विकासन्युज

द ब्रिटिस कलेजले बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने, विजेतालाई ५० हजार

काठमाडौं । द ब्रिटिस कलेजले इन्टर कलेज बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने भएको छ । बास्केटबल टोर्नामेन्ट यही २६ फ्रेबअरीबाट सुरु हुनेछ । टिबीसी स्पोट्र्स क्लबद्वारा आयोजना हुने यस टोर्नामेन्टमा १६ कलेजका टिमहरुबीच प्रतिस्पर्धा हुनेछ । ब्रिटिस कलेजले दिएको जानकारी अनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् । ब्रिटिस कलेजकैबास्केटबल कोर्टमा हुने खेल लिग–कम नकआउट फम्र्याटमा खेलाइनेछ ।उक्त प्रतिस्पर्धामा स्नातकमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागीता जनाउन पाउनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका विद्यार्थीले भने खेल्न पाउने छैनन् । बास्केटबल टोर्नामेन्टमा सहभागी हुनका लागि १० हजार दर्ता शुल्क लाग्नेछ । त्यस्तै दर्ता गर्ने अन्तिम समय २२ फ्रेबअरी रहेको छ ।

फाष्ट ट्रयाकमा अघि बढ्दै पेट्रोलियम पदार्थ अन्वेषणको काम, ६ वटा घर विस्थापित हुँदै

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बेठकले दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको हो । परियोजना अगाडि बढाउन सरकारले जमिन प्राप्तिको लागि महत्वपूर्ण निर्णय गरेपनि परियोजनाको कार्यान्वयन तर्फबाट काम भने सुस्त रहेको छ । पेट्रोलियम अन्वेषण परियोजनाका लागि सरकारले २०७८ को चैतमा २ वर्षको म्याद थपेको थियो । सरकारबाट जग्गा प्राप्तिबारे सैद्धान्तिक निर्णय गराउन परियोजनाको लागि एक वर्ष लाग्यो । त्यस क्षेत्रमा पर्ने निजी जग्गाको मुआब्जा निर्धारण र अधिग्रहण कार्य निकै जटिल र धेरै समय लाग्ने काम हो । सरकारले जग्गा प्राप्तीको स्वीकृत दिएपछि जग्गा अधिग्रहणको काम शुरु हुने पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश कुमार नापित बताउँछन् । अब सीडीओको अध्यक्षतामा गठन हुने समितिले जग्गाको मुअव्जा निर्धारण लगायतका काम सुरु गर्ने उनले बताए । ४५ रोपनी जग्गामा नगन्य मात्रामा सरकारी जग्गा रहेको उनले बताए । ‘बाटो, खोला तथा खोल्सामा सरकारी जग्गा पर्छ, परियोजनालाई आवश्यक पर्ने अधिकांश जग्गा व्यक्तिको पर्छ’, उनले भने । सीडिओको अध्यक्षतामा समिति पेट्रोलियम पदार्थ अन्वेषणका लागि ४५ रोपनी जग्गाको मुअब्जा निर्धारण गर्न दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडिओ० को अध्यक्षतामा समिति गठन