विदेशी मुद्राको सञ्चिति बढेर १३ खर्ब ३७ अर्ब पुग्यो
काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा रु.१३३७ अर्ब २९ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई रु.११८३ अर्ब ३७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई रु.१५३ अर्ब ९१ करोड कायम भएको छ । २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।
महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकको शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनी कष्टपुर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधीहरु, देनिक खानाका लागि अत्यावश्यक सामाग्रीहरु साथै विविध सरसफाइका सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । साहारा विहिन, अशक्त, असाहाय, शारिकि तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमको देनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । त्यस्तैगरि बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं ४ मा अवस्थित अमर शहीद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ । क्याम्पसमा हाल आठ सय विद्यार्थी अध्ययनरत रहेका र वर्षेनी विद्यार्थीको संख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानीका फिल्टर प्रदान गरेको हो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, श्रम स्वीकृति लिनेको संख्या डेढ लाख पुग्यो
काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आप्रवाह बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई ५८५ अर्ब ८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंक्ले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । द्दण्। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई ६४४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।
२१ सय विन्दुमा नेप्से, एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार
काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ३९ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार एनआइसी एशिया बैंकको सेयर कारोबार सबैभन्दा बढी भएको छ । आज कम्पनीको ६ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् भने लक्ष्मी बैंक डिबेन्चर २०८८ का सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।
विद्युतीय बस सञ्चालनबारे आशयपत्र माग
काठमाडौं । काठमाडौंको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको कार्यालयले दोस्रोपटक आयशपत्र माग गरेको छ । चक्रपथ विद्युतीय बस र्यापिड ट्रान्जिट इबीआरटी आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघि आह्वान गरिएको आशयपत्र रद्द गर्दै लगानी बोर्डको कार्यालयले दोस्रोपटक आशयपत्र माग गरेको हो । उक्त आयोजनाको सम्भाव्यता अध्ययनका लागि यसअघि गत मङ्सिर २६ गतेसम्म आशयपत्र पेस गरिसक्ने गरी ३५ दिने सूचना जारी भएको थियो । त्यो बेला माग गरिएको आशयपत्रमा केही कम्पनीले भौतिक रुपमा प्रस्ताव हालेपछि दोस्रोपटक आशयपत्र मागको सूचना जारी गरिएको लगानी बोर्डको कार्यालयले जनाएको छ । लगानी बोर्डले जारी गरेको आशयपत्रसम्बन्धी सूचना सार्वजनिक खरिद निर्देशिकामा भएको व्यवस्थाभन्दा फरक परेपछि रद्द गर्नुपरेको लगानी बोर्डका इञ्जिनीयर निशा त्रिपाठीले जानकारी दिए । ‘अघिल्लो सूचनाका आधारमा केही प्रस्तावकले प्रस्तावको हार्ड कपि दर्ता गराउन ल्याए । लगानी बोर्डले दर्ता पनि गर्यो । तर मूल्याङ्कन समितिले त्यसलाई विद्यमान कानुन र सार्वजनिक खरिद निर्देशिका बमोजिम भएन भनेपछि दोस्रोपटक आशयपत्र माग गरिएको हो’, इञ्जिनीयर त्रिपाठीले भने । विद्युतीय माध्याम इ–बिडिङबाट आशयपत्र माग भएकाले प्रस्ताव पनि विद्युतीय माध्यमबाटै आउनुपर्ने भन्दै अघिल्लो प्रस्ताव रद्द गरेर नयाँ प्रस्ताव आह्वान गरिएको उनको भनाइ छ । आयोजनाको सम्भाव्यता अध्ययनका लागि अघिल्लो पटक १३ वटा प्रस्ताव परेको बोर्डको कार्यालयले जानकारी दिएको छ । बार्डले माघ १८ गते