विकासन्युज

एनआईसी एशियाका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गर्दा १२ प्रतिशतसम्म छुट 

काठमाडौं । एनआईसी एशिया बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच उपचार सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछानेज्यू र सेन्टरका तर्फबाट अध्यक्ष प्रो। डा। अन्जनी कुमार झाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकले भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा थ्रिडी सिआरटी, आइएमआरटि, भिएमएटि, पल्लिएटिभ केयर र टिभिआई उपचारमा ५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको बैंकले जनाएको छ ।

सरकारी बैंक पनि मर्जरमा जानुपर्छ, संस्थानको खर्च कटौती गर्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारी बैंकहरु पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताएका छन् । निजी बैंकहरु धमाधम मर्ज भएको अवस्थामा बजारमा प्रतिस्पर्धी बनेर अघि बढ्नको लागि तीन सरकारी बैंकहरु स्वेच्छिक रुपमा मर्जरमा जान उपयुक्त हुने उनले बताए । ‘बैंक मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था गरेको थिएन, बैंकहरु आफैँले व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको छ, कतै सरकारी बैंकहरु यो आवश्यकता बुझ्न पछाडि हुनुहुन्न ? भन्ने हामीलाई शंका लागिरहेको छ, यो आवश्यकतालाई पनि महशुस गरेर छलफल नेपाल सरकारसँग र तीनवटा सरकारी बैंकहरु हुनुहुन्छ, सबैसँग छलफल गरेर वास्तविक आवश्यकता हो भने राष्ट्रिय वाणिज्य बैंक अगाडि बढ्न उपयुक्त हुन्छ,’ उनले भने । तर राष्ट्र बैंकले कुनै पनि बैंकलाई मर्जरको बाध्यत्मक व्यवस्था नगरेको उनी बताउँछन् । साथै, उनले बैंकिङ व्यवसाय चुनौतिपूर्ण रहेको स्पष्ट पारेका छन् । ‘एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना ओभर ड्यु भयो भने ३ अर्बको प्रोभिजम प्रवन्ध गर्नुपर्छ, बैंकको एक वर्षको प्रोभिजन सकियो, त्यसैले बैंक त्यति चुनौतिपूर्ण छ, बैंकका कर्मचारीहरु संवेदनशील भएर बैंकको व्यवस्थापनमा लाग्नुपर्छ,’ उनले उदाहरण दिँदै भने । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवमा बोल्दै गर्भनर अधिकारीले साे बताएका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी कार्यालय तथा सार्वजनिक संस्थानले फजुल खर्च कटाउनु पर्ने बताएका छन् । अहिलेको आर्थिक अवस्थालाई चित्रण गर्दै उनले सार्वजनिक संस्थाहरुलाई आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आग्रह गरेका हुन् । ‘यतिबेला हामीले सरकारी कार्यालय, मन्त्री तथा मन्त्रालयले मात्रै होइन, सार्वजनिक संस्थानहरुले पनि मितव्ययीता अपनाउनुपर्ने, फजुल खर्च कटाउनुपर्ने र श्रोतहरुको उचित उपयोग गर्नुपर्ने अवस्थामा छौं,’ उनले भने । अर्थतन्त्रमा भएका समस्याहरुका बावजुत अर्थतन्त्र चलायमान बनाउन, रोजगारी श्रृजना गर्न, आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्रीले पौडेलले सरकारी बैंक नाफामा मात्र केन्द्रित नभई विपन्न समुदायको उत्थानका लागि बैंकले आफ्नो भरपुर आधार तय गर्नुपर्ने बताएका छन् । उत्पादनशील क्षेत्रमा पुँजी प्रवाह गर्न बैंकले सहयोग गर्ने र नाफामा भन्दा पनि गुणस्तरीय सेवाको सेवाको रुपमा उत्कृष्ट बन्न बैंकलाई शुभकामना दिएका छन् । सरकारी बैंक कमजोर नभएको र यसलाई कसरी प्रतिस्पर्धी बनाउन सक्छौं, लक्षित वर्गसम्म सेवा कसरी अघि बढाउन सक्छौं त्यसमा जोड दिनुपर्नेमा उनको सुझाव छ । त्यस्तै, उनले कम्पनी तथा कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट बाहिर निस्किन आग्रह गरेका छन् । र, व्यवसासिक दृष्टिकोणले बजारमा भएका सक्षम पात्रहरुलाई प्रतिस्पर्धाबाट ल्याउनुपर्ने मान्यतामा आफू रहेको बताउँदै आफू अर्थमन्त्रालयमा रहदासम्म सरकार तथा कुनैपनी क्षेत्रबाट राजनीतिक हस्तछेप नहुने समेत प्रतिवद्धता गरेका छन् । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले मर्ज भएका निजी बैंकसँग जुध्न आरबीबीले उपयुक्त रणनीति बनाउन आवश्यक रहेको बताएका छन् । सीइओ श्रेष्ठले ‘क’ वर्गका बैंकहरु मर्ज हुँदा आकार र क्षमता ठूलो हुन गएकाले अर्थमन्त्रालयले पनि सरकारी बैंकका लागि रणनीति बनाएर अगाडि बढ्नु पर्ने बताएका हुन् । ‘‘क’ वर्गका बैंकहरु बिचको मर्जरले ती बैंकहरुको आकार तथा क्षमता ठूलो हुन गईरहेको सन्दर्भमा यस बैंकले समेत उपयुक्त रणनीति बनाई अगाडी बढ्न आवश्यक छ । यसका निमित्त नेपाल सरकार अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

