अर्थतन्त्र सुधार गर्न जोखिम उठाउन सक्नु पर्छ : अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार गर्न जोखिम उठाउन सक्नु पर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष गोल्छाले सो बताएका हुन् । ‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर बजारको समस्या समाधान गर्नु पर्थ्यो, जोखिम नउठाउँदासम्म समस्या नै हुन्छ,’ उनले भने । अटोमोबाइल्स क्षेत्र चलेन भने मुलुकले ठूलो राजश्व र हजारौंले रोजगारी गुमाउने उनले बताए । ‘अटोमोबाइल्स अर्थतन्त्रको खम्बा हो, राष्ट्र बैंकको कडाइका कारण अर्थतन्त्र केही सुधारमा छ, तरलताले माग सिर्जना गर्न सक्नु पर्छ, अर्थतन्त्रलाई संकुचन गर्नु नै राम्रो निर्णय हो भनेर बुझियो भने अर्थतन्त्र झन जटिल बन्न सक्छ,’ अध्यक्ष गोल्छाले भने । पछिल्लो समय सहकारीहरु समस्यामा रहेको उनले बताए । सहकारीले एक किसिमको माग सिर्जना गरेको थियो तर अहिले सहकारी समस्यामा अर्थतन्त्र शिथिल बनेको अध्यक्ष गोल्छाको भनाई छ ।
अटो व्यवसायी पानी बिनाका माछा भए : उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अञ्जन श्रेष्ठले अटो व्यवसायी पानी बिनाका माछा भएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले सो बताएका हुन् । ‘अटो व्यवसायी पानी बिनाका माछा भए, राज्यले सोचेर नीति बनाउनु पर्छ,’ उनले भने । उनले आयात प्रतिबन्ध गर्दा ठूलो समस्या व्यहोर्नु परेको समेत बताए । ‘आयात प्रतिबन्ध सफल भएन, अनाधिकृत व्यापार बढ्यो, राजश्व घट्यो, बजार सुस्त भएर अर्थतन्त्र सुस्त भयो,’ उपाध्यक्ष श्रेष्ठले बताए । पछिल्लो समय बजारमा नैराश्यता रहेको बताउँदै उनले भने- ‘२ दर्जनले आत्महत्या गरे, कयौं डिप्रेसनको औषधि खाइरहेका छन्, यसको समाधान कसले गर्ने हो ? राज्यले जवाफ दिनु पर्छ ।’ साथै, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्ध वार्षिक मौद्रिक नीतिको समीक्षा अपुग भएको उपाध्यक्ष श्रेष्ठको धारणा छ ।
सवारी साधनलाई विलासिता होइन, अत्यावश्यक वस्तुको रुपमा बुझ्नु पर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवारी साधनलाई अत्यावश्यक वस्तुको रुपमा बुझ्नु पर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री पौडेलले सवारी साधन विलासिता नभई अत्यावश्यक वस्तुको रहेको बताएका हुन् । ‘अटोमोबाइल्स क्षेत्र विलासिताको होइन, आवश्यकताको क्षेत्र हो, हिजो मोबाइल फोन चलाउन विलासिताको वस्तु मानिन्थ्यो, तर आज अत्यावश्यक भएको छ, सडक पूर्वाधारमा गुड्ने सवारी साधन विलासिताको वस्तु होइन,’ उनले भने । पछिल्लो समय नाडाले धेरै राम्रो काम गर्दै आएको बताउँदै अर्थमन्त्री पौडेलले विद्युतीय सवारी साधनको प्रयोगमा द्रुत गतिमा अगाडि बढ्नु पर्छ बताए । ‘विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ, यो राम्रो विषय हो, यसले उर्जा खपतसँगै वैदशिक मुद्रा पनि बचत गर्न टेवा पुग्छ, यसमा हामी द्रुत गतिमा अगाडि बढ्नु पर्छ,’ अर्थमन्त्री पौडेलले भने । साथै, लोडसेडिङको अन्त्य भएसँगै अब विद्युतीय सवारी साधनको चाप बढोस् भनेर प्रोत्साहन नीति बनाएका उनले सुझाए । त्यस्तै, अर्थतन्त्रका बाह्य क्षेत्रमा सकारात्मक संकेत देखिएको समेत उनले बताए । ५ वर्षभित्र विद्युतीय सवारीको संख्या ५० प्रतिशत पुग्ने नाडाको अनुमानमा अर्थमन्त्री पौडेलले यसमा अझै बढ्नु पर्ने बताएका छन् । त्यस्तै, राजश्व परामर्श समितिले नाडाको संस्थाको सुझाव मान्ने बताउँलै उनले नेपाल थोत्रा विद्युतीय सवारी साधनको डम्पिङ नबनाउन आग्रह गरेका छन् । साथै, अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र उद्घाटन हुने चरणमा रहेको र यसको भरपुर प्रयोग गर्न उनले व्यवसायीलाई आग्रह गरेका छन् ।
राष्ट्रपतिको सवारीमा ट्रमा सेन्टरका चिकित्सक सिंह घाइते, विरोधमा चिकित्सकहरु
काठमाडौं । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन् । शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन् । संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडीरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । उनको टाउँकोमा चोट लागेको छ । सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरुले प्रर्दशन गरिरहेका छन् । ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अतिव्यस्त सो सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो । घटनापछि ट्रमा सेन्टरको गेटमा बसेर चिकित्सकहरुले प्रहरीको विरोधमा प्रर्दशन गरिरहेका छन् । यता, घटनाबारे जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीहरुबीच छलफल भईरहेको बताइएको छ ।
अबको एक दशकमा नेपाललाई गाडी उत्पादनको उत्कृष्ट देश बनाउन सकिन्छ : अध्यक्ष थापा
