विकासन्युज

स्वाभिमान लघुवित्तको २१.०५२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समित माघ ११ गते बसेको बैठकले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँ रहेको छ । जसमा २ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १२ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र

अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो । बुधबार अमलेखगञ्जस्थित कार्यालयमा सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै कार्यालयका प्रमुख प्रदीपकुमार यादवले आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिए । उक्त योजनाअन्तर्गत चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिने छ । त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माणसमेत यही योजनाअन्तर्गत निर्माण हुनेछ । लिखिता इन्फास्ट्रक्चर प्रालिले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी सबै पूर्वाधार निर्माणको ठेक्का दिइएको कार्यालयले जनाएको छ । उक्त योजनाका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्तरुपमा लगानी गर्ने गरी सम्झौता गरेका छन् । यसअन्तर्गत दुई पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एक/एक ट्याङ्कको लागत बेहोर्नेछन् । त्यस्तै, पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय पक्षले निर्माण गरिदिनेछ । यसो गर्दा आइओसीले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिए । निगमले एउटा पेट्रोल ट्याङ्क, २४ रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्नेछ । यो समेत गरी निगमको एक अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान रहेको उनले बताए । यो आयोजना यही वर्षको डिसेम्बरसम्म निर्माण सम्पन्न भई अङ्ग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । योसँगै २०७६ भदौदेखि डिजेल मात्रै आयात भइरहेको पाइपलाइनबाट पेट्रोल समेत आयात सुरु हुनेछ । एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो । आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुनेछ । यसबाट अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्याङ्करको सङ्ख्या शून्य हुनेछ । यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख यादवको भनाइ छ । यसबाट वार्षिक करिब १५ करोड बचत हुने अनुमान गरिएको उनले जानकारी दिए । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ । ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार यसपछि थप पाँच/पाँच हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारीसमेत सुरु गरिएको उनको भनाइ छ । यसको ठेक्का रेलिगेर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । उक्त योजना समेत निर्माण सम्पन्न भएपश्चात् पाँच दिनको माग धान्नसक्ने डिजेल र सात दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने कार्यालयले जनाएको छ । रासस

रुपन्देहीको छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै

रुपन्देही । द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजस्व सङ्कलनसमेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा छ । छवटा छोटी भन्सार अझै सञ्चालनमा आउन सकेका छैनन् । द्वन्द्वकालमा बन्द भएका यी भन्सार सञ्चालनमा नआउँदा स्थानीयलाई पनि मर्का परेको छ लाखौँ रुपैयाँको राजस्व चुहावट भइरहेको छ । रोहिणी गाउँपालिका–२ स्थित अमवा भन्सार कार्यालय चााडो सञ्चालन गर्नुपर्ने आवाज उठ्दै गएको छ । भन्सार कार्यालय नहुँदा बेलहिया पुग्नुपर्ने बाध्यता छ । साविकमा भैरहवा भन्सार कार्यालयअन्तर्गत नै नवलपरासीका पाँचवटै छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । महेशपुर छोटी भन्सार कार्यालय हाल स्तरोन्नति भई मुख्य भन्सार कार्यालयमा परिणत भएको छ । नवलपरासीमा सबै छोटी भन्सार कार्यालय सञ्चालनमा आए पनि रुपन्देहीमा एउटा मात्र सञ्चालन छ । रोहिणी गाउँपालिकामै पर्ने बुची बरवा छोटी भन्सार कार्यालय पुनःस्थापनाको माग गरिएको छ । रुपन्देहीमा केही समय सञ्चालनमा आएको थुम्हवा पिपरहवा छोटी भन्सार पनि हाल बन्द छ । जिल्लामा बुची बरवा, अमवा, पक्लिहवा, बेथरी, मन्झरिया, थुम्हवा पिपरहवा र लुम्बिनी छोटी भन्सार कार्यालय स्थापना गरिएका थिए । कर्मचारी अभावका कारण छोटी भन्सार सञ्चालन गर्न नसकिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए । ‘सीमामा छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन भारतमा पनि सोहीअनुसारको भन्सार कार्यालय स्थापना हुनुपर्ने बाध्यात्मक अवस्था छ’, उनी भन्छन् । सुरु सुरुमा भारतबाट आउने नाकामा सहजताका लागि छोटी भन्सार स्थापना गरिएका थिए । छोटी भन्सार कार्यालयका नाममा रहेको सम्पति क्रमशः सशस्त्र प्रहरीको बर्डर आउट पोष्ट कार्यालयलाई हस्तान्तरण गरिने उनले जानकारी दिए । बन्द रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनद गर्न रोहिणी गाउँपालिकाले पटकपटक सम्बन्धित कार्यालयमा पत्राचार गरेको थियो । रोहिणीका पूर्वअध्यक्ष सनोजकुमार यादव भन्सार नहुँदा सो स्थानबाट ठूलो परिमाणमा तस्करी हुँदै आएको बताउँछन् । भैरहवा भन्सार कार्यालय प्रमुख पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले ९९ अर्ब ६५ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा एक खर्ब १२ अर्ब ५४ करोड ५१ लाख राजस्व असुल भएको थियो । आव २०७८/७९ मा एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख राजस्व सङ्कलन भएको थियो । यस्तै चालु आवको पुससम्म ७३ अर्ब ५४ करोड १९ लाख राजस्वको लक्ष्य राखेकामा ३५ अर्ब ४४ करोड २२ लाख मात्र राजस्व सङ्कलन भएको पौडेलले बताए ।

