अध्यक्ष सिलवाललाई साक्षी राखेर आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले गरे मर्जर सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ । शुक्रबार नेपाल बीमा प्राधिकरणमा अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक अमित अग्रवालले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जरमा जाने सहमति भएको छ । सम्झौताअनुसार मर्जर पश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । यी दुवै कम्पनीमा संस्थापकहरुको क्रसहोल्डिङ लगानी रहेको छ । बजारको तीव्र प्रतिस्पर्धालाई ध्यानमा राख्दै एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दीर्घकालसम्म थप उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीले सम्झौता गरेका हुन् । साथै, दुबै कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई प्रभावकारी बनाउँदै आफ्ना सेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ छ । जसमा आईएमई जनरलले ६ प्रतिशत बोनस वितरण गरिसकेको छ भने प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । घोषित बोनसपश्चात् प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यससँगै मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।
जहाज दुर्घटना हुँदा देश हल्लिन्छ, सडकमा हजारौंको मृत्यु हुँदा कोही बोल्दैनन् : शौरभ ज्योती
काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएसनका पूर्व अध्यक्ष शौरभ ज्योतीले सडकमा हजारौं मान्छेको ज्यान जाँदा पनि कोही नबोल्ने गरेको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसियसनको ४६औं वार्षिक साधारणसभामा बोल्दै ज्योतीले जहाज दुर्घटना हुँदा सरकारले गम्भिर रुपमा चासो दिने गरेको भएपनि सडकमा मृत्युु हुनेका बारेमा भने कुनै वास्ता नगरेको बताएका हुन् । ‘जहाज दुर्घटना हुँदा देश हल्लिन्छ, अन्तर्राष्ट्रियस्तरमा समेत चासोको विषय बन्छ तर, सडक दुर्घटनामा परेर हजारौंको मृत्युु भइरहेको हुन्छ, कसैले चासो दिँदैनन्,’ उनले भने, ‘सडक सुरक्षाको विषयमा पनि सोच्न आवश्यक छ, सडकमा हजारौंको मृत्युु हुँदा किन कोही बोल्दैनन् ?’ उनले सडकमा हुने दुर्घटना न्यूनीकरणमा सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए । पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख रहेकाले बैंक तथा वित्तीय संथाहरुको ब्याजदर घट्ने अपेक्षा राखेको उनको भनाइ छ । ‘अहिले विस्तारै अर्थतन्त्र सुधार भइरहेको छ, तरलता पनि सहज हुँदैछ, अब ब्याज घटाउनुपर्छ,’ उनले भने । कार्यक्रममा बोल्दै उनले अटो मोबाइल्स क्षेत्रको दीर्घकालीन योजना के हो ? भनेर प्रश्न समेत गरे । नाडाले आफूले गर्नुपर्ने कामको स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे । ‘हामी सरकारलाई मात्रै यो भएन त्यो भएन भनेर प्रश्न गर्छौं तर हामीले कसरी काम गरिरहेका छौं, हामीले १० वर्ष भित्र यति जनालाई रोजगारी दिन्छौं भनेर किन योजना बनाउन सक्दैनौं ?’ उनले भने । अटोमोबाइल्सको विकासका लागि योजना बनाएर जानुपर्ने उनले बताए । साथै, अटो मोबाइल्स विलासिताको वस्तु नभएर आवश्यक वस्तु रहेको बताए ।
विकास बैंक र फाइनान्स कम्पनीले फागुनमा ब्याजदर घटाउने, वाणिज्य बैंकलाई दबाव
काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीहरुले फागुनमा ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्स कम्पनी एशोसियसनको शुक्रबार बसेको बैठकले ०.२५ प्रतिशतले विकास बैंक र फाइनान्स कम्पनीहरुको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय तरलता सहज भइरहेकाले दुवै संघले ब्याजदर घटाउने निर्णय गरेका हुन् । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटाका अनुसार अर्थतन्त्र सुधार हुँदै गएकाले सांकेतिक रुपमा ब्याजदर घटाउने निर्णय गरेको हो । उनले बैंकको सबै खाताको निक्षेपमा ०.२५ प्रतिशत ब्याजदर घटाउने निर्णय भएको बताए । ‘विकास बैंकहरुको ब्याजदर १ प्रतिशत बढी नै छ, ब्याजदर घटाउने निर्णय पछि ग्राहकलाई राहत हुन्छ, अर्काे क्वार्टरमा कर्जाको ब्याज पनि घट्छ, बैशाख १ गतेदेखि सहज हुँदै जान्छ,’ उनले भने । अब विकास बैंकहरुले फागुनमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.७५ प्रतिशत र संस्थागतर्फ ९.७५ ब्याजदर निर्धारण गर्नेछन् । यस्तै, रेमिट्यान्स खातामा भने १२.७५ प्रतिशत ब्याजदर तोकिनेछ । यस्तै, फागुनमा फाइनान्स कम्पनीहरुले पनि ०.२५ प्रतिशत ब्याज घटाउने निर्णय गरेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका सीईओ लिलामणी न्यौपानेले बताए । उनका अनुसार फागुनमा फाइनान्स कम्पनीको मुद्दती खातामा १२.२० प्रतिशत ब्याजदर निर्धारण हुनेछ । बचत खातामा भने राष्ट्र बैंकको दायराभित्र रहेर निर्धारण गर्न सक्ने उनको भनाइ छ । वाणिज्य बैंकहरुले भने फागुनमा ब्याजदर स्थीर राख्ने निर्णय गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीले ब्याजदर घटाउँदा वाणिज्य बैंकलाई भने घटाउनै पर्ने दबाव परेको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ देखि लागू हुने गरी ब्याजदर प्रकाशन गर्नेछन् ।
भ्यालेन्टाइन डेमा भिभोको आकर्षक अफर
काठमाडौं । फेब्रुअरीमा यस्तो महिना हो जहाँ हर कोही प्रेमको रंगमा रङ्गिएका हुन्छन् र आफ्नो प्रेमलाई खुलेर उत्साहको रुपमा प्रकट गर्छन् । उनीहरु आफ्नो प्रियजनलाई विशेष अनुभूति गराउने उत्तम तरिका खोजिरहेका हुन्छन् । यदि तपाइँ पनि आफ्नो जोडीका लागि उत्तम उपहारको खोजीमा हुनुहुन्छ भने भिभोले सही उपहार छनौट गर्ने मात्रै नभई तपाइँ र तपाइँको पार्टनरलाई सधैंभरि सम्झनामा रहिरहने स्टेकेशन जित्न सक्ने अवसर प्रदान गर्दैछ । भ्यालेन्टाइनलाई अझ विशेष बनाउन भिभोले ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ जहाँ १० फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म कुनै पनि भिभो स्मार्टफोन खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले १५,००० रुपैयाँको स्टेकेशन जित्ने मौका पाउनेछन् । साथै, भिभो स्मार्टफोनहरु यसको कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुका कारण उत्कृष्ट उपहार साबित भएका छन् । ती मध्ये यी स्मार्टफोनहरु भ्यालेन्टाइन उपहारका लागि उत्कृष्ट हुन सक्छन् : १) भी२३ई भिभो भी२३ई फोटोग्राफीप्रति रुचि भएका वा तस्विरहरू क्लिक गर्न मन पराउने तपाईंको विशेष व्यक्तिलाई उपहार दिनको लागि उत्कृष्ट स्मार्टफोनहरू मध्ये एक हो । यसमा ५० एमपी अटोफोकस पोट्र्रेट सेल्फी क्यामेरा र पछाडि ६४ एमपी नाइट क्यामेरा रहेको छ र भी२३ई को ८एमपी वाइड एंगल र २एमपी म्याक्रो क्यामेराले उच्च–रिजोल्युसनका तस्विरहरू प्रदान गर्दछ । यसमा भएको आई अटोफोकसले असाधारण परिशुद्धताका साथ आँखामा फोकस गरेर प्रयोगकर्ताहरूलाई प्रेम र खुशीका क्षणहरू द्रुत रूपमा खिच्न सक्षम बनाउँछ । भी२३ई ले ४४ वाट फ्ल्यासचार्ज मार्फत सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । यो दुईवटा भेरियन्ट –८ + १२८ जीवी भेरियन्टमा ३६,९९९ र ८ + २५६ जीवी भेरियन्टमा ४१,९९९ रुपैयाँमा उपलब्ध छ । २) वाई२०एस अर्को उपहार विकल्प, वाई२०एस मा विशाल ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ । यसमा ४ जीवी र्याम र १२८ जीवी रोमको साथ प्रशस्त स्टोरेज क्षमता रहेको छ । वाई२० एस मा ८एमपी सेल्फी क्यामेरा र १३एमपी ट्रिपल रियर क्यामेरा समावेश छ । यसमा आखाँको आरामका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ । फोनलाई उत्कृष्ट फोटोग्राफी प्रकार्यहरूसँग सुन्दर ढंगले डिजाइन गरिएको छ जसले कुनै पनि समय, जहाँसुकै पनि निर्बाध प्रदर्शन गर्न अनुमति दिन्छ । यसको मुल्य २३,४९९ रुपैयाँ रहेको छ । गुणस्तर र स्टाइलको प्रतिक यो स्मार्टफोन तपाईको प्रियजनको लागि उत्कृष्ट उपहार हुनसक्छ । ३) वाई१५सी स्पष्ट तस्वीरका लागि वाई१५सी मा १३ एमपी रियर क्यामेरा रहेको छ र ५०००एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कार्यका लागि पर्याप्त चार्ज प्रदान गर्दछ । यसमा साइड –माउन्टेड फिंगरप्रिन्ट स्क्यानर छ जुन स्लिम देखिन्छ र एक परिष्कृत छवि दिन्छ । यो तपाईंको प्रियजनका लागि उत्तम उपहार हुनसक्छ र यसको मुल्य १४,९९९ रुपैयाँ रहेको छ । ४) वाई ५३एस वाई५३एस शक्तिशाली ब्याट्री, सुन्दर डिजाइन र शक्तिशाली मेमोरी भएको स्मार्टफोन हो । यस भ्यालेन्टाइन डेको सम्झनाहरू संगालनका लागि यसमा ८ जीवी र्याम र १२८ जीवी रोम रहेको छ । वाई ५३एसमा ६४ एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ । यसमा ५००० एमएएच ब्याट्री र ३३ वाट फ्ल्यास–चार्ज रहेको छ । यसको मुल्य ३०,९९९ रुपैयाँ रहेको छ । यी उत्कष्ट विकल्पहरू र स्टेकेशन जित्ने अवसरको साथ, हामी आशा गर्छौं कि तपाईंको उत्तम भ्यालेन्टाइन डे उपहारको खोजी यहाँ समाप्त हुन्छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको २१औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्रीमान श्रेष्ठले आ.ब. २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजी ९५ करोड ४ लाखको ६.५ प्रतिशतले हुने बोनस शेयर र ०.३४ प्रतिशत नगद लाभांश पारित गरेको छ । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ र्अब १ करोड २१ लख ७६ हजार पुग्ने कम्पनीले जनाएको छ । सभामा संचालक समितिको निर्वाचन कार्यक्रम अनुसार संस्थाको संस्थापक शेयरधनी समूह ‘क’ तर्फ बाट प्रतिनिधित्व गर्ने डा. रेश्मा श्रेष्ठ, युवराज भण्डारी र दिपेश गार्खाली संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् । साथै सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने सुजन प्रधान र सजीना अमात्य श्रेष्ठ संचालक पदमा निर्विरोध निर्वाचित भएका छन्। संस्थाको २०७९ माघ २७ गते बसेको २४८ औं संचालक समितिको बैठकबाट संचालक समितिको अध्यक्ष पदमा युवराज भण्डारीलाई मनोनयन गर्ने निर्णय गरिएको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ मा ६ अर्व ७८ करोड रहेको निक्षेप वृद्धि भई समिक्षा वर्षको अन्त्यमा ७ अर्व १० करोड पुगेको छ भने कर्जातर्फ २६ प्रतिशतले वृद्धि भई गत वर्षको अन्त्यमा रहेको कुल कर्जा ४ अर्व ७५ करोडबाट बढेर ५ अर्व ९८ करोड पुगेको छ । त्यस्तै गरी कम्पनीको २०७९ साल माघ २३ गते सम्ममा कूल निक्षेप ७४३ करोड र कूल कर्जा ६०४ करोड भई सिडि रेसियो८१.