गुल्मीमा भारतीय नागरिकको हत्या
गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । उनले बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको दाबी गरे । बयानका क्रममा अभियुक्तहरुले गत माघ १२ मा मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छबिलालकि श्रीमति विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनाइ छ । दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो । शव हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले शंकास्पद देखिएपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र बिष्णुलाई बयान लिने क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।
विश्व क्यान्सर दिवस : उपचार गर्न खोपलाई सहज बनाउनुपर्नेमा जोड
काठमाडौं । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बर्सेनि क्यान्सरका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताए। भक्तपुरलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको हव बनाउँदै विकास गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका गुणस्तर, मापदण्ड र नियमन महाशाखाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका सदस्य डा. मदनकुमार उपाध्यायले समयमै उपचार भए क्यान्सर निको हुन्छ भन्ने सन्देश गाउँगाउँमा पुर्याउने बताए। उनले नेपालमा जटिल बन्दै आएको पाठेघरको मुखको क्यान्सरको उपचार गर्न सरकारले नेपालमा खोपलाई सहज बनाउनुपर्नेमा जोड दिए । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, क्यान्सर, हृदयघात, मष्तिस्कघात, फिस्टुला, अल्जाइमरलगायत रोगको निःशुल्क उपचारको व्यवस्था गर्न लागेको जानकारी दिए । अस्पतालका चिकित्सक डा रोशन प्रजापतिले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि हरेक जिल्लामा परीक्षण केन्द्र सञ्चालन गर्नुपर्ने, जनचेतना फैलाउनुपर्ने र पाठ्यक्रममा यसबारे सामग्री राख्नुपर्ने बताए। डा. प्रजापतिका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा एक वर्षमा ८४ हजार पाँच सय ७९ बिरामीको परीक्षण गरिएको, तीन हजार पाँच सय ८८ नयाँ बिरामी थपिएका तथा दैनिक ८० देखि एक सय जनासम्म नयाँ बिरामी भर्ना हुने गरेका छन् । कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजार र अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले थप उपकरण जडान गरेर सेवा विस्तार गनुपर्ने बताए ।
नुवाकोटको विकास बजेट खर्च निराशाजनक
नुवाकोट । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत) बजेटको खर्च निराशाजनक छ । प्रादेशिक १३, सङ्घीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम पाइएको छ । सरकारी कार्यालयको खर्च तथ्याङ्क राख्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भीमप्रकाश देवकोटका अनुसार सङ्घीय कार्यालयको खर्च करिब २६ प्रतिशत पुगे पनि प्रादेशिक कार्यालयको खर्च १३ प्रतिशत मात्रै रहेको छ । चालु आर्थिक वर्षको आधा समय पूरा हुँदा सङ्घ र प्रदेश अन्तर्गतका कार्यालयले खर्च सामथ्र्यको लक्ष्य निर्धारण ४० प्रतिशतभन्दा बढी राखेका थिए । बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ कार्यालयमार्फत पुँजीगततर्फ दुई अर्ब ८७ करोड प्राप्त भएको थियो । ती कार्यालयले पुस मसान्तसम्म १३ प्रतिशत अर्थात ३७ करोड ८० लाख मात्र खर्च गरेका छन् । सङ्घ मातहतका ३० कार्यालयको चालु आवमा पुँजीगत बजेट तीन अर्ब १७ करोड प्राप्त भएकामा पुस मसान्तसम्म २५.