विकासन्युज

बिहानै विमानस्थलको छड्के अनुगमनमा मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय तेस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । विमानस्थलको क्रमिक सुधार भए नभएको विषयमा मन्त्री किराती बिहान साढे ५ बजे अनुगमन गर्न पुगेका सचिवालयले जनाएको छ । तेस्रोपटक अनुगमनमा पुगेका उनले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । ‘यो नै पूर्ण सुधार होइन, तर, क्रमिक सुधार भएको छ, यसबाट म आंशिक सन्तुष्ट छु, २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ’, उनले भने । एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड संचालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा रहेको उनले बताए । कर्मचारीले हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीको भनाई छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । उनले भने, ‘यहाँ भएका सुधारहरु मेरा लागि होइन, तपाईंहरुको मिहेनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरुलाई अपनत्व पनि महसुस गराउनेछ’, उनले भने । साथै मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यांकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिएका छन् । १५ सय चक्का लगायत पार्टस् खरीदका लागि बोलपत्र आह्वान पनि गरिएको छ । बिग्रिएका ट्रलीका चक्का मर्मत समेत भएको छ । सँगै उनले सुरक्षा जाँचका लागि स्क्यानरको व्यवस्था गर्न विमानस्थल व्यवस्थापनलाई सुझाव समेत दिएको सचिवालयले जनाएको छ ।

विजय लघुवित्तको २१.०५२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको माघ १० गते बसेको बैठकले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हालको चुक्ता पूँजी ३२ करोड रुपैयँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २०.०३१ प्रतिशत बोनस सेयर र १.०५४ प्रतिशत नगद गरी कूल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आजको मौसम : हिमपातको सम्भावना

  काठमाडौं । आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ । आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । यसैगरी प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान गरिएको छ । शुक्रबार पनि प्रदेश नं १ र बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रामपुरमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा शुरु

पाल्पा । पाल्पाको रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलोपटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् । अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । मङ्गलबार राति स्थानीय २१ वर्षीया सरला रेग्मीको सफलतापूर्वक शल्यक्रिया गरी सो सेवाको थालनी भएको हो । आफ्नै गाउँको अस्पतालमा सेवा पाएपछि अन्यत्र बिरामी लिएर धाउनुपर्ने समस्याबाट मुक्ति पाइएको बिरामीकी आमा सीता रेग्मीले बताइन् । ‘रामपुरमै सेवा पाएपछि बाहिर उपचार गराउन जाने समस्या हटेको छ’, उनले भनिन्, ‘गाउँमै पाएको सेवाले खुसी छौँ ।’ डा. सुनिलकुमार दासको नेतृत्वमा पहिलो पटक अस्पतालमा सो सेवाको थालनी भएको हो । जानकी मेडिकल कलेज जनकपुरमा एमबिबीएस अध्ययनपश्चात डा. दास यहाँ आएका हुन् । सफलतापूर्वक शल्यक्रिया भएपछि काम गर्न हौसला बढेको उनको भनाइ छ । सफल भएपछि उत्साह बढेको छ’, डा. दासले भने । आधारभूत सेवा विस्तार गरी बहु–विशेषज्ञ सेवा थालनी गर्न रामपुर अस्पतालमा कार्यरत जनशक्ति परिचालन गरी शल्यक्रिया सेवा थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विजय परियार बताउँछन् । ५० शैंयाको अस्पताल निर्माण जारी छ । अस्पतालले सेवा बढाउँदै लगेको छ । शल्यक्रियाका लागि छुट्टै जनशक्ति व्यवस्थापन गरी एपेन्डिसाइटिसको सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताए । छिट्टै विशेषज्ञसहितको सेवा दिने तयारी रहेको उनी बताउँछन् । अस्पतालले २०७७ चैतदेखि शल्यक्रियामार्फत प्रसूति सेवा समेत थालेको छ । एक हप्ताअघि हर्नियाको शल्यक्रिया सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १५, आव २०७८/७९ मा १६, आव २०७९/८० मा १२ जनाको सफलतापूर्वक प्रसूति शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । आव २०७६/७७ मा दुई सय २२, आव २०७७/७८ मा दुई सय तीन, २०७८/७९ मा दुई सय ७६ र २०७९/८० को हालसम्म एक सय ७९ जनाले सामान्य प्रसूति सेवा लिएका छन् । अस्पतालबाट पूर्वी पाल्पासहित स्याङ्जा, तनहुँ, नवलपुर (नवलपरासी सुस्तापूर्व) का स्थानीयले सेवा लिँदै आएका छन् । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी सेवा लिन आउने गर्दछन् । रासस  

बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा

म्याग्दी । बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ । चिकित्सकको निगरानीमा औषधि प्रयोगबिना बिरामीको उपचार गर्ने गरी सञ्चालनमा ल्याएको उक्त चिकित्सालय बजेट अभावले समस्यामा छ । गत वर्ष असोजदेखि बिरामी भर्ना गरेर सेवा दिने तयारी भए पनि आन्तरिक र जनशक्ति व्यवस्थापन गर्न बजेट अभाव भएपछि चिकित्सालय सञ्चालनमा समस्या भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । पर्यटन मन्त्रालयको ५० लाख रुपैयाँ तथा तातोपानी कुण्ड व्यवस्थापन समितिको एक करोडमा पाँचतले भवन निर्माण गरिएको छ । ‘भवन निर्माण गर्दा लागेको ६९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ’, उनले भने–’विभिन्न चरणमा उपभोक्ता समितिमार्फत भवन निर्माण गरिएको हो ।’ कोरोना महामारीका कारण तातोपानी कुण्ड सञ्चालन नहुँदा आम्दानीको स्रोत गुमेपछि बेनीस्थित एक सहकारीबाट ६९ लाख ऋण लिएर उपभोक्ता समितिलाई भुक्तानी गरिएको शाक्यले बताए । प्रदेश सरकारले विनियोजन गरेको ५० लाख बजेटबाट नगरपालिकामार्फत चिकित्सालयका लागि आवश्यक उपकरण र सामग्री खरिद गरिएको छ । योगा, फिजियोथेरापी, हाइड्रोथेरापी, अक्कुपञ्चर र परामर्शकक्ष निर्माण गरिएको छ । चिकित्सालय सञ्चालन नहुँदा खरिद गरिएका उपकरण थन्किएका छन् । ‘चिकित्सालय सञ्चालनका लागि प्रशासन र नगरपालिकालाई गुहारेका छौँ’, उनले भने– ‘बजेटका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेका छौँ ।’ म्याग्दी नदीको किनारमा जमिनभित्रबाट निस्कने तातोपानी सङ्कलन गरि तलाउमा परम्परागत शैलीमा शरीर डुबाएर गरिँदै आएको प्राकृतिक उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन चिकित्सालय बनाइएको हो । चिकित्सालयमा जलचिकित्सा, मसाजथेरापी, योगाथेरापी, पोषणथेरापी, अकुपञ्चर र परामर्शको माध्यमबाट औषधिको प्रयोगबिना विभिन्न नसर्ने रोगबाट थलिएका बिरामीको उपचार गरिन्छ । तातोपानीमा उपचार गराएमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायत स्वास्थ्य समस्या निको हुने बिरामी बताउँछन् । तातोपानी कुण्डमा पुरुष र महिलाका लागि फरक–फरक समयतालिका बनाइएको छ । कुण्डमा विशेषगरी असोज, कात्तिक, माघ, फागुन र चैतमा सर्वसाधारणको घुइँचो लाग्छ । कुण्डको आम्दानीबाट कर्मचारीको पारिश्रमिक, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराउने गरिएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिए । रासस  

