एक महिनामै ८७ करोडको बीमा पोलिसी सरेन्डर, कसको कति ?
काठमाडौं । गत पुस महिनामा मात्रै ८७ करोड ४३ लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी समर्पण (सरेन्डर) भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार एक महिनामा ६ हजार ७८२ वटा बीमालेखबाट सो मात्राको बीमा पोलिसी सरेन्डर भएका हुन् । सञ्चालित १८ वटा बीमा कम्पनीका बीमितहरुले एक महिनामै ६ हजार ७८२ वटा बीमालेखबाट पोलिसी निश्चित समय अगावै त्यागेका हुन् । जसमध्ये नेपाल लाइफका बीमितले सबैभन्दा बढी रकमको बीमा पोलिसी सरेन्डर गरेका छन् । सो अवधिमा २ हजार ८३५ वटा बीमालेखबाट ४३ करोड ९७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । त्यस्तै, नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को सबैभन्दा बढी रकमको अर्थात ९ करोड ५९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । यो अवधिमा कम्पनीको १६७ वटा बीमालेख समय अगावै समर्पण भएका छन् । त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कर्पोरेशनका बीमितहरुले ८ करोड २३ लाख र राष्ट्रिय बीमा संस्थानका बीमितहरुले ७ करोड ७३ लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका छन् । कसको कति ? मेट लाइफ, एशियन लाइफ, गुराँस लाइफ, प्राइम लाइफ, युनियन लाइफ र सानिमा लाइफको एक करोडभन्दा बढी वा ५ करोडभन्दा कम रकमको बीमापोलिसी सरेन्डर भएका छन् । जसमा मेट लाइफको ३ करोड ६ लाख, एशियनको ३ करोड ६८ लाख, गुराँसको २ करोड ६ लाख, प्राइमको २ करोड १२ लाख, युनियनको १ करोड ३६ लाख र सानिमा लाइफको एक करोड १३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । एक महिनामै यी ६ कम्पनीका बीमितहरुले क्रमशः ३२७, ४९८, २४६, ३७०, ९५ र ४५ वटा बीमालेख त्यागेका हुन् । एक करोड रुपैयाँभन्दा कम रकमको पोलिसी सरेन्डरमा गर्नेमा अन्य ८ कम्पनीका बीमितहरु रहेका छन् । जसमा आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायवल नेपाल लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये पनि सन नेपाल लाइफको सबैभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएको छ । सरेन्डर भएका बीमालेख संख्याको आधारमा पनि सन नेपालकै सबैभन्दा कम छ । एक महिनामा कम्पनीको १० वटा बीमालेखबाट १० लाख ८४ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।
यी हुन् २ लाख रुपैयाँ कममा पाइने मोटरसाइकल, कुन कम्पनीको सस्तो ?
काठमाडौं । छोटो समयमा लामो दुरीको यात्रा सहज तरीकाले गर्न सकिने सवारी साधन मध्येको एक हो ‘मोटरसाइकल’ । पछिल्लो समय सडकमा दुई पाँग्रे सवारी साधनको चाप बढ्दो छ । ग्राहकलाई लक्षित गर्दै विभिन्न कम्पनीले नयाँ तथा आकर्षक मोडलका मोटरसाइकल पनि खरिदबिक्री गरिरहेका छन् । ती मोटरसाइकलको कम मूल्य, राम्रो माइलेज र पिकअप जस्ता विशेषताको आधारमा पनि ग्राहकलले मोटरसाइकल खरिद गर्ने गर्छन् । बजारमा लाखौं मूल्य पर्ने मोटरसाइकलहरू उपलब्ध छन् । सडकमा गुड्ने सवारी साधनमध्ये एक हिस्सा मोटरसाइकलले ओगटेको देखिन्छ । सहज तरिकाले आवागमन हुने भएकाले पनि दुई पाँगे्र सवारी साधन अधिकांशको रोजाइमा पर्छ । कतिपय बाइक सिटी राइड र कति अफरोडको लागि प्रयोग हुन्छन् । महँगो बाइक चढेर राइडमा जाने युवाको जमात पनि पछिल्लो समय बढ्दै गइरहेको छ । महँगो मात्रै होइन, बजारमा सबैको लागि उपयुक्त हुने थोरै