हुनेछ । दैलेखका सीडिओ गोगन बहादुर हमाल सरकारको निर्णय अनुसार छिट्टै मुअब्जा निर्धारणको समिति गठन गरेर काम सुरु हुने बताउँछन् । उनको अध्यक्षतामा पेट्रोलियम अन्वेषण परियोजना प्रमुख, जिल्ला मालपोत तथा नापी कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रतिनिधि सदस्य रहने समिति गठनको तयारी भएको छ । उनले उक्त समितिले नेपाल सरकारले तोके अनुसार जग्गा अधिग्रहणको काम गर्ने बताए । ४५ रोपनी जग्गामा ६ वटा व्यक्तिको घर पर्छ भने अन्य खोतीयोग्य जग्गा निर्धारण भएको सीडिओ हमाल बताउँछन् । ‘पेट्रोलियम पदार्थकको अन्वेषणका लागि यहाँका स्थानीयहरुले धेरै सहयोग गर्नुभएको छ, उहाँहरु छिटो अन्वेषणको काम होस् भन्ने चाहनुभएको छ, उहाँहरुको तर्फबाट अहिलेसम्म कुनै रोकावट छैन्’, उनले भने । सरकारले तोके अनुसार र स्थानीय तहमा चलनचल्तीमा आएको मूल्यलाई आधार बनाएर घर तथा जग्गाको छुट्टा छुट्टै मुअब्जा निर्धारण हुने उनले बताए । सुर्खेतबाट दैलेखको भैरवी गाउँपालिकासम्म पुग्ने बाटो विस्तारको काम बाँकी नै रहेको उनले परियोजना प्रमुख दिनेश कुमार नापितले बताए । ‘कर्णाली हाइवे र मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने बाटो मर्मत तथा विस्तारको काम धेरै स्थानमा बाँकी नै छ’, उनले भने । बाटो मर्मत तथा विस्तारको काम सकिएपछि मात्र जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आवश्यक उपकरण पुर्याउन सकिने उनको भनाइ छ । ‘हामीले अनुमान गरेकोभन्दा केही ढिलाई भयो, अब आवश्यक तयारीमा लाग्छौुं, उनले भने । उनले पहिलो चरणको काम सकिएको भन्दै अन्तिम परिक्षणको काम बाँकी रहेको बताए । ‘एक चरणको काम सम्पन्न भैसकेको छ, अब अन्तिम चरणको काम हुन्छ, पहिला पानी निकाल्ने स्थानको पहिचान भैसकेको छ, अब हामीले पहिचान भएको स्थान र गहिराइमा ड्रिल गरेर पानी निकालिन्छ’, उनले भने । उनका अनुसार यसअघि निर्धारण भएको स्थानमा चिनियाँ प्राविधिक टोलीले ४ किलोमिटर गहिराइमा खाड्ल खन्नेर पेट्रोलियम पदार्थको अन्वेषणको काम गर्छन् । परियोजनाले आवश्यक सम्पूर्ण तयारी सकेको पत्राचार गरेपछि मात्र चिनियाँ प्राविधिक टोली नेपाल आएर अन्वेषणको काम सुरु गर्ने उनले बताए । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि यसअघि सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको थियो । खानी तथा भूगर्व विभागले यसअघि नै दैलेखको श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम गरेको थियो ।

