विकासन्युज

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विलम्ब शुल्क छुटको पुनर्जागरण अभियान शुरु

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही माघ २३ गते देखि फाल्गुन १५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ । पुनर्जागरण अभियान अन्तर्गत दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखको हकमा मात्र लागू हुने र बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि बीमालेख व्यतित रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नु पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न ग्राहकवर्गलाई अनुरोध गरेको छ । हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ । अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको छ ।  

शोधान्तर स्थितिमा सुधार, ९७ अर्ब १० करोड रुपैयाँले बचतमा

काठमाडौं । शोधारन्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ७३ करोड ४४ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता रु.२९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई रु.४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.११ अर्ब ३४ करोड रहेको थियो ।

आयात र निर्यात घट्यो, ८० अर्बको वस्तु मात्रै बाहिरियो

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु निर्यात ३२.० प्रतिशतले कमी आई रु.८० अर्ब ८१ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्म आयात निर्यात घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४०.१ प्रतिशत र २५.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ३.६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई ७९२ अर्ब ६७ करोड रुपैयाँ कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.४ प्रतिशत, २४.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ ।

विदेशी मुद्राको सञ्चिति बढेर १३ खर्ब ३७ अर्ब पुग्यो

काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा रु.१३३७ अर्ब २९ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई रु.११८३ अर्ब ३७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई रु.१५३ अर्ब ९१ करोड कायम भएको छ । २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकको शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनी कष्टपुर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधीहरु, देनिक खानाका लागि अत्यावश्यक सामाग्रीहरु साथै विविध सरसफाइका सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । साहारा विहिन, अशक्त, असाहाय, शारिकि तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमको देनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । त्यस्तैगरि बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं ४ मा अवस्थित अमर शहीद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ । क्याम्पसमा हाल आठ सय विद्यार्थी अध्ययनरत रहेका र वर्षेनी विद्यार्थीको संख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानीका फिल्टर प्रदान गरेको हो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।  

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, श्रम स्वीकृति लिनेको संख्या डेढ लाख पुग्यो

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आप्रवाह बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई ५८५ अर्ब ८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंक्ले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । द्दण्। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई ६४४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।

२१ सय विन्दुमा नेप्से, एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ३९ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार एनआइसी एशिया बैंकको सेयर कारोबार सबैभन्दा बढी भएको छ । आज कम्पनीको ६ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् भने लक्ष्मी बैंक डिबेन्चर २०८८ का सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

विद्युतीय बस सञ्चालनबारे आशयपत्र माग

काठमाडौं । काठमाडौंको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको कार्यालयले दोस्रोपटक आयशपत्र माग गरेको छ । चक्रपथ विद्युतीय बस र्यापिड ट्रान्जिट इबीआरटी आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघि आह्वान गरिएको आशयपत्र रद्द गर्दै लगानी बोर्डको कार्यालयले दोस्रोपटक आशयपत्र माग गरेको हो । उक्त आयोजनाको सम्भाव्यता अध्ययनका लागि यसअघि गत मङ्सिर २६ गतेसम्म आशयपत्र पेस गरिसक्ने गरी ३५ दिने सूचना जारी भएको थियो । त्यो बेला माग गरिएको आशयपत्रमा केही कम्पनीले भौतिक रुपमा प्रस्ताव हालेपछि दोस्रोपटक आशयपत्र मागको सूचना जारी गरिएको लगानी बोर्डको कार्यालयले जनाएको छ । लगानी बोर्डले जारी गरेको आशयपत्रसम्बन्धी सूचना सार्वजनिक खरिद निर्देशिकामा भएको व्यवस्थाभन्दा फरक परेपछि रद्द गर्नुपरेको लगानी बोर्डका इञ्जिनीयर निशा त्रिपाठीले जानकारी दिए । ‘अघिल्लो सूचनाका आधारमा केही प्रस्तावकले प्रस्तावको हार्ड कपि दर्ता गराउन ल्याए । लगानी बोर्डले दर्ता पनि गर्यो । तर मूल्याङ्कन समितिले त्यसलाई विद्यमान कानुन र सार्वजनिक खरिद निर्देशिका बमोजिम भएन भनेपछि दोस्रोपटक आशयपत्र माग गरिएको हो’, इञ्जिनीयर त्रिपाठीले भने । विद्युतीय माध्याम इ–बिडिङबाट आशयपत्र माग भएकाले प्रस्ताव पनि विद्युतीय माध्यमबाटै आउनुपर्ने भन्दै अघिल्लो प्रस्ताव रद्द गरेर नयाँ प्रस्ताव आह्वान गरिएको उनको भनाइ छ । आयोजनाको सम्भाव्यता अध्ययनका लागि अघिल्लो पटक १३ वटा प्रस्ताव परेको बोर्डको कार्यालयले जानकारी दिएको छ । बार्डले माघ १८ गते अघिल्लो आशयपत्र रद्द गर्ने निर्णय गरेको थियो भने आइतबार पुनः आशयपत्र माग गरिसकेको छ । दोस्रोपटक पनि ३५ दिन समय राखेर सूचना जारी भएको छ । बोर्डको कार्यालयले उपलब्ध गराएको आयोजनासम्बन्धी विवरणअनुसार चक्रपथको २७ दशमलव तीन किलोमिटरमा विद्युतीय बस सञ्चालनका लागि छुट्टै लेन बनाउने र आवस्यक पूर्वाधार तयार पार्न १८ महिनाभित्रमा सम्भाव्यता अध्ययन सकिसक्नुपर्नेछ । यो आयोजनाका लागि सार्वजनिक–निजी साझेदारी पीपीपी अवधारणामा लगानी जुटाएर निर्माण–सञ्चालन र हस्तान्तरण ढाँचा बुट मोडलमा अघि बढाउने बोर्डले जनाएको छ । आयोजनासम्बन्धी विवरणअनुसार चक्रपथमा ७० देखि ७५ वटासम्म विद्युतीय बस सञ्चालन गर्न साँढे सातदेखि आठ मिटरसम्म चौडाइका दुईवटा डेडिकेटेड लेन बनाउन सम्भाव्यता अध्ययन गरिनेछ । त्यस्तै, विद्युतीय बस सञ्चालनलाई २६ देखि ३० वटासम्म बस टर्मिनल, ३० वटा चार्जिङ स्टेसनलगायत अन्य पूर्वाधार बनाउन अध्ययन गरिने उल्लेख छ । विद्युतीय सवारीसाधन सञ्चालन गर्न तयार पारिने डेडिकेटेड लेन बनाउन राइट अफ वेको जग्गा अधिग्रहण सरकारले गर्नेछ भने आयोजनाको सुरक्षाको जिम्मेवारी पनि सरकारले लिनेछ । रासस