विकासन्युज

झिनो अंकले बढ्याे सेयर बजार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आइतबार सेयर बजार १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा बढी भएको छ । आज कम्पनीको ६ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् भने इस्टर्न हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

मेटलाइफ फाउन्डेशनले महिला नेतृत्वको व्यवसाय विकासका लागि ५० हजार डलर दिने

काठमाडौं । मेटलाइफ फाउन्डेशनले महिला नेतृत्वको व्यवसाय विकासका लागि ५० हजार डलर दिने भएको छ । फाउन्डेसनद्वारा पौरखी नेपाललाइ महिला नेतृत्वको व्यवसाय विकासका लागि अमेरिकी डलर ५० हजार सहयोग गरेको हो । मेटलाइफ फाउन्डेसनले सम्भावित आप्रवासी, विदेशमै अवस्थित आप्रवासी वा विदेशबाट फिर्ता आएका आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक स्थिरता निर्माण गर्न पौरखी नेपालसँग सम्झौता गर्दैछ । यस कार्यक्रम अन्तर्गत पौरखीले यी महिलाहरुको जीविकोपार्जनका लागि आर्थिक क्षमता निर्माण गर्ने प्रयासलाई बलियो बनाउन काम गर्नेछन् । अमेरिकी डलर ५० हजारको सहायताद्वारा यस परियोजनाले ४ महत्त्वपूर्ण क्षेत्रहरू जस्तै उद्यमशीलता, वित्तीय सेवाहरूमा पहुँच, स्थानीय बजारमा बिक्री विकास, र सहयोगी शिक्षा प्रदान गर्ने छ । पौरखीले काठमाडौं, चितवन र मकवानपुर जिल्लाका करिब १५ हजार महिलालाई सहयोग पुर्याउन यस अभियानलाई गम्भीरताका साथ सञ्चालन गर्नेछन् । यो परियोजना एम एस सी ग्लोबल कन्सल्टिङसँग समन्वय गरीएको छ, जुन बुटिक परामर्शदाता फर्म हो जसले विगत २० वर्षदेखि अर्थपूर्ण, आर्थिक, सामाजिक र आर्थिक समावेशी गतिविधिहरूमा काम गरिरहेको जनाएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘नेपाल जस्ता देशका महिला उद्यमीहरूले आफ्नो व्यवसाय स्थापना र व्यवस्थापन गर्दा आर्थिक स्वास्थ्य सुधार गर्न थुप्रै चुनौतीहरू सामना गर्छन् । यी महिलाहरूलाई आफ्नो उद्यमहरू निर्माण गर्न र आफ्नो आम्दानी बढाउन, डिजिटल फुटप्रिन्टहरू सिर्जना गर्न र विभिन्न प्रकारका वित्तीय सेवाहरू पहुँच गर्न सहयोग चाहिन्छ । मेटलाइफ फाउन्डेसनको यो सहयोगले यी महिला उद्यमीहरूलाई दिगो जीवन र थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गरेर उनीहरूको जीवनमा परिवर्तन ल्याउनेछ ।’ मेटलाइफ फाउन्डेसनको महिला–नेतृत्व व्यवसायको लागी सहयोगको एक भागको रूपमा, फाउन्डेशनले पौरखी जस्तै साझेदारहरु संग काम गर्न को लागी तथा उनीहरुको क्षमताहरु निर्माण गर्नको लागी मार्गदर्शन र वित्तीय सेवाहरुको प्रावधान संग काम गर्नेछ जसले उनीहरुलाई सम्बन्धित कठिनाईहरु पार गर्न मद्दत गर्ने कम्पनीले जनाएकाे छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समतालाई अंगाल्ने विषयको समर्थनमा, मेटलाइफ फाउन्डेसनको कार्यक्रमले महिला–नेतृत्व व्यवसायका महिलाहरुका लागि भारत, नेपाल र भियतनाममा उनीहरूको वित्तीय स्वास्थ्यमा सुधार गर्दै राम्रो जीवनयापनका अवसरहरू निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।