इसेवा १५ औं वर्षमा प्रवेश, बिहान ११ बजेसम्म कारोबार गर्ने ७ जनाले हिरा पाउने

काठमाडौं । सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो । यस अवसरमा मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ । इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले आफुहरु जहिलेपनि प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित रहेकाे बताए । १४ औं वार्षिक उत्सवको अवसरमा इसेवाले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ । जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा १४० क्यासब्याक, बिहान १० देखि ११ बजेसम्म संचालन हुने डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हिरा उपहार र ११ देखि १२ बजेसम्म संचालन हुने मुभि आवरमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट पाइनेछ । यस्तै, १ देखि २ बजेसम्म संचालन हुने भौचर मेला आवरमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिने, २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने अवधिमा मोबाईल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने इसेवाले जनाएकाे छ । यस्तै, ३ देखि ४ बजेसम्म संचालन हुने मेरोसेयर अफरमा ग्राहकले ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् इसेवाले आफ्नो वार्षिक उत्सवको अवसरमा छात्रवृति कोष समेत सञ्चालन गरेको छ । यसको राशी र प्रक्रियाका विषयमा केही समय पछि एक कार्यक्रम मार्फत जानकाारी गराउने इसेवाले जनाएकाे छ ।

हङकङ उडानमा म यात्रु भएर बसेको थिएँ : क्याप्टेन विश्वकर्मा

काठमाडौं । नेपाल वायुसेवा निगमका विमान चालक क्याप्टेन नरबहादुर विश्वकर्माले आफू निलम्बनमा नपरेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको भनिए पनि पाइलट विश्वकर्माले आफू निलम्बनमा नपरेको स्पष्ट गरेका हुन् । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको निर्देशन नमान्ने पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको थियो तर आफू उक्त उडानमा संलग्न नभएकाले निलम्बन नपरेको क्याप्टेन विश्वकर्माले बताए । उनले भने, ‘म हङकङ विमानस्थलमा यात्रुजस्तै भएर पछाडि बसेको थिएँ, त्यसमा मेरो कुनै संलग्नता छैन, यस्तो सूचना कसले दियो दियोे म अचम्ममा परेको छु, आज पनि मैले जहाज उडाउँदै छु ।’ उनले आफू आज राति सिङ्गापुर उडानमा जान लागेको समेत जानकारी दिए । उनले भने, ‘म विशेषज्ञ पाइलट हो, मैले कुनै गल्ती नै गरेको छैन भने किन निलम्बनमा पर्नु ? मत आज सिङ्गापुर फ्लाइटमा जाँदैछु ।’ उता नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेले नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमान्ने पाइलट उद्धव घिमिरे र राजेश कुशवाह तथा काठमाडौबाट जापान उड्ने क्रममा ‘स्टान्डर अप्रेसनल प्रोस्युड्युल’ पालना नगरेको भन्दै प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले दिएको निर्देशनअनुसार निलम्बन गरिएको बताए । उनले पनि पाइलट नरबहादुर विश्वकर्मा उक्त फ्लाइटमा भए पनि निलम्बनमा भने नगरिएको जानकारी दिए ।