रकमले पनि चिटिक्क परेका मोटरसाइकल बिक्री गर्ने कम्पनी धेरै छन् । तर, पहिलाको तुलनामा सवारी साधनको मूल्यमा केही वृद्धि भएको छ । मोटरसाइकल आधिकारिक वितरकले विभिन्न मोडलका बाइकको नाम तथा फिचर र मूल्यसहित आफ्नो वेबसाइटमा समावेश गरेर राखेका हुन्छन् । दुई पाँग्रे सवारी आवश्यकताका साथै कतिपयका लागि सवारी सोखको विषय पनि हुन् । हामीले टिभिएस, हिरो र बजाज लगायत कम्पनीले उत्पादन गर्ने मोटरसाइकलको मूल्य र विशेषताका लगायतका विषयमा चर्चा गरेका छौं । स्ट्राइकर १२५ दुई पाँग्रे सवारी निर्माता कम्पनी टिभिएसले पनि विभिन्न विशेषता भएका मोटरसाइकल उत्पादन गर्दै आएको छ । जसमध्येको एउटा मोडल हो स्ट्राइकर १२५ । यो बाइक टिभिएस कम्पनीको उत्पादन गर्ने दुई पाँग्रे सवारीमध्ये सबैभन्दा कम मूल्यको बाइक पनि हो । टिभिएस स्ट्राइकर १२५ बाइकको मूल्य अहिले नेपालमा १ लाख ९६ हजार ९ सय रुपैयाँ पर्छ । १२५ सिसीको यो मोटरसाइकलमा ४ वटा गियर बक्स छ । शहरी क्षेत्रका लागि यो मोटरसाइकल उपयुक्त रहेको बताइएको छ । यो मोटरसाइकल सस्तो र हेर्नमा पनि आकर्षक भएकोले अधिकांशको रोजाइमा पर्छ । रेडियन टिभिएस कम्पनीको अर्को मोडलको मोटरसाइकल हो रेडियन । यो मोटरसाइकल १०९.७ सिसी र एयर कूल्ड इन्जिन रहेको छ जसले पावर उत्पादन गर्छ । यस बाइकमा १० लिटरको इन्धन अट्ने क्षमताको ट्याङकी छ । सबैको लागि उपयुक्त हुने सो मोटरसाइकल सिटी राइडटको लागि उपयुक्त मानिन्छ । यो बाइक नेपालमा पनि उपलब्ध छ । जसको मूल्य एक लाख ९५ हजार ९ सय रुपैयाँ पर्छ । एचएफ डिलक्स हिरो कम्पनीको एचएफ डिलक्स नामक यो बाइक पनि सिटी राइडको लागि उपयुक्त मानिन्छ । यो एक सय सीसीको बाइक हो । यसको डिजाइन सामान्य छ । सेल्फ स्टार्टको सुविधा रहेको यो बाइकमा एनालग स्पिडोमिटर जडान गरिएको छ । यो बाइकले अन्य बाइकको जस्तो धेरै पेट्रोल खपत गर्दैन । इन्धन ट्याङ्की क्षमता ९.६ लिटर छ भने यसको वजन ११० केजी रहेको छ । हिरोको एचएफ डिलक्स मोडलको यस बाइकको मूल्य एक लाख ८३ हजार रुपैयाँ रहेको छ । यो बाइक तीन वटा कलरमा उपलब्ध छन् । स्प्लेण्डर प्लस हीरो कम्पनीको अर्को मोडलको बाइक हो स्प्लेण्डर प्लस । यो बाइक पनि मूल्यका हिसाबले एकदमै सस्तो छ । । हेर्दा सानो भए पनि यो बाइकमा धेरै विशेषताहरु छन् । अहिले नेपालमा यो मोटरसाइकलको मूल्य एक लाख ९५ हजार ९ सय रुपैयाँ रहेको छ । हिरोको स्प्लेण्डर प्लस ९७.२ सीसीको छ । यो बाइकमा ११ लिटर पेट्रोल अट्छ । सो बाईक तीन वटा कलरमा पाउन सकिन्छ । स्प्लेण्डर ईस्मार्ट ११० हिरो कम्पनीको स्प्लेण्डर ईस्मार्ट ११० बाइक पनि अधिकांशले प्रयोग गर्ने मध्यको एक हो । यो बाइकको ग्राउन्ड क्लियरेन्स १६५ र उचाइ १० मिलिमिटर छ । १०९.१५ सिसीको यो बाइकमा ८.५ लिटर पेट्रोल अट्छ । यो बाइकको लुक्स पनि स्मार्ट छ । जसका कारण आरामदायी यात्रा तय गर्न सकिन्छ । स्प्लेण्डर ईस्मार्ट ११० ४ वटा कलरमा उपलब्ध छ । यसको मूल्य नेपालमा १ लाख ८३ हजार ५ सय रुपैयाँ पर्छ । प्लाटिना १०० ईस बजाज कम्पनीको प्लाटिना १०० ईस मोडलको यो बाइक हेर्दा आकर्षक देखिन्छ । १०२ सीसीको यो बाइक ११ सय मिलिमिटर अग्लो छ । जसको कर्ब वजन १ सय ८ केजी रहेको बताइएको छ । इलेक्ट्रिक स्टार्टको सुविधा रहेको यो बाइको डिजाइन पनि आकर्षक छ । बजाज कम्पनीले सार्वजनिक गरेको मूल्य सूची अनुसार यो बाइकको मूल्य १ लाख ९५ हजार ९ सय रुपैयाँ पर्छ । यो बजाज कम्पनीको सबैभन्दा सस्तो मूल्यको बाइक हो । यो बाइकमा ११.५ लिटर पेट्रोल अट्छ ।
