सिटिजन्स बैंक आफ्नै ब्राण्डमा उत्कृष्ट बन्छ, प्रतिफल डबल डिजिटमा दिन्छौं : सीईओ पोखरेल
सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दोस्रो कार्यकालका रुपमा गणेशराज पोखरेल नियुक्त भएका छन् । चार वर्षे पहिलो कार्यकाललाई सफल रुपमा निर्वाह गरेर दोस्रो कार्यकाल सुरु गरेका पोखरेलले चार वर्षको अवधिमा बैंकलाई एक किसिमको सफलतामा पुर्याएका छन् । यो अवधिमा उनले बैंकको निक्षेपमा २६ प्रतिशत, कर्जामा २३ प्रतिशतको वृद्धि गरेका छन् भने ८ अर्ब रुपैयाँ रहेको पुँजी बढेर १४ अर्ब पुगेको छ । दोस्रो कार्यकालमा बैंकलाई थप उचाइमा पुर्याउने उनको योजना छ । एग्रेसिभ ग्रोथभन्दा पनि क्वालिटी ग्रोथलाई प्राथमिकता दिइरहेको सिटिजन्स बैंकको अर्को महत्वपूर्ण उपलब्धि र स्ट्रेन्थ हो संस्थागत अभ्यास र टीम वर्क । पछिल्लो समय डिजिटल बैंकिङ र नेटवर्क विस्तारमा प्राथमिकता दिइरहेका सीईओ पोखरेलसँग उनको आगामी चार वर्षको व्यवसायिक योजना, बैंकको बिजनेस र वर्तमान बैंकिङ अभ्यास लगायत विषयमा विकासन्युजका लागि सन्तोष रोकायाले कुराकानी गरेका छन् । तपाईं सिटिजन्स बैंकमा प्रमुख कार्यकारी अधिृकतको रुपमा पहिलो कार्यकाल सकेर दोस्रो कार्यकाल सुरु गर्दै हुनुहुन्छ, आफ्नो पहिलो कार्यकालको समीक्षा कसरी गर्नु हुन्छ, आफुलाई मूल्यांकन कसरी गर्नु हुन्छ । मैले वि.स २०७५ साल पुस १ गतेबाट सीईओको रुपमा जिम्मेवारी पाएको थिएँ । त्यतिखेर बैंकको निक्षेप ६५ अर्ब थियो । अहिले बढेर पुसमा १६१ अर्ब पुगेको छ । त्यतिखेर ५९ अर्ब कर्जा थियो । अहिले १४२ अर्ब रुपैयाँ पुगेको छ । बैंकको पुँजी ८ अर्बको थियो, अहिले १४ अर्ब पुगेको छ । यो राम्रै ग्रोथ भएको मैले महसुस गरेको छु । यो चार वर्षको अवधिमा सेयरधनीलाई ५१ प्रतिशत लाभांश वितरण गरेका छौं । गत आर्थिक वर्षको नाफाबाट पनि ९ प्रतिशत लाभांश वितरण गरेका छौं । सेयरधनी पनि बैंकको प्रगति देखेर खुसी हुनुहुन्छ । चार वर्षअघि ग्राहक ४ लाख ३९ हजार थिए । अहिले १५ लाख बढी पुगेको छ । ब्राण्डिङमा पनि राम्रो काम भएको छ । सूचना प्रविधिमा राम्रो काम भएको छ । त्यतिखेर ७४ हजार कार्डहरु थियो । अहिले तीन लाख बढी कार्डको संख्या पुगेको छ । हामी दत्तचित्त भएर काम गरिरहेका छौं । मोबाइल बैंकिङका ग्राहकको संख्या ८९ हजार थियो अहिले बढेर ६ लाख बढी पुगेको छ । यी सूचकहरुले बैंकको राम्रै प्रगति भएको देखिन्छ । कम्प्लायन्स संस्थाको मुटु हो । यसले संस्थालाई दीर्घकालीन बनाउन भूमिका पुग्छ । यो संस्थामा काम गर्ने कर्मचारीहरु खुसी हुनुहुन्छ । कर्मचारी साथीहरुलाई काम गर्नका लागि सहज वातावरण सिर्जना गरेका छौं । डिजिटल बैंकिङमा धेरै काम भएका छन् । यति धेरै लगानी गरेर हामीलाई रोजगारी दिएका सेयरधनीहरुको पनि हामीप्रति आशा छ । उहाँहरुलाई पनि उचित प्रतिफल दिएर खुसी बनाउन पनि हामी लागिरहेका छौं । नेटवर्कमा पनि राम्रै विस्तार भएको छ । म बैंकको सीईओ हुँदा ८१ वटा शाखाहरु थिए । अहिले १८२ वटा पुगेका छन् । म ड्राइभर सिटमा मात्रै छु, यसमा सबै साथीहरुको महत्वपूर्ण भूमीका छ । मैले संस्थालाई सिस्टममा चल्ने बनाएको छु । सबै विभागहरुलाई उत्तिकै जिम्मेवार बनाएको छु । एउटा राम्रो संस्थागत अभ्यासको उदाहरण सिटिजन्स बैंकमा पाउनुहुन्छ । हामी समूहगत रुपमा काम गर्छौं । हामी क्वालिटी सर्भिसमा ध्यान दिन्छौं । अहिले अन्य बैंकहरुको पुँजी ठूलो भइसकेको छ । ३२ वटा बैंक २१ वटामा झरेका छन् । सिटिजन्स बैंक २० औं नम्बरमा इजाजत लिएको बैंक हो । अहिलेसम्म यो बैंक