विकासन्युज

प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न पाउने उमेरलाई १८ वर्षमा झार्नुपर्छ : पूर्व कानूनमन्त्री

काठमाडौं । पूर्व कानूनमन्त्री माधव पौडेलले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रश्ताव राखेका छन् । बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताएका हुन् । उनले प्रतिनिधि सभा सदस्य बन्न पाउने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष राख्न उपयुक्त हुने बताए । उनले नेपालमा पुरातनवादी परम्परालाई पछ्याएका कारण प्रतिनिधि सभा सदस्य बन्न पाउने उमेर २५ वर्षमै यथावत रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताए । उनले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाएर नयाँ समयअनुसार परिवर्तन हुन सक्नुपर्ने बताए । उनले भने, ‘अब हजुरहरुले संविधानमा पनि सुधार गर्न जरुरी छ । उमेर घटाउनु पर्छ । २५ वर्ष जुन प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नका लागि तोकिएको छ, यो १८ औं शताब्दीको कुरा हो, संसार कहाँ पुगिसक्यो, अमेरिका फ्रान्समा १९,२० वर्षका मानिसहरु मेयर भइरहेका छन्, हाम्रो नेपालमा २५ वर्ष पुग्नैपर्ने के छ ? युवाहरुलाई आकर्षित गर्नपनि २५बाट घटाएर १८ वा २० वर्षमा ल्याउनुपर्छ ।’ पूर्वमन्त्री पौडेलले प्रतिनिधि सभा सदस्यको निर्वाचन नै ऐनमा तोकेर राख्न आवश्यक रहेको बताए । उनले विद्युतीय निर्वाचनलाई शुरुवात गर्नुपर्ने र निर्वाचन खर्चलाई कम गराउन आवश्यक रहेको बताए । उनले अहिले राजनीतिक दलबाट प्रयोग भइरहेको समानुपातिक निर्वाचन प्रणाली विकृत रुपमा प्रयोग गरिरहेको बताए ।

काठमाडौंदेखि रसुवाका ग्रामीण क्षेत्रमा बस सञ्चालन

रसुवा । हिमाली क्षेत्रका गाउँमा बस सञ्चालनमा आएपछि यहाँका स्थानीयको लामो तथा छोटो दुरीको यात्रा सहज भएको छ । जिल्लाको लाङटाङ्बाहेक अन्य क्षेत्रका गाउँमा सडक निर्माण भइसकेकाले बस व्यावसायीले नियमित सेवा दिन थालेपछि जिल्लादेखि राजधानीसम्मको यात्रा सहज भएको स्थानीय बताउँछन् । बस सञ्चालनमा आएपछि नियमित यात्रा गर्नका साथै एम्बुलेन्स सेवा, खाध्यान्न ढुवानी, विकास निर्माणका लागि आवश्यक मेसिनरी ढुवानी लगायतका काममा सहज भएको स्थानीयको भनाइ छ । उत्तरी रसुवाको टिमुरे, थुमन, तातोपानी, थाम्बुचेत, गतलाङ, हाकुबेँसी, दक्षिणी क्षेत्रको डाडाँगाउँ, ठूलोगाउँ, मनिगाउँ, कर्मिडाँडा, जिवजिवे, अम्बावास, भोर्ले, यार्सा सरमथली, पाटीखर्कलगायतमा नियमित बससेवा सञ्चालन भइरहेको स्थानीयको भनाइ छ । पूर्खाले भञ्ज्याङ चौतारीका गोरेटो तथा घोडेटो बाटोमा पैदलयात्रा गर्दथे तर अहिले सडक सञ्जाल विस्तार भएर बसबाट यात्रा गर्न थालेपछि दैनिकी सहज भएको बताइएको छ । काठमाडौंबाट बिहान छुट्ने बस साझ ५ बजेभित्र जिल्लामा पगिसक्ने स्थानीय चिरञ्जीवी पौडेलले बताए । उनका अनुसार यातायातको सुविधाका कारण यहाँ प्रकृतिको अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढेको छ । भ्रमणका लागि डाँडागाउँ, ठूलोगाउँ, आम भन्ज्याङ, धैवुङ–घुम्तीबजार, हाकुबेँसी, तातोपानी, उत्तरी क्षेत्रको धुञ्चेलगायतका स्थान रहेका होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले (निसान) ले जानकारी दिए । रासस