सुन्दर यातायातले विद्युतीय सवारी र चार्जिङ स्टेशन बन्द गर्ने
काठमाडौं । सुन्दर यातायातले सञ्चालन गर्दै आएको विद्युतीय चार्जिङ स्टेशन र विद्युतीय गाडी सोमबारदेखि चनलाउने जनाएको छ । सुन्दरले आईतबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार र विद्युत प्राधिकरणको असहयोगका कारण चार्जिङ स्टेसन र विद्युतीय सवारी साधन बन्द गर्ने चेतावनी दिएको छ । काठमाडौं सहित देशका ठूला सहरमा सार्वजनिक विधुतीय सवारीसाधन सञ्चालन गर्दै आएको सुन्दर यातायातले, यातायात सञ्चालनमा सरकारले असहयोग गरेको भन्दै सवारी साधन नचलाउँने चेतावनी दिएको हो । नेपाल सरकार र विधुत् प्राधिकरणको असहयोगको कारणले विधुतीय सार्वजनिक र अन्य निजि सवारीसाधन बन्द हुने भन्दै सुन्दर यातायातले सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको छ । २४ घण्टाभित्र डिमान्ड शुल्क नहटाए बाध्य भएर चार्जिङ स्टेशन र विद्युतीय सवारी साधन सञ्चालनमा रोक लगाउने विज्ञप्तीमा उल्लेख छ । ‘नेपाल सरकार विद्युत् नियमन आयोग र विद्युत प्राधिकरणलाई पटक/पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेशनको नाममा लिदै आएको डिमान्ड शुल्क हटाउनुपर्ने माग राख्दै आएको थियो, सुन्दरले राखेको माग अनुसार आयोगले २०७८ को मंसिर १९ गते डिमान्ड चार्ज नलिने घोषणा गरिसकेको थियो’, सुन्दरले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आयोगले डिमान्ड शुल्क नलिने घोषणा गरेको एक वर्ष हुँदासमेत छुट नदिई अतिरिक्त डिमान्ड शुल्क लिदै आएपछि बाध्य भएर सञ्चालनमा रोक लगाउनु पर्यो ।’ सुन्दर यातायातका अध्यक्ष भेषवहादुर थापाले विद्युत खपत बढाउँ भनि सरकारले नाटकीय रुपमा आह्वान गर्ने र आफ्नो निर्णय आफै कार्यान्वयन नगरी जनतालाई विद्युतीय सवारी साधन सञ्चालनमा रोक्ने गरेको आरोप लगाए । उनले नयाँ किसिमको योजनाका साथ सरकार उपस्थित भएको र विद्युतीय सवारी साधन बन्द गर्ने नयाँ योजना सरकारले ल्याएकोमा बधाई समेत दिएका छन् । प्राधिकरणले १४२ किलोवाट मेसिनबाट ३ स्थानमा चार्ज गर्दै आएको छ । सुन्दर यातायातले हाल १९० किलोबाट क्षमताको १२ वटा विद्युतीय चार्जिङ स्टेशन सञ्चालन गर्दै आएको छ । अध्यक्ष थापाले सिमित कर्मचारीले आफ्नो स्वार्थका कारण शुल्क लिने गरेको आरोप लगाए । उनले प्राधिकरणले डिमान्ड शुल्क धेरै लिएपछि चार्जिङ स्टेशनको खर्च समेत धान्न नसक्ने अवस्था आएको बताए । ‘हामीले खर्च धान्न सकेनौँ, भोलिबाट चार्ज गर्न नआउन सूचना नै जारी गरिसक्यौँ’, उनले भने । ‘प्राधिकरणका कर्मचारीहरु हामीले ल्याएको मेसिनबाट छिटो चार्ज हुने गरेपछि आफ्नो गल्ती लुकाउन सुन्दरमाथि डिमान्ड शुल्क लिने गरेका छन्, प्राधिकरणले हाल १४२ किलोबाट क्षमताका चार्जिङ स्टेशन सञ्चालन गर्दै आएको छ, प्राधिकरणको तुलनामा हामीले राम्रो काम गरेपछि हामीसँथ थप शुल्क लिन थाले’, उनले भने । सुन्दर यातायातले हाल काठमाडौं उपत्यकाभित्र ६ वटा ठुला विद्युतीय गाडी र २ वटा हाइस सञ्चालन गर्दै आएको छ । यस्तै, जनकपुर, भैरहवा, विराटनगर, काकडभित्तामा ४र४ वटा गरी १८ वटा ठूला विद्युतीय बस र २ थान हाइस गरी २० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ ।
सत्ता सहयात्री दलको एकतालाई जसरी पनि बचाउँछु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताए । ‘मेरो कोशिश त थियो, राष्ट्रिय सहमति गरौँ भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो’, उनले भने, ‘अदालतको निर्णयपछि उहाँहरू (रास्वपा) लाई अलि असहज त भएको थियो, उहाँसँग फेरि भेटेर कुरा गर्छु ।’ सरकारमा सहभागी भएको रास्वपाले आजै मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
स्थानीय राजस्व व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा
काठमाडौं । महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा ल्याइएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज एक कार्यक्रमबीच उक्त मोडलको शुभारम्भ गरे । यो प्रणाली सञ्चालनमा आएसँगै वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता, सेवा प्रवाहमा सहजता, खर्चमा मितव्ययिता र वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गरिएको छ । आजदेखि सुरु भएको ‘रेभिन्यु मोडल’ धुलिखेल नगरपालिकामा पूर्णरूपमा सञ्चालनमा आइसकेको र अन्य स्थानीय तहहरूमा क्रमशः लागू गर्दै जाने लक्ष्य लिइएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । रेभिन्यु मोडल शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यो प्रणालीको प्रयोगबाट स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै सही ढङ्गले सञ्चालन गर्न निर्देशन दिए । साथै उनले महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायले कानुनी अधिकारको प्रयोग गर्दै दैनिक कार्य सञ्चालनका कामभन्दा माथि उठेर थप सिर्जनशील प्रयास गर्नुपर्ने धारणा व्यक्त गरे । आन्तरिक लेखापरीक्षण तथा सरकारी लेखा प्रणालीलाई थप प्रभावकारी बनाउन पनि अर्थमन्त्रीले निर्देशन दिए । कार्यक्रममा आफ्नो धारणा राख्दै राजस्व सचिव डा रामप्रसाद घिमिरेले सरकारी निकायहरूमा निष्कृय रहेका खाताहरूको खोजी गर्नुपर्ने र सरकारी बाँकी असुलीलाई तीव्रता दिनुपर्ने बताउनुभयो । रेभिन्यु मोडलको प्रभावकारी कार्यान्वयनबाट त्यो सफल हुने पनि उनको भनाइ छ । अर्थसचिव तोयम रायाले हाल सञ्चालनमा रहेका प्रणालीहरूको निरन्तरताको लागि स्रोतको सुनिश्चितता एवं सञ्चित कोष व्यवस्थापन प्रणालीका सम्बन्धमा जानकारी दिनुहुँदै सूत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सह्रानीय रहेको धारणा व्यक्त गरे ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो ५ लाख रुपैयाँ
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित कुमार कार्कीको मृत्यु भएकोले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो । सो कम्पनिको इटहरी शाखाले सुनसरी जिल्लाको बराहक्षेत्रका रामझोडा निवासी स्वर्गीय कुमार कार्कीको घरमै गएर निजकी पत्नी गंगा पोखरेललाई ५ लाख ५३ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । जीवन बीमा मृत्यु दावी हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ, इटहरी शाखा प्रमुख चन्द्रमणी निरौलाले पीडितको सहजताकोलागि घरमै पुगेर रकम प्रदान गरिएको बताए । कार्यक्रममा इटहरी शाखाकी वरिष्ठ एजेन्सी मेनेजर तुल्सा कार्कीले जीवन बीमा जीवन रहँदा पनि जीवन नरहँदा पनि बीमित तथा आसृत परिवारको आर्थिक सुरक्षाको निमित्त अपरिहार्य रहेको बताइन् । बीमा दावी रकम बुझ्दै मृतककी पत्नी गंगा पोखरेलले रिलायबल नेपाल लाइफबाट झन्झटरहित तवरले दावी रकम पाएको र प्राप्त रकम छोराछोरीको भविष्य निर्माणमा लगानी गर्ने बताइन् । कार्यक्रममा मृतककी बहिनी सिता छेत्री, स्थानिय समाजसेवी अर्जुन भट्टराई, रिलायबल इटहरी शाखामा आवद्ध अभिकर्ता, एजेन्सी मेनेजर एवम् मृतकका नातेदारहरुको समेत उपस्थिती थियो । मृतक कार्कीको गत मंसिर २७ गते मृगौला तथा कलेजोमा भएको खराबीको कारणले मृत्यु भएको थियो ।