दुर्घटना जाँच आयोगद्वारा यतीको जहाजको उपकरण र कागजात संकलन

काठमाडौं । यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै दुर्घटनास्थलको पुनःविस्तृत निरीक्षण गरी आवश्यक पार्टपूर्जा, वायुयानका रेकर्ड, केही प्रत्यक्षदर्शीसँगको कुराकानी र वायुसेवा सञ्चालकबाट आवश्यक कागजात सङ्कलनको गरिसकेको जनाएको छ । ‘नियामक निकायलगायतबाट थप कागजात सङ्कलनको काम भइरहेको छ’, विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार दुर्घटना जाँचको सन्दर्भमा महत्वपूर्ण सूचना प्राप्त हुने रेकर्डर नेपालमा परीक्षण गर्न नसकिने भएकाले उच्च गुणस्तरको दक्षजनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण एवं विश्लेषण गर्न लैजाने तयारी भइरहेको छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगद्वारा अनुसन्धान जारी रहेको र सबै प्रक्रिया पूरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझावसहितको प्रतिवेदन सरकारलाई पेस गरिने छ’, विज्ञप्तिमा भनिएको छ । उक्त जहाज दुर्घटनामा चालक दलका सदस्यसहित ७१ जनाको निधन भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ । दुर्घटनालगत्तै सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

स्याङ्जामा पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ पक्राउ

काठमाडौं । स्याङ्जामा प्रभु एयरको हेलिकप्टरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्‍ला प्रहरी कार्यालय स्याङ्जाले माघ ५ गते वालिङ नगरपालिका-८ मालेबगर खेल मैदानमा प्रभु एयरको हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलट रानेश डंगोलमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा यात्रु विनोद गैरे, उज्जवल थापा, सुशिल गिरी, खिमबहादुर र आयोजक यामबहादुर गुरूङ र सुरेश श्रेष्ठ रहेका छन् । पक्राउ पर्ने यात्रुले जबरजस्ती पाइलटलाई मैदानमा हेलिकप्टर अवतरण गराएको र आयोजकले पाइलटलाई कुटपिट गरेको कारण ६ जनामाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

व्यवसाय संकटमा परेर बैंकको ऋण तिर्न नसकेपछि संसद भवन अगाडि नै आत्मदाहको प्रयास (पत्रसहित)