नवलपुर–पोखरा सडकको भौतिक प्रगति ८ प्रतिशत

कावासोती । नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो । नवलपुरको झ्यालबास हुँदै डेढगाउँ र डेढगाउँबाट तनहँकोु मानपुर फुला सडकमा जोडिएर पोखरासम्म पुग्ने यो सडकले जिल्लालाई प्रदेश राजधानी पोखरासँग जोड्ने छ । ३० महिनामा काम सम्पन्न गर्ने गरी लामा गौरीशङ्कर जेभीले विसं २०७९ वैशाखमा सडक निर्माणको जिम्मा पाएको थियो । ५१ करोड लागतमा निर्माण गरिने भनिएको भए पनि निर्माण कम्पनीले ३२ करोडमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको पूर्वाधार विकास कार्यालय नवलपुरका इन्जिनियर विष्णु पौडेलले जानकारी दिए । नवलपुरको झ्यालबासदेखि डेढगाउँसम्म १४ दशमलव एक किलोमिटर लम्बाइ रहेको सडक दुई लेनको बन्ने तथा कालोपत्रको भाग सात मिटरको रहने इन्जिनियर पौडेलले जानकारी दिए । उनका अनुसार अहिले दैनिक रुपमा ४० देखि ५० कामदारले काम गरिरहेको र डाँडा काट्ने काम भइरहेको छ । ‘अहिले बाटो फराकिलो पार्ने, डाँडा काट्ने र माटो हालेर पुर्नुपर्ने ठाउँमा काम भइरहेको छ’, पौडेलले भने । गत वैशाखमा सम्झौता भएको भए पनि वर्षाको समयमा काम गर्न नसकिएको र निर्माण सामाग्री पर्याप्त नभएकाले अपेक्षित भौतिक प्रगति हुननसकेको लामा गौरीशङ्कर जेभीका सञ्चालक पेमा लामाले बताए । सडक निमार्णका लागि कालीगण्डकी नदीबाट गिट्टी, बालुवा निकाल्न पाइने भनिएको तर त्यहाँबाट निकाल्न नपाउँदा निर्माणको कामले गति लिन नसकेको लामा बताउँछन् । ‘नजिकै रहेको कालीगण्डकी नदी तथा अन्य खोलाबाट गिट्टी बालुवा निकाल्न पाइएको छैन, त्यसैले काममा ढिलाइ भएको छ, टाढाबाट ल्याउँदा लागत बढी पर्छ, नजिकका खोलाबाट निर्माण सामग्री निकाल्ने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेका छौँ’, लामाले भने । नवलपुरलाई प्रदेश राजधानी पोखरा जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रुपमा निर्माण हुन लागेको यस सडकले नवलपुरको दुम्किबास हुँदै गण्डकी प्रदेशको भारतसँगको एक मात्र नाका त्रिवेणीलाई प्रदेश राजधानीसँग जोड्ने छ । त्रिवेणी–कोरला जोड्ने गण्डकी प्रदेश सरकारको गौरवको योजनाको एउटा खण्ड रहेको यो सडक निर्माण सम्पन्न भएपछि नवलपुरको पहाडी क्षेत्रका जनताको आर्थिक स्तर उकासिने मात्रै नभएर सम्रग नवलपुरको विकासको आधारशिला बन्ने निवर्तमान प्रदेशसभा सदस्य विष्णु लामिछानेले बताए । गण्डकी प्रदेशका निर्वमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले गत वर्ष फागुन १० गते शिलन्यास गर्नुभएको सडक विसं २०८१ असोजसम्ममा सम्पन्न हुने जनाइएको छ । रासस

बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

बलेवा । मध्यपहाडी लोकमार्गको बागलुङ-पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ।बागलुङ-पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो। मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ-पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ। आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ। रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ। पोखरा-बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो। सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो। चौवारीबाट ५० मिटरअगाडि हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले बताए। उनका अनुसार उक्त सडकमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रायोग गर्न भनिएको छ। बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई प्रदेशको राजधानी पोखरा र देशको राजधानी काठमाडौँलगायत देशका ठूला सहरसँग जोड्ने मुख्य राजमार्ग भएकाले यहाँका सर्वसाधारण प्रभावित हुनेछन्। यो सडक खण्डमा दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन्।