कायमै छ । हाम्रो बजारमा एक किसिमको ब्राण्ड छ । सिटिजन्स बैंक र यसको ब्राण्डिङ र लोगो महत्वपूर्ण छ । पुँजीमा सानो बैंक भएपनि हाम्रो बजारमा राम्रो ब्राण्डिङ छ । बजारमा सिटिजन्स बैंकको आफ्नै इमेज छ । बैंकको साइजमा सानो भएकोले अब यस विषयमा पनि बहस गर्नु पर्छ । हामीले अबको ४ वर्षमा १५/१७ प्रतिशतको ग्रोथ गरेपनि अहिलेका ठूला बैंकको पुँजी अनुसारको बैंक पुग्छौं । तर, त्यो अवस्थामा ठूला बैंक झनै ठूला हुन्छन् । यो साइजको विषयलाई पनि प्राथमिकताका साथ हेर्नु पर्छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा अधिकांश बैंकहरुको नाफा घटेको छ, खराब कर्जा बढेको छ, यो स्थिति कसरी आयो ? अहिले स्थिति सहज छैन । खराब कर्जा बढेर नाफा घटेको हो । ब्यापार व्यवसाय राम्रोसँग चलेको छैन । कोभिडपछिको अर्थतन्त्र सुधार हुन सकेको छैन । रिकभरीको समस्या छ । सिटिजन्स बैंकको नाफा पनि ३२ प्रतिशतले घटेको छ । २१ बैंकमध्ये १९ बैंकको खराबकर्जा बढेको छ । व्यापार व्यवसाय राम्रो नभएकै कारण रिकभरी हुन सकेन । बजारबाट पैसा नउठ्दा नाफामा हिट गरेको हो । बैंकहरुको वितरणयोग्य नाफा ठूलो मात्रामा घटेको छ । कतिपय बैंकहरुको वितरणयोग्य नाफा लाखमा मात्रै छ भने कतिपयको घटेको छ । पैसा रेगुलेटर रिजर्वमा गएर बसेको छ । खराबकर्जा अझै बढ्ने देखिएको छ । नीतिगत कारणले प्रोभिजन बढेको हो । यो एउटा साइकल हो । ब्यापारिक सिद्धान्त हो । सधैं नाफा कमाउनु पर्छ भन्ने छैन । हाम्रो समुदाय समस्यामा पर्ने र बैंकहरु मोटाउने भन्ने हुँदैन । तर, पछिल्लो समय बैंकहरुको नाफा घटिरहेको छ । रिटर्न अन इक्विटी (आरओई) घट्दै गइरहेको छ । औसत १२ प्रतिशत मात्रै आरओई छैन । बैंकहरुले कमाए । लुटे भन्ने मानसिकता गलत हो । फिगरमा हेर्दा पुँजीको आधारमा बैंकहरुको आम्दानी बढी छैन । यो पनि एउटा व्यवसाय हो । यो एउटा पारदर्शी व्यवसाय हो । अन्य व्यवसाय जस्तो जिस्किने व्यवसाय बैंकिङ होइन । कमाउने ठाउँ पनि बैंकिङ होइन । बैंकको पैसा गलत ठाउँमा प्रवाह नहोस्, जुन प्रयोजनका लागि पैसा लिइएको हो, त्यसमै त्यो पैसा प्रयोग भयो भने अर्थतन्त्र विस्तारै सही ठाउँमा आउँछ । बैंकबाट प्रवाह भएको पैसा सही क्षेत्रमा गएको छैन भन्ने बहस पनि उठ्छ । यस विषयमा पनि हामीले सजग बन्नु पर्छ । अब बैंक तथा वित्तीय संस्थाको नाफा यसरी नै घट्दै जाने हो, तपाईंको बुझाइ के छ ? बैंकिङ इन्ड्रस्टीमा अब नाफाको आश धेरै नगर्दा हुन्छ । बैंक धेरै रेगुलेटेड बिजनेस हो । ४ प्रतिशतको स्प्रेडमा काम गरिहरेका छौं । १० प्रतिशतको रिटर्न बैंकले दिन्छन् भने त्यो बैंक धेरै राम्रो हो । बैंकहरु पनि घट्दै गइरहेका छन् । भोलि कुनै नीतिगत परिवर्तन भए भने भन्न सकिन्न तर अब धेरै नाफा हुन्छ भन्ने देखिँदैन । हिजोका दिनमा धेरै बैंकले उच्च रिटर्न दिए । अहिले विभिन्न शुल्क तथा कमिसनमा नीतिगत कडाइ छ । स्प्रेडमा क्याप छ । बैंकिङ उद्योगमा रहेको २.२९ प्रतिशतको खराकर्जा उठेर अलिकति केही सहज हुन्छ होला तर अब धेरै बिजनेस गरेर धेरै नाफा हुन्छ जस्तो मलाई लाग्दैन । बैंकका सेयरधनीहरु बढी लाभांश दिनु पर्यो भनेर तपाईंहरुलाई दबाब दिनुहुन्छ, उद्योगी व्यवसायीहरु ब्याजदर कम हुनु पर्छ भनेर बैंकविरुद्द आन्दोलन गर्छन्, यो बिचमा बैंकरहरुलाई काम गर्न कत्तिको सहज, असहज छ ? यसैमा त कलाकारिता छ । यसमा नै हो सीप चाहिने । इमोश्नल इन्टेलिजेन्ट चाहिने यसैमा हो । ‘सेल्फ अवेरनेस’ चाहिन्छ । कसरी उत्तेजना कन्ट्रोल गर्ने, उनीहरुलाई म्यानेज गर्नैका लागि म्यानेजर