स्याङ्जा शीतभण्डारमा सुन्तला कुहिँदा लाखौंको क्षति
स्याङ्जा । स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दानी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । केही दिन अघि हेर्दा छ/सात क्यारेट जति सुन्तला कुहिएको उनले बताए । अब उहाँ चाँडै सुन्तला बिक्री गर्ने तयारीमा छन् । अहिले बोटबाटै प्रतिकिलो ८५ देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । ‘कुहिन थालेपछि शीतभण्डारमा राखिएको सुन्तला प्रतिकिलो ५० देखि ६० सम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ’, उनले भने । पुतलीबजार करेन्डाँडाका कृष्णजङ्ग केसीले भण्डारण गर्दाको बेला आठ लाख मूल्य पर्ने दुईसय ६६ क्यारेट सुन्तला भण्डारण गरे । सुन्तला कुहिएको पाएपछि उनले सस्तैमा सुन्तला बिक्री गर्न थालेका छन् । ‘मापदण्डअनुसार नै सुन्तला भण्डारण गरियो’ उनले भने, ‘यस्तो प्राविधिक विषयमा व्यवस्थापन पक्षको लापर्बाहीका कारण धेरै किसानले नोक्सानी व्यहोर्नुपरेको छ ।’ बर्सेनि एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेर त्यसकै भरमा घरखर्च चलाउने किसान बढी मर्कामा परेको उनले बताए । किसानले बढी मूल्य पाउने आशामा भण्डारण गरेको सुन्तला कुहिँदा घाटा खेप्नुपर्ने बाध्यता तथा पेशाबाट नै पलायन हुने चिन्ता छ । गत वर्ष सुन्तला तथा आलुको भण्डारण राम्रो भए पनि यसपटक के कति कारणले सुन्तलामा खराबी आयो भन्नेबारे अध्ययन भइरहेको शीतभण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा छ । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका सुन्तला यहाँ भण्डारण गरिएको थियो । भण्डारण गरिएको सुन्तलामा खराबी देखिएपछि सुन्तला सुपरजोन, कृषि ज्ञानकेन्द्र स्याङ्जा, रामपुर कृषि क्याम्पसलगायतका कार्यालयबाट प्राविधिक आएर निरीक्षण तथा अध्ययन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । हाल एक हजार तीन सय टन क्षमताको शीतभण्डार सञ्चालनमा छ । सोही ठाउँमा एक हजार दुई सय टन क्षमताको अर्को शीतभण्डार निर्माणको क्रममा छ । यसपटक सुन्तलाको उत्पादन धेरै भएकाले किसानले धेरै सुन्तला भण्डारण गर्न ल्याएको सुन्तला सुपरजोन कार्यक्रमका प्रमुख माधव लम्सालले बताए । शीतभण्डारमा भण्डारण गरिएको सुन्तला केही मात्रामा कुहिएपछि धेरै भण्डारण गर्ने किसानलाई बढी मर्का परेको छ । रासस
हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध
काठमाडौं । तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जसका कारण आज काठमाडौँको न्यूनतम तापक्रम छ डिग्रीसेल्सियस र अधिकतम तापक्रम २२ डिग्रीसेल्सियस रहेको छ ।
२ लाख राशीको ‘शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार’ उत्कृष्ट संस्था र व्यक्तिलाई दिने
काठमाडौं । स्वावलम्बन विकास केन्द्रले शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कारका लागि मनोनयन दर्ता गर्न आग्रह गरेको छ । स्वावलम्बन विकास केन्द्रले ‘शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार’ प्रदान गर्ने भएकाले मनोनयन दर्ता गर्न आग्रह गरेको हो । उक्त पुरस्कार विपन्न, निसहाय तथा निमुखा वर्गको जीवनस्तर उकास्न र स्वरोजगारमुलक उद्यम तथा व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने र लघुवित्त सेवा दिने कार्यमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट संस्था वा व्यक्तिलाई पुरस्कार प्रदान गरिन्छ । उक्त पुरस्कार स्वच्छ लघुवित्तको अभियन्ता एवम् केन्द्रका संस्थापक सदस्य शंकर मान श्रेष्ठको नाममा ‘शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार’ स्थापना गरिएको हो । सोही अनुसार आर्थिक वर्ष २०७८÷७९ को लागि लघुवित्त संस्थाहरु तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरुलाई मनोनयन गर्न आग्रह गरेको हो । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिक साधारण सभामा उक्त पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ । लघुवित्त संस्थाहरु तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरुले ४५ दिन भित्र स्वावलम्बन विकास केन्द्र माइतीघर हाईट काठमाडौंमा पुग्ने गरी हुलाक, अन्य सेवा वा अनलाइनबाट समेत आवेदन दिन सकिनेछ ।
सूर्यज्योति लाइफले सम्पत्ति बिक्री गर्दै