२९ रहेको छ। फाइनान्सले चिप बेस डेबिट कार्ड, एसएमएस अलर्ट, ई–बैंकिङ, इसीसी, आइपीएस कनेक्ट आइपीएस, आरटीजीएस, कर्पाेरेट पे, मोाइल बैंकिङ, इसेवा, फोन पे, प्रभु पे, सेफ डिपोजिट लकर, टप अप फुयासिलिटि, विप्रेषण सेवा, डिपी, सी आश्वा, क्युआर कोड लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै व्यक्तिगत खाताको हकमा ५ लाखसम्मको निक्षेप बीमाको व्यवस्था गरेको छ । यस फाइनान्सले देशभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ
टाटा जेनभोल्टज जेनेरेटरमा उपभोक्ताको आकर्षण बढ्यो
काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरले छोटो समयमा नै उपभोक्ताहरूको मन जित्न सफल भएको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरू गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको छ । कम्पनीका अनुसार टाटा जेनभोल्टज जेनेरेटरको बिक्रीमा उत्साहजनक वृद्धि भइरहेको छ । विभिन्न प्रयोजनको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो पनि छ। त्यसैले बढीभन्दा बढी उपभोक्ताहरूमा यसप्रति आकर्षण देखिरहेको कम्पनीको भनाइ छ। टाटा मोटर्सको अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ। सिपिसिबी २ सम्बन्धी उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाँउछ । यो उत्पादनमा सुरक्षित एवम् टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता समेत रहेको कम्पनीको भनाइ छ। सिप्रदी ट्रेडिङका ब्याट्री डिभिजनका प्रमुख सुरेश कुमार तिवारीले भने, ‘टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रीत हाम्रो प्रयासमा एक नयाँ ऊर्जा प्रदान गरिरहेको छ।’ नेपालको पूर्वाधार एवम् औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल भइरहेकोमा विश्वस्त रहेको समेत उनले बताए । निर्माण एवम् पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरूलाई उपयुक्त यो उत्पादन २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित दुवै किसिममा उपलब्ध छ ।
डिभाइसको स्टोरेज क्षमता खाली गर्ने सुविधा ल्याउँदै राकुटेन भाइबर
काठमाडौं । राकुटेन भाइबर डिभाइसको स्टोरेज क्षमता उद्धार गर्ने सुविधा ल्याँउने भएको छ । राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी एपले नयाँ स्टोरेज व्यवस्थापन सुरु गरेको हो । यो नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई आफ्नो स्टोरेजको नियन्त्रण दिन्छ र सजिलै चाहिएको बेला स्पेस खाली गर्न सकिनेछ। सिमित स्टोरेज भएका प्रयोगकर्ताहरुले अब भाइबर एप अझ बढी प्रभावकारी रूप्मा निश्चिन्त भएर प्रयोग गर्न सकिने कम्पनिले जनाएको छ। भिडियोहरु, एआर लेन्स,तस्बिरहरु,लगायत अन्तरक्रियात्मक सञ्चारका अन्य प्रकृयाहरुका कारण मिडिया मेसेजहरू ठूलो मात्रामा बढिरहेका छन् । साे कारण पुरानो मोबाइल उपकरणहरूको संस्करणहरूलाई डाटा ह्यान्डल गर्न चुनौतीपूर्ण बनेको छ । स्टाटकाउन्टर ग्लोबलस्टाटको अनुसार, लगभग ४० प्रतिशत मोबाइल र ट्याब्लेट प्रयोगकर्ताहरूले,एन्ड्रोइड संस्करण ११.