दाङमा नापतौल कार्यालय नहुँदा व्यवसायी नेपालगञ्ज जान बाध्य

दाङ । दाङमा नाप तौलको कार्यालय नहुँदा उद्योगी तथा व्यवसायी नेपालगञ्ज पुगेर नापतौलका सामग्री जाँच तथा नवीकरण गर्नुपर्ने बाध्यता छ । जिल्लामा गुणस्तर तथा नाप तौलको कार्यालय नहुँदा नापतौलका सामग्री जाँच तथा नवीकरणका लागि नेपालगञ्जसम्म जानुपर्ने बाध्यता रहेको घोराही सुनचाँदी व्यवसायी समितिका अध्यक्ष विनोद विकले बताए । उनका अनुसार नेपालगञ्ज जानुपर्दा आर्थिक तथा समयको खर्च हुनुका साथै सामान हराउने गरेको छ । ‘सुन चाँदी व्यावसायीले हरेक वर्ष जाँच तथा नवीकरण गरिनुपर्ने बाध्यता छ, नवीकरण नगरेमा जरिवाना लाग्छ, जाँच तथा नवीकरणका लागि जिल्लामा सुविधा छैन’, उनले भने । नेपालगञ्ज जाँदा आफ्नो सवारी नहुनेलाई दुई दिनसम्म लाग्ने उद्योगी तथा व्यवसायी बताउँछन् । जिल्लामा नापतौलको कार्यालय भएमा व्यावसायीलाई सहज हुने अध्यक्ष विकको भनाइ थियो । आफुहरुले समस्याका बारेमा पटक–पटकसम्बन्धित निकायमा जानकारी गराए पनि समाधान नभएको उनले बताए । ‘नापतौलका सामग्री धेरै प्रयोग हामीले गर्दछौँ, कति बेला बिग्रिन्छ थाहा हुँदैन, नयाँ किनेका सामग्री ३५ दिनभित्र दर्ता गर्नुपर्ने व्यवस्था छ । दर्ता गर्नका लागि नेपालगञ्ज जानुपर्छ’ गल्ला तथा किराना व्यवसायी समिति घोराहीका अध्यक्ष विनोदप्रसाद पाण्डेले भने । उनले ३५ दिनपछि गएमा दर्ता तथा नवीकरणसमेत नहुने बताए । ‘जिल्लामा कार्यालय छैन टाढा जानुपर्ने बाध्यता छ, समयमा जान सकिएन भने दर्ता हुदैन’ उनले भने । उद्योगी तथा व्यवसायीले समस्याका बारेमा सम्बन्धित निकायमा, मन्त्री, सांसद, राजनीतिक दललगायतलाई जानकारी गराए पनि समस्याको समाधान नभएको व्यापारीको भनाइ छ । जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले जिल्लामा गुणस्तर तथा नापतौलको कार्यालय स्थापनाका लागि आफुहरुले सम्बन्धित निकायमा निरन्तर प्रयास जारी राखेको बताए । ‘हामीले लामो समय देखि आवाज उठाउदै आएका छौँ, जिल्लामा मात्र नभइ साविक राप्ती अञ्चलमा नै नापतौलको कार्यालय छैन’, उनले भने । उद्योगी, व्यावसायीको सहजताका लागि उद्योग वाणिज्य सङ्घले नापतौल कार्यालयसँग समन्वय गरेर समय–समयमा शिविर सञ्चालन गदै आएको उनले जानकारी दिए । रासस

गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छ : मन्त्री किराती

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएका छन् । सो विमानस्थलको निरीक्षणपछि उनले आफू काठमाडौं पुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी दिएका हुन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक जहाज यहाँ किन आएका छैनन् भन्ने विषयमा आफूले छलफल गर्ने र उडान थाल्ने आश्वासन दिएका हुन् । नेपाल एयरलाइन्स मात्र नभइ अन्य विमानसेवाको उडानका लागि पनि आफूले पहल गरिरहेको उनको भनाइ थियो । श्रीलङ्का भ्रमणमा रहेका परराष्ट्रमन्त्री मार्फत कोलम्बो–भैरहवा–कोलम्बो उडानका लागि पनि पहल गरिएको मन्त्री किरातीले जानकारी दिए । प्रधानमन्त्रीको भारत भ्रमणका बेला आइएलएस, रुट परमिट, दिल्ली–भैरहवा उडानलगायत विषयमा भारतको सहयोगसम्बन्धी एजेण्डालाई पहिलो प्राथमिकतामा राखी पहल गरिने उनको भनाइ थियोे । मन्त्री किरातीले यस विमानस्थल सञ्चालनका लागि कूटनीतिक र प्राविधिक समस्या समाधान गर्ने प्रतिबद्वता व्यक्त गर्दै विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने पनि बताए । यस विमानस्थलमा नियमित उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै गत पुसमा उडान रोकेका थिए । नेपाल र चीनका निजी क्षेत्रको संयुक्त लगानी रहेको हिमालयन एयरलायन्सले गत पुस १ र जजिराले पुस ६ गतेदेखि उडान रोकेका हुन् । विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान र त्यत्तिकै सङ्ख्यामा अवतरण भएका थिए । सो अवधिमा ३२ हजार यात्रुले सेवा लिएको विमानस्थलले जनाएको छ ।

रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न

मकवानपुर । रिद्धि सिद्धि सिमेन्टको आयोजनामा गत बुधबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भयो। राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिकाको समन्वय तथा सहयोगमा आयोजित शिविरमा कलेज अफ मेडिकल साईन्ससको प्राविधिक सहयोग रहेको थियो। रिद्धि सिद्धि सिमेन्टका सिईओ गुण बहादुर खनालको प्रमुख आतिथ्यतामा संचालित उक्त शिविर कार्यक्रममा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा नेउपाने, समाजसेवि सम्राट तुम्वाहाम्फे, राक्सिराङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत देव चन्द्र गर्तौला लगायतले आतिथ्यता ग्रहण गरेका थिए। कार्यक्रममा जनरल फिजिसियन , बाल रोग, महिला रोग , हाड जोर्नि तथा नशा रोग, छाला रोगको परिक्षण तथा औषधि वितरण समेत गरिएको थियो । रिद्धि सिद्धि सिमेन्टका खानी प्रमुख गणेश कुमार सिह , प्रशासन् प्रमुख अच्युत पराजुली, सप्लाई चेन प्रमुख गुरु प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो। उक्त स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए। राक्सिराङ्ग गाउपालिका वडा नं ४ का अध्यक्ष सन्जय कोईरालाको सभापतित्वमा सम्पन्न भएको सो शिविर कार्यक्रम उक्त वडाकै विकुटार, मकवानपुरमा सम्पन्न भएको थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे कडा कारबाही गर्छु : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानूनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन् । आईतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताएका हुन् । ‘सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरुलाई सुध्रनको लागि समय दिएको छ,  दिएको समयभित्र सुधार नभए सरकारले कानूनी कारबाही गर्नेछ, ठगी गर्ने म्यानपावरहरुलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि हट्दैनौं,’ उनले भने । मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगत रुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको पनि बताए ।  

‍करोडौं लगानीमा धनगढीमा अस्पतालहरु थपिँदै, भारत र काठमाडौं धाउनुपर्ने अवस्था हट्यो

