विकासन्युज

पोखराका व्यस्त सडकमा ‘पार्किङ’ गर्न रोक

  पोखरा । पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले सोमबार सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो। महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो। ‘मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भएर आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ’, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने। महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ। सूचनामा तोकिएको क्षेत्रहरूमा मात्र ‘पार्किङ’ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालामा आग्रह गरेको छ ।

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौं : मुख्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिएका छन् । सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताए। ‘अहिले प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन, विश्वासको मत लिएपछि हामी यो अभियानमा लाग्छौं’, उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा रहेका थुप्रै खानीहरूको उत्खनन गर्न जरुरी छ ।’ उनले यहाँ रहेका प्राकृतिक एंव सांस्कृतिक सम्पदा संरक्षण, प्रवद्र्धन प्रदेश सरकारले यसमा विशेष ध्यान दिने बताए । ‘विसं २०६२/६३ को आन्दोलनका बेला म आँफै पनि यो अस्पताल व्यवस्थापन समितिको अध्यक्ष थिएँ, यहाँका सबै समस्या मैले बुझेको छु’, मुख्यमन्त्री रावलले भने, ‘अस्पतालमा ‘डायलायसिस’ र ‘सिटीस्क्यान’ सेवाका लागि संघीय सरकारसँग पहल गर्छु ।’ महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा जनशक्ति अभावकै कारण सेवा प्रभावित हुने गरेको जनाउँदै आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गरे । ‘हामीसँग पर्याप्त जनशक्ति छैन, भएको जनशक्तिलाई पनि तलब खुवाउन सकिने अवस्था छैन’, उनले भने, ‘यहाँ चिकित्सक अभावकै कारण बिरामीलाई अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था छ, यसको अन्त्य गर्नका लागि आग्रह गर्छु ।’ उनले महाकाली अस्पताललाई स्थापनाकालदेखि नै जनशक्ति अभाव रहेको जनाउँदै समस्या समाधान गर्न आग्रह गरे।

भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि

भोजपुर । भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो ।  यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । गत वर्ष पाँच हजार चार सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाको सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गर्दछ । अन्य बालीका तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने तथा घरैबाट बिक्री हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी विश्वास अङगाईँले बताए । ‘यस वर्ष भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि भएको छ’, उनले भने, ‘मौसम अनुकूल भएकाले सुन्तला राम्रो फलेको देखिन्छ । हामीले पनि किसानलाई प्राविधिक सहयोग गरिरहेका छौँ ।’ उत्पादन भएको सुन्तला प्रतिकेजी एक सयदेखि एक सय २० मा बिक्री हुँदैआएको छ । जिल्लाभर नौ सय २० हेक्टर क्षेत्रफमा सुन्तला खेतीभएको केन्द्रले जनाएको छ  । रासस

एशियन हाइड्रोले माघ २७ गतेदेखि आईपीओ बेच्दै, २० हजार कित्ता किन्न पाइने

काठमाडौं । एशियन हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गने भएको छ । कम्पनीले जारी पूँजी ८४ करोड रुपैयाँको २४.७१ प्रतिशतको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ४० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन २ गते र ढीलोमा फागुन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कालिञ्चोक दर्शनको आईपीओ बिहीबार बाँडफाँट हुने, १० कित्ता कतिले पाउँछन् ?

काठमाडौं । कालिञ्चोक दर्शनको आईपीओ बिहीबार बाँडफाँट गरिने भएको छ । कम्पनीको आईपीओ माघ १९ गते बिहीबार बिहान १० बजे बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको केन्द्रिय कार्यलय नारायणचौर नक्सालमा बाँडफाँट हुने भएको हो । कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र २ प्रतिशत अर्थात् २१ हजार ६ सय कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ । सर्वसाधारण लगानीकर्तालाई ८ लाख ९६ हजार ४ सय कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, सामूहिक लगानी कोषहरुका लागि र कर्मचारीहरुका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा १४ लाख ३२ हजार ८८१ ज्ना आवेदकले १ करोड ६६ लाख ८ हजार कित्ताका लागि १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन् । कम्पनीको आईपीओमा मागभन्दा १८.५२ गुणा बढी आवेदन परेको हो । कम्पनीको मागभन्दा धेरै आवेदन परेको हुनाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताको दरले बाँडफाँट गर्दा ८९ हजार ६४० जना लगानीकर्ताले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदकको हात रित्तो हुनेछ ।

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार सिभिल बैंक र किसान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सिभिल बैंकको ५ प्रतिशत बोनस वापतको ४५ लाख ३७ हजार ९२१.९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कस्ल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, किसान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस वापतको ७ लाख ८५ हजार ६१७.७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

एनआईसी एशिया लघुवित्तको नाफा १५ करोड रुपैयाँ, ईपीएस कति ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६१ प्रतिशत घटेर १४ करोड ९२ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३९ करोड १३ लखा २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३५ प्रतिशत घटेर ५४ करोड ७६ लाख २४ हजार रुपैयाँ गरेको छ । लघुवित्तले गत वर्षको सोही अवधिमा ८४ करोड ६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, लघुवित्तको नेटफि एण्ड कमिसन आम्दानी ५ करोड ९३ लाख २० हजार रुपैयाँ, सञ्चालन नाफा २१ करोड ३० लाख १२ हजार रुपैयाँ, कूल सञ्चाल आम्दानी ६१ करोड ३७ लाख ६८ हजार रुपैयाँ र वितरणयोग्य नाफा १० करोड १६ लाख ८९ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष ५६ करोड ११ लाख २९ हजार रुपैयाँ, सापटि रकम १५ अर्ब १० करोड २ लाख २९ हजार रुपैयाँ, निक्षेप ३ अर्ब ३६ करोड ६७ लाख १० हजार रुपैयाँ र कर्जा २० अर्ब ४४ करोड ४१ लख २१ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १७.२१ रुपैयाँ रहेको छ । यस्तै, मूल्य आम्दानी अनुपात ४७.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.५२ रुपैयाँ रहेको छ । लघुवित्तको आधार दर १४.७६ प्रतिशत, कस्ट अफ फण्ड ११.४४ प्रतिशत र खराब कर्जा ३.३८ प्रतिशत रहेको छ ।

सोल्टी होटलले जम्मा गर्याे २१.३१५ प्रतिशत लाभांश सेयरधनीको खातामा

काठमाडौं । सोल्टी होटलले सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको २१.३१५ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको २१.३१५ प्रतिशत नगद लाभांश पुस ६ गतेसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ । सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।