
एजेन्सी । लामो समयदेखि उच्च स्तरको उत्पादन गरेर ग्राहकको माग धान्नको लागि किसानहरुले कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग गर्दै आइरहेका छन्, जसले प्रकृतिलाई हानी पुर्याउँदै आइरहेको छ । धेरै रासायनिक मलको उत्पादन कोइला र ग्याँसमा निर्भर रहेको छ । विश्वको तापमान वृद्धिमा मल उत्पादन प्रकृयाले २ प्रतिशत भूमिका खेलेको अनुमान वैज्ञानिकहरुले गरेका छन्, जसले बन्यजन्तु र कृषि उत्पादन क्षमतालाई समेत घटाइरहेको छ । पछिल्लो समय नाइट्रोजन, फस्फोरस र पोटासियमको मूल्य पनि विश्वजारमा निकै उच्च भएको छ ।
यिनै समस्याहरुले गर्दा रासायनिक मलको विकल्पको अध्ययनमा वैज्ञानिकहरुले निकै मेहनत गरिरहेका छन् र पछिल्लो समयमा त्यसको सकारात्मक नतिजा पनि प्राप्त हुँदै गएको छ । कृषि क्षेत्रका हेभीवेट कम्पनी बायर,-क्रोटेभा-आर्चर डेनियल मिडल्यान्डहरुले परम्परागत मलको प्रयोगको सट्टामा रासायनिक वस्तुको मात्रा समावेश नगरिएका प्राङ्गारिक फोहोर र शुक्ष्म जीवाणुहरुको प्रयोगबाट नयाँ प्रकारको जैवीक मलको आविश्कार गरिरहेका छन् ।
रसिया–युक्रेन युद्धका कारण युरोपका देशमा ग्यासको आपूर्तिमा भएको समस्या र रासायनिक मलको विश्वव्यापी रुपमा देखिएको उत्पादन र वितरण समस्याको कारण जैवीक मलको उद्योगलाई बलियो हुन मद्दत पुर्याइरहेको छ ।
मलको रुपमा प्रयोग हुने शुक्ष्म जीवाणुहरुले प्राकृतिक रुपमा प्राप्त हुने पोषक तत्वहरु प्राप्त गर्न बनस्पतीहरुलाई सहयोग पुर्याउँछ । क्यालिफोर्नियामा रहेको साउन्ड एग्रीकल्चर कम्पनीले शुक्ष्म जीवाणुको लागि उत्तेजक उत्पादन गर्छ । जसले बिरुवालाई बायुमण्डलबाट आवश्यक मात्रामा नाइट्रोजन लिन र माटोमा रहेको फस्फेटलाई न्यूनिकरण गर्न सहयोग पुर्याउँछ । साउन्डको मार्केटिङ मेट्रियलमा यसलाई ‘शुक्ष्म जीवको क्याफिन’ भनिएको छ ।
शुक्ष्म जीवाणुलाई परम्परागत मलसँग मिसायर प्रयोग गर्दा यसले कृषि उत्पादनमा वृद्धि गर्ने र रासायनिक मलको प्रयोगलाई कटौती गर्ने प्रमुख कार्यकारी अधिकृत एडम लिटल बताउँछन् । यसको प्रयोगले जलाई लामो र ठूलो हुन मद्दत पुर्याउने उनको भनाइ छ ।
भेरोनामा मकै, गहुँ र सोया उत्पादन गर्ने ५६ वर्षका बब पावोलस्कीले रासायनिक मलको मूल्य बढ्दै जाँदा शुक्ष्म जीवाणुको प्रयोगको शुरुवात गरेका हुन् उनले मकैको लागि सबैभन्दा धेरै प्रयोग गर्ने नाइट्रजनको मूल्य सन् २०२२ मा दोब्बर भएको छ । मूल्यवृद्धिको कारण मलको वैकल्पिक विकासमा धेरै उत्पादकहरुको ध्यान जान लागेको उनको भनाइ छ । ‘सबैले आफ्नो फार्मिङबाट थोरै भएपनि बचत गर्न खोजिरहेका छन’, उनी भन्छन् ।
पछिल्लो समयमा पुँजीपतीहरुले एग्रो–टेकमा लगानी बढाउन थालेका छन् । सन् २०२१ मा पुँजीपतीहरुले एग्रो–टेकमा १०.५ बिलियन डलर लगानी गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशतले बढी हो । विश्वमा बद्लीदै गएको अर्थराजनीतिक परिस्थिति र यसले मलको क्षेत्रमा पारेको विश्वव्यापी प्रभावका कारण एग्रो–टेकको क्षेत्रमा आगामी दिनमा थप लगानी हुने अनुमान गरिएको छ ।
विश्वमा धेरै एग्रो–टेक कम्पनीहरुले जलबायु परिवर्तनको समस्याले कृषि क्षेत्रमा सिर्जना गरेको समस्याको समाधान खोज्ने काम गरिरहेका छन्, साथै सो क्षेत्रमा थप लगानी र अनुसन्धान गर्ने काम भइरहेको छ । नेपालमा पनि शैलेन्द्र शमशेर जंगबहादुर राणाले आरोह फर्टिलाइजर प्राइभेट लिमिटेडको तर्फबाट करोडौं लगानी गरेर जैविक मल तथा शुक्ष्म जीवाणु उद्योगको शुरुवात गर्ने तयारी गरेका छन् ।
यो पनि पढ्नुस् ।
२८ करोडको लागतमा ‘आरोह फर्टिलाइजर’ले जैविक मल कारखाना खोल्दै