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । साविक सूर्या लाइफको कर्पोरेट कार्यालय रहेको श्री कम्प्लेक्सको तेस्रो तथा चौथो तल्लामा जडित तथा निर्माण भएका सम्पत्तिहरु जे जस्तो अवस्थामा छ सोही अबस्थामा बिक्री गर्ने भएको हो । इच्छुक व्यक्ति वा संस्थाहरुले उक्त सम्पत्तिहरु खरिदको लागि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले ३ दिन अर्थात् १५ गतेभित्र बोलपत्र पेश गर्न आग्रह गरेको छ । कम्पनीले फर्निचर तथा फिक्सचर्स, फल्स सिलिङ्ग, सिभिल कन्सट्रक्सन लगायत लिजहोल्ड सहित उक्त कार्यालयमा जडित स्थिर सम्पत्तिहरु, सोफासेट, टेबल तथा कुर्सिहरु तथा कार्यालय सामाग्रिहरु, सिसिटिभि क्यामेरा, रेकर्डर, एनभिआर सृट, टेलिभिजन र सिलिङ्ग तथा वाल एसी बिक्री गर्ने भएको हो ।
सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने
काठमाडौं । सरकारले सुर्तीजन्य कम्पनीलाई बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य कम्पनीले आफ्नो कम्पनीको चुरोट, सुर्तीको दररेटसहित विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको जानकारी दिए । उनले कम्पनीले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहित चुरोट, गुट्खा र बिँडीको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको बताए । उनले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ विपरीत ती कम्पनीले पसल अगाडि चुरोट, गुटखा र बिँडीको नाम र मूल्यसहित पोस्टर टाँस गरेको पाइएकाले रोक्न निर्देशन दिएको बताए । उनले चुरोट, गुट्खा र बिँडीको मूल्यसहित पोस्टर टाँस गरिएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा १७ र जनस्वास्थ्य ऐन, २०७५ को दफा ५३ बमोजिम उक्त चुरोट कम्पनीलाई जरिवाना गरिने बताए ।
अवैध औषधि पसल मानवीय स्वास्थ्यमा खेलबाड गर्दै गर्भपतनदेखि चिरफारसम्म
काठमाडौं । मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ । बुधबार भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी सञ्चालन गरेको, सम्बन्धित विषयमा अध्ययन नगरेको व्यक्तिलाई औषधि बिक्री गर्न राखेको, अनुमतिबिना क्लिनिकमै गर्भपतनदेखि चिरफारसमेत गरेको पाइएको हो । अनुगमन गरिएका केही औषधि पसलमा लागुऔषधका रुपमा लिइने र चिकित्सकको अनुमतिबिना बिक्री गर्न नपाइने नार्कोटिक पनि जथाभावी बिक्री गरेको पाइएको अनुगमन समितिका निरीक्षक रामकृष्ण प्रजापतिले बताए । अनुगमनमा लोकहित डेन्टल होम, च्याम्हासिंह मेडिकल हल, कल्याण फार्मेसी, नवदुर्गा औषधि पसल बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ । समितिले बिक्रीका लागि राखिएको म्याद नाघेका औषधि ओविचेक–१०० एस आर, फेबु–४० लगायतका औषधि जफत गरी नष्ट गरेको निरीक्षक प्रजापतिले जानकारी दिए ।
बसाइँसराइले गाउँ रित्तिने खतरा
बलेवा । बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो ५ महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट ५ महिनाको अवधिमा ५८ परिवारका २२१ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क धेरै छ । ८ वटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए । बिहुँबाट मात्रै ५ महिनामा २२ परिवारका ८४ जना सदस्यले गाउँ छोडेका छन् । वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाको परिवार धेरै बसाइँ सरेका छन् । वडा नं ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ । यो वडाबाट ५ महिनामा ११ परिवारका ४३ सदस्य बसाइँ सरेको तथ्याङ्क छ । गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छोडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस (हाल वडा नं ५ र ६) मा सदरमुकामदेखि छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । २ वटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भए पनि गाउँ रित्तिन नछोडेको उपाध्यक्ष थापा बताउँछन् । ‘अहिले राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि पहिल्यै बसाइँ सरेकाले पनि घटना दर्ता गराए भन्ने हाम्रो आँकलन छ, यस्तै अवस्थामा बसाइँसराइ रहने हो भने हामीले गाउँमा विकास पुर्याउने, गाउँ खाली हुने अवस्था हुन्छ, यसप्रति हामी चिन्तित र सचेत छौँ,’ उनले भने । काठेखोलामा सबैभन्दा कम बसाइँसराइ वडा नं ६ लेखानीमा छ । यो वडाबाट ५ महिनाको अवधिमा एक परिवारका ३ जना सदस्य मात्रै गाउँ छोडेर अन्यत्रै गएको थापाले जानकारी दिए । वडा नं १ पालाबाट २ परिवारका ८, वडा नं २ भीमापोखराबाट ६ परिवारका १८, वडा नं ३ धम्जाबाट ५ परिवारका १९, वडा नं ४ तङ्ग्रामबाट २ परिवारका १२ र वडा नं ७ रेशबाट ९ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ । बसाइँ सर्नेमा आर्थिक हिसाबले मध्यम वर्ग कम रहेको वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले बताए । ‘कतिपय बसाइँ सर्ने लहरको पछि लागेर गएका छन्, कतिपयको परिस्थितिले बसाइँसराइ गराएको छ, वैदेशिक रोजगारी बसाइँसराइलाई थप सहयोग गरिरहेको छ,’ उनले भने । गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला मजदुरी गरेर खाने अवसरको खोजीमा सहरबजार झरेका छन् भने आर्थिकरुपले सक्षम भएका देशका ठूला सहर र तराई बसाइँ सरेका छन् । ‘उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेस झर्ने गरेका कारणले पनि बसाइँसराइको तथ्याङ्क बढ्दो छ, हाम्रो गाउँपालिका दुर्गम होइन तर गाउँ छोड्नेको कमी रहेन्,’ उनले भने । गाउँपालिकामा पछिल्लो ५ महिनामा ११ परिवार गाउँ फर्किएका छन् । बसाइँसराइ गरेर गाउँ छोडेका ११ परिवारका २८ सदस्य गाउँ फर्केको थापाले बताए । गाउँ फर्किनेको सङ्ख्या पनि अन्य वडाभन्दा बिहुँमा बढी छ । वडा ५ बिहुँमा ५ परिवारका १६ जना, वडा नं ६ बिहुँमा ३ परिवारका ५ जना गाउँ फर्केका छन् । वडा नं २ मा एक परिवारका ५ जना र वडा नं ८ मा २ परिवारका २ जना गाउँ फर्किएका छन् । बसाइँसराइको तथ्याङ्क बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सोहीअनुसार तर्जुमा गर्ने योजना बनाएको छ । पछिल्लो तथ्याङ्कलाई आधार मानेर आफूहरुले छलफल थालेको उपाध्यक्ष थापा बताउँछन् । ‘अर्को ५ महिना कुरेर हामीले तथ्याङ्क तयार गर्छौँ, अवस्था यस्तै रह्यो भने विचार गर्ने बेला आयो, बनेका संरचनाको उपयोग कसले गर्छ भन्ने चिन्ता हुन थाल्यो,’ थापाले भने । यहाँबाट बसाइँ सरेका कसैले पनि घर गोठ, पाखोबारी र खेत भने बिक्रि गरेका छैनन् । जसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ । बागलुङका १० वटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँसराइ धेरै भएका छन् । काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँसराइको दर उच्च छ । ‘यही वर्ष मात्रै मैले पाँच परिवारलाई चितवन पुर्याएर फर्किएको छु, गाउँ त खाली हुने भए, पहाडको जग्गा बाँझै राखेर, तराईमा घडेरी मात्रै भएका पनि बसाइँ सरेका छन्,’ यातायात व्यवसायी तेजेन्द्र नेपाली भने । जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सु गाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्ले गाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमुना हुन् । यी गाउँका अधिकांश घरहरु खाली छन् । जैमिनी नगरपालिकाले भूउपायोग नीति नै बनाएर बसाइँसराइ रोक्ने प्रयास गरेको छ । गलकोट नगरपालिका र बरेङ गाउँपालिकाले पनि बसाइँसराइ बढ्दो रहेको बताउँदै आएका छन् । ‘दुर्गम गाउँबाटभन्दा सुगम गाउँबाट बसाइँ सर्ने धेरै छन्, कसरी थाम्न सकिन्छ भन्ने उपाय नै खोज्न सकिएन्,’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले भने ।
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै
काठमाडौं । वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् । पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ । जलेश्वर नगरपालिका–८ का रामबाबु चौधरीका अनुसार किसानले आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायत वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरिरहेका छन् । गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर पूजा गरिँदै छ । हलो र गोरुको पूजा गरिसकेपछि खेत जोत्ने चलन छ । किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने चलन रहेको जलेश्वर–६ का गणेश साहले बताउनुभयो । किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितका कृषि औजारलाई नयाँ धार लगाएर प्रयोग गर्ने गर्दछन् । श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चामलमा सख्खर मिसाएर प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन् । मिथिलाञ्चलका किसान आजका दिनदेखि खेतीपाती सुरु भएको मान्छन् । आजैका दिनदेखि आ–आफ्नो बाँझो खेतबारी जोत्ने कामको शुभारम्भ गर्दछन् । मिथिलाञ्चलको गाउँ गाउँमा आज सयौँ गोरु एकसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेको देख्न पाइन्छ । जलेश्वर–११ का किशुन विच्छा पछिल्लो समय ट्र्याक्टर, पावर टिलरलगायत यन्त्र भित्रिए पनि सबै खेतबारीमा सहजरुपमा पुग्न नसक्ने, आफूले चाहेअनुसारको खेतबारी खनजोत गर्न नसक्ने हुनाले खेतीपातीका लागि हलो र गोरु नै सहज हुने बताउँछन् ।