विकासन्युज

उपसभामुख रानामगरले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले सिंहदरबार आएर पदबहाली गरेकी हुन् । उनलाई संसद् सचिवलयका महासचिव डा भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए । उनी यही माघ ७ गते प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा चयन भएकी हुन् ।

धरहरा चढ्न अझै एक वर्ष कुर्नुपर्ने

काठमाडौं । साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ भएकाले अझै एक वर्ष धरहरा परिसरका संरचना निर्माणका लागि लाग्ने निर्माण व्यवसायी पक्षको भनाइ छ । विसं २०७५ असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणका लागि निर्माण व्यवसायीसँग तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनी जिआइटिसी/रमण जेभीले धरहरा क्षेत्रका संरचनाको निर्माण गरिरहेको छ । निर्माण कम्पनीको म्याद अहिलेसम्म चारपटक थपिएको छ । कोरोना महामारीका कारणले मात्र दुईपटक म्याद थपिएको थियो । चारपटक थपिएको म्याद पनि गत पुस मसान्तमा सकिएको छ । धरहरा क्षेत्रका सबै संरचना निर्माणका लागि कम्तीमा पनि अझै एक वर्ष लाग्ने निर्माण व्यवसायी तर्फका आयोजना व्यवस्थापक सञ्जय नकर्मी बताउँछन् । हालसम्म धरहरा क्षेत्रका संरचना निर्माणको ८२ प्रतिशत भौतिक प्रगति भएको छ । ६९ प्रतिशत वित्तीय प्रगति भएको पनि जनाइएको छ । टेन्डरमा नभएका काम पटकपटक थपिएको र टक्सार विभागको भवन भत्काउन सम्झौता भएको मितिले २२ महिना लागेकाले काम ढिलाइ भएको दाबी निर्माण व्यवसायी पक्षको छ । धरहराका विशेषता धरहरा टावर बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिनमुनि दुई तल्लाको भूमिगत संरचना बनिरहेको छ । जमिनमाथि भुइँतल्लासहित २३ तल्लाको धरहरा भने ठडिएको छ । समग्रमा धरहरा २५ तल्लाको बनेको छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब आठ करोड रहेको जनाइएको छ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तल्लासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुईवटा लिफ्ट राखिएको छ । लिफ्टमा एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ । धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तल्ला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भ¥याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ । वैशाख १२ गतेको धरहरा क्षेत्र विसं २०७२ वैशाख १२ गते शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएको धरहरालाई जस्तात्यस्तै छोपेर राखिएको छ । त्यस नजिकै धरहरा टावर ठडिन भने छ वर्ष समय लागेको थियो । विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई दिने निर्णय गरेको थियो । २०७५ साल असोज १४ गते प्राधिकरणले धरहरा पुनर्निर्माण सुरु गरेको थियो । गत वर्ष प्राधिकरणको अवधि सकिएपछि हाल यस क्षेत्रको निर्माणको काम सहरी विकास तथा भवन निर्माण विभागले हेर्दै आएको छ । भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्ध भूमिगतसहित चारतले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ को काम पनि भइरहेको विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले जानकारी दिए । धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ । धरहरा क्षेत्रमा तीनतले भूमिगत पार्किङको व्यवस्था गरिएको छ । जहाँ दुई सय ४४ गाडी र सात सय ४४ मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भीमसेन थापाले विसं १८८२ मा बनाएको धरहरा (भीमसेन स्तम्भ) लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिँदै छ । सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण भइरहेको छ । धरहराको इतिहास विसं १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाउनुभएको इतिहास छ । विसं १९१३ मा बज्र (चट्याङ) ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो । विसं १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण भएको थियो । पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई नौ तल्लामा सीमित गरिएको थियो । यो धरहराभन्दा अघि विसं १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए । जसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ । हाल धरहरा टावरको काम भने सकिएको छ । ठडिएको टावर वरपरबाट तस्बिर खिच्ने भीड देखिन्छ । तस्बिर खिचिरहेका रामचन्द्र सुवाल भने धरहरा चढ्नका लागि खुला गरिदिए हुन्थ्यो भन्ने माग गर्नुहुन्छ । विभागले भने धरहरा क्षेत्रका सबै संरचनाको निर्माण नसकिएसम्म धरहरामात्र खुला गर्न नसकिने जनाएको छ । रासस

छोरीको विवाहमा जीवन बीमा उपहार !