५५ प्रतिशत अर्थात ८१ करोड १५ लाख खर्च भएको प्रमुख देवकोटाले जानकारी दिए । जिल्लाका स्थानीय तहले बजेट विवरण सुत्रमा उल्लेख गरे पनि हिउँदे सभामार्फत विभाजन गर्ने र योजनागत रुपमा छुट्ट्याउन अधिकांशको अझै बाँकी छ । सोही कारण खर्च प्रतिशत नदेखिए पनि भुक्तानीका लागि आएको सिफारिसको आधारमा खर्च सामथ्र्य १० प्रतिशत भन्दाकम देखिएको छ । ‘स्थानीय तह केहीले मात्र पुस मसान्तसम्म योजनाको सम्झौता र ठेक्का लगाएका छन् भने धेरैको प्रक्रियामा जान बाँकी भएकाले स्थानीय सरकारको खर्च सामथ्र्य सङ्घ र प्रदेशको तुलनामा झन् निराशाजनक छ ।’ उनले भने, ‘आर्थिक वर्षको आधा समयसम्म भएका कमिकमजोरीलाई नसच्याउने हो भने काम गर्ने इच्छाशक्तिको अभाव र सुशासनप्रतिको इमान्दारितामा प्रश्न उठ्छ ।’ पुँजीगत बजेट खर्च सन्तोषजनक नहुनुमा नयाँ आर्थिक वर्ष सुरु भएदेखि साउन र भदौमा निरन्तर वर्षा, त्यसलगत्तै चाडपर्व र निर्वाचनको गतिविधिलगायत कारण देखाइएको छ । स्थानीय तहतर्फ भने चालु आर्थिक वर्षदेखि आएका नयाँ नेतृत्वसँग अनुभवको कमी, अघिल्लो वर्षको ऋण, काम सिक्दै गर्दाको समय, रावस्व सङ्कलनमा परेको प्रभावको कारण लक्ष्य अनुसारको पुँजीगत खर्च नभएकाले क्रमशः सुधार हुने अपेक्षा गरिएको छ । पुँजीगत खर्च निराश देखिए पनि कार्यालय प्रयोजनको लागि आउने चालु खर्च भने आवको आधा अवधिमा प्रदेश मातहतका कार्यालयको ३४ प्रतिशत र सङ्घअन्तर्गतका कार्यालयको ४७ प्रतिशत भइसकेको छ । रासस ।
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए
काठमाडौं । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । पर्यटक प्रहरी कार्यालय वीरगञ्जका अनुसार सन् २०२२ को जनवरीदेखि सन् २०२३ को जनवरीसम्म यहाँबाट ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने पाँच सय पाँच जना विदेशी पर्यटक बाहिरिएका छन् । हावापानी तथा घुमफिर गर्ने मौसमका दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुसमा अन्य महिनाको तुलनामा पर्यटकको सङ्ख्या बढी रहेको पर्यटन प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक अनिल कुमार महतोले जानकारी दिए। कार्यालयको तथ्याङक अनुसार पछिल्लो पुसमा मात्रै वीरगञ्ज नाकाबाट एक सय दुईजना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने उए सय २४ जना बाहिरिएका छन् । भारतको विभिन्न सहर घुमेर वीरगञ्ज नाकाबाट नेपाल आउनेमा अमेरिका, फ्रान्स, थाईल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक बढी हुने महतोले बताए। यहाँ आउने पर्यटकलाई होटल, यातायातलगायतमा असुबिधा वा ठगि हुन नदिन सचेतना जगाउनुको साथै दुर्घटनामा परी घाइते भएकालाई उपचार गराई परिवारजनको जिम्मा लगाउने काम पर्यटक प्रहरी कार्यालय वीरगञ्जले गर्दै आएको निरीक्षक महतोको भनाइ छ । भारतको रक्सौलहुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटलाई अध्यागमन कार्यालय वीरगञ्जले अनअराईबल भिसा दिने गरेको छ ।
इको प्यानलको तालिमपछि पाए ३५ जनाले रोजगारी
काठमाडौं । नेपाल इको प्यानलको आयोजनामा दुईदिने इको प्यानल जडान तालिम सम्पन्न भएको छ । दुईदिनको तालिमपछि तालिममा सहभागीहरुले इको प्यानल जडान गर्न सिकेका छन् । इको प्यानल जडान गर्न सिकेसँंगै उनीहरुले रोजगारी पाएका छन् । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले देशभरि नै इको प्यानलको प्रयोगबाट भौतिक संरचना निर्माण गर्नेहरुको संख्या बढिरहेकोले आवश्यक जनशक्तिका लागि तालिम दिएको स्पष्ट पारे । तालिम प्राप्त व्यक्तिहरुले अव ती ठाउँंहरुमा पुगेर इको प्यानल जडान गर्ने काम पाउने उनले जानकारी गराए । देशमा रोजगारीको समस्या भइरहेको बेला स्वरोजगार बनाउने उद्देश्य तालिमको रहेको इन्जिनियर दुवालले बताए । आज स्वरोजगार भएका व्यक्तिहरु भोलिका दिनमा उद्यमशिल हुनसक्ने पनि उनले जनाए । भोलिका दिनमा इको प्यानलको विक्रीवितरणसमेतमा सहभागी भई जडान गर्ने काममा उनीहरु लाग्नसक्ने उनले जनाए । सहभागीहरुलाई एक कार्यक्रमवीच प्रमाणपत्रसमेत वितरण गरिएको छ । तालिममा काठमाडौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट सहभागी भएका थिए । महिला पाँंच जनासहित कुल ३५ जना तालिममा सहभागी भएको जनाइएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्प प्रतिरोधी, तीव्र निर्माण सम्भब हुनुलगायतका कारण पछिल्ला वर्ष यसको माग देशभरि उच्च रहेको बताइएको छ ।
