विकासन्युज

जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । ‘जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ, त्यसका लागि झण्डै ७० वर्ष लामो संघर्ष गर्नुप¥यो, हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो, संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन्, कतिपय विषयमा बिमति पनि होलान् । तर, हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो’, उनले भने । संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउनु जरूरी रहेको भन्दै संविधानको पूर्ण कार्यान्वयनपछि मात्र संविधानमा भएका समस्या र त्रुटिहरू निष्कर्षमा पुग्ने सकिने उनको भनाई छ । ‘संविधानले भनेको कुरा पहिला लागू गरौँ, त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला, संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन’, उनले भने ।

सामान्य अंकले बढ्यो नेप्से, अपि पावरको सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । बिहीबार सेयर बजार १२.४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार बिहीबार सेयर बजार बढेर २१८२.६१ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५६ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको ५ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, आज सबैभन्दा धेरै बारही हाइड्रोपावर कम्पनीको सेयरधनीले कमाएका छन् भने नबिल ब्यालेन्स्ड फण्ड-३ का सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

भारतीय बजारका कारण मारमा उपभोक्ता

पोखरिया । नेपाली धानको मूल्यवृद्धि भएकाले किसानले राहत राहतको अनुभूति गरेका छन् । यसपाली नेपाली धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल तीन सय रुपैयाँले वृद्धि भएपछि किसानले थोरै भए पनि राहतको महशुस गरेका हुन् । भारतले धान निकासीमा कोटा लगाएको र भारतमै पनि मूल्यवृद्धि भएकाले नेपाली धानको मूल्य पनि गत वर्षको तुलनामा धानको मूल्य बढेको हो । धानको मूल्य बढेसँगै प्रतिकेजी ४८ रुपैयाँमा पाइने सोना मन्सुली चामल ५८, ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामल ६४ रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेस प्रदेशका किसान मारमा पर्दै आए पनि यसपाली भने केही भए पनि राहत पाएका छन् । वीरगञ्ज वडा नं ३० स्थित लालपर्साका किसान सीतारामप्रसाद भन्छन्, ‘धानको उत्पादनमा लाग्ने खर्चभन्दा बिक्री गर्ने रकम जहिले कम नै हुने गरेको भए पनि यसपाली भने थोरै भए पनि खुसी भएको छु ।’ उनी भन्छन्, ‘म अहिले ६५ वर्षभन्दा माथिको भए, करिब १६ वर्षको उमेरदेखि धानखेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन मल समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने अवस्था छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या हुनेगरेकामा अहिले अलिकति भए पनि धानको मूल्यवृद्धि हुँदा हामी किसान खुसी नै छौँ तर यो पर्याप्त चाहिँ होइन ।’ अर्का पर्साको सबैठवा–४ की किसान किसमतीया देवी भन्छिन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद्य पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको मूल्य वृद्धि भएको हो ।’ यो बृद्धिले केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्छ । धानको मूल्यवृद्धिले एकातिर किसान खुसी भएका छन् भने अर्कोतर्फ चामलका उपभोक्ता भने मारमा परेका छन् । धानमा प्रतिक्विन्टल तीन सय रुपैयाँसम्म मूल्यवृद्धि हुँदा चामलमा प्रतिकिलो १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म मूल्यवृद्धि भएका कारण आफूहरु मारमा परेको उपभोक्ताको गुनासो छ । वीरगञ्ज महानगर वडा नं १२ मूर्लीकी सरिता देवी कुर्मी चामलको मूल्य अचानक बढेपछि गर्जो टार्न समस्या हुने गुनासो गर्छन् । भारतले नेपालका लागि चालू वर्षमा छ लाख टन धान निकासी गर्ने कोटा निर्धारण गरेका कारण भारतमै धानको मूल्य बढेकाले नेपालमा पनि धानको मूल्यसँगै चामलको मूल्य पनि बढेकाले उपभोक्ता मारमा परेका हुन् । नेपाल चामल तेल दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष सुबोध गुप्ता भारतले गत वर्षदेखि समर्थन मूल्य पाँचदेखि छ रुपैयाँ बढाएर बिक्री गर्ने गरेको र भारतबाट धान, चामल नेपालतर्फ आयात गर्दा त्यसमै भन्सार कर र भाडा जोडेर नेपालतर्फ बिक्री गर्नुपर्ने भएकाले मूल्यवृद्धि भएको बताउँछन् । उनी अझ पनि नेपाल धान चामलका लागि ५० देखि ६० प्रतिशत भारतमै निर्भर रहेको र नेपालको बजारमा पनि भारतकै धान, चामलको समर्थन मूल्यले ठाउँ लिने हुँदा यस्तो अवस्था सिर्जना भएको हो भन्छन् । गत वर्ष यही याममा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ थियो भने हाल तीन हजार एक सय रुपैयाँ छ । त्यही धान भारतमा प्रतिक्विन्टल तीन हजार दुई सय ५० रुपैयाँ अर्थात् नेपालको धान, चामलको मूल्य पनि भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको सुबोध गुप्ताको भनाइ छ । रासस  

‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ’

झापा । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्ताँै काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताए । उनले मुलुकमै चिया निर्यातबाट वार्षिक तीन अर्ब बढी रकम भित्रिरहँदा पनि सरकारको स्वदेशमै प्रयोगशाला स्थापनाको पहल नगरेको गुनासो गरे । ‘चिया उद्योगप्रति सरकारको व्यवहार विभेदपूर्ण छ,’ उनले भने–’भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पु¥याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ ।’ सरकारले चाहने हो भने प्रयोगशाला राख्नु कुनै ठूलो समस्या नभएको उनको भनाइ छ । नेपाली चिया उत्पादकहरुले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त ल्याब खोल्न सरकारसँग पटक–पटक माग गरेका छन् । मुलुकमित्र चियाको गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको मित्तलले गुनासो गरे । मुलुकको आर्थिक सूचकाङ्कमा चिया उद्योग सफल उद्योगको रुपमा चित्रित भए तापनि सरकारको नीति र दृष्टिकोण भने सकारात्मक नभएको साना किसान चिया सहकारी सङ्घका अध्यक्ष हर्क तामाङको आरोप छ । भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यको आधारमा ५० वर्षदेखि एउटै मूल्यमा नेपाली उद्योगी, व्यवसायी चिया बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड विर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकातास्थित सेन्टर फुड ल्याबमा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउँदै आएको बताए । उनले नेपालको कूल चिया उत्पादनको ९९ प्रतिशत प्रदेश नं १ मै उत्पादन हुने हुँदा चिया परीक्षणको ल्याब स्थापना गर्ने तयारी भइरहेको बताए । उनले मुलुकमै गुणस्तर परीक्षण गर्ने ल्याब सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्यसमेत पाउने बताए । नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ । त्यसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । हाल वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । कूल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी सबै भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । बोर्डका अनुसार चिया निर्यातबाट बर्सेनी रु तीन अर्ब ८० करोड विदेशी मुद्राआर्जन हुने गरेको छ । चिया क्षेत्रमा ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ वटा सिटिसी गरी ६८ ठूला चिया उद्योग सञ्चालनमा छन् । एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् । नेपालमा एक सय ६० भन्दा बढी चिया बगान रहेका छन् । चिया खेतीमा १५ हजार भन्दा बढी साना किसान आवद्ध छन् । रासस

१० महिनादेखि पाटन विमानस्थलमा हवाई सेवा बन्द

बैतडी । पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो । हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । ११ करोड रुपैयाँको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियोे । गत चैत १० गते अन्तिम पटक उडान भएको थियो । हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । आगामी फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टको भनाइ छ । पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा पाँच हजार रुपैयाँ रहेको छ । हवाई सेवा बन्द हुँदा आकस्मिकरुपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए । भाडा पनि महँगो भएकाले घटाएर नियमितरूपमा आउनुपर्ने उनको भनाइ छ । सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो । पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ मा पुनःसञ्चालनमा आएको थियोे । विसं २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल विसं २०५१ देखि भने बन्द थियो । रासस  

