विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लि.को ५८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ कार्यक्रमको आयोजना गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए । बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयहरुमा एकसाथ आयोजना भएको प्रभातफेरी कार्यक्रममा करिब एक हजारभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजा गाजा व्यानर सहित शुरु गरिएको उक्त प्रभातफेरीको ¥याली बैंकको केन्द्रीय कार्यालयबाट शुरु भई भद्रकाली, शहिदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्यकन्या कलेज, पुतलीसडक, पद्योदय मोड, राष्ट्रिय सभा गृह र पुनः भद्रकाली हुदैं केन्द्रीय कार्यालयमा पुगेर समापन भएकोे थियो । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा.बैंकका अध्यक्ष दिपेन्द्र कार्की, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिति रहेको थियो । साथै, बैंकका प्रादेशिक कार्यालयहरु भएको सहर बिराटनगर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत, धनगढी, शाखा कार्यालय भरतपुर, बुटवल र जनकपुरमा एकै पटक सोही प्रकारको प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, कार्यालयहरुको सरसफाई, हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोजना भैरहको छ । यही माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

नागरिकलाई प्रोटिनजन्य खानेकुरा उपलब्ध गराउने सरकारको प्रयास पर्याप्त छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास हुने बताए । उनले भने, ‘समग्रमा खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास गर्नेकुरामा जोड गर्दै आएका छौँ । नेपाल सरकारको तर्फबाट भइराखेका प्रयासहरु पर्याप्त छैनन् भन्नेकुरा तथ्य तथ्यांकले देखाएको छ । यस्ता कार्यक्रमले एकातिर पशुजन्य खाद्यान्नको विकासको निम्ति व्यवसायलाई उत्प्रेरित गर्छ भने गेडागुडीलगायतका खाद्यपदार्थको विकासमा पनि किसानहरुलाई उत्प्रेरित गर्छ । आत्मनिर्भरताको दिशातिर जानसक्छौँ ।’ उनले देश अहिले पोल्टी व्यवसायमा आत्मनिर्भर भएको बताए । उनले वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए । ‘यतिबेला हामीले पोल्टी व्यवसायमा झन्डै आत्मनिर्भर भएका छौँ । यो खुशीको कुरा हो । वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने गर्नुपर्छ । स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ शुरुवात गद्र्रछ । यो क्षेत्रमा जनताको सेवाको लागि सरकारले गर्नुपर्ने काम धेरै छ’, उनले भने । उनले अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ शुरुवात गर्ने तयारी गरेको भन्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्न लागेको बताए । प्रधानमन्त्री दाहालले स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने कामहरु धेरै रहेको भन्दै आगामी दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रतिवद्धता जनाए ।

अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सबैको साथ आवश्यक छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताउनुभएको छ । शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताएका हुन् । उनले अर्थमन्त्रालय मुलुकको चुनौतिपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन,आर्थिक मितव्ययिता,खर्च कटौती,सुविधा कटौती गर्ने अवस्थामा रहेको बताए । ‘अहिले अर्थमन्त्रीको हैसियतमा मितव्ययिता,खर्च कटौती,सुविधा कटौतीका निम्ति सिंगो राष्ट्रलाई आग्रह गर्नुपर्ने ठाउँमा छु । हामी सबैलाई थाहा छ मुलुकको आर्थिक सामथ्र्य कहाँ आइपुगेको छ । मुलुकको आम्दानी र खर्च कस्तो रहेको छ । खर्च गर्ने मुलुकको सामथ्र्य कहाँ छ । आजका मितिसम्म आइपुग्दा पनि राजश्व परिचालनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको मात्रै होइन । गत वर्ष यही समयमा जति राजश्व परिचालन गरेका थियौं । त्यो भन्दा पनि पछाडि छौं । राजश्व परिचालनको अवस्था यस्तो छ’, उनले भने । अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समिक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गरे । उनले गत आर्थिक वर्षमा यही समयमा भएको राजश्व संकलन बराबरको समेत हुन नसकेको बताए । उनले मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेको बताए । अर्थमन्त्री पौडेलले साधरण खर्च लिमिट भन्दा माथि भएको भन्दै पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताए । ‘मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेका छन् । खर्चको सामथ्र्यको कुरा गर्दा साधरण खर्च लिमिट भन्दा माथि छ । पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा आइपुगेका छौं । जब हामी बजेटको मध्यावधिक समिक्षा गर्ने बिन्दुमा आइपुगेका छौं । मुलुकको आर्थिक अवस्था यस्तो रहेको छ । त्यसले गर्दा यो सबै आर्थिक दृष्टिकोणले जुन किसिमको चुनौति खडा भएको छ । चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई राम्रो बनाउने अभियानमा सबैको साथ सरकारलाई आवश्यक भएको छ । त्यस अर्थमा खर्च कटौतीका निम्ति,मितव्यीताका निमित्त कृषि विकास बैंकको व्यवस्थापनको समेत समर्थनको लागि आग्रह गर्दछु’, उनले भने । उनले बजेटको मध्यावधिक समिक्षा गर्ने बिन्दुमा आइपुग्दा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु अर्थतन्त्र सुधारको लागि चुनौति देखिएको बताए । उनले अर्थतन्त्रमा देखिएको चुनौतिलाई सुधार गर्नको लागि खर्च कटौतीका निम्ति,मितव्ययिताका निमित कृषि विकास बैंकको व्यवस्थापनको समेत साथ पाउने विश्वास व्यक्त गरे ।