काठमाडौं । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि नै एक युवकले आत्मदाहको प्रयास गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्मदाहको प्रयास गरे । सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा एक युवाले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको बुझिएको छ । उनी सुरुमा पर्यटन व्यवसायी भएको खुलेको छ । प्रहरीका अनुसार उनी घाइते भएका छन् । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । ३६ वर्षीय उनले व्यवसाय संकटमा परी बैंकको ऋण तिर्न नसकेपछि आत्मदाहको प्रयास गरेको बुझिएको छ । उनले आत्मदाहको प्रयास गर्नुको कारण विकासन्युजलाई प्राप्त भएको छ । उनले आत्मदाहको प्रयास गर्नुअघि नै एउटा लामो पत्र लेखेका छन् यस्तो छ उनको पत्र (सम्पादन नभएको) म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष  (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङ्गिन सपनाहरु बुनेर, परिवार, समाज र देशप्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिएँ। आज छत्तिसौं वसन्त पार गरी सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाई ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खाँदा, ब्यापार गर्दा, बैदेशिक रोजगारमा जाँदा एबम उद्योग चलाउँदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसर्ती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु। यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो। म विद्यार्थी कालमै रहँदा २०६७ मा ब्रेन ट्युमर भएर बुवा बित्नुभयो। बुवा बिरामी हुँदै गरेको अवस्थामा नै मेरो बिबाह भयो र बुवाको मृत्यु पस्चात म काठमाडौमा श्रीमती सँगै रहेर विभिन्न प्राइभेट स्कुल एबम ठमेलका ट्राभल एजेन्सिमा काम गरेर गुजारा गर्न थालेँ । त्यस बेला हाम्री ठुली छोरीको जन्म भैसकेको थियो। पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो। बुढानिलकण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो। राम्रो चल्यो ट्राभल सुरुमा तर बिस्तारै उधारो बजारले गाज्न थाल्यो। चिनियाँ नागरिक, गोराहरु र काठमाडौकै +2 कलेज हरु हाम्रा ग्राहक भए। चिनियाँ पर्यटकहरुले कहिले कबोल गरेको पैसा नदिने, ट्रेकिङ लग्दा बिच बाटोमा पुगेपछी यहाँ यति उकालो छ भनेको थिइनस, यहाँ चिनियाँ खाना पाइन्दैन भनेको थिइनस आदि इत्यादी भन्दै निहुँ खोज्ने अनि पूरा पैसा कहिले नदिने। चिनियाँ पर्यटक छोडेर +2 का विद्यार्थीलाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो दार्जिलिङ र सिक्कीम समेत गरेर। इलाममा Tea Tourism को अवधारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर काठमाडौका +2 कलेज कहिले पूरा पैसा नदिने। ४-५ लाखको व्यापार (tour package) लानुपर्ने हुदा ३ लाख जति advance दिने, तेत्रो advance पाएपछी व्यापार नगर्ने कुरै भएन, तत्पश्चात बाटो देखि नै निहु खोज्न थाल्ने, tour नै तिक्तता पुर्ण हुने। बाटोमा सबै भन्दा धेरै complain खानामा आउने। ए हजुर हाम्रो देशमा बाटोमा खाना खराब छ, यो देशका सरकारले त्यस्तै खा भन्छ, कहिले सुधार हुदैन म के गरौं । अनि काठमाडौं आएपछी को कथा उहि। कलेजमा बाकी पैसा