पर्वतको पार्वती गुफालाई साढे चार रोपनी जग्गा निःशुल्क

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङ र खुर्कोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वती गुफाको भौतिक संरचना विस्तारका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । गुफा परिसरमा जग्गादाताले चार रोपनी, छ आना, तीन पैसा एक दाम जग्गा निःशुल्करूपमा प्रदान गरेका छन् । स्थानीय समाजसेवी हरि शर्मा, रविलाल शर्मा, जनकराज पौडेल र श्यामप्रसाद पौडेलले उक्त जग्गा दान गरेका हुन् । हरिले एक रोपनी पाँच आना, रविलालले एक रोपनी चार आना, एक पैसा तीन दाम, जनकराजले १४ आना दुई पैसा तीन दाम र श्यामप्रसादले १४ आना दुई पैसा तीन दाम जग्गा पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिलाई प्रदान गरेका हुन् । पूर्वाधार विस्तारका लागि जग्गा अभाव भएपछि स्थानीयवासीले निःशुल्करूपमा उपलब्ध गराएको वडा नं २ का अध्यक्ष श्यामकृष्ण बाँस्तोलाले जानकारी दिए । उक्त जग्गा बुधबार मालपोत कार्यालय पर्वतबाट समितिको नाममा पास गरिएको छ । प्राप्त भएको जग्गामा सत्तल, मठमन्दिर, विभिन्न मूर्ति, बगैँचालगायत पूर्वाधार निर्माण गरिने छ । गुफाको पूर्वाधार विकासका लागि बहुवर्षे योजनाका रूपमा गण्डकी प्रदेश सरकारमार्फत दुई करोड रकम विनियोजन भएको छ । पाङमा हिमालय पुत्री पार्वती जन्मेको विश्वास गरिएका कारण पर्वती जन्मेको ठाउँ, तपस्या गरेको पार्वती गुफा र पार्वती खेल्ने पार्वतीचौरलगायत क्षेत्र छन् । पाङको खरिबोटमा पार्वती जन्मेको विश्वास गरिएको जमिनमा मन्दिर बनाइएको छ भने खुर्कोट र पाङको सिमानामा पार्वतीले तपस्या गरेको विश्वास गरिएको पार्वती गुफा छ । यी क्षेत्रलाई समावेश गरी ‘पार्वतीधाम’को रुपमा विकास गर्ने योजना अघि बढाइएको समितिले जनाएको छ । पैंयुँ स्वास्थ्यचौकीमा डिजिटल एक्सरे मेसिन पर्वतको दक्षिण भेगमा रहेको विकट पैंयुँ गाउँपालिकास्थित स्वास्थ्यचौकीमा एक्सरे सेवा सुरु गरिने भएको छ । मोबाइल डिजिटल एक्सरे मेसिन स्वास्थ्य सेवा विभागले बुधबार पालिकालाई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत पथलैया स्टोर, बाराले रु एक करोड ४४ लाख ८२ हजारमा खरिद गरेको उक्त मोबाइल डिजिटल एक्सरे मेसिन गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीलाई हस्तान्तरण गरिएको छ । दक्ष जनशक्तिको व्यवस्थापन गरेर केही दिनमै डिजिटल एक्सरे सेवा सुरु गरिने उनले बताए। गाउँपालिकामा डिजिटल भिडियो एक्सरे सुविधा नहुँदा स्थानीय बासिन्दा स्याङ्जा, पोखरा र पाल्पा जानुपर्ने बाध्यता छ । रासस

सहकारीद्वारा ७० वर्ष नाघेका वृद्धवृद्धालाई भत्ता वितरण

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित लर्ड बुद्ध सहकारी ७० वर्ष उमेर नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता वितरण गरेको छ । सहकारीले आफ्नो २१औँ स्थापना दिवसमा २९ वृद्धवृद्धालाई भत्ता वितरण गरेको हो । सहकारीमा आबद्ध वृद्धवृद्धालाई दुई वर्षदेखि भत्ता वितरण गर्न थालेको हो । बुधबार उनीहरुलाई नगरप्रमुख मोहनप्रसाद तुम्बापोले भत्ता वितरण गरेका हुन् । सहकारीले जन्मदिन मनाउने, तीर्थाटन गराउने र बुढेसकालको सहारा लौरो उपहार दिनेजस्ता काम गर्दै आएको छ । उमेरभरि सहकारीमा पैसा जम्मा गरेर सहयोग गरेका वृद्धवृद्धालाई सहकारीले सम्मान गरेको सचिव महेन्द्र ढुङ्गानाले बताए । सहकारीले ७० वर्ष नाघेका वृद्धवृद्धालाई प्रत्येक तीन-तीन महिनामा तीन हजार रुपैयाँका दरले भत्ता वितरण गर्दै आएको छ । वार्षिकोत्सवका अवसरमा पत्रकार भूमि पाठकलाई नगद पाँच हजार रुपैयाँ एकसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक कर्णबहादुर राई र सहकारीमा आबद्ध एकल महिलालाई पनि सम्मान गरिएको थियो । यस्तै सहकारीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताका विजयी छात्र-छात्रालाई पुरस्कृत गरिएको थियो । ‘वर्तमान आर्थिक सङ्कट व्यवस्थापनमा सहकारीको भूमिका’ विषयक वक्तृत्वकलामा नगरका १५ विद्यालय सहभागी थिए । चन्द्रकिराँतेश्वर माविकी छात्रा निवा चेम्जोङ प्रथम, न्यू प्यागोडा अङ्ग्रेजी माविका भविन्द्र अधिकारी द्वितीय, रेडस्टार आवासीय माविकी मोनिका आचार्य तृतीय तथा मोरङ मेरिगोल्ड अङ्ग्रेजी माविका समीर कार्की र पञ्चायत माविकी गङ्गा भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गरे । रासस