वालेटमार्फत अन्तर्राष्ट्रिय टिकट काट्ने व्यवस्था गर्दै निगम

काठमाडौं । नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टासँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्नेगरी कार्यदल गठन गरेको हो । निगमको टिक बिक्री वृद्धि गर्नका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनका लागि कार्यदल गठन गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । आठ सदस्यीय कार्यदलमा निगमको वाणिज्य निर्देशक जनकराज कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, साधरण सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल घिमिरे र वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे रहेका छन् । त्यस्तै नाट्टाको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमार मणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा र कार्यसमिति सदस्य सवला भण्डारी रहेका छन् । ‘ग्रोस फेयर्र’, न्यायोजित र सरलीकृत ढङ्गमा टिकटको बिक्री व्यवस्थापन गर्ने, ‘ग्रुप फेयर’, ‘भोइड’ टिकट ‘चार्ज फ्लाईट’ सम्बन्धी प्रभावकारी बनाउने विषयमा दुवै संस्थाका उच्च पदाधिकारीबीच छलफल भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही माघ ९ गते निगमको मुख्यालयको निरीक्षणका क्रममा आवश्यक निर्देशन दिँदै निगमको सेवालाई सुस्त र प्रभावकारी बनाउँदै र एक महिनाभित्र निगमको अनलाइन टिकटको व्यवस्थापन गर्न आग्रह गरेका थिए । निगमका प्रवक्ता खड्काका अनुसार आन्तरिकतर्फ यसअघि नै अनलाइन टिकट व्यवस्थापन गरिएको छ । अन्तर्राष्ट्रियमा पनि निगमको बेवसाइटमार्फत अन्तर्राष्ट्रिय कार्ड होल्डरले टिकट काट्न सक्छन् । लोकल वालेटमार्फत टिकट काट्न सक्ने गरी यही जनवरी अन्तिमसम्म व्यवस्थापन गरिने निगमले उल्लेख गरेको छ ।