शुक्ष्म जीवाणुले मल समस्या समाधान गर्न सक्ने

एजेन्सी । लामो समयदेखि उच्च स्तरको उत्पादन गरेर ग्राहकको माग धान्नको लागि किसानहरुले कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग गर्दै आइरहेका छन्, जसले प्रकृतिलाई हानी पुर्याउँदै आइरहेको छ । धेरै रासायनिक मलको उत्पादन कोइला र ग्याँसमा निर्भर रहेको छ । विश्वको तापमान वृद्धिमा मल उत्पादन प्रकृयाले २ प्रतिशत भूमिका खेलेको अनुमान वैज्ञानिकहरुले गरेका छन्, जसले बन्यजन्तु र कृषि उत्पादन क्षमतालाई समेत घटाइरहेको छ । पछिल्लो समय नाइट्रोजन, फस्फोरस र पोटासियमको मूल्य पनि विश्वजारमा निकै उच्च भएको छ । यिनै समस्याहरुले गर्दा रासायनिक मलको विकल्पको अध्ययनमा वैज्ञानिकहरुले निकै मेहनत गरिरहेका छन् र पछिल्लो समयमा त्यसको सकारात्मक नतिजा पनि प्राप्त हुँदै गएको छ । कृषि क्षेत्रका हेभीवेट कम्पनी बायर,-क्रोटेभा-आर्चर डेनियल मिडल्यान्डहरुले परम्परागत मलको प्रयोगको सट्टामा रासायनिक वस्तुको मात्रा समावेश नगरिएका प्राङ्गारिक फोहोर र शुक्ष्म जीवाणुहरुको प्रयोगबाट नयाँ प्रकारको जैवीक मलको आविश्कार गरिरहेका छन् । रसिया–युक्रेन युद्धका कारण युरोपका देशमा ग्यासको आपूर्तिमा भएको समस्या र रासायनिक मलको विश्वव्यापी रुपमा देखिएको उत्पादन र वितरण समस्याको कारण जैवीक मलको उद्योगलाई बलियो हुन मद्दत पुर्याइरहेको छ । मलको रुपमा प्रयोग हुने शुक्ष्म जीवाणुहरुले प्राकृतिक रुपमा प्राप्त हुने पोषक तत्वहरु प्राप्त गर्न बनस्पतीहरुलाई सहयोग पुर्याउँछ । क्यालिफोर्नियामा रहेको साउन्ड एग्रीकल्चर कम्पनीले शुक्ष्म जीवाणुको लागि उत्तेजक उत्पादन गर्छ । जसले बिरुवालाई बायुमण्डलबाट आवश्यक मात्रामा नाइट्रोजन लिन र माटोमा रहेको फस्फेटलाई न्यूनिकरण गर्न सहयोग पुर्याउँछ । साउन्डको मार्केटिङ मेट्रियलमा यसलाई ‘शुक्ष्म जीवको क्याफिन’ भनिएको छ । शुक्ष्म जीवाणुलाई परम्परागत मलसँग मिसायर प्रयोग गर्दा यसले कृषि उत्पादनमा वृद्धि गर्ने र रासायनिक मलको प्रयोगलाई कटौती गर्ने प्रमुख कार्यकारी अधिकृत एडम लिटल बताउँछन् । यसको प्रयोगले जलाई लामो र ठूलो हुन मद्दत पुर्याउने उनको भनाइ छ । भेरोनामा मकै, गहुँ र सोया उत्पादन गर्ने ५६ वर्षका बब पावोलस्कीले रासायनिक मलको मूल्य बढ्दै जाँदा शुक्ष्म जीवाणुको प्रयोगको शुरुवात गरेका हुन् उनले मकैको लागि सबैभन्दा धेरै प्रयोग गर्ने नाइट्रजनको मूल्य सन् २०२२ मा दोब्बर भएको छ । मूल्यवृद्धिको कारण मलको वैकल्पिक विकासमा धेरै उत्पादकहरुको ध्यान जान लागेको उनको भनाइ छ । ‘सबैले आफ्नो फार्मिङबाट थोरै भएपनि बचत गर्न खोजिरहेका छन’, उनी भन्छन् । पछिल्लो समयमा पुँजीपतीहरुले एग्रो–टेकमा लगानी बढाउन थालेका छन् । सन् २०२१ मा पुँजीपतीहरुले एग्रो–टेकमा १०.५ बिलियन डलर लगानी गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशतले बढी हो । विश्वमा बद्लीदै गएको अर्थराजनीतिक परिस्थिति र यसले मलको क्षेत्रमा पारेको विश्वव्यापी प्रभावका कारण एग्रो–टेकको क्षेत्रमा आगामी दिनमा थप लगानी हुने अनुमान गरिएको छ । विश्वमा धेरै एग्रो–टेक कम्पनीहरुले जलबायु परिवर्तनको समस्याले कृषि क्षेत्रमा सिर्जना गरेको समस्याको समाधान खोज्ने काम गरिरहेका छन्, साथै सो क्षेत्रमा थप लगानी र अनुसन्धान गर्ने काम भइरहेको छ । नेपालमा पनि शैलेन्द्र शमशेर जंगबहादुर राणाले आरोह फर्टिलाइजर प्राइभेट लिमिटेडको तर्फबाट करोडौं लगानी गरेर जैविक मल तथा शुक्ष्म जीवाणु उद्योगको शुरुवात गर्ने तयारी गरेका छन् । यो पनि पढ्नुस् । २८ करोडको लागतमा ‘आरोह फर्टिलाइजर’ले जैविक मल कारखाना खोल्दै