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकोको मूल्य बढेपछि आईओसीले निगमलाई मूल्य बढाएर पठाएको हो । बुधबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको छ ।

पर्यटकीय हब बन्दै गाजाको दह

ढोरपाटन । अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा पर्ने गाजाको दह निकै चर्चित भए पनि अझै आझेलमा छ । प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ र गलकोट नगरपालिका तथा बरेङ गाउँपालिकाको सङ्गमस्थल हो । दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाको दहमा पुग्ने जो कोही पनि मोहित हुने गर्छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिन्छ । प्रत्येक याममा यहाँको सुन्दरता फरक–फरक देख्न सकिन्छ । गाडीमा भन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमाञ्चक बन्छ । वन, पाखा, खोला, झरना, गाउँले जीवनशैली र दर्जनौँ हिमशृङ्खलाले मनै लोभ्याउँछ । बागलुङ नगरपालिका–८ सिगाना, बौँडेचौर, रेशको चापखर्क हुँदै यहाँ पुग्दा घनाजङ्गल पर्दछ । अझ यहाँ रहेको दहले धेरैलाई आकर्षित गर्छ । दह वरपरका परम्परागत घर अहिले पनि देख्न सकिन्छ । गाजा दह क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माणमा चासो नदिँदा ओझेलमा पर्न थालेको स्थानीय गोपाल छन्त्यालले बताए । दहसँगै यहाँ बराह थान पनि रहेको छ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने थापा बताउँछन् । खास गरी यहाँ हरेक वर्ष वैकुण्ठ चतुर्दशीमा मेला लाग्ने र मेलामा देशभरबाट पर्यटक आउने गरेको उनको भनाइ छ । थापाले यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको बताउँछन् । ‘अहिले जति पनि पर्यटक आउँछन्, उनीहरु पुरानै प्रचारका कारणले आएका हुन्, पछिल्लो समय गाजाको दहको प्रचारप्रसारमा कमी छ, यति महत्वपूर्ण र रमणीय ठाउँ छन्, पर्यटक बढाउन सकिएको छैन’, छन्त्यालले भने, ‘प्रचार कम छ, यहाँ नयाँ संरचना पनि खासै बनेका छैनन्, प्रचारप्रसारलाई व्यापक बनाउने र यहाँ पूर्वाधार निर्माण गर्न सक्ने हो भने वर्षमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ ।’ पहिलेको तुलनामा केही परिवर्तन आएपछि गाजा दहमा पर्यटकीय आकर्षण बढेको उहाँको भनाइ छ । विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधि पनि समय–समयमा अवलोकन भ्रमणका लागि आउने गरेको उनी बताउँछन् । पछिल्लो समय खाना र बस्नको राम्रो व्यवस्था भएपछि रातमा पनि घुम्न आउनेको सङ्ख्या बढेको छन्त्याल बताउँछन् । सडकको पहुँच पुगे पनि निकै जोखिमपूर्ण छ । जोखिमपूर्ण यात्रा गर्न धेरैले रुचाउँदैनन् । गुल्मीको शान्तिपुरबाट घुम्न आउनुभएका प्रवेश क्षेत्रीले सडकको स्तरोन्नति गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने बताए । ठाउँ निकै रमणीय भए पनि यसको प्रचारप्रसार र भौतिक संरचना बनाउन सके बाह्य पयर्कटलाई समेत आकर्षित गर्न सकिने उनले बताए । क्षेत्री भन्छन्, ‘फोटो र भिडियोमा निकै सुन्दर देखिन्छ गाजाको दह, म पनि भिडियोमा देखेर घुम्न आएको हुँ, ठाउँ त धेरै रमाइलो रहेछ, तर बाटो निकै अप्ठ्यारो रैछ, बाटोमा जोखिम मोल्दै आए पनि यहाँ आएर देखिने दृश्यले त्यो दुःख र समस्या भुलाइदिँदो रैछ, तर यहाँको विकास गर्न धेरै बाँकी रैछ, सडक मात्रै पनि राम्रो भयो भने यहाँ आउन सहज हुने थियो ।’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाजाको दहको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण योजना बनाएर लागेको बताए । उनले यो ठाउँ ऐतिहासिक भएको भन्दै यहाँका संरचना तथा दहको संरक्षणका लागि विगतदेखि नै काम गर्दै आएको बताए । यहाँको दहमा बाह्रै महिना पानी हुने र यहाँ देखिने छायाँले धेरैलाई आकर्षित गर्ने गरेको उपप्रमुख शर्माको भनाइ छ । उपप्रमुख शर्मा भन्छन्, ‘यो ठाउँ धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ, हरेक वर्ष टाढा–टाढाबाट यहाँ भक्तजन पूजाआजा गर्न आउँछन्, यस्तो महत्वपूर्ण क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि नगरपालिकाले निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ, अहिलेसम्म केही आधार तयार भएको छ, यसको थप विकासका लागि गुरुयोजना बनाएर पूर्वाधार निर्माण गर्ने चरणमा छौँ ।’ अहिलेसम्म यहाँ खानेपानी, मन्दिर व्यवस्थापन, शौचालय तथा सडक निर्माणको काम गरिसकेको र अन्य संरचना निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने उपप्रमुख शर्मा बताउँछन् । यस वर्ष थप संरचना निर्माणका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेको शर्माले जानकारी दिए । यस क्षेत्रलाई पर्यटकीय हब बनाउनका लागि निजी कम्पनीसँग सहकार्य गर्ने उनको भनाइ छ । रासस

