बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ
तुलसीपुर । पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो । ३४ करोडको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना तयार भएको थियो । तुलसीपुर उपमहानगरपालिकासँग पर्याप्त बजेट भएन । त्यसैले बिभिन्न चरणमा काम गर्ने गरी निर्माण थालिएको थियो । पहिलो चरणमा नगर विकास समितिबाट १० करोड ५० लाख ऋण लिएर बसपार्क निर्माण अघि बढाइएको थियो । नगर विकास कोषले २०७४ सालमा ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा बजेट उपलब्ध गराएको थियो । ‘पहिलो चरणमा एक तलाको टर्मिनल भवन, ५२ व्यापारिक सटर, सार्वजनिक शौचालय तथा सडक र सडकबत्ती निर्माण गर्यौँ’, उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले भने । उक्त काम २०७६ सालमै सम्पन्न भएको थियो । ‘बजेट अभावले दोस्रो चरणको काम अघि बढ्न सकेको छैन’, उनले भने, ‘बाँकी काम २४ करोडमा नभ्याउने अवस्था छ। बजेट जुटाउनुपर्ने देखिन्छ ।’ उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने सम्भावना नभएपछि कार्यपालिकाले नगर विकास समितिसँग ऋण माग गर्ने निर्णय गरेको छ । छैटौँ कार्यपालिका बैठकले दोस्रो चरणको कामका लागि ऋण माग गर्ने निर्णय गरेको हो । टर्मिनल भवनलाई तीन तला बनाउनुपर्ने, सडकबत्ती जडान गर्नुपर्ने, क्लब टावर, कम्पलेक्स निर्माण, ढल निकास, पम्प व्यवस्थापन, पार्किङस्थल व्यवस्थापनलगायतका काम अझै बाँकी छन् । पाँच बिघा क्षेत्रफलमा उक्त बसपार्क निर्माण गरिँदै छ । यातायात व्यवसायीले भने संरचना निर्माण संरचना निर्माण गर्न आफूहरूबाट कर उठाएको बताएका छन् । पार्किङ शुल्क पनि बढी लिने गरेको व्यवसायीको गुनासो छ । अझै पेट्रोलपम्प, क्यान्टिन, टर्मिनल भवन, यात्रु प्रतिक्षालय, स्वास्थ्य जाँच, सिसी क्यामेरा, ग्रिनपार्क, शौचालयलगायतको उचित व्यवस्थापन हुनसकेको उनीहरुको आरोप छ । विसं २०५३ अघि हाल उपमहानगरपालिकाको कार्यालयभन्दा दक्षिणतर्फको पार्कमा तुलसीपुर बसपार्क थियो । सो बसपार्क २०५३ फागुनमा पातुखोलाको किनारमा स्थानान्तरण गरिएको थियो । त्यसको २१ वर्षपछि आधुनिक बसपार्क निर्माण सुरु भएको हो । निर्माणको जिम्मा शिवशक्ति कन्स्ट्रक्सनले लिएको हो ।
नेपालको इतिहासमा पहिलो दलित महिला अर्थमन्त्री भइन् ‘सीता कुमारी सुन्दास’
काठमाडौं । स्याङ्जा पुतलीबजार नगरपालिका ७ मा दलित परिवारमा जन्मिएर राजनीति शुरु गरेकी सीता कुमारी सुन्दास नेपालको इतिहासमा पहिलो प्रदेश अर्थमन्त्री भएकी छन् । मंगलबार प्रदेश सरकारलाई पूर्णता दिने क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुन्दासलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । गत मंसिरमा भएको निर्वाचनमा उनी गण्डकी प्रदेश स्याङ्जा –१ को (क) अन्तर्गत प्रदेश सभा सदस्यमा एमालेको तर्फबाट निर्वाचित भएकी