म्याक्सस मोटर्सको ३ वटा नयाँ गाडी नेपाली बजारमा
काठमाडौं । नेपाली बजारमा म्याक्सस ब्राण्डका तीन वटा सवारीसाधन सार्वजनिक भएको छ। म्याक्सस ब्राण्डको लागि नेपालको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान सार्वजनिक गरेको हो । कम्पनीले यी गाडीहरूको सार्वजनिकसँगै शोरूम उद्घाटन गरेको छ भने आजबाट बुकिङ खुल्ला समेत गरेको जनाएको छ । यी प्रिमियम गाडीहरूमा भेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधि सहित डिजाइन गरिएको २.८ लिटर र २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ । जसले ३६० एनएम र ३७५ एनएम पीक टर्क उत्पादन गर्छ भने अधिकतम पावर ११० किलोवाट र १२० किलोवाट क्षमताको रहेको छ । मिडसाइज पीकअपको रूपमा वर्गीकरण गरिएका यी म्याक्ससका पीकअप सेग्मेन्टमै सबैभन्दा लामो र चौडा गाडी रहेको कम्पनीको दाबी छ । यसको ह्विलबेस ३१५५ एमएम रहेको छ । त्यसैगरी, नेपालको भौगोलिक क्षेत्रका लगि उपयुक्त यो पीकअपको ग्राउण्ड क्लियरेन्स २१५ एमएम पाउन सकिन्छ । सुरक्षाको हिसाबले फाइभ स्टार एएनसीएपी रेटिङ पाएको टी ६० निकै सुरक्षित रहेको छ । म्याक्सस टी ६० र टी ७० पीकअप ट्रकहरूमा अटोमेटिक एसी, कीलेस इन्ट्री र स्टार्ट, पुस स्टार्ट बटन, हाइट एडजस्टेबल स्टेयरिङ ह्वील, क्रुज कन्ट्रोल, रेन सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका फिचर्स पाउन सकिन्छ । यसमा अन्य फिचर्स जस्तै चारवटा एयरब्याग, इलेक्ट्रोनिक बेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी) सहितको एबीएस, ईएसपी, आइएसओफिक्स चाइल्ड सिट, हिल स्टार्ट असिस्ट सिस्टम, ट्र्याक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक ब्रेक असिस्ट, रियर पार्किड सेन्सर र रिभर्स क्यामेरा पनि समावेश रहेका छन् । त्यसैगरी, कम्पनीले सार्वजनिक गरेको म्याक्सस भी ८० कार्गो भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको डी २.५ लिटर टर्बो डिजेल कमन रेल डाइरेक्ट इन्जेक्सनबाट संचालन हुन्छ । यसमा रहेको बोसको इन्टरकुल्ड इलेक्ट्रोनिक रूपमा रेगुलेट हुने इन्जिनले ३८०० आरपीएममा १०० किलोवाट पावर र ३३० टर्क जेनेरेट गर्छ । यसमा फेमिली ट्रिप र ट्रान्सपोर्टका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । पारामाउन्ट मोटर्सले नेपाली बजारका लागि म्याक्सस टी ६०को मूल्य ७७ लाख ९९ हजार, टी ७०को मूल्य ६८ लाख ४९ हजार र भी ८० को मूल्य ५० लाख ४९ हजार रूपैयाँ निर्धारण गरेको छ ।
राष्ट्रपतिले माघ २७ गते सङ्घीय संसद्लाई सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई यही माघ २७ गते सम्बोधन गर्ने भएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले माघ २७ गते अपराह्न ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुने जानकारी गराएका हुन् । नेपालको संविधान बमोजिम राष्ट्रपतिबाट संयुक्त सदनलाई सम्बोधन गर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार अपराह्न ५ बजे बस्नेछ ।