विद्युतीय चुलोसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार
काठमाडौं । परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी मुलुकभर विद्युतीय चुलोको प्रवद्र्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र क्लिन कुकिङ एलायन्स (सिसिए)को संयुक्त प्रयासमा तयार गरिएको सो कार्ययोजनामा सरकारले लिएका लक्ष्य पूरा गर्न सरोकारवाला निकायले गर्नुपर्ने कामका बारेमा स्पष्टरुपमा उल्लेख गरिएको छ । शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय कार्ययोजनाको विमोचन गर्दै विद्युतीय चुलोको विकास र विस्तारमा क्रियाशील विभिन्न निकायका प्रमुखले विद्युतीय चुलोको माग, आपूर्ति, उपयुक्त वातावरण र वित्तीय क्षेत्रका प्राथमिकताका बारेमा प्रकाश पारेका थिए। उनीहरुले नेपालमा विद्युतीय ऊर्जाको उत्पादन बढ्दै गएको सन्दर्भमा विद्युत् खपत बढाउन र आयातित इन्धनको निर्भरतालाई कम गर्न विद्युती चुलो एक महत्वपूर्ण विकल्प रहेकामा जोड दिएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले नेपालले सन् २०३० सम्म सम्पूर्ण परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी स्वच्छ भान्छाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको सन्दर्भमा विद्युतीय चुलो प्रविधिलाई विस्तार गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिए । सिसिएका राष्ट्रिय प्रतिनिधि करुणा बज्राचार्यले वातावरण संरक्षण, स्वास्थ्य र महिला सशक्तिकरणमा विद्युतीय चुलोको प्रयोग निकै उपयोगी हुने भएकाले यसको प्रवद्र्धनका लागि सरोकारवाला निकायलाई नीति योजना र कार्यक्रम तर्जुमा गर्न सहयोग पुगोस भन्ने उद्देश्यले कार्ययोजना तयार गरिएको बताए । वीनरक इन्टरनेशनलका राष्ट्रिय प्रतिनिधि बद्री बरालले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता र राष्ट्रियस्तरमा गरिएका नीतिगत व्यवस्थाअनुसार वातावरण संरक्षण र आयातित इन्धनको खपतको न्यूनीकरणका लागि विद्युतीय चुलोको प्रयोगलाई विस्तार गर्नुपर्नेमा जोड दिए । अजम्बरी विकास फाउण्डेशनका कार्यकारी निर्देशक सुवर्ण कपालीले विद्युतीय चुलोको निर्माण र बजारीकरणमा निजी क्षेत्रको भूमिकालाई पनि आत्मसाथ गरी नीति निर्माण र कार्यक्रम तर्जुमा गर्नुपर्ने बताए। सामुदायिक विद्युत् उत्पादक राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले भरपर्दो, गुणस्तरीय र विपन्न जनताले पनि खपत गर्नसक्ने विद्युत् आपूर्तिको सुनिश्चित हुनसकेमा प्रत्येक घरधुरीमा विद्युतीय चुलो पुर्याउन सकिने सम्भावना रहेको बताए । नेपालका लागि नर्वेको राजदूतावासका काउन्सिलर जान इरिक स्टुडस्र्डले नेपालको आर्थिक समृद्धिका लागि स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिन आवश्यक रहेको धारणा राखे । विद्युतीय चुलोको प्रवद्र्धन गरी यसलाई कार्बन व्यापारमा लैजान सकिने भएकाले यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्नेमा पनि सो अवसरमा जोड दिइएको थियो । नेपालमा अहिले पनि ६८ प्रतिशतभन्दा बढी घरधुरीका बासिन्दाले वायोमासको प्रयोगले वातावरण प्रदूषण र जनस्वास्थ्यमा असर पर्नुको साथै एलपी ग्यासको खपत तीव्र रुपमा बढिरहँदा देशको व्यापार घाटामा असन्तुलन आएकाले विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्ने सहभागीहरुको भनाइ थियो ।
छ महिनामा एक सय ४५ उद्योग दर्ता, एक खर्ब ९० अर्ब बराबर लगानी प्रतिवद्धता