‘थोरै खाऔँ सही मात्रामा खाऔँ आयोडिनयुक्त नुन’

काठमाडौं । आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश हो । नेपालमा सन् १९९८ देखि ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाइँदै आइएको छ । विशेषगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित सम्बन्धित निकायका सहकार्यमा आयोडिनको कमीले हुने समस्यालाई निवारण गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यस वर्षको नारा ‘थोरै खाओँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अङ्कित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने रहेको कर्पोरेसनले जनाएको छ । हाल आयोडिनको कमीबाट उत्पन्न विभिन्न समस्यामध्ये देखिने गलगाँड ‘भिजिबल गोइटर’ समुदायमा नदेखिएको कर्पोरेसनले जनाएको छ । सन् १९८६ मा देखिने गलगाँड ४४।२ प्रतिशत रहेकामा सन् २००७ मा ०।४ प्रतिशतमा झर्न सफल भएको थियो । सरकारले दिएको निर्देशनअनुसार कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको छ । सरकारले उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर सङ्ख्या शत्प्रतिशतमा पु¥याउने नीति लिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेअनुसार हाल ९१।० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरिरहेका छन् । यसैगरी सन् २०१६ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार ९४।५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेका छन् । ‘अतः यस उपलब्धिलाई जोगाइराख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ’, कर्पोरेसनद्वारा आज यहाँ जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कर्पोरेसनले आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका विषयमा जनचेतनामूलक कार्यक्रमबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य संस्था, विद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्षराख्ने, जस्ता गतिविधि महिनाभर सञ्चालन गर्ने जनाएको छ । सरकारले देशभर आयोडिनयुक्त नुनको आपूर्तिको जिम्मेवारी कर्पोरेसनलाई दिएको छ । कर्पोरेसनले ग्रामीणस्तरसम्म आयोडिनसम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिह्न अङ्कित ‘पाकेट’ नुन सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । विगत ५९ वर्षदेखि कर्पोरेसनले नुनको आपूर्ति गर्दै आएको छ । आयो, न्यू शक्ति, तेज र भानु नुन प्याकेटमा बिक्री गर्दै आएको कर्पोरेसनले वार्षिक वार्षिक दुई लाख मेट्रिक टन नून कारोबार गर्ने जनाएको छ । सोही अवसरमा आयोडिनसम्बन्धी चेतनामूलक सन्देश लेखिएको शपिङ झोला, स्कुल झोला, टी–सर्ट तथा पम्प्लेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाइने कर्पोरेसनले जनाएको छ । ती टोलीले ती स्थानमा उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्नेछन् । रासस

मुक्तिनाथका ग्राहकलाई चिरायू नेशनल अस्पतालको सेवामा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा विशेष छुट हुने भएको छ । बैंकले भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसंग विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् । बैंकको यस सहकार्यबाट बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।