आधारभूत विद्यालय सिसाबासलाई प्रशान्त पोखरेल स्मृति पुस्तकालय हस्तान्तरण

चितवन । चितवनको भरतपुर–२८ पर्साबजारमा रहेको आधारभूत विद्यालय सिसाबासलाई ‘प्रशान्त पोखरेल स्मृति पुस्तकालय’ हस्तान्तरण गरिएको छ । विद्यालयको ६५औं वार्षिकोत्सवको अवसरमा स्व. प्रशान्त पोखरेलका हजुरबुबा लिलाबहादुर पोखरेल, स्व. हजुरआमा सोमकला पोखरेल एवं पोखरेल परिवारले दुई कोठे पुस्तकालय हस्तान्तरण गरेका हुन् । बागमती प्रदेशका प्रदेश सांसद ईश्वर सापकोटा (सुमन) प्रमुख आतिथि रहेकाे कार्यक्रममा पुस्तकालय हस्तान्तरण गरिएको थियो । सापकोटाले स्व. पोखरेलको स्मृतिमा स्थापना गरिएको पुस्तकालयले शिक्षामा सहयोग गर्ने बताएका थिए । पुस्तकालयमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले पढ्ने पुस्तक राखिएको स्व. पोखरेलका काका बालसिहं पोखरेलले बताए । ‘सबै उमेर समूहले पढ्ने पुस्तक राखेका छौँ, जसमा बालबालिकाको मनोविज्ञानसँग जोडिएका पुस्तक, बाल साहित्य, किशोर अवस्थामा उपयोगी पुस्तक, अभिभावक सचेतना बढाउने पुस्तक, सामान्य ज्ञान, स्वास्थ्य सेवामा आधारित पुस्तक, खेतिपातीमा उपयोगी पुस्तक, धार्मिक पुस्तक, भाषालगायत रहेका छन्,’ उनले भने । पोखरेलले वर्षैपिछे पुस्तकालयमा पुस्तक थप्ने समेत जानकारी दिए । पुस्तकालय पोखरेल परिवारकै संरक्षणमा रहेने उनले बताए । स्व. प्रशान्त पोखरेलको जन्म २०५९ असोज २२ गते भरतपुर–२८ योगीटोलमा भएको थियो । कक्षा ७ सम्म उनले आधारभूत विद्यालय सिसाबासमा अध्ययन गरेका थिए । यस विद्यालयबाट कक्षा ७ उत्तीर्ण गरी उनी यसै वडाको श्री सरस्वती माध्यामिक विद्यालय जितपुरमा भर्ना भएका थिए । त्यहाँ पढ्न गएको तीन दिनका दिन साँझ ट्रयाक्टर घर ल्याउने क्रममा दुर्घटनामा परी २०७३ वैशाख १३ गते उनको मृत्यु भएको थियो ।

नाडाले ट्राफिक प्रहरीलाई दियो हाईटेक एडभान्स सिपियुका साथै थुप्रै उपकरण

काठमाडौं । नाडाले उपत्यका ट्राफिक प्रहरी कार्यालयको सशक्तिकरणका लागि सहयोग प्रदान गरेको छ । नाडाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई कार्यालयको सशक्तिकरणका लागि सहयोग गरेको हो । नाडाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई बुधबार राजधानीको सेण्ट्रल ट्राफिक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स सिपियु तथा त्यससंग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको छ । त्यसै क्रममा नाडाले १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ । सो कार्यक्रमा राजधानीको ट्राफीक व्यवस्थापन तथा पारकिङ्गका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत छलफल गरेको छ । सो अवसरमा नाडाका अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए । सो कार्यक्रममा नाडाका अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुष्ट बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए । त्यसै क्रममा सो कार्यालयका प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेको बताए । उक्त हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो । ट्राफिक कार्यालयका उच्चअधिकारीहरु समेतको उपस्थिति रहेको सो हस्तान्तरण कार्यक्रममा उक्त कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नाडाका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरेका थिए ।

लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान सुरु भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले  सभापति लामिछानेको पासपोर्टमाथि युवराज पौडेल सफलले दिएको जाहेरीको विषयमा अनुसन्धान सुरु गरेको हो । सरकारी वकिल कार्यालयले जाहेरीका आधारमा तीन निकायबाट कागजात मगाएर अनुसन्धान सुरु गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेश गरेका थिए ।