थिइन् । सुन्दास प्रत्यक्षमा देशभरिबाट निर्वाचित एक्ली दलित महिला प्रदेश सभा सदस्य समेत हुन् । निर्वाचनमा उनले मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की अमृता थापालाई पराजित गरेकी थिइन्। प्रतिनिधि सभामा ८ जना र प्रदेश सभामा १४ जना महिला प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए । गत पुस २५ गते मुख्यमन्त्री अधिकारीसँगै सुन्दास लगायत ३ मन्त्रीले सपथ लिएपनि मंगलबार सम्म जिम्मेवारी पाएका थिएनन् । मन्त्रीपरिषदको बाँडफाँटमा नेकपा एमालेले मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रले २ र राप्रपाले १ मन्त्रालय पाएका छन् । मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशमा विगतमा कायम भएको १२ बाट ५ घटाएर ७ वटा मन्त्रालय बनाएका छन् । को हुन सुन्दास ? स्याङ्जा जिल्लाको साविक ठुलाडिही गाविस र हालको पुतलीबजार नगरपालिका वडा नं.७ मा २०२४ सालमा सुन्दासको जन्म भएको हो । बुवा गुमानसिँह र आमा चित्रकुमारीको सन्तान हुन उनी । उनका बुवा भारतीय सेनामा जागिरे थिए भने आमा घरायसी कृषि जीवनमा नै थिइन् । दलित समुदायभित्र तुलनात्मक रुपमा शिक्षित परिवारमा जन्मिएकी सुन्दासले आफ्नै आमाबाट अध्ययन प्रारम्भ गरेकी थिइन् । उनले गाउँमै रहेको जनता माविबाट एसएलसी, पुतलीबजारको त्रिभुवन आदर्श क्याम्पसबाट स्नातक र पृथ्वीनारायण क्याम्पस पोखराबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । आफ्नी आमा र दाई तत्कालिन नेकपा (माले)मा संगठित सदस्य भएको र सोही प्रभावका कारणले उनले पनि सोही पार्टीबाट राजनीतिक यात्रा शुरुवात गरेकी थिइन् । कक्षा ७ मा पढ्दै गर्दा मालेको विद्यार्थी संगठन अनेरास्ववियुमा जोडिएर उनको औपचारीक राजनीतिक यात्रा प्रारम्भ भएको थियो । पञ्चायती व्यवस्थाको विरुद्धमा भएको आन्दोलनमा उनको परिवारले सक्रियतापूर्वक सहभागिता जनाएको थियो । सोही क्रममा उनकी आमालाई ०४५ सालमा प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेको थियो । मुलुकमा पञ्चायती व्यवस्था सञ्चालन भइरहेको समयदेखि राजनीतिमा जोडिएकी सुन्दासले ०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । विद्यार्थी संगठनमा सक्रिय हुँदै नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल महिला संघको केन्द्रीय तहसम्म पुगेर उनले संगठनात्मक रुपमा काम गरेकी छन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनापछि सुन्दासले स्याङ्जा जिल्ला समन्वय समिति प्रमुखमा एक कार्यकाल पुरा गरेकी छन् । सो क्रममा उनी जिल्ला समन्वय समिति महासंघको केन्द्रीय अध्यक्ष समेत भएकी थिइन् । सुन्दास अहिले नेकपा (एमाले)को केन्द्रीय सदस्य, गण्डकी प्रदेशको सचिव र स्याङ्जा जिल्ला इन्चार्जको भूमिका समेत निर्वाह गरिरहेकी छन् ।
३ कम्पनीको साढे ११ लाख कित्ता सेयर बिक्रीमा, मूल्य कति छ ?