लिन जादा अनेक बाहाना बनाउने, घरी exam time मा आउनुहोस fee उठछ अनि दिन्छौं, घरी admission time मा आउनुहोस दिन्छौं भन्ने तर पैसा नदिने। kathford college बालकुमारिले दादागिरि सैलिमै १,७५,०००/- दिएन, saan international college  नक्सालले ९०,०००/- दिएन। यी त मुस्ठ हुन खुद्रा खुद्री कति दिएनन दिएनन। ठमेलमा office भाडा दिनुपरिहाल्यो, कर्मचारिलाइ तलब दिनुपरिहाल्यो अनि सुरु भयो ऋण को सिलसिला। यो देश उधारो बजारले सबैभन्दा धेरै बिग्रेको रहेछ भन्ने त्यहिबाट थाहा भयो। बजारमा जताततै लुटेरा मात्र रहेछन् । ट्राभल चलाउने क्रममा १-२ जना गोरा हरुलाइ pokhara, ghandruk, kathmandu valley, nagarkot आदि गन्तब्यमा लानु पर्ने हुदा भाडाका गाडी लानुपर्ने, महगो पर्ने भएकाले आफ्नै गाडी किनौ भन्ने लागेर suzuki ertiga गाडी लिने जमर्को गरियो। nic asia बैंक ले finance गर्दिने भयो। ६ लाख downpayment गरेर अरु किस्ता तिर्ने गरि गाडी निकालियो। downpayment मध्ये ४ लाख जम्मा गरियो २ लाख showroom ले भनेको समयमा दिन सकिएन, २ महिना समय मागे दिएन अनि गाडी फिर्ता लग्यो। suzuki showroom थापाथली ले मेरो ४ लाख खायो फिर्ता दिएन। यहाँ नहुनेलाइ र केही गर्न खोज्नेलाइ नै लुट्दा रहेछन् । हुदा हुदा ट्राभल्स बाट यति घाटा हुन थल्यो कि थाम्नै सकिएन। गोरा आउनै छाडे, चिनियाँ पर्यटक पैसै नदिने, +2 कलेजहरु पनि पैसै नदिने, भारतिय पर्यटक हरु खर्च नै नगर्ने फाइदै नहुने। ट्राभल बेचेर बिदेश जाने जमर्को गरियो। त्यस्बेलासम्म काठमाडौको घर, जग्गा सम्पती सबै सकियो र उल्टो ऋण लाग्यो।  बिदेश जाने भनी जमर्को गर्दा झण्डै १ बर्ष लाग्यो र त्यो समय पनि ऋण मै परिवार चलाइयो। जसोतसो बाहिर गैयो कतार। office assistant मा अन्तर्बार्ता पास गरेर गएको, आफ्नै दक्षता ले ६ महिनामै sales and marketing manager भैयो। ५,०००/- कतारी रियाल तलब थियो, खाने बस्ने गाडी ईन्टरनेट सबै कम्पनिले दिने के चाहियो अरु? 2014 देखि 2017 सम्म कतार बसि सबै ऋण तिरी थोरै पैसा बचाएर देश फर्किए। श्रीमति र आफन्तको सल्लाह र आफ्नै इच्छा बमोजिम जन्म थलो इलाम घर गएर Suryodaya Agro Industries & Farm House Pvt. Ltd. – ilam agro mart नामक उद्योग खोलियो, सुर्योदय-११, केराबारी, इलाममा। गल्ती यहि गरिएछ। मैले सोचे पैसालाइ जग्गामा freeze गर्ने होइन चलायमान बनाउने, उद्योग खोल्ने, पैसा कमाउने र सबैको उदाहरण बन्ने। बचेको पैसाले जग्गा किनेको भए यतिखेर ५ डबल हुने थिएछ। मैले कतार बस्दा इज्राएल, अस्ट्रेलिया, नर्वे, आदि देशबाट आएको ताजा फल्फुल, तरकारी, मासु, एबम विविध धेरै खाए देखे । हाम्रो देशमा पनि एस्तै गरि सुरक्षित packing गरेर मौलिक खानेकुराहरु बजारमा बेच्न सकिएला भन्ने आट आएर त्यही गर्न थालियो।