तस्वीरमा हिमालय शमशेर राणाको दाहसंस्कार (फोटोफिचर)
काठमाडौं । आइतबार बिहान मृत्यु भएका हिमालय शमशेर जवराको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाको पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो । ९५ वर्षको उमेरमा निधन भएका उनको दाहसंस्कारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत उच्च सरकारी अधिकारी उपस्थित भएका छन् । दाहसंस्कार अघि नेपाली सेनाको एक टुकुडीले उनलाई अन्तिम सलामी अर्पण गरेको थियो ।
विजेता घोषणा गरी प्रमाणपत्र पाऊँ भन्दै उमेश श्रेष्ठले दिए निवदेन
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर:२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार काठमाडौंको आयोगको कार्यालयमा पुगेर उनले यस्तो निवेदन दिएका हुन् ।निर्वाचनमा दोस्रो भएकाले आफूलाई स्वतः विजेता घोषणा गर्नुपर्ने श्रेष्ठको माग छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभाको उमेदवार रहेका श्रेष्ठलाई भारी मतान्तरले हराएको थिए । लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाएका छन् । यता आयोगले भने पद रिक्त भएको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने कानुनी व्यवस्था रहेको जनाएको छ ।
रविबारे सर्वोच्चको फैसलाप्रति संसदमा ओलीको विरोध, अदालतले कसलाई न्याय दियो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतले गरेको फैसलाको आलोचना गर्दै उनको बचाउ गरेको छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आइतबार संसदमा बोल्दै अदालतको फैसलाको कडा शब्दमा आलोचना गर्दै लामिछाने प्रति उच्च सहानुभूति व्यक्त गरेको छन् । ‘रवि लामिछानेको नागरिकता विवादबारे गरेको फैसला सुनेर म अचम्मित भए, सर्वोच्च अदालतको फैसलाबाट कसले न्याय पायो रु अदालतले कसलाई न्याय दियो ?’ ओलीले संसदबाट अदालतलाई प्रश्न गरेका छन् । रवि लामिछानेले राज्यको अहितमा पनि काम नगरेको र कानुनी मिच्ने काम पनि नगरेको ओलीको दावी छ । ‘नागरिकले राज्यलाई नोक्सान गर्यो, कानुन मिच्यो भने कानुनी कारवाही हुन्छ, तर अदालतको फैसलाले शुक्रबार रवि लामिछानेको नागरिकता गुम्यो आइतबार पुरानै नागरिकता पाए, अदालतको फैसालाको के अर्थ रह्यो, के मूल्य रह्यो,’ ओलीले प्रश्न गरेका छन् । लामिछाने ढोका खुला देखेर फुत्त संसदमा नछिरेको ओलीको भनाई छ । ‘निर्वाचन आयोगले तोकेका सबै मापदण्ढ पूरा गरेका छन्, सर्वाधिक मतले चुनाव जितेका छन्, उनलाई लोकले सांसद बनाएको हो, त्यत्तिकै संसदमा छिरेका होइनन्,’ उनले भने । ‘सर्वोच्च अदालतको फैसलाले पछि रवि लामिछानेको उपप्रधानमन्त्री पद गयो, गृहमन्त्रीको पद गयो, संसाद पद गयो, पार्टी अध्यक्ष पद गयो, यसले उनी र उनको पार्टीलाई गम्भिर असर परेको छ, अदालतको फैसलाले न्याय कसलाई भयो ?’ ओलीले फेरी प्रश्न गरे । ‘रवि लामिछानेसँग मेरो नाता सम्बन्ध पनि छैन । मेरो पार्टीको मान्छे पनि होइन । विचार मिल्ने मान्छे पनि होइन,’ एमाले अध्यक्ष ओलिले भने, ‘शुक्रबार नागरिकता गुम्यो, आइतबार पुरानै नागरिकता पायो, विदाका एक दिन नागरिकता खारेज गरेर सर्वोच्चको फैसला किन गर्यो ? अदालतको फैसलाको के अर्थ रह्यो, प्रक्रिया पुगेको छैन, आइतबार नागरिकता लिएर आउँ मात्र भनेको भए भैहाल्थ्यो ।’ यस्तै, लामिछानेको बारेमा गरिएको फैसलाले गैरआवासीय नेपाली र विदेशमा रहेका तर मतदानको अधिकार माग गरिरहेका नेपालीमा ठूलो चोट परेको पनि उनले सुनाए । ‘विदेशमा बसेका नागरिकलाई मतदानको अधिकार माग उठिरहेको छ, मतदान अधिकार दिएपछि उम्मेदवार पनि बन्न पाउँछन, यस्तो अधिकार विदेशीले पाउँछन् कि पाउँदैनन, रवि त विदेशी नागरिक होइनन्, विदेशी नागरिकता त्यागिसकेका छन्, यो फैसलाले विदेशमा रहेका नेपालीलाई कस्तो असर गर्छ, गैर आवासीय नेपालीलाई कस्तो असर गर्ला ?’ उनले भने । यी विषयमा संसद गम्भिर बन्नुपर्ने र कानुनमा कमि कमजोरी छन् भने सुधार गर्नुपर्ने उनको भनाई छ ।
झिनो अंकले बढ्याे सेयर बजार
काठमाडौं । साताको पहिलो दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आइतबार सेयर बजार १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा बढी भएको छ । आज कम्पनीको ६ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् भने इस्टर्न हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।
मेटलाइफ फाउन्डेशनले महिला नेतृत्वको व्यवसाय विकासका लागि ५० हजार डलर दिने
काठमाडौं । मेटलाइफ फाउन्डेशनले महिला नेतृत्वको व्यवसाय विकासका लागि ५० हजार डलर दिने भएको छ । फाउन्डेसनद्वारा पौरखी नेपाललाइ महिला नेतृत्वको व्यवसाय विकासका लागि अमेरिकी डलर ५० हजार सहयोग गरेको हो । मेटलाइफ फाउन्डेसनले सम्भावित आप्रवासी, विदेशमै अवस्थित आप्रवासी वा विदेशबाट फिर्ता आएका आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक स्थिरता निर्माण गर्न पौरखी नेपालसँग सम्झौता गर्दैछ । यस कार्यक्रम अन्तर्गत पौरखीले यी महिलाहरुको जीविकोपार्जनका लागि आर्थिक क्षमता निर्माण गर्ने प्रयासलाई बलियो बनाउन काम गर्नेछन् । अमेरिकी डलर ५० हजारको सहायताद्वारा यस परियोजनाले ४ महत्त्वपूर्ण क्षेत्रहरू जस्तै उद्यमशीलता, वित्तीय सेवाहरूमा पहुँच, स्थानीय बजारमा बिक्री विकास, र सहयोगी शिक्षा प्रदान गर्ने छ । पौरखीले काठमाडौं, चितवन र मकवानपुर जिल्लाका करिब १५ हजार महिलालाई सहयोग पुर्याउन यस अभियानलाई गम्भीरताका साथ सञ्चालन गर्नेछन् । यो परियोजना एम एस सी ग्लोबल कन्सल्टिङसँग समन्वय गरीएको छ, जुन बुटिक परामर्शदाता फर्म हो जसले विगत २० वर्षदेखि अर्थपूर्ण, आर्थिक, सामाजिक र आर्थिक समावेशी गतिविधिहरूमा काम गरिरहेको जनाएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘नेपाल जस्ता देशका महिला उद्यमीहरूले आफ्नो व्यवसाय स्थापना र व्यवस्थापन गर्दा आर्थिक स्वास्थ्य सुधार गर्न थुप्रै चुनौतीहरू सामना गर्छन् । यी महिलाहरूलाई आफ्नो उद्यमहरू निर्माण गर्न र आफ्नो आम्दानी बढाउन, डिजिटल फुटप्रिन्टहरू सिर्जना गर्न र विभिन्न प्रकारका वित्तीय सेवाहरू पहुँच गर्न सहयोग चाहिन्छ । मेटलाइफ फाउन्डेसनको यो सहयोगले यी महिला उद्यमीहरूलाई दिगो जीवन र थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गरेर उनीहरूको जीवनमा परिवर्तन ल्याउनेछ ।’ मेटलाइफ फाउन्डेसनको महिला–नेतृत्व व्यवसायको लागी सहयोगको एक भागको रूपमा, फाउन्डेशनले पौरखी जस्तै साझेदारहरु संग काम गर्न को लागी तथा उनीहरुको क्षमताहरु निर्माण गर्नको लागी मार्गदर्शन र वित्तीय सेवाहरुको प्रावधान संग काम गर्नेछ जसले उनीहरुलाई सम्बन्धित कठिनाईहरु पार गर्न मद्दत गर्ने कम्पनीले जनाएकाे छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समतालाई अंगाल्ने विषयको समर्थनमा, मेटलाइफ फाउन्डेसनको कार्यक्रमले महिला–नेतृत्व व्यवसायका महिलाहरुका लागि भारत, नेपाल र भियतनाममा उनीहरूको वित्तीय स्वास्थ्यमा सुधार गर्दै राम्रो जीवनयापनका अवसरहरू निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।
दाङमा नापतौल कार्यालय नहुँदा व्यवसायी नेपालगञ्ज जान बाध्य
दाङ । दाङमा नाप तौलको कार्यालय नहुँदा उद्योगी तथा व्यवसायी नेपालगञ्ज पुगेर नापतौलका सामग्री जाँच तथा नवीकरण गर्नुपर्ने बाध्यता छ । जिल्लामा गुणस्तर तथा नाप तौलको कार्यालय नहुँदा नापतौलका सामग्री जाँच तथा नवीकरणका लागि नेपालगञ्जसम्म जानुपर्ने बाध्यता रहेको घोराही सुनचाँदी व्यवसायी समितिका अध्यक्ष विनोद विकले बताए । उनका अनुसार नेपालगञ्ज जानुपर्दा आर्थिक तथा समयको खर्च हुनुका साथै सामान हराउने गरेको छ । ‘सुन चाँदी व्यावसायीले हरेक वर्ष जाँच तथा नवीकरण गरिनुपर्ने बाध्यता छ, नवीकरण नगरेमा जरिवाना लाग्छ, जाँच तथा नवीकरणका लागि जिल्लामा सुविधा छैन’, उनले भने । नेपालगञ्ज जाँदा आफ्नो सवारी नहुनेलाई दुई दिनसम्म लाग्ने उद्योगी तथा व्यवसायी बताउँछन् । जिल्लामा नापतौलको कार्यालय भएमा व्यावसायीलाई सहज हुने अध्यक्ष विकको भनाइ थियो । आफुहरुले समस्याका बारेमा पटक–पटकसम्बन्धित निकायमा जानकारी गराए पनि समाधान नभएको उनले बताए । ‘नापतौलका सामग्री धेरै प्रयोग हामीले गर्दछौँ, कति बेला बिग्रिन्छ थाहा हुँदैन, नयाँ किनेका सामग्री ३५ दिनभित्र दर्ता गर्नुपर्ने व्यवस्था छ । दर्ता गर्नका लागि नेपालगञ्ज जानुपर्छ’ गल्ला तथा किराना व्यवसायी समिति घोराहीका अध्यक्ष विनोदप्रसाद पाण्डेले भने । उनले ३५ दिनपछि गएमा दर्ता तथा नवीकरणसमेत नहुने बताए । ‘जिल्लामा कार्यालय छैन टाढा जानुपर्ने बाध्यता छ, समयमा जान सकिएन भने दर्ता हुदैन’ उनले भने । उद्योगी तथा व्यवसायीले समस्याका बारेमा सम्बन्धित निकायमा, मन्त्री, सांसद, राजनीतिक दललगायतलाई जानकारी गराए पनि समस्याको समाधान नभएको व्यापारीको भनाइ छ । जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले जिल्लामा गुणस्तर तथा नापतौलको कार्यालय स्थापनाका लागि आफुहरुले सम्बन्धित निकायमा निरन्तर प्रयास जारी राखेको बताए । ‘हामीले लामो समय देखि आवाज उठाउदै आएका छौँ, जिल्लामा मात्र नभइ साविक राप्ती अञ्चलमा नै नापतौलको कार्यालय छैन’, उनले भने । उद्योगी, व्यावसायीको सहजताका लागि उद्योग वाणिज्य सङ्घले नापतौल कार्यालयसँग समन्वय गरेर समय–समयमा शिविर सञ्चालन गदै आएको उनले जानकारी दिए । रासस
गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छ : मन्त्री किराती
भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएका छन् । सो विमानस्थलको निरीक्षणपछि उनले आफू काठमाडौं पुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी दिएका हुन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक जहाज यहाँ किन आएका छैनन् भन्ने विषयमा आफूले छलफल गर्ने र उडान थाल्ने आश्वासन दिएका हुन् । नेपाल एयरलाइन्स मात्र नभइ अन्य विमानसेवाको उडानका लागि पनि आफूले पहल गरिरहेको उनको भनाइ थियो । श्रीलङ्का भ्रमणमा रहेका परराष्ट्रमन्त्री मार्फत कोलम्बो–भैरहवा–कोलम्बो उडानका लागि पनि पहल गरिएको मन्त्री किरातीले जानकारी दिए । प्रधानमन्त्रीको भारत भ्रमणका बेला आइएलएस, रुट परमिट, दिल्ली–भैरहवा उडानलगायत विषयमा भारतको सहयोगसम्बन्धी एजेण्डालाई पहिलो प्राथमिकतामा राखी पहल गरिने उनको भनाइ थियोे । मन्त्री किरातीले यस विमानस्थल सञ्चालनका लागि कूटनीतिक र प्राविधिक समस्या समाधान गर्ने प्रतिबद्वता व्यक्त गर्दै विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने पनि बताए । यस विमानस्थलमा नियमित उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै गत पुसमा उडान रोकेका थिए । नेपाल र चीनका निजी क्षेत्रको संयुक्त लगानी रहेको हिमालयन एयरलायन्सले गत पुस १ र जजिराले पुस ६ गतेदेखि उडान रोकेका हुन् । विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान र त्यत्तिकै सङ्ख्यामा अवतरण भएका थिए । सो अवधिमा ३२ हजार यात्रुले सेवा लिएको विमानस्थलले जनाएको छ ।
रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न
मकवानपुर । रिद्धि सिद्धि सिमेन्टको आयोजनामा गत बुधबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भयो। राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिकाको समन्वय तथा सहयोगमा आयोजित शिविरमा कलेज अफ मेडिकल साईन्ससको प्राविधिक सहयोग रहेको थियो। रिद्धि सिद्धि सिमेन्टका सिईओ गुण बहादुर खनालको प्रमुख आतिथ्यतामा संचालित उक्त शिविर कार्यक्रममा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा नेउपाने, समाजसेवि सम्राट तुम्वाहाम्फे, राक्सिराङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत देव चन्द्र गर्तौला लगायतले आतिथ्यता ग्रहण गरेका थिए। कार्यक्रममा जनरल फिजिसियन , बाल रोग, महिला रोग , हाड जोर्नि तथा नशा रोग, छाला रोगको परिक्षण तथा औषधि वितरण समेत गरिएको थियो । रिद्धि सिद्धि सिमेन्टका खानी प्रमुख गणेश कुमार सिह , प्रशासन् प्रमुख अच्युत पराजुली, सप्लाई चेन प्रमुख गुरु प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो। उक्त स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए। राक्सिराङ्ग गाउपालिका वडा नं ४ का अध्यक्ष सन्जय कोईरालाको सभापतित्वमा सम्पन्न भएको सो शिविर कार्यक्रम उक्त वडाकै विकुटार, मकवानपुरमा सम्पन्न भएको थियो।