
काठमाडौं । स्वावलम्बन विकास केन्द्रले शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कारका लागि मनोनयन दर्ता गर्न आग्रह गरेको छ । स्वावलम्बन विकास केन्द्रले ‘शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार’ प्रदान गर्ने भएकाले मनोनयन दर्ता गर्न आग्रह गरेको हो ।
उक्त पुरस्कार विपन्न, निसहाय तथा निमुखा वर्गको जीवनस्तर उकास्न र स्वरोजगारमुलक उद्यम तथा व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने र लघुवित्त सेवा दिने कार्यमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट संस्था वा व्यक्तिलाई पुरस्कार प्रदान गरिन्छ ।
उक्त पुरस्कार स्वच्छ लघुवित्तको अभियन्ता एवम् केन्द्रका संस्थापक सदस्य शंकर मान श्रेष्ठको नाममा ‘शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार’ स्थापना गरिएको हो । सोही अनुसार आर्थिक वर्ष २०७८÷७९ को लागि लघुवित्त संस्थाहरु तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरुलाई मनोनयन गर्न आग्रह गरेको हो ।
स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिक साधारण सभामा उक्त पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ ।
लघुवित्त संस्थाहरु तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरुले ४५ दिन भित्र स्वावलम्बन विकास केन्द्र माइतीघर हाईट काठमाडौंमा पुग्ने गरी हुलाक, अन्य सेवा वा अनलाइनबाट समेत आवेदन दिन सकिनेछ ।