राखेको हुन्छ । नीतिगत फ्रेमवर्कमा रहेर काम गर्ने र यी विभिन्न विषयहरुमा बसेर काम गरेर नतिजा ल्याउने हो । अस्तिसम्म बैंकले लुटे भन्ने धेरैको बुझाइ थियो । अहिले बैंकको पुँजी अनुसार नाफा ठीकै हो भन्ने पनि छ । आम्दानी घट्न पनि सक्छ तर खर्च झन बढ्दै जाने अवस्था छ । यो अवस्थामा कसरी काम गर्न सकिन्छ भन्नका लागि नै म्यानेजर राखिएको हुन्छ । यो विषयमा मूल्यांकन अझै आवश्यक छ । बैंकिङलाई एउटा पारदर्शी र विश्वसनिय व्यवसायका रुपमा लिइन्छ, सर्वसाधारणले आँखा चिम्लेर आफुसँग भएको पैसा बैंकमा राख्छन् तर बैंकहरुले पछिल्लो समय ग्राहकबाट अतिरिक्त शुल्क लिएको भन्दै राष्ट्र बैंकले फिर्ता गर्न लगायो, अब बैंकहरुको नियतमाथि पनि प्रश्न गर्ने बेला आएको हो ? यसलाई जसरी बुझ्दा पनि हुन्छ । बैंक एउटा सिस्टम र अनुशासनमा बस्छ । बैंकहरुले ग्राहकको सहमतिमै प्रिमियम बढाएका थिए । तर, राष्ट्र बैंकले त्यसमा प्रश्न उठाएपछि सबै बैंकले लिएको प्रिमियम फिर्ता गरे । बढी प्रिमियम लिएको भएपनि रिटर्न ११ प्रतिशतभन्दा बढी देखिएन । प्रिमियम बारे सबै स्पष्ट भए । यो गर्नु हुन्न भन्ने बैंकले बुझे । यो सन्देशले ठीकै गर्छ जस्तो लाग्छ । सहमतिमै प्रिमियम बढाएपनि बैंकहरुले गल्ति गर्यौं भन्ने महसुस गरेका छन् या छैनन् ? हामीले यसलाई गलत गर्यौं भन्दैनौं । सहमतिमै काम गरेका हौं । सहमतिमै गरे पनि गर्नु हुने रहनेछ भन्ने हामीले बुझेका छौं । बैंकहरुले कोरोनामा पनि त धेरै छुट दिएका थिए । त्यसलाई पनि नजरअन्दाज गर्न मिल्दैन । पछिल्लो समय उद्योगी व्यवसायीले बैंकको ब्याजविरुद्द आन्दोलन गरिरहेका छन्, यो विषयलाई बैंकरहरुले कसरी हेरिरहनु भएको छ ? हामी पनि उहाँहरुको सदस्य हो । हाम्रा पनि आफ्नै किसिमका दुःख र दर्दहरु छन् । एउटै संस्थामा भएका सदस्यहरुलाई समान व्यवहार गर्नु पर्छ भन्ने हाम्रो बुझाइ हो । यो पनि एउटा व्यवसाय हो । यसमा पनि लगानीकर्ताहरु छन् । यसबाट पनि धेरैको दैनिकी चलाउने समूह छ । मान्छेहरुले यसमा लगानी गरेर दालभात खाइरहेका छन् । यो व्यवसाय समस्यामा पर्यो भने त्यो वर्गलाई पनि समस्या पर्छ भन्ने विषय बुझ्न आवश्यक छ । अहिले बैंकका लिलामीका सूचनाहरुले पत्रपत्रिका भरिभराउ छन्, बैंकको काम भनेको पैसाको कारोबार हो । तर, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु पैसाको कारोबारभन्दा पनि घरजग्गाको बिक्रीमै अभ्यस्त भएका हुन् कि भन्ने बुझाइ आम जनमानसमा छ नी ? धितो पनि बिक्री गर्नु पर्छ । ऋण व्यवस्थानको पनि साइकल हुन्छ । कर्जा असुलको एउटा प्रक्रिया हुन्छ । हामीले सर्वसाधारणको पैसा चलाइरहेका हुन्छौं । कर्जा खराब भयो भने सर्वसाधारणको पैसा डुब्छ । त्यसका लागि पनि हामीले खराबकर्जालाई रिकभरीका लागि एउटा प्रक्रियामा लैजानु पर्ने हुन्छ । हामीले दिएको पैसा फर्किनु पर्छ । जनतालाई पनि पैसा फर्काउनु पर्छ । यसलाई एउटा व्यवसायको प्रक्रियाको रुपमा मात्रै बुझ्नु पर्छ । ऋण लिइसकेपछि ऋण तिर्नु पर्छ । दिएको ऋण असुल भएन भने हाम्रो वित्तीय स्वास्थ्य पनि बिग्रदै जान्छ । त्यो अवस्था आउन नदिनका लागि पनि यो काम गर्नु परेको हो । अहिले बैंकहरुबीच मर्जरको लहर छ, सिटिजन्स बैंकका प्रतिस्पर्धी बैंकहरु धमाधम मर्जरमा गए, अहिले सिटिजन्स बैंक साइजमा पुछारमा आयो, अब ती बैंकहरुसँग प्रतिस्पर्धाका लागि मर्जरमा जानु पर्छ भन्ने बोध तपाईंहरुलाई भएको छैन ? मैले आफ्नो चार वर्षको व्यवसायिक रणनीतिक योजनामा मर्जरको विषय उल्लेख गरेको छैन । किनकी मर्जरको विषय सीईओ तहबाट