भूमि प्रशासनलाई सूचना प्रविधियुक्त बनाइँदै

काठमाडौं । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले देशको पुरानो ऐतिहासक विरासत बोकेको मालपोत र नापीलाई सूचना प्रविधियुक्त कार्यालयका रूपमा रुपान्तरण गर्दै लैजाने योजना अघि सारेको छ । परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई विद्युतीय प्रणालीमा रुपान्तरण गरिएमा मात्र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउन सकिने उद्देश्य राखेर मन्त्रालयले उक्त अभियान अघि सारेको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मालपोत र नापीमा प्रयोगमा ल्याइएका भू–सूचना प्रणाली र भूसेवा केन्द्र सबै कार्यालयमा विस्तार गरी जग्गाधनीलाई विद्युतीय नम्बर प्रदान गरिने लक्ष्य रहेको बताए । उनले भने, ‘नापी विभाग र कार्यालयको मेरो कित्ता प्रणालीबाट जग्गाधनीले घरबाटै आफ्नो जग्गाको नक्सा लिन सक्नेछन् । मालपोत कार्यालयका एक करोड बढी कागजी अभिलेखलाई शीघ्र विद्युतीय अभिलेखमा रुपान्तरण गर्ने काम बजेट अभावका कारणले चुनौतीपूर्ण छ ।’ चालु आर्थिक वर्षमा मालपोत र नापी विभागको सूचना प्रणालीलाई एकीकृत गरी भूमि प्रशासनको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले मातहतका विभागलाई निर्देशन दिइसकेको छ । वैदिककालदेखि नै भूमिलाई राज्यको अधीनमा राखी भूमिको उपभोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनुपर्ने चलन छ । महिषपाल तथा किराँतकालमा भने जग्गाधनीपूर्जा जस्तै ‘लेख्य’ नामको प्रमाण दिइने र उत्पादनअनुसार जग्गाको कुत तिर्नुपर्ने व्यवस्था थियो । माल अड्डामा घरजग्गाको रजिष्ट्रेशन पारित गर्ने कार्यको सुरुवात भने १९७९ वैशाख १ गतेदेखि सुरु भएको हो । भूमिको समुचित व्यवस्थापन गर्ने क्रममा नेपालमा १९८५ देखि १९९० सालसम्ममा जग्गा नापजाँच गर्ने कार्य भएको थियो । विसं १९९६ मा काठमाडौँमा नापी गोश्वाराको स्थापना भई भूमिको वास्तविक लगत तयार पार्ने काम भएको हो । सचिव डा रेग्मीका अनुसार हाल मुलुकमा २१ भूमि सुधार र एक सय १० मालपोत कार्यालय छन् । मुलुकमा एक सय ३१ नापी कार्यालय र सातवटा विशेष नापी कार्यालय छन् । ती कार्यालयले वार्षिक डेढ खर्ब राजस्व उठाउने गरेकामा त्यसमध्ये ५० अर्ब संघमा, ६० अर्ब स्थानीय तहमा र  ४० अर्ब प्रदेशसित रहने सचिव रेग्मीले जानकारी दिए । रासस  

मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि मन्ता भिर काट्दै

जाजरकोट । जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ। अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ। जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भिर काट्न थालेको १२ वर्ष बितेको छ। अझै पूरा हुनसकेको छैन। भिर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी र आयोजनाले एकअर्कालाई आरोप लगाउँदै आएका छन्। सबै ठाउँमा कालोपत्रको कामसँगसँगै भइरहेको छ। तर कालोपत्र गरिएका अधिकांश ठाउँमा उप्किएको छ। मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगर्दा सडक बनाउँदै भत्किँने क्रम जारी छ। मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको १२ वर्ष बितेको छ । झार्पा र कार्कीगाउँ बीचको मन्ता भिरमा सडक निर्माण सम्पन्न नहुँदा समस्या भएको छ । कुदुबाट सुयाडासम्मको ८२ किमी सडक खुलिसकेको छ। मन्ता भिरको पाँच सय मिटर चट्टान अझै फुटाउन सकिएको छैन । लोकमार्गको जाजरकोट भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र पूरा भए पनि फेरी उप्किन थालेको छ। निर्माण व्यवसायीले भत्किएको सडक मर्मतमा ध्यान नदिएको स्थानीय भविलाल शाहीको आरोप छ। जगतीपुरबाट स्याउली बजारसम्मको अधिकांश सडक भत्किएको छ । निर्माण व्यवसायी कम्पनी सिंह एण्ड ब्रदर्सका विश्वास उप्रेतीले १७ किलोमिटर सडक पूर्णरूपमा सम्पन्न भएको बताए। स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटर सडक कालोपत्र जारी छ। कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटर सडकमा पनि काम भइरहेको छ । थलहबाट दैलेखको सिमानासम्म २९ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । भत्किएको सडक बनाउन पहल नभएको स्थानीय कमल शाहीले बताए। निर्माण कम्पनीका प्रतिनिधि उप्रेतीले भने आयोजनाबाट रकम नपाएका कारण काम गर्न गाह्रो भएको बताए । आयोजनाका प्रमुख युवराज पोखरेलले निर्माण कम्पनीले बदामासी गरेको आरोप लगाए । दश वर्षदेखि पुल नबनाउनेलाई जरिवाना ठेक्का लिएको १० वर्षसम्म पुल नबाउने ठेकेदार कम्पनीलाई सरकारले साढे आठ करोड जरिवाना गर्ने निर्णय गरेको छ। मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय दैलेखले मध्यपहाडी सडकअन्तर्गत जाजरकोट र रुकुमपश्चिम जोड्ने भेरी नदीमा पुल बनाउने जिम्मा लिएको वाइपी कन्स्ट्रक्सन प्रालिलाई उक्त जरिवाना तिराउने भएको हो। निर्देशनालयले सूचना जारी गर्दै निर्माण व्यवसायीलाई ठेक्का सम्झौताअनुसार काम नगरेको रु आठ करोड दाखिला गराउन निर्देशन दिएको छ। वाइपी कन्स्ट्रक्सनले रुकुम–जाजरकोट जोड्ने भेरी नदीमा पुल निर्माण अधुरै छाडेको थियो । निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि निर्माण गर्न अटेर गरेपछि गत मङ्सिर २९ गते को विभागीय निर्णयानुसार ठेक्का सम्झौता रद्द गरिएको हो। कम्पनीले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो । जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरवाहीका कारण १० वर्षदेखि अधुरै थियो । पुलका दुई पिलर मात्र निर्माण गरेर निर्माण कम्पनीले काम छाडेको थियो । तीन वर्षमा काम सम्पन्न गर्ने गरी १८ करोड लागत अनुमानको उक्त ठेक्का वाइपी कन्स्ट्रक्सनका राजु श्रेष्ठले १४ करोडमा ठेक्का सम्झौता गरेका थिए । ठेक्का सम्झौताको १० बर्ष बित्दासमेत काम नगरेपछि सम्झौता गत मङ्सिरमा तोडिएको हो। पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रको कामसमेत प्रभावित भएको आयोजनाले जनाएको छ। रासस

विर्तामोडमा पर्यटक आकर्षित गर्न भ्यूटावर

 विर्तामोड । विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ । शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गरेकाे श्रीजय ड्रिमल्याण्ड उद्यानमा  एक करोडको लगानीमा भ्यूटावर बताएका छन् । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र उद्यानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउँछन् । चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गर्नुभएका शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय उद्यान निर्माणमा जुटेका छन्। सो उद्यानमा लिची, आँप, अम्बालगायत फलफूलका बोट हुर्किएका छन् । घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन् । ढुङ्गानाले विगत छ वर्षेदेखि उद्यान निर्माण थालेकाे हो। ‘पैसा कमाउने उद्देश्यले होइन, समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले उद्यान बनाएको हुँ’, उनले भने । उनले उद्यानभित्र निर्माण गरेको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ। यहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ। टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी छ । उद्यानमा आन्तरिक पर्यटक आउन थालिसकेका छन् । उद्यानमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने व्यवस्था गरिएको छ ।  तीन करोडको लागतमा उद्यान निर्माण गरिएको हो । उद्यानमा स्विमिङ पुल, रिसोर्ट, फुटसल खेल्ने व्यवस्था गर्न लागिएको  । ‘उद्यानमा प्रत्येक वर्ष ‘लिची महोत्सव’ गरिँदै आएको छ’, उनले भने । रासस