विकासन्युज

‘सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गरेका छन्  अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी भए पनि अहिले धेरै समस्याबाट जकडिएको बताउँदै उनले सहकारीले बचतकर्ताहरूको बचत फिर्ता नगर्ने र अर्थतन्त्रका नियम पालना नगरेका गुनासा आउने गरेको बताए । सचिव रेग्मीले भने, ‘बचतकर्ताको रकम असुरक्षा गर्ने सहकारी संस्था दण्डित गर्ने सिलसिलामा सहकारी सङ्घ र महासङ्घको सकारात्मक सहयोग हुनु आवश्यक छ ।’ एसियाली सहकारी ऋण महासङ्घकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोक्के र प्राविधक अधिकृत प्रमुख रञ्जित हित्तराचीसँगको भेटमा उनले बचतको सुरक्षा र अभियानले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सकारात्मक रहनुपर्नेमा जोड दिए । एलिनिता र रञ्जितले नेपालको सहकारी अभियानलाई भरोसायोग्य बनाउन पछिल्लो समय भएको प्रयासको प्रशंसा गर्दै त्यसमा एसियाली सहकारी ऋण महासङ्घको सकारात्मक सहयोग रहने विश्वास दिलाए । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीलाई सम्पत्ति शुद्धीकरणमुक्त बनाउन र बचतकर्ताको बचत सुरक्षा गर्न मन्त्रालय र विभाग क्रियाशील रहेको बताए । नेफ्स्कुनका अध्यक्ष पारितोष पौडेलले वित्तीय सहकारिताको आगामी कार्यदिशा सुरक्षित र शुद्ध सहकारी अभियान भएको धारणा राखे । नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले बचतकर्ताको बचतको सुरक्षा र सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि नेफ्स्कुनले काम गरिरहेको उल्लेख गरे । राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्रा थाम्सुहाङ्गले  बचतकर्ताको बचतको सुरक्षा नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याउन महासङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु, एसियाली विकास बैंकको ७ मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । विद्युत् सबस्टेशन निर्माणका लागि निर्माण कम्पनीका प्रतिनिधि अहिले निर्माणस्थलमा आइपुगेका छन् । दुम्कीबासमा निर्माण सुरु गर्न लागिएको विद्युत् सबस्टेशनका लागि छुट्याइएको जग्गाको चार किल्ला पहिचानका लागि प्राविधिकले काम सुरु गरेको उनले बताए । विद्युत् सबस्टेशनका लागि चार बिघा जग्गा विद्युत् प्राधिकरणको नाममा ल्याएर साइट क्लियरको काम सकिएपछि थप काम अघि बढ्न लागेको अध्यक्ष गिरीले बताए । ‘निर्माण कम्पनीका प्रतिनिधि फिल्डमा आएका छन्, जग्गाको थप प्रमाणीकरणको काम हुँदै छ, अब लगत्तै निर्माणको काम अघि बढ्छ’, गाउँपालिका अध्यक्ष गिरीले भने । एक सय ३२ केभी प्रसारण लाइनमा डबल सर्किटको सबस्टेशन निर्माणको काम सुरु भएको हो । एसियाली विकास बैंकको सात मिलियन अमेरिकी डलर सहयोगमा निर्माण गर्न लागिएको यस आयोजना अबको २२ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रसहित वरपर हाल नवलपरासी पश्चिम बर्दघाटस्थित सबस्टेशनबाट विद्युतीकरण गरिएको छ । टाढाबाट ल्याइएको प्रसारण लाइनका कारण ठूलो समस्या झेल्नुपरेको अध्यक्ष गिरीले बताए । लो भोल्टेससहित बर्खाको समयमा दाउन्ने क्षेत्रमा विद्युत् पोलमा क्षति हुँदा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकामा दुम्कीबासमा सबस्टेशन निर्माणपछि ती समस्या समाधान हुने उनले बताए । ‘अहिले धेरै समस्या झेल्नुपरेको छ, तारमात्रै टाँगिएको छ, लो भोल्टजको समस्या उस्तै छ, दाउन्ने क्षेत्रमा बर्खामा विद्युत् पोलमा क्षति हुँदा कति समय अन्धकारमा बस्नुपर्ने स्थिति छ, अब चाँडै ती समस्या समाधान हुनेछ’, अध्यक्ष गिरीले भने । गाउँपालिकाभित्रका वडा नं ३ र ५ मा अझै विद्युतीकरण नहुँदा स्थानीय अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकाले पालिकाभित्र सबै क्षेत्रमा सहजरूपमा विद्युतीकरणका लागि यो आयोजनाले सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष गिरीले बताए । यी वडाका कतिपय क्षेत्रमा सामुदायिक विद्युतीकरणसहित लघुजलविद्युत् आयोजनाबाट विद्युतीकरण गरिएको भए पनि समस्या धेरै रहेकाले ती समस्या समाधान गर्न यो आयोजनाले सहयोग पुग्ने उनले बताए । सबस्टेशन निर्माण पालिकाको भविष्यसँग समेत जोडिएको अध्यक्ष गिरीले बताए । ‘लो भोल्टेज हुँदा घरयासी उपभोक्तासहित भएका उद्योगले थप समस्या झेलिरहेका छन्, भारतीय सीमासँग जोडिएको पालिका भएकाले उद्योग आउन खोजिरहेका छन्, तर विद्युत् छैन, यसले धेरै पछि पारेको छ, बनेपछि औद्योगिकरणमा सहयोग त पुग्छ नै उज्यालो विनयी त्रिवेणी बनाउने हाम्रो योजना पनि सफल हुन्छ’, अध्यक्ष गिरीले भने, ‘यस कारण यो आयोजना पालिकाको भविष्यसँग जोडिएको छ ।’ दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माणपछि मध्यविन्दु नगरपालिका क्षेत्रमा समेत विद्युतीकरणमा थप सहजता हुने आयोजनाले जनाएको छ । रासस