सिट बेल्ट नलगाउँदा बेलाइती प्रधानमन्त्री सुनकलाई ५० पाउन्ड जरिवाना

एजेन्सी । बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ। ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ । ‘लङ्कशायरमा गुडिरहेको कारमा यात्रुले सिट बेल्ट नलगाएका लन्डनका ४२ वर्षीय व्यक्तिलाई जरिवाना गरेका छौँ’, लेन्काशायर प्रहरीले ट्वीट गरेको छ । उक्त जरिवाना सूचना अनुसार कारबाहीमा परेका व्यक्तिले २८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्नेछ । प्रधामन्त्री सुनकलाई ५० पाउण्ड (६२ अमेरिकी डलर) जरिवाना गरिएको बताइएको छ । सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने कानून छ। यदि सो सम्बन्धित मुद्दा अदालतसम्म पुगेमा त्यो जरिबाना बढेर बढेर ५०० पाउन्ड सम्म पुग्न सक्छ। जरिवानाको घोषणा लगत्तै प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रधानमन्त्रीले यो गल्तीलाई पूर्ण रूपमा स्वीकार गरेको र माफी समेत माग्नु भएको छ र आगामी दिनमा नियम पूर्णरूपमा पालना गर्नुहुनेछ।’

मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन हुने

काठमाडौं । मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो । आन्तरिक उडानका जहाज पनि डाइभर्ट भएका थिए । मध्याह्नदेखि दुवैतर्फको उडान सामान्य बनेको थियो । आज बिहानैदेखि काठमाडौँ विमानस्थलमा दुवैतर्फका उडान सामान्य रहेको छ । काठमाडौँ बाहिरका केही विमानस्थलमा मौसम खुलेसँगै उडान हुने चरणमा रहेको विमानस्थलले जनाएको छ । तुलनात्मकरुपमा आज काठमाडौँ उपत्यकाको आकाश खुलेको छ । बिहानैदेखि पारिलो घाम लागेको छ । शुक्रबार विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भएको थियो । आज विमानस्थलको भिजिबिलिटी राम्रो रहेकाले उडान नियमित सञ्चालन भइरहेको हो । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साँझमा कसरी मुस्कुराउँछ काठमाडौं, हेर्नुहोस तस्बिरहरुमा (फोटो फिचर)

काठमाडौं । यतिबेला काठमाडौं शहरका मुख्य रात्रीकालीन व्यापार, व्यवसाय हुने ठाउँहरु उज्यालोले धपक्क बलेको छ । बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ छ । शहरका चोक, गल्लीहरु र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा सडक र भवनहरु यतिबेला धपक्क बलेको देख्न सकिन्छ । मठ मन्दिरहरुमा बिजुली बत्तीको चमक छरपस्ट छ । मन्दिर, व्यापारिक भवन र काठमाडौंको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र, न्युरोड लगायतका सडकहरु नै रंगीचंगी बत्तीले चम्किरहेका देख्न सकिन्छ । अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत बढीरहेको पनि छ । बत्तीको प्रकाशले मन्दिरहरु धपक्क बलेका देखिन्छन् । जसकारण पनि साँझको समयमा काठमाडौंका यी ठाउँहरुको दृश्य हेर्न लायक बन्छ । फोटो : न्युज एजेन्सी नेपाल ।

कृषि विकास बैंकका अधिकांश सूचक ऋणात्मक, खराब कर्जा ४.५२ प्रतिशत पुग्यो

काठमाडौं । कृषि विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत घटेर ३ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ११ करोड १५ करोड सञ्चालन घाटा भएको छ । गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ११ अर्ब ९५ करोड रुपैयाँ, निक्षेप १ खर्ब ७२ अर्ब रुपैयाँ र कर्जा १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.१० रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा बढेर ४.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा २.०८ प्रतिशत रहेको थियो । बैंकको सीडी रेसियो ८७.५४ प्रतिशत र आधार दर ११.०६ प्रतिशत रहेको छ।