इलाम घ्यु, इलाम गुन्द्रुक, इलाम अकबरे अचार, तामाको अचार आदि products बनाइ बेच्न थालियो। सुरुमा गाडी भाडामा लिएर झापाको बिर्तामोड, दमक, इटहरी, धरान, बिराट्नगर सम्म साना ठुला किराना पसल देखि गोरखा डिपार्टमेन्ट, बराहा डिपार्टमेन्ट, किनमेल डिपार्टमेन्ट, सतासी डिपार्टमेन्ट, NMC सहकारी पसल जस्ता ठुला मार्ट सबैलाइ सामान बेचियो। यति हत्तु भैयो कि पैसा कहिले समयमा पाइएन बजारबाट। सबैलाइ उधारोमा सामान बेच्नुपर्ने। र पनि हाम फाली हालियो फुत्कन सकिएन नाफा त के झन ऋण बड्न थाल्यो उधारो बजारले। कच्चा पदार्थ, factory operation cost, tax, labor/staff salary आदि सबै नगदमा किन्नुपर्ने/खर्च गर्नुपर्ने तर बजारलाइ उधारोमा सामान दिनुपर्ने त्यो पनि बाह्र बखडा लगाएर। जम्मै ३०-३५% नाफा देखिने कागजमा तर बजारमा सामान फस्ने हुदा, ६ महिनामा मात्र बल्ल तल्ल पैसा उठ्ने, केही % bad debts हुने। यता factory, raw materials, wages & salary नगदमा खर्च गर्नुपर्दा, र बैंकले पनि ऋण बन्द गरेको कारणले ब्यक्तिगत ऋण ३६% सम्म ब्याज तिरियो। अनि नाफा सक्किवरी उल्टो घाटा हुने। घाट पुर्ती गर्न लागेको ऋण र ब्याज तिर्दा तिर्दा डबल-तेब्बर घाटा हुने। एउटा ऋणको ब्याज तिर्न अर्को ऋण लाग्ने।अनि केही पसलहरुले सामान बेच्न नसक्ने अनि अन्त्यमा expire भयो सामान भन्दै फिर्ता दिने। पसलले/retailors हरुले केही risk नै नलिने। आफुले नगद लगानी गरेको products बजारमा उधारो बेच्दा त्यो लगानिको ब्याज, र त्यो ब्याज तिर्न नया ऋण, अनि नया पुरानो ऋण/ब्याज तिर्न फेरि नया ऋण। घर खर्च चलाउनै पर्यो, नानिहरुको शिक्षा र लालन पोसण गर्नै पर्यो। अनि सकिँदैन त सबै सम्पत्ति? त्यो काम फट्ट छोडौ के गर्नु अन्य? लगानी फसेको छ, नछोडै पार लाग्ने उपाय नै छैन। फेरि हाम्रो समाज यति अर्काको चासो गर्ने कि नयाँ काम थाल्दा उ फेरि गरिराखेको काम छोड्यो, यो मान्छे थिर छैन, काम फेरेको फेरै गर्छ यसले केही गर्दैन जिवनमा आदि इत्यादी भनी जता गये पनि लाल्छना र उपदेश सुनिरहनु पर्ने।  सयौं पटक आत्महत्या गर्ने प्रयास गरे सकिन। आफैले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरे भएन। श्रीमती छोराछोरी को माया र कर्तब्य ले मर्न सकिन। फोन कल यति सामना गरेकि phonophobia नै भयो। कहिलेकाही फोन नेट्वोर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने। २-३ बर्ष देखि नै depression मा थिए कसैले बुझेन। म depression मा छु भन्दा उल्टै गाली खाइयो। लड्दै पड्दै बाचियो। scattered retailing ले पार नलाग्ने देखिएर dealership मा जाने निर्णय गरियो। फेरि सरकारले यति सास्ती दिन थाल्यो कि, सामान लिएर धरान बिराट्नगर जान नपाइने भैयो। factory ले direct retailing गर्न नपाइने रे! अनि vcts system रे। अडिट वा कतैपनी record मा नाआउने vcts के लागू गरिराखेको? बाटोमा प्रहरिलाइ घुस उठाउने मेलो मात्र। यदि vcts छैन भने ५,०००/- सम्म तिरेको छु प्रहरिलाइ। इलामको सब्जी काठमाडौ बेच्न लिएर आउदा पनि vcts रे! अनि बाटोमा चेकिङ मा बसेका प्रहरिलाइ सब्जी बाड्दै आउनुपर्ने नदिए आफै गाडिमा चडेर झिक्ने। कति लुट्छौ हो?जता ततै लुट्ने मात्र। भाडाका गाडिले पनि लुट्ने, प्रहरिले पनि लुट्ने, सरकारले पनि करको नाममा लुट्ने, बजारका retailer ले पनि लुट्ने। अनि जग्गा जमिन नबेचेर के गर्नु त ? कृषि जन्य बस्तुको कारोबार गरेको हुनाले प्रदेश १ सरकार कृषि तथा भुमी ब्यवस्था मन्त्रालयले खुलाउने अनुदान कार्यक्रम ४ पटक अनुदान पाउ भनी निबेदन दिइयो, shortlist मा परिन्थियो नै। अनुगमन गर्न आउदा तपाइको सोच राम्रो रहेछ, काम पनि राम्रो रहेछ, यस्तो