काठमाडौं । विभिन्न कम्पनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । कम्पनीमा रहेका संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका हुन् । कुमारी बैंक, ग्रामीण विकास लघुवित्त र आशा लघुवित्तको गरी कूल ११ लाख ३२ हजार २८१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हुन् । कुमारी बैंकले ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको छ । बैंककी संस्थापक सेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको उक्त सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन । यस्तै, आशा लघुवित्त वित्तीय संस्थाले ७ लाख ७४ हजार ३७५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । उक्त सेयरको न्यूनतम मूल्य ३७० रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् । यस्तै, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले प्रुडेन्सियल क्यापिटल मेनेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले सो वा सोभन्दा बढि मूल्य तोकि बोलकबोल गर्न सक्नेछन् ।
संसद् भवन अगाडि शरीरमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन
काठमाडौं । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए । उनको शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था रहेको उनले बताए । इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल र्पुयाएको थियो ।
नबिल बैंकले तेस्रो पटक हेड अफिस बनाउँदै
काठमाडौं । नबिल बैंकले तेस्रो पटक मुख्य कार्यालय (हेड अफिस) निर्माण गर्ने भएको छ । बैंकले तेस्रो पटकको मुख्य कार्यालय भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको हो । बैंकले काठमाडौंको बिशालनगरमा रहेको ४१ हजार ४१२.२५ वर्गफुट क्षेत्रफल जग्गामा मुख्य कार्यालय (हेड अफिस) भवन निर्माण कार्यको लागि बोलपत्र आह्वान गरेको हो । बैंकको उक्त भवन निर्माण गर्न परियोजना व्यवस्थापन परामर्शदाता (पीएमसी) को जिम्मेवारी लिन दर्ता भएका सिभिल इन्जिनियरिङ् तथा वास्तुकला फर्महरूले आवेदन माग गरेको हो । यसअघि नबिल बैंकको पहिलो हेड अफिस कमलादीमा रहेको थियो । कमलादीमा रहेको भवन हेड अफिसका लागि सानो भएको भन्दै दोस्रो पटक दरवारमार्गमा सारेको थियो । बैंकले आफ्नो व्यवसाय विस्तासँगै भवन पनि विस्तार गर्दै गइरहेको छ । दरवारमार्गमा रहेको भवन पनि सानो भएको भन्दै बैंकले तेस्रो पटक हेड अफिस सार्ने निर्णय गरेको हो । तेस्रो पटकको हेड अफिस भने नेपाल बङ्लादेश बैंकलाई प्राप्ति पश्चात् आएको जग्गामा निर्माण गर्ने भएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले विशालनगरमा कर्पाेरेट अफिस भवन निर्माणका लागि प्रारम्भिक चरणमा प्रवेश गरेको बताए । कन्सलटेन्टले सबै कुराको अन्तिम रुप दिएपछि मात्रै भवन कस्तो र कति लागतमा निर्माण गर्न सकिन्छ भन्ने थाहा हुने उनको भनाइ छ । ‘विशालनगरमा कर्पाेरेट अफिस बनाउने प्रक्रिया प्रारम्भिक चरणमा प्रवेश गरेको हो, कति लागत र कस्तो आकारमा भवन निर्माण गर्ने भन्ने कुनै अनुमान नै गरिएको छैन,’ उनले भने, ‘कन्सलटेन्टहरु प्रिक्वालिफाइड गर्नुपर्याे, कस्तो किसिमको भवन निर्माण गर्न सकिन्छ भनेर सम्झौता गरिन्छ, अहिले कन्सल्टिङका लागि बोलपत्र आह्वान गरेको हो ।’ अध्यक्ष पौड्यालका अनुसार कर्पाेरेट भवन बनाईने भएकाले सबै प्रक्रिया पुरा गर्नुपर्छ । तत्कालिन नेपाल बङ्गलादेश बैंकको नाममा रहेको जग्गामा उक्त भवन निर्माण गर्न लागिएको उनको भनाइ छ । नयाँ भवनमा सबै डिपार्टमेन्ट रहने उनले बताए । ‘भवन भव्य र ठूलो बन्नेछ, जग्गा पनि ठूलो छ, अहिले कति लागत लाग्ने भनेर कुनै अनुमान भएको छैन, इन्जिजियरहरु आएर डिजाइन गरेपछि मात्रै कति लागत लाग्ने भनेर लागत थाहा पाइन्छ, बैंकको हेड अफिसमा धेरै डिपार्टमेन्टहरु हुन्छन्, नेपाल बङ्गलादेश बैंक हुँदाखेरिको जग्गाको हो,’ उनले भने । सूचना प्रकाशन भएको १५ दिन अर्थात् माघ २५ गतेसम्म बोलपत्र आवेदन दिन बैंकले आग्रह गरेको छ । भवन निर्माणको लागि आवश्यक प्रारम्भिक अनुमतिदेखि भवन निर्माणपश्चात् आवश्यक पर्ने कामहरु गर्नुपर्नेछ । सर्वेक्षण, प्राविधिक सम्भाव्यता, लेआउटरल्याण्डस्केप चयन, भू–प्राविधिक अध्ययन, भूकम्प र वातावरणीय अध्ययन र विस्तृत डिजाइन, परिमाण र लागत अनुमानलाई अन्तिम रूप दिनुपर्नेछ । इच्छुक र योग्य बोलपत्रदाताहरूले