अघिल्लो आशयपत्र रद्द गर्ने निर्णय गरेको थियो भने आइतबार पुनः आशयपत्र माग गरिसकेको छ । दोस्रोपटक पनि ३५ दिन समय राखेर सूचना जारी भएको छ । बोर्डको कार्यालयले उपलब्ध गराएको आयोजनासम्बन्धी विवरणअनुसार चक्रपथको २७ दशमलव तीन किलोमिटरमा विद्युतीय बस सञ्चालनका लागि छुट्टै लेन बनाउने र आवस्यक पूर्वाधार तयार पार्न १८ महिनाभित्रमा सम्भाव्यता अध्ययन सकिसक्नुपर्नेछ । यो आयोजनाका लागि सार्वजनिक–निजी साझेदारी पीपीपी अवधारणामा लगानी जुटाएर निर्माण–सञ्चालन र हस्तान्तरण ढाँचा बुट मोडलमा अघि बढाउने बोर्डले जनाएको छ । आयोजनासम्बन्धी विवरणअनुसार चक्रपथमा ७० देखि ७५ वटासम्म विद्युतीय बस सञ्चालन गर्न साँढे सातदेखि आठ मिटरसम्म चौडाइका दुईवटा डेडिकेटेड लेन बनाउन सम्भाव्यता अध्ययन गरिनेछ । त्यस्तै, विद्युतीय बस सञ्चालनलाई २६ देखि ३० वटासम्म बस टर्मिनल, ३० वटा चार्जिङ स्टेसनलगायत अन्य पूर्वाधार बनाउन अध्ययन गरिने उल्लेख छ । विद्युतीय सवारीसाधन सञ्चालन गर्न तयार पारिने डेडिकेटेड लेन बनाउन राइट अफ वेको जग्गा अधिग्रहण सरकारले गर्नेछ भने आयोजनाको सुरक्षाको जिम्मेवारी पनि सरकारले लिनेछ । रासस
प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफल अगाडि बढाएका छन् । यस क्रममा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिएपछि प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न छलफल सुरु गरेका हुन् । रास्वपाले आइतबार मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्रचण्डले सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताउँदै आएका छन् ।
सकसमा सरकार : डलरको भाउ र ऋणको ब्याज बढ्दा समस्या
काठमाडौं । विदेशी डलरको मूल्यमा भएको उच्च उतारचढाव र आन्तरिक ऋणकोे ब्याजदर बढ्दा सरकार समस्यामा परेको छ । पछिल्लो समय डलरको मूल्यमा भएको उतारचढाव र आन्तरिक ऋणको ब्याजदर बढ्दा ऋण भुक्तानीमा सरकारलाई समस्या परेको हो । सरकारले चालू आर्थिक वर्ष २०७९/०८० का लागि १ खर्ब ८७ अर्ब २५ करोड ४८ लाख रुपैयाँ वैदेशिक र आन्तरिक ऋण भुक्तानी गर्न विनियोजन गरेको थियो । विनियोजित रकममध्ये पुस मसान्तसम्म ९६ अर्ब ३९ करोड ७० लाख रुपैयाँ खर्च भैसकेको छ । जसमा आन्तरिक तर्फ ७८ अर्ब २२ करोड ९२ लाख, वैदेशिक ऋण भुक्तानी (बहुपक्षीय) मा १४ अर्ब ६४ करोड ७० लाख रुपैयाँ र वैदेशिक ऋण भुक्तानी (दिपक्षीय) मा ३ अर्ब ३५ करोड ९ लाख रुपैयाँ खर्च (भुक्तानी) भैसकेको छ । सरकारले चालू आर्थिक वर्ष आन्तरिक ऋण भुक्तानी गर्न १ खर्ब ३४ अर्ब ३२ करोड २३ लाख रुपैयाँ, वैदेशिक ऋण भुक्तानी (बहुपक्षीय) मा ४० अर्ब ५६ करोड २० लाख रुपैयाँ र दिपक्षीय तर्फ १२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको थियो । विनियोजिक रकममध्ये पुस मसान्तसम्म आन्तरिक ऋण भुक्तानी गर्न ६७ अर्ब १६ करोड १२ लाख, वैदेशिक ऋणमा बहुपक्षीयमा २० अर्ब २८ करोड १० लाख र दिपक्षीय तर्फ ६ अर्ब १८ करोड ५२ लाख रुपैयाँ खर्च हुन अनुमान गरिएको थियो । विनियोजित रकममध्ये पुस मसान्तसम्म आन्तरिक ऋण भुक्तानीमा ७८ अर्ब २२ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ । विनियोजित रकमको तुलनामा पुस मसान्तसम्म ११ अर्ब ६ करोड ८० लाख रुपैयाँ बढी आन्तरिक ऋण भुक्तानी भएको हो । पछिल्लो समय डलरको मूल्यमा भएको उतारचढाव र आन्तरिक ऋणको ब्याजदर बढ्दा ऋण भुक्तानीमा समस्या देखिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्मा विनियोजित रकमले ऋण भुक्तानी गर्न नपुग्ने देखिएको बताउँछन् । उनका अनुसार बजेट निर्माण गर्दा आन्तरिक ऋणको ब्याजदर ८ प्रतिशतको हाराहारीमा रहेकोमा हाल १४ प्रतिशत भएको र डलरको मूल्य बढ्दा समस्या देखिएको हो । ‘चालू आर्थिक वर्ष विनियोजन भएको रकमले आन्तरिक तथा वैदेशिक ऋण भुक्तानी गर्न नपुग्ने देखिएको छ, हामीले नपुग्ने रकमका बारेमा अर्थ मन्त्रालयमा जानकारी गराइसकेका छौँ’, उनले भने । पूर्व अर्थ सचिव रामेश्वर खनाल बजेट बनाउँदा गरिने अनुमान यथार्थपरक नभएको