तुलसीपुरमा लेखापालको तलब बढ्यो

काठमाडाैं । तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले २० हजार पाँच सय तलब पाउनेछन् । यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब १८ हजार पाँच सय थियो ।

डेरी उद्योगबाट मनग्ये आम्दानी, मासिक १ लाख बचत गर्छन् महिला

रेसुङ्गा । अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्किएका छ गुल्मीको रेसुङ्गा नगरपालिका–८ की शारदा भुसाल । उनी विसं २०६३ देखि न्यूमैत्री डेरी उद्योग सञ्चालन गरेर उदाहरणीय बनेका छन् । उनलेले सुरु गरेको डेरी उद्योगबाट अहिले दूध खरिद, प्रशोधन र बिक्री हुने गर्छ । उनले दैनिक तीन सय लिटर दूध बजारमा पुर्याउँछन् । गुल्मीको चौरासी र अर्घाखाँचीको ढिकुरा, काउलेलगायतका स्थानबाट डेरीमा दूध आउने गर्दछ । शारदाले भैँसीको दूधमात्र खरिद, प्रशोधन र बिक्री गर्छन् । बजारमा आवश्यक पर्ने दूध पर्याप्त मात्रामा आफूसँग उपलब्ध नभएको उनले बताए । गुणस्तरका आधारमा किसानसँग बढीमा प्रतिलिटर ९५ सम्म डेरी उद्योगले दिन्छ । यसलाई लिएर प्रशोधन गरेर प्रतिलिटर एक सय १० मा बिक्री हुन्छ । दूधबाट अन्य परिकार पनि बनाउन गरेको शारदाले बताए। दूधबाट दही, पनिर, कुराउनी, छुर्पी र अन्य परिकार शारदा आफैँले बनाउने गर्छन् । डेरीबाट मासिक नौदेखि १० लाखसम्म कारोबार गर्ने उनले मासिक एक लाख बचत गर्ने गरेको बताउँछन् । ‘जन्मपूर्वदेखि मृत्युपश्चात पनि दूध नै चाहिन्छ’, उनले भने, ‘महिलाले आफैँ व्यवसाय गर्नुपर्छ भनेर निरन्तर मेहेनत गरेँ ।’ व्यापार र व्यवसायको सन्दर्भमा पनि पुरुषमात्र अगाडि सर्ने र महिला अरुकै भर पर्ने बाध्यताको अन्त्यका लागि अगाडि बढेको शारदाले बताए। किसानसँग जोडिने व्यवसाय गर्नका लागि दुग्ध डेरी सञ्चालन गरेको तर पछिल्लो समय दूध उत्पादनमा कमी आएको शारदाको अनुभव छ । आफूसँगै सदरमुकाम तम्घासका दुग्ध व्यवसायी मिलेर सञ्चालन गरेको रेसुङ्गा दुग्ध डेरी प्रालिले १२ हजार लिटर दूध खपत गर्ने क्षमता छ । तर जिल्लाभर अहिले तीन हजार लिटर दूधमात्र उत्पादन हुने गरेको छ । स्थानीय पालिकाले किसानलाई दूध उत्पादनमा उत्साहित गराएमा जिल्लाका १२ पालिकाबाट एक हजार लिटर दूध आफुले खपत गर्न सक्ने भन्दै शारदाले किसान त्यसतर्फ उन्मुख हुनुपर्ने बताउँछन् । जिल्लामा दूध उत्पादन कम भएसँगै गुल्मीमा अर्घाखाँची, पाल्पा र कपिलवस्तुबाट आयात गर्नुपर्ने बाध्यता रहेको न्यूमैत्री डेरी उद्योगका सञ्चालक उनले गुनासो गरे। शारदाले आफूले सञ्चालन गरेको डेरी उद्योगबाट अहिले प्रत्यक्षरूपमा चार जनाले रोजगार पाएका छन् । दूध सङ्कलन, ढुवानी, प्रशोधन र बिक्री गरी चार जनालाई रोजगार प्रदान गरिएको उनले जानकारी दिए। दुग्ध डेरीबाट आम्दानी भएको रकम अन्य व्यवसायमा लगानी गर्दै गएका छन् ।

नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेशको अध्यक्षमा डा. बिर बहादुर कार्की चयन

पोखरा । नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेश समिति गठन गरिएको छ । संघका केन्द्रीय अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा आज पोखराको होटल स्नोल्याण्डमा आयोजित एक समारोह बिच पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. बिर बहादुर कार्कीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । नव गठित प्रदेश समितिको उपाध्यक्षमा देविलाल शर्मा (पृथ्वीनारायण क्याम्पस), सचिवमा माधव बस्ताकोटी (शंकर पेपर वर्कस् प्रा.लि.), कोषाध्यक्षमा सुर्य रोक्का (नविल बैंक लि. गण्डकी प्रदेश) चयन भएका हुन । तेसैगरी सदस्यहरुमा दुर्गा प्रसाद हुमागाई (सफल मिडिया हाउस प्रा.लि.), गणेश बहादुर थापा (होटल स्नोल्याण्ड, लेकसाइड), प्रकाश रेग्मी (नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज) र सिए अमित थापा (हिमश्री फुड) चयन भएको निर्वाचन समितिका संयोजक दिलिप पौडेलले जानकारी दिएका छन् । गण्डकी विश्वविद्यालयका कुलपती डा. गणेशमान गुरुङको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रममा नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल, महासचिव मोहन ओझा, पूर्वकोषाध्यक्ष दिलिप पौडेलले संघले हाल सम्म गरेका गतिविधी र आगामी कार्यक्रमका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, नव नियुक्त अध्यक्ष डा. बिर बहादुर कार्कीको, दविलाल शर्मा लगायतले बोलेका थिए ।

इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेकी रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन् । उनलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने उनका प्रतिस्पर्धी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गरेकी छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बहाल रहेका सांसदहरुको बहुमत प्राप्त गरेकाले रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरेका हुन् । गत माघ ५ गते सत्तारुढ दलहरुकै समर्थनमा एमाले सांसद घिमिरे सभामुखमा निर्वाचित भएका थिए । सत्तारुढ दलहरुबीच राष्ट्रपति एमालेलाई र उपराष्ट्रपति पद माओवादी केन्द्रलाई दिने सहमति पनि यस अघि नै भईसकेको छ । यता, विपक्षमा रहेको काँग्रेसले पनि राष्ट्रपति पदमा आफू दावी कायमै राखेको छ । सत्तारुढ माओवादी केन्द्रको समर्थनमा आफ्नो पार्टीले राष्ट्रपति पाउने आशमा काँग्रेस रहेको बताइएको छ ।