० वा सोभन्दा कम प्रयोग गर्छन् । यो कारणले थुप्रै मानिसहरु कम स्टोरेजको समस्या भोगिरहेका छन्। भाइबरको नयाँ स्टोरेज म्यानेजमेन्ट सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो सम्पूर्ण भाइबर एपबाट क्यास क्लिन गर्न वा कुन च्याटहरूलाई स्पेस खाली गर्न आवश्यक छ भन्ने जानकारी र सुविधा समेत दिनेछ। स्टोरेज म्यानेजमेन्टले प्रयोगकर्ताहरूलाई तिनीहरूको उपकरणमा भाइबरले कति ठाउँ लिन्छ भनेर हेर्न मद्दत गर्दछस साथै तिनीहरूसँग कति कुल स्टोरेज खाली छ कति खाली स्टोरेज बाँकी छस र प्रत्येक च्याटले कति स्टोरेज प्रयोग गर्दछ जस्ता जानकारी भाइबरले दिनेछ। प्रयोगकर्ताहरूले प्रत्येक च्याटमा हटाउन चाहेका फाइलहरू छनौट गरेर अनावश्यक फाइलहरू डिलिट गर्न सक्छन्। यसले च्याटबाट कुनै पनि नचाहिएको मिडिया सामग्रीहरू जस्तै भिडियोहरू, तस्बिरहरु वा फाइलहरू डिलिट गर्न मद्दत गर्छस । यसरी डिलिट गर्दा, जुन प्रयोगकर्ताले डिलिट गरेको हो, उसको च्याटमा स्टोरेज खाली हुन्छ जबकि कुराकानीमा अन्य सहभागीहरूका लागि मिडिया फाइलहरू हट्नेछैन । यदि प्रयोगकर्ताहरूले एपमा प्राप्त फाइलहरू पहिले नै डाउनलोड गरिसकेका छन् भने, ती फाइलहरू प्रयोगकर्ताको उपकरणमा सुरक्षित रूपमा स्टोर हुनेछन् । भाइबरको नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई उनीहरूको स्टोरेजको नियन्त्रण दिदै जस्ले गर्दा नयाँ सिस्टमले मिडिया फाइलहरू छान्न, डिलीट गर्न र स्पेस खाली पार्न सहज बनाउँनेछ ।
सेगवे एन १०० इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, कति पर्छ मूल्य ?
काठमाडौं । सेगवे–नाइनबोट कम्पनीले अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । कम्पनीले आकर्षक डिजाइनको इलेक्ट्रिक स्कुटर सेगवे एन १०० नेपालमा लन्च गरेको हो । उक्त कम्पनीले सेगवे एन १०० इलेक्ट्रिक स्कुटर नेपाली बजारमा पहिलो पटक ल्याएको छ । आधुनिक प्रविधि र नयाँ मोडलको यो स्कुटर छोटो दूरीको यात्राका लागि उपयुक्त मानिने कम्पनीले बताएको छ । यस मोडलमा अग्रणी टेक्नोलोजी र हेभी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण रहेको कम्पनीको भनाइ छ । विभिन्न उत्कृष्ट फिचरहरू समावेश भएको यो स्कुटर १७२८ वाटको अधिकतम मोटर पावर र ७२भि २४ए ब्याट्री क्षमताको साथ १०५ किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ । यस स्कुटरको लोड क्षमता १५० केजी, ह्वीलबेस १३५० र ग्राउन्ड क्लियरेन्स १२९ मिलिमिटर रहेको कम्पनीले जानकारी दिएको छ । सेगवे–नाइनबोट एन१०० इलेक्ट्रिक स्कुटर ७२ भोल्टको मोटरसाइकल हो । यस स्कुटरमा स्मार्ट टेक्नोलोजी जडान भएको छ भने मोबाइल एप्लिकेसन मार्फत अनलक गर्ने सिस्टम छ । सेगवे–नाइनबोट एन१०० एक सुविधाजनक इलेक्ट्रिक स्कुटर रहेको र सबैको लागि उपयुक्त हुने पनि कम्पनीले बताएको छ । कम्पनीको अनुसार सेगवे एन१०० इलेक्ट्रिक स्कुटरलाई नेपाली बजारमा २ लाख ६० हजार रुपैयाँ पर्छ । सेगवे–नाइनबोट ब्रान्ड दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्ग व्यक्तिगत ट्रान्सपोर्टरको लागी एक प्रख्यात ब्रान्ड हो । यस कम्पनीले छोटो दूरीको यात्राको लागि विकल्प र रोबोटिक सेवाहरू उत्पादन गर्दै आएको छ । सेगवे नाइनबोटको लागि नेपालमा आईहव प्रालि आधिकारिक आयातकर्ता एवम् वितरक कम्पनी बनेको छ।