूतपूर्व’ कदमहरू मार्फत् कम जन्मदरको सामना गर्ने प्रतिज्ञा गरेका थिए ।