धरान । सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएका छन् । यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा योजना उपहार दिएका हुन् । आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमला राईले बताए । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे । कमला राई प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखा अन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर हुन् । ‘समाज परिवर्तन आफैबाट हुनुपर्छ,’ उनले जीवन बीमा पोलिसी हस्तान्तरण गर्दै भने । धरान शाखा प्रमुख राईले जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत नचाहिने र भईरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने पनि बताए ।

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेलमा 

काठमाडौं । माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेल संचालनमा आएको छ । बैंकले  लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवाल ज्यूले उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरे ।  योसँगै बैंकको देशभर एक्सटेन्सन काउन्टर संख्या ११ पुगेको छ । बैंकले नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्ने जनाएको छ ।  

‘गाउँमा ब्रुनाइको बर्गर सम्झँदै बासी भातमा नुन छर्केर खाएँ’

काठमाडौं । ‘लाहुरे बुबाको कर्मथलो हङ्कङमा जन्मिएर ब्रुनाइमा हुर्केको म एकै पटक गाउँमा पुग्दा कस्तो भए होला ? जब म गाउँमा पुगेँ, ब्रुनाइको बर्गर सम्झँदै बासी भातमा नुन छर्केर खाएँ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विगत सम्झिएर भावुक भए । भोजपुरको टेम्के डाँडा नजिकबाट वायुसेवा निगमको जहाज निस्कियो । मन्त्री किरातीको घरपारिबाट निस्किएको उक्त जहाजको गन्तव्य पहिल्याउँदा भोजपुरको डाँडा काटेर सङ्खुवासभाको तुम्लिङ्टार उडेको रहेछ । पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेको छ दिनपछि आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नयाँ सडकस्थित मुख्यालयमा निगमको निरीक्षण र गतिविधिबारे जानकारी लिँदै पर्यटनमन्त्री किरातीले निगमसँगको संयोगका केही सन्दर्भ कोट्याउँदै विगत सम्झेर निकै भावुक बनेका हुन् । निगमका कर्मचारी र सञ्चारकर्मीको भीडमा भावुक मुद्रामा किरातीले भने, ‘जहाज आउँदा खुसी हुन्थेँ, जहाजले छाडेर जाँदा म रुन्थेँ’ र त्यही जहाज सम्झेर मेरो आमालाई भन्थेँ, गाउँमा नबसौँ आमा ।’ शायद त्यो बेला, हप्ता दिनमा एक पटक निगमको विमान भोजपुरको डाँडा भएर उड्थ्यो होला । सुविधासम्पन्न सहर, गाडी र जहाजको भीडमा हुर्किएका मन्त्री किरातीलाई त्यतिबेलाको जहाजको आवत–जावतले निकै रुवाउँथ्यो । उनले भने, ‘मलाई त्यो बेला रुवाउँथ्यो निगमको विमानले र मैले भन्थेँ आमालाई जाऊँ हङ्कङ ।’ भोजपुरको ओख्रेमा जन्मिएका पर्यटनमन्त्री किरातीका बुबा हर्कबहादुर राई ब्रिटिस लाहुरे हुँदा बुबाको कर्मथलो हङकङमा जन्मेर ब्रुनाइमा हुर्किए । लाहुरेको छोरा बाल्यकालमा कुनै चीजमा कमी थिएन । सुविधासम्पन्न मुलुकमा हुर्केको व्यक्ति एकैचोटि दुर्गम गाउँमा ओर्लँदा किरातीलाई अनौठो लाग्नु स्वाभाविक थियो । मन्त्री किरातीले आफू तेस्रो पटक सांसद हुँदै मन्त्री बनेर संयोगवश निगमको विभागीय मन्त्रीको जिम्मेवारीमा आइपुगेको बताए । उनले दोस्रो पटक सांसद भएर पर्यटन र परराष्ट्र मन्त्रालयसँग सम्बन्धित संसदीय समितिमा बसेर काम गर्दा नै निगमको अवस्था बुझ्न पाएको सुनाए । ‘अब यही जहाजको कारणले अब मलाई रुन नपरोस् सबैको ध्यान वायुसेवा निगमप्रति छ । म हाँस्न चाहन्छु,’ उनले भने । नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री किरातीले यो वा त्यो पदमा पुग्छु भनेर राजनीति पनि गरकाे हैन । तर, समय र परिस्थितिले मन्त्रीको जिम्मेवारी स्वीकारेका छन् । उनी भन्छन्, ‘वडाध्यक्ष पनि हुन्छु भनेर राजनीतिमा लागेको हैन, तर, मन्त्री भए । मैले मेरो जिम्मेवारी बुझेको छु, यो मेरो जीवनको अग्निपरीक्षा हो ।’ राज्यको गौरवमय संस्था डुबेको आफू टुलुटुलु हेर्न नसक्ने भन्दै ऐन, कानुन विधिसम्मत संस्था सुधारका लागि लागि पर्ने बताए । उनले कुनै पनि भेदभाव नगरी निगमको कामलाई चुस्त र प्रभावकारी बनाउन लागिपर्ने विश्वास व्यक्त गरे । अरू दुनियाँ एयरलाइन्स नाफामा जाने तर निगम सधैँ घाटामा रहरिहनुपर्ने स्वीकार्य नहुने भन्दै निगम सुधार्न सबै सक्रिय हुनुपर्नेमा जोड दिए । ‘कालो हातले छुने कोसिस नगर्नूहोला’ मुलुकको ४०औँ पर्यटनमन्त्री बनेका किरातीले देशको शान र गौरव ध्वजावाहक वायुसेवा निगमलाई गौरव गर्न लायक बनाइने विश्वास व्यक्त गरे । ‘किन हामी वायुसेवा निगममाथि गौरव गर्छौँ, जसले ४० हजार फिटमाथि राष्ट्रिय झन्डा फहराएर विश्वमा पहिचान कायम गरेको छ । विमानस्थल हाम्रो अनुहार हो, जहाज हाम्रो गौरव हो । पहिलो नजर अनुहारमा जाने भएकाले अब यो राम्रो हुनुपर्छ’, पर्यटनमन्त्रीले भने । निगम मुख्यालय र बैठक कक्ष हेर्दा दयनीय अवस्था रहेको मन्त्री किरातीले उल्लेख गरे । उनले भने, ‘म सेतो लुगा लगाएको मान्छे हुँ, कृपया कालो हातले छुने कोसिस कसैले नगर्नूहोला । सुनेको छु, कालो हातले छोएर नचिनिने भएर मान्छे फर्किन्छन् रे यहाँ । मैले त फेरि चिनिएर फर्किनु छ ।’ ‘हामीलाई असफल हुने छुटै छैन’ पर्यटनमन्त्री किरातीले आफूहरू गाडीको ‘स्टार्ट’ गर्नुपहिला पहिला चेकजाँच गर्ने क्रममा रहेको भन्दै छिट्टै स्टार्ट हुने गर्छौँ, हाम्रो उद्देश्य एउटै हो निगम बनाउने । उनले भने, ‘निगम असफल बनाउने छुट मसँग छैन । र त्यो समय, परिस्थिति र सन्दर्भले पनि दिँदैन । मलाई विश्वास छ, निगम व्यवस्थापनले सुधारको काम गर्नेछ ।’ निगमको ‘बिजनेस प्लान’ चाहियो पर्यटनमन्त्री किरातीले प्रत्येक दिन निगमको रिपोर्ट मन्त्रालयलाई बुझाउन निगम व्यवस्थापनलाई निर्देशन दिए । ‘कुन जहाज कहाँ कति मिनेट र कति घण्टा डिले भयो । कुन जहाजको कहिले चक्का हरायो, कुन जहाजको तार मुसाले काट्यो, यी सब विषयको दैनिक रिपोर्ट मन्त्रालयमा ल्याउनुस् मन्त्रालयबाट म फर्किँदा प्रत्येक दिन निगमको रिपोर्ट बुझेर फर्कन्छु’, उनले भने । ‘समस्या हात्ती जत्रो, समाधानको स्रोत चाहिँ झिँगाको टाउको जत्रो’ भएपछि निगम कसरी सुधार हुन्छ भनी प्रतिप्रश्न गर्दै मन्त्री किरातीले निगम सुधारको कार्ययोजना तत्काल ल्याउन निर्देशन दिए । उनले कुनै काम प्रलोभनमा पार्न जुत्ता फटाउने काम नगर्न पनि आग्रह गरे । एक महिनाभित्र अनलाइन टिकट ‘सर्वसाधरणले टिकट नपाउने तर, दलालले बिक्री गर्ने गरेको विकृति पाइएको’ भन्दै मन्त्री किरातीले एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई निर्देशन दिए । उनले जहाज समयमै उडाउन र सेवालाई सरल र प्रभावकारी ब नाउनका साथै निगमको वार्षिक रुपमा आर्थिक अवस्था र निगमको समग्र कार्ययोजना ल्याउन पनि निगमलाई आग्रह गरे । पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले निगमको विद्यमान अवस्थालाई सुधार गरी निगमको साख र गौरवलाई उचो बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले निगमको सेवालाई चुस्त र प्रभावकारी बनाउन व्यावस्थापकीय सुधार र रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘बिजनेश प्लान’ बनाउन निर्देशन दिए । उनले जहाज किन्ने हो भने स्पष्ट कार्ययोजना बनाउन आग्रह गरे । ‘हो निगमलाई जहाज चाहिएको छ, तर, पहिला बिजनेस प्लान बनाउनुस् । जहाज थपेर मात्रै हुँदैन व्यवस्थापकीय सुधारसँगै गरिनुपर्छ, कुनै पनि वायुसेवा कम्पनी उडानमा प्राथमिकता हुनुपर्छ’, सचिव अधिकारीले भने । उहाँले निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा अरू कम्पनीलाई दिनेबारे अहिलेसम्म मन्त्रालयमा कुनै छलफल नभएको स्पष्ट पारे । रासस  

नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी

काठमाडाैं । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धि गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका हुन् । ‘पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको छ, नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भएपनि याे अन्यदेशको तुलनामा अत्यन्तै कम हाे,’ उनले भने । उनले नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने भन्दै उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गर्नुपर्ने बताए ।  

अदुवाको बीऊ किन्दा २ करोड भ्रष्टाचार

काठमाडौं । गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालिन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बीऊ किन्दा भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बीऊ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि भ्रष्ट्राचार मुद्दा दायर गरेको हो । पूर्वमेयर अधिकारीलाई १३ लाख रुपैयाँ भ्रष्टाचारमा र बाँकी कमर्चारीलाई १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ भ्रष्टाचारमा विपक्षी बनाइएको अख्तियारले जानकारी दिएको छ । अख्तियारले बीउ आपूर्ति गर्ने स्पुक ट्रेडर्स प्रालि तिनकुनेका प्रतिनिधि शिव प्रसाद न्यौपानेविरुद्ध पनि दुई करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

नेपाल उड इन्टरनेशनल एक्स्पो हुँदै, विभिन्न देशका १०० बढि स्टल राखिने

काठमाडौं । काठमाडौंको भृकृटीमण्डपमा नेपाल उड इन्टरनेशनल एक्स्पो हुने भएको छ ।मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले नेपाल उड इनटरनेशनल एक्सपो माघ १३ गतेदेखि १५ गतेसम्म आयोजना गर्ने भएको हो । प्रदर्शनीमा संसारका विभिन्न देशका १०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरुका स्टल रहने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु पनि राखिने बताइएको छ । आठौं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहल भएको आयोजकले बताएको छ । यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिएको आयोजकले जनाएका छन् ।