अत्तरिया । धनगढी उपमहानगरपालिका–२ मा निर्माणाधीन अवस्थामा सौभाग्यश्वरी हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । निजी अस्पतालको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्न निर्माणाधीन अस्पताल सञ्चालनको तयारीमा रहेको छ । झण्डै १६ करोड रुपैयाँको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको अस्पतालका सञ्चालक विवेकप्रसाद रिमालले जानकारी दिए । रिमालले भने, ‘हाल २५ श्ययाबाट सुरु भएको अस्पतालमा भविष्यमा १०० श्यया पु¥याउने योजना छ ।’ उक्त लगानीमा बन्दै गएको सो भवनको काम करिब ९५ प्रतिशत सकिएको छ । यस्तै धनगढी–३ स्थित निर्माणाधीन अवस्थामा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटल केही सेवा शुभारम्भ गर्दै बुधबारदेखि सञ्चालनमा आएको छ । अस्पतालले बुधबारदेखि आकस्मिक, फार्मेसी, प्रयोगशालासहितका केही विशेषज्ञ सेवा सुरु गरेको छ । बाँकी विशेषज्ञ सेवा पनि छिट्टै सञ्चालनमा ल्याइने अस्पतालका अध्यक्ष महेश जोशीले जानकारी दिए । पच्चीस श्ययाको अस्पतालमा आइसियु, एनआइसियु, पिआइसियु, सिटीस्क्यानका साथै हाडजोर्नी तथा नसारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधीबाट सर्जरी विशेषज्ञ, मेरुदण्डको जटिल शल्यक्रिया विशेषज्ञ, जनरल मेडिसिन पेट, छाती, मुटु, सुगर, प्रेसर विशेषज्ञ तथा नाक, कान, घाँटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, युरोलोजीलगायतका विशेषज्ञ सेवा सञ्चालनमा आएका छन् । धनगढी–१ सेती प्रादेशिक अस्पताल नजिक सञ्जिवनी अस्पतालले सेवा दिइरहेको छ । सञ्चालन अनुमतिका लागि उपमहानगरपालिकामा निवेदन पेश गरेको सो अस्पतालले आशय पत्र प्राप्त नगर्दै सेवा दिन सुरु गरेको हो । उपमहानगरपालिकाले सरकारी अस्पतालको तीन सय मिटरभित्र अस्पताल पर्ने भन्दै सञ्चालनका लागि आशय पत्र उपलब्ध गराएको छैन । अस्पतालका अध्यक्ष दुश्यान्त बस्नेतले छिट्टै नयाँ ठाउँमा अस्पताल सारेर सेवा प्रदान गर्ने तयारी रहेको बताए । उनले भने, ‘सरकारी स्वास्थ्य संस्थाको तीन सय मिटरभित्र रहेका निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य निर्देशनालयले हटाउने तयारी गरेको छ, त्यसैले हामीले नयाँ ठाउँमा जग्गा र भवन हेरेका छौँ, छिट्टै अस्पताललाई त्यहाँ स्थानान्तरण गरी सेवा प्रदान गरिने छ ।’ सो अस्पतालले नेपाल राष्ट्र बैंक नजिक रहेका भवन तथा जग्गाधनीसँग सम्झौता गरिसकेको छ । सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढीमा केही वर्षयता सुविधासम्पन्न अस्पताल सञ्चालनमा रहेका र केही सञ्चालन हुने तयारीमा रहेका छन् । प्रदेशको अस्थायी राजधानीका रुपमा स्थापित धनगढीमा निजी अस्पतालमा लगानी बढ्दै गएको छ । प्रदेशमा दशकअघि सामान्य बिरामी हुँदा पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । ‘तत्कालीन समयमा सेती अञ्चल अस्पताल हाल सेती प्रादेशिक अस्पतालमा पनि आवश्यक जनशक्ति र उपकरणको अभाव हुँदा सामान्य बिरामीलाई पनि अन्यत्र पठाउनुपर्ने अवस्था रहेको थियो’, उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख नृपबहादुर वड भन्छन्, ‘अहिले सेतीमा पनि सेवा विस्तारसँगै सुधार हुँदै गएको छ, त्यसैमा धनगढीमा निजी अस्पताल खोल्नेक्रम तीव्र भएको छ ।’ प्रदेशका पहाडी जिल्लालाई केन्द्रित गरी सञ्चालनमा रहेको डडेल्धुरा अस्पतालमा सेवा लिन आउने बिरामी पनि उपचारका लागि धनगढी पुग्ने गरिरहेका छन् । डडेल्धुरा अस्पताल सङ्घीय सरकार मातहत रहे पनि जनशक्ति, उपकरणलगायतका समस्या भोग्दै आएको छ । त्यसका कारण त्यहाँ जाँच गराउन आउने बिरामीको भरोसाको केन्द्र पनि धनगढीका अस्पताल बनिरहेका छन् । उनी भन्छन्, ‘यहाँ आएका बिरामी उपचारका लागि छिमेकी मुलुक भारत तथा नेपालगञ्ज, काठमाडौं धाउनुपर्ने अवस्था थियो, अहिले प्रायः बिरामी धनगढीकै अस्पताल पुग्ने गरिरहेका छन् ।’ उपमहानगरपालिकाको वडा नं ४ स्थित सिपी अस्पताल पत्थरीको समस्यालाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको थियो । अस्पतालले पत्थरीसँगै विशेषज्ञ सेवा उपलब्ध गराइरहेको छ । सिपी अस्पतालसँगै धनगढीमा रहेका नवजिवन, माया मेट्रो, केजी, निसर्ग, सारथी, नोभालगायत दर्जन बढी अस्पताल सञ्चालनमा छन् । धनगढीमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि पूर्वाधार, प्रविधि र विशेषज्ञ सेवा विस्तारको कामले तीव्रता पाउँदै गएको स्थानीय बताउँछन् । प्रदेशका नौवटै जिल्लाको रेफरल सेन्टरका रुपमा रहेको सेती अञ्चल अस्पतालसहित निजी क्षेत्रको लगानीमा समेत अस्पताल खुलेसँगै पहिलेभन्दा स्तरीय स्वास्थ्य सेवाको उपलब्धता धनगढीमै सम्भव भएको सारथी अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले बताए । स्वस्तिक अस्पतालले न्युरो, कार्डियो र क्यान्सरका बिरामीको उपचार धनगढीमै गर्नेगरी सेवा शुभारम्भ गरिरहेको छ । धनगढीमा रहेका अस्पतालले नवजात शिशु सघन उपचार कक्ष आइसियु, एनआइसीयु सेवा प्रदान गरिरहेका छन् । आफ्नो अस्पतालमा एमआरआई मेशिन जोड्ने तयारीमा रहेको निसर्ग अस्पतालका प्रबन्ध निर्देशक कुवेर शाहीले बताए । उनले भने, ‘हामी केही दिनमै मुटुसम्बन्धी उपचार गर्ने मेसिन पनि जडान गर्ने तयारी जुटिरहेका छौँ ।’ अहिले सेती प्रादेशिक अस्पतालमै हाडजोर्नी, शल्यक्रिया, स्त्रीरोग, मानसिक रोग, नाक, कान घाँटी, बालरोग, दाँत, फिजिसियन र छाला रोग विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । सुदूरपश्चिम प्रदेशमा अझै पर्याप्त सेवासुविधा दिन नसकेको डाक्टर हेमराज पाण्डेले बताए । उनले भने, ‘अझै प्रदेशमा न्यूरोलोजिस्ट, इन्डोलोजिस्ट, मेटोलोजिस्ट र प्लाष्टिक सर्जरी यहीँ व्यवस्था भएमा उपचारका लागि भारत धाउनुपर्ने बाध्यता हट्ने थियो ।’ रासस

छ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन

सर्लाही । भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म ४० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा १७ करोड ३५ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिए । उनका अनुसार कार्यालयले चालु आवमा ७८ करोड ५० लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । आव २०७८/७९ मा लक्ष्यको ८५ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको एक सय ७६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । अधिकृत साहका अनुसार राजस्वमा बढी योगदान गर्ने वस्तुको आयात घट्दा राजस्व सङ्कलन प्रभावित भएको हो । आयात हुने वस्तुमा आलु, प्याज, कोइला, सख्खर, माछाको दाना, भेनियर र फर्मलडिहाइड छन्, भने धान र गहुँको आयात निर्यात बन्द छन् । आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने उनको भनाइ छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण लामो समय व्यापार व्यवसाय बन्द हुनु तथा जिल्लामा रहेका अन्य सात वटा छोटी भन्सार कार्यालय पनि बन्द हुँदा राजस्व सङ्कलन प्रभावित भएको भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले जनाएको छ ।