मौलिक बस्तुको बजारीकरण गरिरहनुभएको रहेछ, पक्का पाउनुहुन्छ अनुदान भन्ने अनि result आउने बेला कहिले मेरो कम्पनिको नाम नहुने। म इलाम सुर्योदय नगरपालिका -११ बासी मेरो factory पनि त्यहीँ । मेरा वडाका तत्कालिन वडा अध्यक्ष टेक बाहादुर राई ज्युको साङ्पाङ डेरि ले ३ लाख र १० लाख गरि दुई बर्ष लगातार अनुदान खाए र तेस्रो बर्ष उन्कै साङ्पाङ बङुर फार्म ले २५ लाख अनुदान खायो। मेरै आँखा अगाडी इलामकै मैनाली जि को साङृला टि स्टेट ले infrastructure development, अर्ग्यानिक प्रमाणीकरण र गाडी गरि एकै बर्ष एकै उद्योग एकै सरकारबाट २०-२५ लाख अनुदान खायो। हामी चिल्लै। अनि बल्ल थाहा भयो अनुदान लिनलाइ कि जनप्रतिनिधी, कि पार्टीको झोले कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ। सच्चा कर्मनिण्ठ भएर नहुने रहेछ। Dealer र ठुला mart मा समान दिनुपर्दा बार्शिक कारोबार ५० लाख नाघ्ने अनि उनिहरुले पनि vat bill नै खोज्ने भएकाले vat मा जानुपर्ने बाध्यता भयो र गैयो। अनि सुरु भयो अर्को दसा। फेरि हाम्रो देशको कर प्रणाली सारै अप्ठ्यारो । ब्यापार घाटामा छ, घाटा देखाउ बैंक ले loan नदिने, नाफा देखाउदा प्राली कम्पनिले बार्सिक नाफाको २५% कर तिर्नुपर्ने। खर्च देखाउन आफुले, श्रीमतिले तलब खाको देखाउदा १% TDS तिर्नुपर्ने फेरि बार्शिक ४ लाख ५० हजार नाघेमा करको दर बड्ने। महिनैपिच्छे १० लाख कारोबार भएमा १३% VAT अर्थात १ लाख ३० हजार महिनाकै सरकारलाइ बुझाउनु पर्ने, त्यो बिलम्ब भएमा २५% ब्याज तिर्नुपर्ने। बर्षमा एक पटक कम्पनी रजिस्ट्रार मा, घरेलुमा, नगरपालिकामा कम्पनी renew शुल्क बुझाउनु पर्ने, तेहेरो कर। अनि बार्शिक अडिट शुल्क आदि। कसरी थाम्छ एउटा गाउमा रहेको कम्पनिले यी सबै शुल्क र भार? रसिया मा उद्योग/ब्यापार गरि अरबपती भएका डा. उपेन्द्र महतो एबम डा. समता प्रसादले नेपालमा चलाउनु भएको नेपाल ग्रामोध्योग भन्ने कम्पनिलाइ प्रकृति ब्राण्ड मा घ्यु बनाएर दिए। सुरु सुरुमा राम्रो payment गरे advance पनि दिए। हुँदै गएपछी पैसा नदिने, मेरो सिको गरेर आफै घ्यु बनाउने अनि बिगार्ने अनि तपाइको घ्यु expire भयो भन्दै फिर्ता लैजा भन्ने। बेच्नै सक्दैनौ भने ९ महिना सम्म तिम्रो गोदाममा राख्न एउटा निम्न स्तरको उद्यमिलाइ लुट्न किन कम्पनी खोलेको नेपाल आएर? नेपाल ग्रामोध्योग लाई म चुनौती दिन्छु। मेरो जति पैसा खाको छौ तुरुन्त फिर्ता गर अनि तिम्रो failure ले भयेको goods expire र damage को तिमी नै risk लेउ। अर्को चुनौती मलाइ सामान फिर्ता गरे भन्दै debit note काट्दै बस्छ तिम्रो ac department, पुष्टि गर मैले समान receive गरेको, मेरो company को छाप वा मेरो सहि देखाउ तिम्रो return bill मा। समान तिमिहरुको गोदाममै expire भयो भने वा बजारबाट फिर्ता आयो भने debit note काटिहाल्ने अनि मैले पाउने पैसा बाट त्यस्को value घटाउने? तिमिहरु सब लुटेरा हौ। आफ्नो factory काहीँ पनि छैन, बजारमा प्रकृति ब्राण्डका जतिपनी खाद्य बस्तु बेचिरहेका छौ, ती सबै अर्कैले बनाइदिएका हुन। म जस्तै साना साना कम्पनीबाट लुटेका हौ। margin पनि तिमिहरुले नै भनेको हुनुपर्ने, mrp पनि तिमिहरुले नै तोक्नुपर्ने, यो काहाको न्याय हो ?