गल्याङले नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क पढाउँदै

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ । नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिबब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो । नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए । नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत जनही १० हजार रुपैयाँ आठ सय प्रदान गरेको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन सयका दरले वर्षभरिको तीन हजार छ सय रुपैयाँ उपलब्ध गराइएको उनले जानकारी दिए । ‘क्याम्पस तथा विद्यालयले अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको आवेदन खुलाउने र त्यसैका आधारमा विद्यार्थीले आवेदन भरेका हुन्’, उनले भने, ‘प्राप्त आवेदनमाथि विद्यालयले छानविन गरी वास्तविक विद्यार्थी छनोट गरी नगरपालिकामा सिफारिस गरेको आधारमा यहाँबाट पूर्ण छात्रवृत्ति उपलब्ध गराएका हौँ ।’ पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमामात्रै अघिल्लो कक्षा अध्ययनका लागि पुनः छात्रवृत्ति प्राप्त गर्नेछन् । अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनले बताए । आर्थिक अभावकै कारण कोही पनि शिक्षा प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । नगरको शैक्षिक रुपान्तरणका लागि यस अभियानले विद्यार्थीमा अध्ययनतर्फ थप प्रोत्साहन मिल्ने उनको विश्वास छ । नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई १२ लाख ६९ हजार रुपैयाँ छात्रवृत्तिस्वरुप प्रदान गरेको छ । रासस

हेल्मेटभित्र लुकाएको १८ लाख रुपैयाँसहित दुई भारतीय नियन्त्रणमा

काठमाडौं । हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बीरगंज रक्सौला सडकखण्डबाटदुई जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ । भारत घर बताउने २६ वर्षिय राकेश कुमार र २७ वर्षिय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको टोलीले सो रुपैयाँसहित नियन्त्रणमा लिएको हो । भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत फेला परेका थियो । साथै फेला पारिएको नेपाली रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा बुझाईएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता ढिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बिहानै विमानस्थलको छड्के अनुगमनमा मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय तेस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । विमानस्थलको क्रमिक सुधार भए नभएको विषयमा मन्त्री किराती बिहान साढे ५ बजे अनुगमन गर्न पुगेका सचिवालयले जनाएको छ । तेस्रोपटक अनुगमनमा पुगेका उनले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । ‘यो नै पूर्ण सुधार होइन, तर, क्रमिक सुधार भएको छ, यसबाट म आंशिक सन्तुष्ट छु, २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ’, उनले भने । एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड संचालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा रहेको उनले बताए । कर्मचारीले हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीको भनाई छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । उनले भने, ‘यहाँ भएका सुधारहरु मेरा लागि होइन, तपाईंहरुको मिहेनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरुलाई अपनत्व पनि महसुस गराउनेछ’, उनले भने । साथै मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यांकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिएका छन् । १५ सय चक्का लगायत पार्टस् खरीदका लागि बोलपत्र आह्वान पनि गरिएको छ । बिग्रिएका ट्रलीका चक्का मर्मत समेत भएको छ । सँगै उनले सुरक्षा जाँचका लागि स्क्यानरको व्यवस्था गर्न विमानस्थल व्यवस्थापनलाई सुझाव समेत दिएको सचिवालयले जनाएको छ ।

विजय लघुवित्तको २१.०५२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको माघ १० गते बसेको बैठकले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हालको चुक्ता पूँजी ३२ करोड रुपैयँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २०.०३१ प्रतिशत बोनस सेयर र १.०५४ प्रतिशत नगद गरी कूल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।