काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन् ।
महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गरे । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढने बताए । महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने जानकारी दिए ।
उनले भने, ‘राष्ट्रपतिका आँखा लाउलास भन्नु हुन्छ साथीहरु । तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरुमा हामीले कस्तो बनाएका छौं ? मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने । यो पटक म संसदमा एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा उभिए । निर्वाचनमा क्षेत्रमा हाल्छु भोट तलाई एमसीसी पास गर्ने भनेर गाली खाँए । राष्ट्रपतिजीलाई त्यो संग जोडेको छैन । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । किनभने राष्ट्रपति को हुने भन्दा पनि संविधानलाई दूर्घटनामा लिएर जाने वा नजाने भन्ने हाम्रो मनमा डर पसेको छ । डर हिजोको राष्ट्रपतिहरुको भूमिकाको कारणले पसेको छ । त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौं । ’
विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको महामन्त्री थापाको भनाई थियो ।