स्पट फिक्सिङ : एक बलको १० लाख रुपैयाँ अफर !

काठमाडाैं । नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागि टोलीकै व्यवस्थापकसहित १० जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागिता टोली मध्येको चार टिम काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको जनाएको हो । साथै, फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन गरेको तथा दुई खेलाडी र चार विचौलियासहित १० जना यस घटनामा संलग्न देखिएको थापाले जानकारी दिए । गृह मन्त्रालयको निर्देशनपछि थालेको अनुसन्धानमा खेलाडीलाई ६ देखि १० लाख रुपैयाँ सम्मको प्रश्ताव गरिएको सिबिआइले जनाएको छ । फिक्सिङका लागि उनीहरुलाई प्रत्यक्ष तथा अन्य समाजिक सञ्जाल र फोन, सन्देशबाट अप्रत्यक्ष रुपमा प्रलोभनमा पार्ने प्रयास गरिएको थियो । यस्तै सिआइबीकै अनुसन्धानले प्रतियोगितामा कमर्सियल पार्टनरको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको भुमिका समेत शंकास्पद रहेको जनाएको छ । पुस ९ गतेबाट शुरु भएको प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्वीकार गरेपछि नेपाल टी–२० लिगको विवाद र फिक्सिङ प्रकरण बाहिरिएको थियो । सो खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रश्ताव आएको र आफूहरुले यसबारे एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी गराएको जनाएका थिए । स्पट फिक्सिङमा संलग्न भएका मेहबुबबाट आदिल अन्सारीलाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएको थियो । जम्मा पाँचजना खेलाडीलाई फिक्सिङका लागि प्रश्ताव गरिएको उनको भनाइ छ । अन्य फिक्सिङमा संलग्न नाम भने पत्रकार सम्मेलनमा सार्वजनिक गरिएन । कार्यवाहक प्रवक्ता थापाले अनुसन्धानको काम भइरहेको अवस्थामा कसुर भइ ठहरिएमा पक्राउ गर्ने कठिन हुने भन्दै अन्यको नाम सर्वाजनिक नगरेको बताए । साथै यसमा नेपाल क्रिकेट संघ (क्यान) को कुनै संलग्नता नभएको सीआईबीले जनाएको छ । मुलुकी अपराध संहीता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ । संहीताको दफा ५१ उपदफा ३ मा नेपालमा वा विदेशी मुलुकमा खेल मिलेमतो गरे ३ वर्षसम्म कैद र ३ हजारसम्म जरिवाना तोकेको छ । त्यस्तै. फिक्सिङमा लेनदेन भएको रकम सबै जफलत हुने कानूनी व्यवस्था छ ।