पोल्ट्री उद्योगलाई सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग हुन्छ – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौँमा आज आयोजित ‘राइट टू प्रोटिन रन’ हाफ म्याराथन पुरस्कार वितरण समारोहमा उहाँले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पुग्न नसकेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको बताए। उनले भने, ‘तथ्याङ्कअनुसार सन् २०१९ मा ३२ प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाले उमेर अनुसारको उचाइ प्राप्त गर्न सकेनन् । उमेरअनुसार जति प्रोटिनको आवश्यकता हुन्छ, सोअनुसारको उपलब्धता हुन नसक्दा यस्ता समस्या हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ । पुड्कोपना र कुपोषणको समस्याबाट विशेषगरी गरिबीको रेखामुनि रहेका समुदाय बढी पीडित रहेको पाइन्छ ।’ पहिलो एक हजार दिनमा बालबालिकालाई उपलब्ध हने पोषणले उनीहरुको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गर्भवती र नवजात शिशुलाई लक्षित गरी स्वास्थ्य प्रवद्र्धनका विभिन्न कार्यक्रम सरकारले सञ्चालन गरिरहेको जानकारी दिए । उनले पोल्ट्री उद्योगले अण्डा र मासुमार्फत प्रोटिनको आपूर्तिमा योगदान पु¥याएकामा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकामा पोल्ट्री उद्योगका उद्यमी र कृषकलाई धन्यवाद दिए । आत्मनिर्भरउन्मुख यस उद्योगले बर्ड फ्लूलगायत रोग, कच्चापदार्थको मूल्य, औषधिलगायत समस्या भोगिरहेका बारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यी समस्या समाधान गरी नेपालको अर्थतन्त्र र गरीबी निवारणमा महत्वपूर्ण योगदान पु¥याएको पोल्ट्री उद्योगलाई थप सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। नेपालका सम्पूर्ण पशु चिकित्सकको छाता सङ्गठन नेपाल भेटेरिनरी एसोसिएसनले नेपाल दाना उद्योग सङ्घ र सम्बन्धित सरोकारवालाको सहभागितामा प्रोटिन माथिको अधिकारलाई स्थापित गर्ने उद्देश्यले हाफ म्याराथनलगायत दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकामा उनले बधाई ज्ञापन गरे ।