हुने कुरा पनि होइन । यो नितान्त सञ्चालक समितिबाट हुने काम हो । हामीसँग २ लाख सेयरधनीहरु हुनुहुन्छ । त्यसको विधि विधान हुन्छ । बोर्डले हामीसँग निर्णय लिनु भयो भने प्रतिस्पर्धामा जानु पर्छ भन्ने हो । हामीले विकास बैंकहरुलाई पनि गाभ्यौं । हामी ज्वोइन्ट भेन्चरमा इन्ट्रेष्ट छौं । त्यस विषयमा छलफल पनि भइरहेको छ । ज्वोइन्ट भेन्चरले विदेशी विज्ञहरु, विदेशी प्रविधि, पुँजी र सीप पनि भित्रिन्छ । यसले हामीलाई राम्रो सहयोग पुग्छ । सिटिजन्स बैंक ज्वोइन्ट भेन्चरको पक्षमा हो । राम्रो विकास बैंक पायौं भन्ने लिने भन्ने हाम्रो उद्धेश्य हो । अझैं पनि त्यसमा अभ्यास हुन्छ । वाणिज्य बैंकसँग मर्ज गर्ने विषय पनि नआएको होइन । यसअघि विभिन्न संस्थासँग छलफल पनि भएको हो । ती संस्था अर्कैंसँग मर्जरमा गइसकेका छन् । अब हामी प्रतिस्पर्धामा जानु पर्छ भन्नेछ । तर, मर्जर गर्ने कि ज्वोइन्ट भेन्चरमा जाने भन्ने विषय टुङ्गोमा छैन । हामी मर्जरका लागि खुल्ला नै छौं । एउटा अवधारणा बनाएर अगाडि बढ्छौं । बोर्डलाई बैंकको सीईओको रुपमा सल्लाह दिँदा मर्जर भन्नु हुन्छ या ज्वोइन्ट भेञ्चर ? हुन त यो काल्पनिक जवाफ हुन्छ होला । पहिला कुन साइजमा बस्ने भनेर सोच बनाउनु पर्छ । हामी आफ्नै ब्राण्डमा स्थापित भएर अगाडि बढ्न चाहन्छौं । अहिले नै यो रोज्ने भन्दा हतारो हुन्छ होला । तपाईंले सुरुमा आफ्नो पहिलो कार्यकालमा बैंकले गरेको ग्रोथ सुनाउनु भयो, अब दोस्रो कार्यकाल पनि सुरु गरिसक्नु भएको छ, अबको चार वर्षपछि सिटिजन्स बैंकको ग्रोथ कस्तो हुन्छ, बैंक कुन पोजिसनमा हुन्छ ? वार्षिक १५ प्रतिशतको ग्रोथ गर्ने मेरो रणनीति योजनामा राखेको छु । मौद्रिक नीतिले अर्थतन्त्रको ग्रोथ कुन रेञ्जमा लिएर जान्छ, त्यसले पनि केही निर्धारण गर्छ । कर्जा लगायतका इण्डिकेटरमा के कस्ता नीति बनाउँछ भन्ने नीतिले पनि प्रभाव पार्छ । यो एउटा गाइडलाइन हो । ३ सय अर्बको निक्षेप र कर्जा, २१ अर्बको पुँजी पुर्याउने लक्ष्य छ । प्रत्येक वर्षमा डबल डिजिटमा लाभांश दिन सकिन्छ भन्ने हाम्रो योजना छ । बैंकलाई पूर्ण रुपमा प्रविधिकैत्री बनाउँछौं । अहिले बैंक तथा वित्तीय संस्था एक किसिमको सकसममा छन्, यो सकस कहिलेसम्म रहला जस्तो लाग्छ ? नेपालको अर्थतन्त्रमा भविश्यवाणी सही सावित हुन गाह्रो छ । बैंकिङ क्षेत्र एग्रेसिभ ग्रोथ भएर पनि बिग्रेको होकि जस्तो लाग्छ । अहिले केही थामिएको छ । रेमिट्यान्समा सुधार आइरहेको छ । निक्षेप कर्जाको तुलनामा बढेको छ । सरकारले गर्ने खर्चमा वृद्धि भयो भने अर्थतन्त्र सहज होला जस्तो लाग्छ । सरकार पनि एक किसिमको जोसमा छ । सबैले जोस जाँगरले काम गर्नु भयो भने पक्कै पनि सुधार हुन्छ । सुधार हुँदै गएको छ आशा गरौं छिट्टै अर्थतन्त्र सकारात्मक अवस्थामा फर्किनेछ ।
तनहुँमा ठेकेदारको लापरबाहीका कारण तीन वर्षमा १४ प्रतिशत मात्र कालोपत्र
तनहुँ । जिल्लाको भानु नगरपालिका– १३ भानुमार्ग अन्तर्गतको चन्द्रावती, पोखरीछाप, ठूलोढुङ्गा सडकखण्डको कालोपत्र तीन वर्षमा करिब चौध प्रतिशत मात्रै सम्पन्न भएको छ । निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४ गते दश किलोमीटर सडकखण्डमा २०७८ माघ १५ गते सम्ममा सक्नेगरी कालोपत्र गर्न सम्झौता गरे पनि निर्माण कार्यले गति लिन नसकेको हो । २३ करोड दुई लाख ८० हजार रुपैयाँमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले रु तीन करोड चार लाख २० हजार पेश्की लिएर निर्माण सुरु गरे पनि सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि पुनः २०७९ असार ३० सम्म म्याद थप गराएको थियो । थप म्यादभित्र पनि कामको सुरुवात नै नगरी फेरि एक वर्ष म्याद थप गरेर पनि निर्माण कार्यमा आलटाल गर्दै आएको स्थानीय उपभोक्ता गलबहादुर गुरुङले जानकारी दिए । समयमा काम सम्पन्न नगर्दा पानी पर्दा हिलो र पानी नपर्दा धुलोको सामना गर्न स्थानीयवासी बाध्य भएको उनले बताए । पछिल्लोपटक थप भएको म्यादभित्र पनि निर्माण कम्पनीको प्रतिनिधिले औपचारिकता निर्वाह गर्न केही कामदार र केही सामान ल्याएर झार टार्ने काम मात्रै गरेको स्थानीयवासीले बताए । उक्त निर्माण कम्पनीले जताततै ठेक्का लिएर निर्माण कार्यलाई अलपत्र पार्ने काम गरेको पूर्वाधार कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए । कार्यालयबाट पटक–पटक पत्राचार गर्नाका साथै फिल्डमा गएर काम गर्ने विषयमा माइन्युट गरेपनि अटेर गर्दै आएको उनको गुनसो थियो । कार्यालयका तर्फबाट गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी राखेका छैनौँ । प्रमुख घिमिरेले भने ‘चाँडो निर्माण सम्पन्न गर्न ताकेता गर्ने कार्यलाई निरन्तरता पनि दिँदै आएका छौँ ।’ थपिएको म्यादमा सात महिना वितिसकेको छ । म्याद सकिन लगभग पाँच महिना मात्रै बाँकी रहेको उनले बताए । उक्त सडक निर्माण भए भानुनगरपालिकाको १२ र १३ वडा तथा व्यास नगरपालिकाको ८ र ९ वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । निर्माण कम्पनीका प्रतिनिधिले हरेक बैठकमा दुई दिनभित्र आवश्यक कामदार र सामग्री ल्याएर निर्माण कार्यलाई तीब्रता दिने भनि माइन्युट गरेपनि पटक–पटक झुटो आश्वासन दिएर उपभोक्तलाई झुकाउने कार्य गरेको उपभोक्ता गुरुङले बताए । रासस
हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने
हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ । मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका सहसचिव बाबुराम गौतम र आँखा प्रतिष्ठानका तर्फबाट प्रमुख कार्यकारी अधिृकत डा रिता गुरुङले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मन्त्रालयले इन्ट्रा अकुलर लेन्स उतपादन विभाग स्थापनाका लागि प्रतिष्ठानका नाममा रु दुई करोड पक्की भवन निर्माण अनुदान निकासा गर्नेछ । सो रकम पक्की भवन निर्माणका कार्यबाहेक अन्यमा खर्च गर्न पाइने छैन । भवन निर्माण गर्दा गुणस्तरीयता कायम गर्नुपर्ने सम्झौतामा उल्लेख छ । प्रतिष्ठानले कानुनबमोजिम मुनाफा वितरण नगर्ने उद्देश्य राखी लेन्स उत्पादन कम्पनी/उद्योग दर्ता प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ । चालु आवका लागि निकासा भएको अनुदान रकम आगामी जेठसम्ममा खर्च गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । चालु आवमा खर्च हुन नसकेको बजेट फिर्ता गर्नुपर्नेछ । सम्पादन भएको कार्यको भौतिक तथा वित्तीय प्रगतिको त्रैमासिक प्रगति प्रतिवेदन अनिवार्यरुपमा प्रतिष्ठानले मन्त्रालयमा पठाउनुपर्नेछ । विभाग स्थानान्तरणका लागि आवश्यक खरिद गर्ने, निर्माण गर्ने, लेखापाल गर्ने, लेखापरीक्षण गराउने, प्रतिवेदन गर्नेलगायत सम्पूर्ण जिम्मेवारी प्रतिष्ठानको हुनेछ । लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि प्रतिष्ठानले मन्त्रालयमा पठाउनु पर्नेछ । समझदारीपत्रमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न दुवै पक्षका एक/एक जना सम्पर्क अधिकृत तोक्ने सहमति भएको छ ।