आवश्यक कागजातसहित १० हजार रुपैयाँ शुल्क तिरेर काठमाडौंको घण्टाघरस्थित बैंकको प्रशासन विभागमा आवेदन दिन सक्नेछन् । इच्छुक बोलपत्रदाताले विगत ५ वर्षमा कम्तिमा २ वटा व्यावसायिक भवन निर्माणका लागि पीएमसी गरेको हुनुपर्नेछ । साथै, ३० हजार वर्गफिटको २ सय मिलियन डलर लागत भएको हुनुपर्नेछ । इच्छुक बोलपत्रदातासँग सिभिल कन्स्ट्रक्सन, इन्जिनियरिङ र आर्किटेक्चरल क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव र विगत ५ वर्षमा कम्तिमा २ भवनको परियोजना व्यवस्थापन परामर्शदाताको रूपमा काम गरेको अनुभव भएको हुनुपर्नेछ । बोलपत्रहरू फागुन ३ गते बिहान ११ बजे नबिल बैंकको घण्टाघर कार्यालय भवनमा खोलिनेछ ।
स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गिरी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने भएकाले त्यसलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गर्दै उनले समाजका गरिब र विपन्न वर्गलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ सञ्चालन गरिएको स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राख्न आफूले निर्देशन दिएको जानकारी दिए । अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनु वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री गिरीले अस्पतालमा सेवा विस्तार र भौतिक संरचना निर्माणमा जोड दिने विश्वास व्यक्त गरे । नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार भएको बताउँदै उनले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए । मन्त्री गिरीले अस्पतालका विभिन्न विभागको स्थलगत निरीक्षणका क्रममा उपचाररत बिरामी र उनीहरूका आफन्तसँग अस्पतालको सेवा सुविधा र उपचारका बारेमा जानकारी लिएका थिए । पोखरा विज्ञान प्रतिष्ठानका उपकुलपति डा डुकबहादुर क्षेत्रीले अस्पतालको गतिविधिबारेमा जानकारी गराएका थिए ।
पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौं । प्रभु हेलिकप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण गरेका प्रभु हेलिकप्टरका पाइलट क्याप्टेन रनेश डङ्गोललाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पदमराज थापाले जानकारी दिए । पक्राउ पर्नेमा हेलिकप्टर चढेर पोखरादेखि वालिङ आएका ४ यात्रु तथा खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरेपछि अभद्र व्यवहार गर्ने २ जना रहेका छन् । उनीहरुमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । हेलिकप्टरमा आएका यात्रुमा वालिङका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरी र खीमबहादुर राना छन् । उनीहरुले पाइलट डङ्गोललाई जबरजस्ती खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण गर्न लगाएको प्रहरी प्रवक्ता थापाले बताए । हेलिकप्टर अवतरण गरेपश्चात पाइलटमाथि वालिङका यामबहादुर गुरुङ र सुरेश श्रेष्ठले अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासन तथा खेल आयोजक क्लबलाई पूर्वसूचना नदिइकन खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरिएको थियो ।
रजिष्ट्रार पण्डित भन्छन्- बिना धितो बिना ब्याज ऋण दिने कार्य सहकारीको मान्यताविपरीत
काठमाडौं । सहकारी अभियन्ताले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा सहकारी अभियन्ताले सहकारीमा विकृति भित्रन नदिने र विकृति फैलाउनेलाई कानुनको दायरामा ल्याउन सबैले सहयोग गर्ने बचन दिएका हुन् । मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले सहकारी अर्थतन्त्रको मुख्य क्षेत्र भएको र जनमानसमा यसप्रतिको विश्वास र भरोसालाई कायम राख्न सहकारीका सिद्धान्त र आदर्शलाई परिपालना गर्न आवश्यक रहेको बताए । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले गलत काम गर्ने सहकारीलाई दुरुत्साहन गर्न सबै सरोकारवालाको साझा दृष्टिकोण हुनुपर्ने बताए । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सबै सहकारीले सहकारिताको मूल मर्मअनुरुप काम गर्नुपर्ने र सरकारीमा अनुशासनहीनता स्वीकार्य नहुने धारणा राखे । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सञ्चालकले बिना धितो बिना ब्याज आफैँलाई ऋण दिने कार्य सहकारीको मान्यताविपरीत रहेको बताए । मन्त्रालयका सहसचिव निराजन घिमिरेले अहिले केही सहकारीमा भित्रिएको विकृति हटाउन कार्ययोजना बनाई लागू गरिने बताए ।