कृषि विकास बैंक ५६औँ वर्षमा प्रवेश, १ खर्ब ७८ अर्ब कर्जा लगानी

काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५६औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो । बैंकको ५६औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने धारणा राखे । ‘पछिल्ला वर्षमा कृषि क्षेत्रमा लगानी घट्टै गएको र अरु व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको छ । यो अवस्थामा क्रमशः सुधार हुँदै जाओस र कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकका रुपमा हामी देख्न पाऔंँ ।’, उनले भने । बैंकको आर्थिक सामथ्र्य र परिस्थिति हेरेर कर्मचारीको सेवा सुविधाको विषयमा बैंक व्यवस्थापनले उपयुक्त निर्णय लिनुपर्ने अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो । अहिले सरकार आफैले पनि खर्च कटौती गरेर मितव्ययी बन्न पहल गरिरहेको बेला बैंकले पनि आफ्नो वित्तीय स्वास्थ्यलाई ध्यानमा राख्नुपर्ने पौडेलको भनाइ छ । ‘मितव्ययिता, खर्च कटौती, सुविधा कटौतीका निमित्त सिङ्गो राष्ट्रलाई अपिल गर्नुपर्ने ठाउँमा म छु । हामीले कस्तो खर्च गरिरहेका छौँ र कति आम्दानी गर्ने सामथ्र्य हाम्रो छ भनेर हेर्न जरुरी छ । मुलुकको आर्थिक स्वास्थ्य राम्रो बनाउने सरकारको अभियानमा सबैको साथ चाहिएको छ । खर्च कटौती र मितव्ययितामा तपाईहरु पनि विशेष ध्यान दिनुहोला’, अर्थमन्त्री पौडेलले भने । अहिले रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कस्तो व्यक्ति आउँछ भन्नेकुरा बैंकको भविष्यसँग जोडिएको उनले बताए । अहिले बजारमा उपलब्ध सबैभन्दा राम्रा व्यवस्थापकमध्येबाट प्रमुख कार्यकारी अधिकृत चयन गरिने उनको भनाइ छ । ‘व्यावसायिक दक्षता भएको व्यक्तिलाई सिईओको जिम्मेवारी दिएर प्रतिस्पर्धी बैंकका रुपमा अघि बढाउनुपर्नेछ । त्यसका लागि सरकारले सबै तरिकाले सहयोग र समन्वय गर्छ’, उनले भने। सरकारको लगानी रहेका बैंकमध्ये कृषि विकास बैंकमा तुलनात्मक रुपमा बढी समस्या देखिनुमा बैंकको व्यवस्थापकीय नेतृत्व प्रमुख कारण रहेको मन्त्री पौडेलको भनाइ छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेको, गत आर्थिक वर्षको यही अवधिसम्ममा सङ्कलन भएको राजस्वभन्दा यसवर्ष कम सङ्कलन भएको र वैदेशिक सहायता पनि लक्ष्यअनुसार प्राप्त हुन नसकेको मन्त्री पौडेलले बताए। सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकलाई कृषि क्षेत्रमा लगानी गर्ने प्रमुख बैंकका रुपमा केन्द्रीत गरिनुपर्ने बताउनुभयो । ‘कृषि क्षेत्र लक्षित लगानी मात्र नभइ यस क्षेत्रमा तालिम दिने संस्थाका रुपमा विकास गर्नुपर्ने देखिएको छ । त्यसका लागि यो बैंकले नेतृत्व लिने र त्यसमा अरु संस्थालाई पनि सहभागी गराउन जरुरी छ’, उनले भने । कृषि क्षेत्रमा नयाँ तरिकाले लगानी गर्न खोज्नेका लागि नयाँ किसिमले वित्तीय लगानीका बाटो खोल्नुपर्ने उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागू भएपछि २०६२ असारदेखि कृषि विकास बैंक पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । नेपाल राष्ट्र बैंकबाट २०६२ चैतदेखि वाणिज्य बैंकका रुपमा इजाजत पाएको यो बैंकमा ५१ प्रतिशत शेयर सरकार र ४९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ । संस्थापक शेयरधनीका रुपमा सरकारको छ अर्ब ७२ करोड ५८ लाख र सर्वसाधारण सेयरधनीको छ अर्ब ४६ करोड २० लाख बराबर शेयर छ । कृषि विकास बैंकले हालसम्म एक लाख ६२ हजार ग्राहकमा एक खर्ब ७८ अर्ब कर्जा लगानी गरेको जनाएको छ । यस्तै बैंकमा १८ लाख निक्षेपकर्ताको एक खर्ब ७० अर्ब निक्षेप छ । बैंकको अधिकृत पुँजी २५ अर्ब, जारी पुँजी १८ अर्ब ६२ करोड ६ लाख र साधारण चुक्ता पुँजी १३ अर्ब १८ करोड बराबर छ । चालु आर्थिक वर्ष २०७९÷८० को अन्त्यसम्ममा कर्जा तथा सापट करिब दुई खर्ब एक करोड र कूल निक्षेप एक खर्ब ८६ अर्ब ४८ करोड वृद्धिमार्फत वैधानिक कर्जा–पुँजी–निक्षेप अनुपात ९० प्रतिशतभित्र कायम गर्ने लक्ष्य बैंकले लिएको छ । त्यस्तै चालु आर्थिक वर्षको छ महिना अवधिमा बैंकको तरलता अनुपात १५ दशमलव २७ प्रतिशत र निष्क्रिय कर्जा एक दशमलव ६८ प्रतिशत रहेको बैंकले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस शेयर शेयरधनीलाई दिने निर्णय गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रमअनुसार ब्याज अनुदान सहुलियत कर्जा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको बैंकले जनाएको छ । व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवालाई परियोजनामा आधारित सहुलियत कर्जा, महिला उद्यमशील कर्जा, प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जालगायत क्षेत्रको कर्जालाई प्राथमिकतामा राखिएको बैंकले जनाएको छ ।