बताउँछन् । ऋण भुक्तानी गर्न अनिवार्य दायित्वभित्र पर्ने भन्दै उनले थोरै रकम विनियोजन गरिँदा रकम नपुग्ने देखिएको बताए । उनले बजेट निर्माण गर्दा अनुमान गरिएको विदेशी विनिमय दर र आन्तरिक ब्याजदर पछिल्लो समय बढ्दा रकम अपुग हुनसक्ने बताए । सरकारले गएको आर्थिक वर्षमा १ खर्ब २१ अर्ब ८६ करोड रुपैयाँ बढी आन्तरिक तथा वैदेशिक ऋणको साँवा र ब्याज भुक्तानी गरेको थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले आर्थिक वर्ष २०७८/७९ मा ७६ अर्ब ७४ करोड साँवा र ४५ अर्ब १२ करोड ब्याज तिरेको छ । २० खर्ब ऋण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार नेपालको ऋण २० खर्ब १२ अर्ब बढी रहेको छ । कार्यालयको तथ्यांक अनुसार २०७९ असार मसान्तसम्म नेपालको ऋण २० खर्ब १२ अर्ब पुगेको हो । २०७८ असारमा १७ खर्ब ३७ अर्ब रुपैयाँ बराबर रहेको थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले आन्तरिक ऋणको साँवा भुक्तानीमा ४७ अर्ब ३३ करोड ७७ लाख ७० हजार र ब्याजमा ३७ अर्ब ६८ करोड ४७ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ । बाह्य ऋणतर्फ २९ अर्ब ४१ करोड साँवा र ७ अर्ब ४४ करोड रुपैयाँ ब्याज तिरेको छ ।
इटहरीमा नन्द भाउजुको सेलरोटी उद्यमबाट वार्षिक ७ लाख आम्दानी
इटहरी । इटहरी उपमहानगरपालिका २ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुन् । सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उनीहरु पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गरिदिन्थे । विसं २०७३ सालमा उनीहरु सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनि पदाधिकारीबीच छलफल हुँदा नन्द भाउजुले सेलरोटी पकाएर खुवाउने जिम्मा लिए । वार्षिकोत्सवका सहभागी सबैले उनीहरुले पकाएको सेलसोटी औधी मीठो मानी खाए । सेलरोटीको स्वादका चर्चा इटहरी बजारमा फैलियो । वार्षिकोत्सवमा सहभागी भएका एकले आफ्नो घरमा पूजा रहेको भन्दै सोही समयमा एक सय वटा सेलरोटीको अर्डर दिए । नन्द, भाउजुले भोलिपल्ट सय सेलरोटी पकाएर सहभागीको घरैमा पु¥याइदिए । सेलरोटीको प्रसंशा त्यहाँ पनि भयो । यो उनीहरुको व्यावसायिक सुरुवात थियो । त्यसपछि इटहरी, धरान र विराटनगरका विभिन्न ठाउँबाट पूजाआजा, व्रतबन्ध, पास्नीका लागि अवसरमा सेलरोटीको अर्डर आउन थाल्यो । इटहरी, धरान र विराटनगरका सुपरमार्केटले पनि नन्द, भाउजुले पकाएको सेलरोटी खोज्न थाले । नन्द, भाउजुले सोखका रूपमा थालेको सेलरोटीले विस्तारै व्यवसायको रूप लियो । उनीहरुले यसका लागि कम्पनी दर्ता गरे र सेलरोटी पकाउँदै बिक्री गर्न थाले । उनीहरुले अहिले ‘अर्गानिक चन्द्रमा कोशेली तथा मसला उद्योग’मार्फत् सेलरोटी पकाउँदै आएका छन् । यसका लागि पाँच जनाले जागिर पाएका छन् । सेलरोटी पकाउने काममा मात्र सीमित नभएर नन्द भाउजुको जोडीले उद्योगको दायरा फराकिलो बनाउँदै लैजानु भयो । हाल उनको कम्पनीमा अनर्सा, सुत्केरी मसला, बेसार, मसौरा, मकैको चामल, जौ चना मिश्रित सातुको पनि उत्पादन भइरहेको छ । हाल विराटनगर–२ स्थित शङ्करपुरमा आयोजना गरिएको ‘सिएनआइ एक्स्पो–२०७९’मा पनि उनीहरुले स्टल राखेका छन् । स्टलमा पकाएको सेलरोटी चाख्न उपभोक्ताको बाक्लो भिड देख्न सकिन्छ । एक्स्पोमा नन्द र भाउजुले दैनिक पाँच सयदेखि आठ सय सेलरोटी बिक्री गर्दै आएका छन् । एउटा सेलरोटीलाई ३० रुपैयाँमा बिक्री गर्छन् । भाउजु रिता मिश्रले संस्थामा खाजाका रूपमा पकाएर बाँडिएको सेलरोटीले आफूलाई उद्यमी बनाएको बताउँछन् । उनले सेलरोटीको अर्डर अत्यधिक हुन थालेपछि उद्योग खोलेर काम सुरु गरेको बताउँछन् । अन्य खाद्यान्न सामग्रीसँगै उत्पादनको काम पनि थालेको बताए । मिश्रका अनुसार उनीहरुले हाल दैनिक तीन हजार सेल पकाउने र यसबाट सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत हुन्छ । सीमित जनशक्तिका कारण उत्पादन विस्तार गर्न अझै नसकिएको उनको भनाइ छ । मिश्रले उधारोमा सामान लिने अनि समयमै पैसा नतिर्ने कतिपयको प्रवृत्तिका कारण समस्या भएको बताए । रासस