स्याङ्जा शीतभण्डारमा सुन्तला कुहिँदा लाखौंको क्षति

स्याङ्जा । स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दानी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । केही दिन अघि हेर्दा छ/सात क्यारेट जति सुन्तला कुहिएको उनले बताए । अब उहाँ चाँडै सुन्तला बिक्री गर्ने तयारीमा छन् । अहिले बोटबाटै प्रतिकिलो ८५ देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । ‘कुहिन थालेपछि शीतभण्डारमा राखिएको सुन्तला प्रतिकिलो ५० देखि ६० सम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ’, उनले भने । पुतलीबजार करेन्डाँडाका कृष्णजङ्ग केसीले भण्डारण गर्दाको बेला आठ लाख मूल्य पर्ने दुईसय ६६ क्यारेट सुन्तला भण्डारण गरे । सुन्तला कुहिएको पाएपछि उनले सस्तैमा सुन्तला बिक्री गर्न थालेका छन् । ‘मापदण्डअनुसार नै सुन्तला भण्डारण गरियो’ उनले भने, ‘यस्तो प्राविधिक विषयमा व्यवस्थापन पक्षको लापर्बाहीका कारण धेरै किसानले नोक्सानी व्यहोर्नुपरेको छ ।’ बर्सेनि एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेर त्यसकै भरमा घरखर्च चलाउने किसान बढी मर्कामा परेको उनले बताए । किसानले बढी मूल्य पाउने आशामा भण्डारण गरेको सुन्तला कुहिँदा घाटा खेप्नुपर्ने बाध्यता तथा पेशाबाट नै पलायन हुने चिन्ता छ । गत वर्ष सुन्तला तथा आलुको भण्डारण राम्रो भए पनि यसपटक के कति कारणले सुन्तलामा खराबी आयो भन्नेबारे अध्ययन भइरहेको शीतभण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा छ । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका सुन्तला यहाँ भण्डारण गरिएको थियो । भण्डारण गरिएको सुन्तलामा खराबी देखिएपछि सुन्तला सुपरजोन, कृषि ज्ञानकेन्द्र स्याङ्जा, रामपुर कृषि क्याम्पसलगायतका कार्यालयबाट प्राविधिक आएर निरीक्षण तथा अध्ययन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । हाल एक हजार तीन सय टन क्षमताको शीतभण्डार सञ्चालनमा छ । सोही ठाउँमा एक हजार दुई सय टन क्षमताको अर्को शीतभण्डार निर्माणको क्रममा छ । यसपटक सुन्तलाको उत्पादन धेरै भएकाले किसानले धेरै सुन्तला भण्डारण गर्न ल्याएको सुन्तला सुपरजोन कार्यक्रमका प्रमुख माधव लम्सालले बताए । शीतभण्डारमा भण्डारण गरिएको सुन्तला केही मात्रामा कुहिएपछि धेरै भण्डारण गर्ने किसानलाई बढी मर्का परेको छ । रासस

हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध

काठमाडौं ।  तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जसका कारण आज काठमाडौँको न्यूनतम तापक्रम छ डिग्रीसेल्सियस र अधिकतम तापक्रम २२ डिग्रीसेल्सियस रहेको छ ।

२ लाख राशीको ‘शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार’ उत्कृष्ट संस्था र व्यक्तिलाई दिने

काठमाडौं । स्वावलम्बन विकास केन्द्रले शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कारका लागि मनोनयन दर्ता गर्न आग्रह गरेको छ । स्वावलम्बन विकास केन्द्रले ‘शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार’ प्रदान गर्ने भएकाले मनोनयन दर्ता गर्न आग्रह गरेको हो । उक्त पुरस्कार विपन्न, निसहाय तथा निमुखा वर्गको जीवनस्तर उकास्न र स्वरोजगारमुलक उद्यम तथा व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने र लघुवित्त सेवा दिने कार्यमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट संस्था वा व्यक्तिलाई पुरस्कार प्रदान गरिन्छ । उक्त पुरस्कार स्वच्छ लघुवित्तको अभियन्ता एवम् केन्द्रका संस्थापक सदस्य शंकर मान श्रेष्ठको नाममा ‘शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार’ स्थापना गरिएको हो । सोही अनुसार आर्थिक वर्ष २०७८÷७९ को लागि लघुवित्त संस्थाहरु तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरुलाई मनोनयन गर्न आग्रह गरेको हो । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिक साधारण सभामा उक्त पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ । लघुवित्त संस्थाहरु तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरुले ४५ दिन भित्र स्वावलम्बन विकास केन्द्र माइतीघर हाईट काठमाडौंमा पुग्ने गरी हुलाक, अन्य सेवा वा अनलाइनबाट समेत आवेदन दिन सकिनेछ ।

सूर्यज्योति लाइफले सम्पत्ति बिक्री गर्दै

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । साविक सूर्या लाइफको कर्पोरेट कार्यालय रहेको श्री कम्प्लेक्सको तेस्रो तथा चौथो तल्लामा जडित तथा निर्माण भएका सम्पत्तिहरु जे जस्तो अवस्थामा छ सोही अबस्थामा बिक्री गर्ने भएको हो । इच्छुक व्यक्ति वा संस्थाहरुले उक्त सम्पत्तिहरु खरिदको लागि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले ३ दिन अर्थात् १५ गतेभित्र बोलपत्र पेश गर्न आग्रह गरेको छ । कम्पनीले फर्निचर तथा फिक्सचर्स, फल्स सिलिङ्ग, सिभिल कन्सट्रक्सन लगायत लिजहोल्ड सहित उक्त कार्यालयमा जडित स्थिर सम्पत्तिहरु, सोफासेट, टेबल तथा कुर्सिहरु तथा कार्यालय सामाग्रिहरु, सिसिटिभि क्यामेरा, रेकर्डर, एनभिआर सृट, टेलिभिजन र सिलिङ्ग तथा वाल एसी बिक्री गर्ने भएको हो ।