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कूल एक सय ४५ उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको अर्धवार्षिक अवधिको उद्योग दर्ता र विदेशी लगानी स्वीकृितको तुलनात्मक विश्लेषण तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्ममा ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन् । यी उद्योगमा स्वदेशी र विदेशी दुवै खालको लगानी रहेको छ । गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस वर्षको उद्योग दर्ताको सङ्ख्या कम हो । गत आवको पुस मसान्तसम्ममा ४६ ठूला, ५७ मझौता र ५२ साना गरी कूल एक सय ५५ उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा दर्ता भएका एक सय ४५ उद्योगमा रू एक खर्ब ३९ अर्ब बराबर लगानी प्रतिबद्धता आएको पनि विभागले जनाएको छ । यसवर्षको अर्धवार्षिक अवधिमा आएको लगानी प्रतिबद्धता पनि गत वर्षको भन्दा कम हो । गत आवको पुस मसान्तसम्ममा एक खर्ब ९० अर्ब बराबर लगानी प्रतिवद्धता आएको देखिन्छ । विभागका अनुसार हालसम्म नेपालमा कूल २७ खर्ब ६६ अर्ब लगानी प्रतिवद्धतासहित आठ हजार नौ सय नौ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगमा ठूला उद्योग एक हजार तीन सय ४४, मझौता उद्योग दुई हजार ५८ र साना उद्योग पाँच हजार पाँच सय सात रहेका छन् । यसरी हालसम्म दर्ता भएका करिब नौ हजार उद्योगबाट प्रस्तावित रोजगारी छ लाख ६७ हजार तीन सय २३ जना रहेको पनि विभागले जनाएको छ । गत पुस मसान्तसम्ममा दर्ता भएका कूल एक सय ४५ उद्योगमध्ये एक सय ३३ उद्योगमा १७ अर्ब ३० करोड बराबर विदेशी लगानीको प्रतिबद्धता आएको छ । हालसम्म नेपालमा कूल पाँच हजार छ सय ६४ विदेशी लगानी स्वीकृति भएको पनि विभागले जनाएको छ । यसरी विदेशी लगानी स्वीकृत भएका उद्योगमा ठूला उद्योग तीन सय २४, मझौला उद्योग छ सय २२ र साना उद्योग चार हजार आठ सय १८ रहेका छन् । हालसम्म स्वीकृत कूल विदेशी लगानी प्रतिबद्धता भने चार खर्ब ३६ अर्ब बराबर रहेको विभागको तथ्याङ्कबाट देखिन्छ । यसरी विदेशी लगानी स्वीकृत गर्दा प्रस्तावित रोजगारीको सङ्ख्या दुई लाख ९९ हजार नौ सय ६१ जना छ । नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । गत पुस मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छ । चालु आवको छ महिना अवधिमा एउटा प्याटेन्ट दर्ता, आठ वटा डिजाइन दर्ता र एक हजार पाँच सय ५१ ट्रेडमार्क दर्ता भएको पनि विभागले जनाएको छ । विभागमा हालसम्म भएको कूल पेटेन्ट दर्ताको सङ्ख्या भने ८१ छ । त्यस्तै तीन सय डिजाइन र ५७ हजार पाँच सय ६६ ट्रेडमार्क दर्ता भइसकेको विभागले जनाएको छ । रासस ।
मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीद्वारा चन्द्रागिरि भ्रमण
काठमाडौं । मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीद्वारा काठमाण्डौंकोे चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । शनिबार विहानै चन्द्रागिरि पुगेका सैफद्दिन नासुसन इस्मालीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए । साथै उनले त्यहाँ निर्माण भएका विभिन्न पुर्वाधारहरूको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको भ्रमणका क्रममा इस्लामीले एकीकृत पर्यटकीय पुर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पुर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसंग मिल्दोजुल्दो रहेको बताउँदै गृहमन्त्री इस्लामीले यो परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पुर्वाधार निर्माणमा नेपाललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । आइएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल आइएमईको व्यावसाय विस्तारका क्रममा लामो समय मलेसिया बस्दा त्यहाँको ग्यान्टिङ्ग हाइल्याण्डबाट प्रभावित भइ यो परियोजना निर्माणमा लागेका थिए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।