रास्वपाको बैठक सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरु भएको छ । पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि सुरु भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने निर्णय लिने बताइएको छ । यस्तै, रास्वपाका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दैछन् । उनले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत पार्टी केन्द्रीय कार्यालयबाट दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् । ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ, त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु, म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्, मैले सिधाकुरा नगरेको धेरै भएछ,’, उनले लेखेका छन् ।
चार गभर्नरको नजरमा हिमालय शमशेर राणा
काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणाको निधन भएको छ । उनको निधनप्रति वर्तमान गभर्नर महाप्रसाद अधिकारी र पूर्व गभर्नरहरुले दुःख व्यक्त गरेका छन् । गर्भनर महाप्रसाद अधिकारीले राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । राणा निवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको निधनले नेपालको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको बताए । केन्द्रीय बैंकको सोच, आवश्यकता, स्थापना, दृष्टिकोण ल्याउने व्यक्तित्व राणाले मुलुकको आर्थिक क्षेत्रमा भएको योगदान चर्चा गरेर नसकिने भन्दै अधिकारीले राणाले अर्थसचिवका साथै नेपालको प्रतिनिधिकारुपमा संयुक्त राष्ट्र सङ्घमा काम गरेको स्मरण गरे । भारतीय मुद्रासँग नेपाली मुद्राको उहाँको प्रयासमा भएको निर्धारण भएको सटही दर अहिले पनि कायम छ । गभर्नर अधिकारीले भने, ‘त्यस बेला नेपालमा भारतीय मुद्राको व्यापकरुपमा चलन चल्तीमा थियो, भारती मुद्रासँग नेपाली मुद्राको सटही दर कायम गर्ने ठूलो चूनौति थियो, सबै जनताको भावनालाई बुझेर तय गरेको उही दर हाल कायम छ ।’ गभर्नर अधिकारीसँगै पूर्व गभर्नरले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाली करेन्सीलाई चलनचल्तिमा ल्याएको योगदान बिर्सिन सकिँदैन : पूर्व गभर्नर नेपाल पूर्व गभर्नर चिरञ्जिवी नेपाल । उहाँले नेपालमा वित्तीय क्षेत्रको स्थापना गर्नु भयो । जुन बेलामा नेपालमा भारतीय मुद्राको दबदबा थियो । त्योबेला उहाँले नेपाली मुद्रा प्रचलनमा ल्याउन ठूलो योगदान गर्नुभयो । नेपालको मुद्रा बजारको लागि उहाँ नै संस्थापक हुनुहुन्छ । केन्द्रिय बैंकमा पनि उहाँको ठूलो योगदान छ । आदरणीय प्रथम गभर्नरलाई नेपालको वित्तीय क्षेत्र स्थापना र नेपाली करेन्सीलाई चलनचल्तिमा ल्याउने ब्यक्तिका रुपमा चिन्छु । कलंकी बसमा भएको घटना कहिल्यै बिर्सिन सक्दिनँ : पूर्व गभर्नर क्षेत्री एउटा असहज अवस्थामा उहाँले राष्ट्र बैंकको गठन गर्नु भयो । उहाँले भरतीय मुद्रासँगको विनियम दर १६० रुपैयाँ कायम गर्नु भएको थियो । उक्त विनिमय दर वि.सं. २०१३ सालमा भएको थियो, जुन हाल पनि कायम रहेको छ । उहाँले अध्ययन गरेर १६० रुपैयाँ तोक्नु भएको थियो । त्योबेला द्वयद मुद्रा प्रणाली थियो । भारतीय रुपैयाँ जहाँत्यहीँ चल्थ्यो । त्यसलाई नियन्त्रण गर्नुपर्छ भनेर उहाँले नेपाली मुद्रा सञ्चालनमा ल्याउनु भयो । उहाँका मार्गनिर्देशन अहिले पनि पालना गर्छाैं । उहाँको स्वास्थ्यले साथ दिएसम्म राष्ट्र बैंकको अभिभावकत्व दिइरहनुभयो । उहाँको योगदानप्रति राष्ट्र बैंक परिवार अहिले पनि कृतज्ञ हुनुपर्छ । उहाँको निधन प्रति म पनि हार्दिक समवेदना व्यक्त गर्दछु । विश्व व्यापार संगठनको सदस्यता लिँदा उहाँको अध्यक्षतामा समिति गठन भएको थियो । त्यो समितिमा म पनि सदस्य थिएँ । उहाँले अन्तर्राष्ट्रिय स्तरको अनुभवलाई समेटेर विभिन्न अभिव्यक्ति दिनुभयो । ब्यापार नियमन र अन्तर्राष्ट्रिय संस्थाहरुसँग संलग्नता राख्नु पर्ने उहाँहरुको अभिव्यक्ति हुन्थ्यो । ब्यापारमा प्रतिस्पर्धा हुनुपर्छ । साथसाथै आन्तरिक रुपले हाम्रो बजारलाई बलियो बनाएनौं भने फाइदा हुँदैन भन्नु हुन्थ्यो । यो सर्वमान्य विषय पनि हो । पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री । म ६ महिना मात्रै गभर्नर भएको हुनाले उहाँबाट मार्गनिर्देशन वा सुझाव पाउन सकिनँ । मेरो कार्यकाल हुरी बतास जस्तै भयो । बैंकिङ्ग क्षेत्र निकै तहसनहस थियो । बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको निती निर्देशन पालना गर्दैनथे । पालना गर्न लगाउँदा एउटा विकास बैंक नै खारेज गर्नुपरेको थियो । त्यस्तो बेला हामी आफै तल्लीन भएकोले उहाँको मार्ग निर्देशनलाई लिन सकिएन । बैशाख १४ गते बैंक दिशव मनाउँदा, अर्थतन्त्र अफ्ठ्यारो परेको बेला, मौद्रिक नीति तय गर्दा पूर्व गभर्नरहरुको राय लिने गरिन्छ । तर, मेरो कार्यकालमा यी कार्यहरु हुन सकेनन् । उहाँ राणा परिवारको मान्छे भएपनि विद्रोही हुनुहुन्थ्यो । संस्थापन राणाहरुमा मोहन शमशेर राणा प्रधानमन्त्री हुनुहुन्थ्यो । सुवर्ण शमशेर राणा सत्ताको बिमति राख्नु हुन्थ्यो । त्यसैले उहाँले प्रजातान्त्रिक बिचारहरुलाई अगाडि बढाउन भूमिका खेल्नु भयो । अरुलाई सम्मान गर्याे भने आफूले पनि सम्मान पाउँछौं भन्ने हेक्का उहाँमा मैले देखेको छु । म प्रायः सार्वजनिक यातायातमा सवार गर्छु । एक दिन रत्नपार्कबाट कलंकीसम्म जाँदा गाडीको सह–चालकले नचाहिँदो शुल्क लियो । मैले किन धेरै भाडा लिएको भनेर बादविवाद गरेको थिएँ । त्यो कुरा एउटा मिडियाको सम्पादकले सुनिरहनु भएको थियो । भोलिपल्ट एउटा पत्रिकामा समाचार आयो । राणाज्यूले ए दिपेन्द्र तिम्रो विषयमा मैले आज समाचार पढेको थिएँ भन्नु भयो । हत्तेरीका खानदान र इज्जत भएको ब्यक्तिले आफ्नै मोटरमा हिँडेको भए पनि हुन्थ्यो नी भन्ने उहाँले सोच्नु भएको थियो होला जस्तो लाग्छ । समाचार पढेको अपुष्ट कुरा मात्रै भन्नु भयो । उहाँमा पनि साधारण जीवन शैली हदैसम्मको थियो । अरुलाई पनि आदर गर्नुहुन्थ्यो । यस्ता धेरै उहाँबाट सिक्नुपर्ने गुण हुन् । स्वावलम्बन हुनुपर्छ भन्ने उहाँको विचार थियो । स्वास्थ्य ठिक गर्नका लागि म अहिले पनि गल्फ खेल्छु भन्नु हुन्थ्यो । म जहिलेपनि तपाईं यत्रो उमेरको मान्छेले स्वास्थ्यलाई कसरी बलियो राख्नु भएको छ ? हामीलाई पनि सिकाइदिनु पर्याे भन्थेँ । उहाँ मुसुक्क हाँस्नुहुन्थ्यो । दिनचर्या र अरुलाई सम्मान गर्ने विषयमा एकदमै अगाडि हुनुहुन्थ्यो । उहाँको दुखद निधन मुलुक र केन्द्रिय बैंकको लागि ठूलो क्षति हो । उहाँको आशिर्वाद र अविभावकत्व गुमेकोमा हामी चिन्तित छौं । उहाँबाट स्वास्थ्यदेखि सीपका कुरा सिकियो : पूर्व गभर्नर रावल पूर्व गभर्नर डा. तिलक रावल । उहाँ अति आदरणीय ब्यक्ति हुनुहुन्थ्यो । उहाँले नेपालको आर्थिक क्षेत्रमा अतुलनीय योगदान गर्नु भएको छ । केन्द्रिय बैंकलाई राम्रो दिशातर्फ उन्मुख गराउनु भएको छ । उहाँको योगदान अविस्मरणीय छ । उहाँले संयुक्त राष्ट्र संघमा रहेर लामो अवधि विभिन्न देशमा काम गर्नु भयो । त्यहाँ पनि उहाँको राम्रो नाम चल्यो । स्वदेश फर्केर आएपछि उहाँले वित्तीय क्षेत्रमा योगदान गर्नुभयो । निजी क्षेत्रमा बैंक स्थापनामा उहाँको अग्रणी भूमिका छ । अहिलेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक उहाँले नै स्थापना गर्नु भएको हो । उहाँ लामो आयू लिएर जन्मिनु भएको रहेछ । देवी देवताले उहाँलाई लामो आयू दिनु भएको रहेछ । जीवन पनि उहाँको राम्रै किसिमले बित्यो । विभिन्न कार्यक्रम, सभा समारोहमा केही वर्षअघिसम्म सक्रिय हुनुहुन्थ्यो । अहिले पनि उहाँ बिरामी भएर स्वर्गवास हुनु भएको होइन । सबैले उहाँकै जस्तो स्वस्थ जीवन र दीर्घायू पाउन, देवी देउताले सबैलाई यस्तै प्रकारको कृपा र करुणा आशिर्वाद दिउन् भन्ने मेरो कामना छ । दीवंगत आत्माको चिरशान्तीको कामना गर्दै परिवारजनमा परेको अतुलनीय दुःखको घडीमा भगावनले यो दुःख र पीडालाई सहने शक्ति प्रदान गरुन् भन्ने कामना छ । गभर्नर भएको ९ महिनामा नै सरकारले मलाई हटायो । म अदालत पुगेको थिएँ । मेरो पुर्नवहाली सर्वाेच्च अदालतबाट भएको हो । त्यसबेलाका न्यायाधिश कृष्णजंग रायमझी र तोप बहादुर सिंहले पुर्नवहाली गर्नु भएको थियो । सरकारले ममाथि जुन प्रहार गरेको थियो । त्यसको निन्दा उहाँ लगायत धेरै ब्यक्तिहरुले गर्नु भएको थियो । उहाँसँग जहिले पनि कुरा गर्दा नयाँ कुरा प्राप्त गर्थे । आफूले गरेको कामलाई थप अगाडि बढाउन थप हिम्मत हौसला मिल्थ्यो । उहाँ मिलनसार ब्यक्ति हो । उहाँले धेरै कुरा गरेर देखाउनु भयो । आफूलाई स्वस्थ राख्न खेलकुदमा पनि विशेष ध्यान दिनुहुन्थ्यो । कुन बेला के खाने, कति बेला के खेल्ने, कसरी मनोरञ्जन लिने भनेर उहाँ संवेदनशील र सचेत हुनुहुन्थ्यो जसलाई हामीले अनुसरण गर्न सक्छौं ।
काठमाडौंको बबरमहल र सुन्धारामा फाइभजी परीक्षण गर्दै एनटीसी
काठमाडौं । आजदेखि नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षण सुरु गरेको छ । टेलिकमले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा फाइभजीको आन्तरिक परीक्षण सुरु गरेको हो । आजदेखि आन्तरिक परीक्षण सुरु भएतापनि ग्राहकले त्यसको उपयोग गर्न पाउने छैनन् । फाइभजी नेटवर्कको आन्तरिक परीक्षण कम्पनीले आफ्नो बबरमहल र सुन्धारा स्थित कार्यालयबाट गर्दैछ । साथै केही समयपछी पोखरामा पनि परीक्षण थालिने कम्पनीले जनाएको छ । टेलिकमले भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका फाइभजी स्मार्टफोनमा यो सेवाको परीक्षण हुने जनाएको छ । यसअघि नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षदेखि फाइभजी सेवा परीक्षणको रुपमा शुरु गर्ने योजना बनाएको भएपनि बजारमा डिभाइस कम हुँदा परीक्षण स्थगित गरेको थियो । फाइभजी सपोर्ट गर्ने मोबाइल डिभाइस कम हुँदा तत्कालका लागि परीक्षण स्थगित गरिएको त्यस बेला जानकारी दिएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजीका लागि २६०० फ्रिक्वेन्सीको अनुमति दिएको छ ।
मिथिला लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । मिथिला लघुवित्तले फागुन १७ गते बुधबार साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्न चौथौं साधारण सभा बोलाएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ५ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन ४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा यस कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
वाग्मती प्रदेशसभाको बैठक बस्दै
मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ । वाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज बस्ने तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए । प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना सांसद छन् ।