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) का अध्यक्ष धुर्ब थापाले अबको एक दशकमा नेपाललाई गाडी उत्पादनको उत्कृष्ट देश बनाउन सकिने बताएका छन् । नाडाको ४६औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष थापाले सो बताएका हुन् । ‘अबको एक दशकमा अधिकांश गाडी नेपालमा बन्छन्, सरकारले अहिले एसेम्बलमा दलिएको नीति १० वर्षमा निरन्तरता भएमा धेरै प्रगति हुनेछ, गाडी उत्पादनको उत्कृष्ट देश नेपाललाई बनाउन सकिन्छ,’ उनले भने । गाडी आयात बन्द हुँदा अटोमोबाइल्स क्षेत्र ८० प्रतिशतले खस्केको उनले बताए । यो क्षेत्र असामान्य अवस्थामा गुज्रिरहेको बताउँदै उनले अब के हुने हो भन्ने त्रास भोग्नु परेको समेत बताए । तर अब भने अर्थतन्त्रले सुधारको संकेत देखाएको उनी बताउँछन् । ‘नयाँ सरकार आएपछि केही सुधार भएको छ, उनले नयाँ सरकारलाई धन्यवाद छ,’ अध्यक्ष थापाले भने । उनले हालको अर्थतन्त्रमा केही सुखद संकेत देखिएको बताउँदै उनले अब नेपालमै एसेम्बेल उद्योग खुल्न थालेको जानकारी गराए । अटो मोबाइल्स क्षेत्रले उच्च राजश्व तिर्ने क्षेत्र रहेको बताउँदै उनले एउटा क्षेत्रले ६ ठाउँमा कर तिर्नु पर्ने अवस्था रहेको बताए । सबैभन्दा पारदर्शी व्यवसाय अटोमोबाइल्स रहेको बताउँलै उनले अब नेपालमै एसेम्बेल उद्योग खुल्न थालेको समेत उल्लेख गरे ।
घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु : पर्यटनमन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए । मन्त्री किराँतीले महाप्रवन्धक थाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस लिने गरेकाले निलम्वन गरेको बताए । उनले अहिलेसम्मका कुन-कुन मन्त्रीले पैसा लिने गरेको हो भन्नेकुरा स्पष्ट पार्नुपर्ने बताए । उनले आफूले कसैको पनि एकपैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए । मन्त्री वा जिम्मेवार निकायको कुर्सीमा बसेर देशलाई धोका दिन नहुने बताउँदै मन्त्री किराँतीले कोही घुस खानको लागि मन्त्री हुन आए उसलाई जनताले सजाय दिने बताए । उनले आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको समेत बताए । ‘सुविधामा होडबाजी गर्ने काममा राजनीतिक हस्तक्षेप भएर मात्रै नभएको हो त होइन, यो मन्त्रीले पैसा खाँदैन, मन्त्रीलाई पैसा मन पर्दैन, ढुक्कसँग काम गर्नुस्, सरकारले अप्रिय निर्णय आज मात्रै गरेर आउनु पर्यो, विमानस्थलको निर्देशकलाई भर्खरै निलम्वन गरेर आए, मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछ, त्यही पनि थाइल एयरलाइन्सलाई करोडौं रुपैयाँ अब अरु पनि आउँछ, खुल्दै जान्छ, मन्त्रीलाई पैसा बुझाउनु पर्ने, कहिले कहिले बुझाइयो, को-को लाई बुझाइयो, त्यो स्पष्ट हुनुपर्छ, पैसा खानको निम्ति मन्त्री आएको हो भने जनताले सजाय गर्नुपर्छ, कुर्सीमा बसेर देशलाई धोका दिन पाइँदैन, कृपया कसैको पैसा चाहिँदैन, तपाईंहरुले आफ्नो क्षमता योग्यता प्रदर्शन गर्नुस्, सञ्चालक समितिका साथीहरु नीतिमा काम गर्नुस्, कर्मचारी जस्तो नहुनुस्, तपाईहरुलाई नीति बनाउन पठाएको हो, कि तपाईहरुको पनि पार्टी मिलेन पार्टी फुट्यो, सञ्चालक समितिमा त्यस्तो होइन होला, यहाँ पनि विदेशी चलखेल के हुन्छ त्यहाँ भन्नुस् त ? कर्मचारीले पनि आफ्नो काम गर्नुपर्यो, आर्थिक अनुशासन हुनुपर्छ,’ उनले भने । उनले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताए । सुशासन विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने बताउँदै उनले पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उल्लेख गरे । उनले पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको जनाए । साथै, प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको समेत उनले जानकारी दिए । ‘पर्यटन व्यवसायीहरु समस्यामा छन्, पर्यटन व्यवसायीहरु ऋणको पासोमा छन्, उनीहरुको पीडा राज्यले नसुनिदिएको र राज्यले केही नगरेको जस्तो अन्यालता कसरी हुँदैछ, अहिले सानो दियो क्षितिजमा बलेको छ, पर्यटन मन्त्रालयले एकीकृत कार्ययोजना प्रधानमन्त्रीलाई बुझाएको छ, प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना बन्दैछ, १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छौं, सुशासन विधिको शासन भन्दा बाहिर हामी चल्न सक्दैनौं, चल्ने छुट पनि हामीलाई छैन, पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र नै हो, पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई कतिको सहज र असहज मलाई लाग्छ सहज मान्नुभएको छैन,’ मन्त्री किराँतीले भने । मन्त्री किराँतीले २० लाख पर्यटक भित्र्याउने गरी कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिए । उनले पर्यटन प्रवद्र्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उल्लेख गरे । मन्त्री किराँतीले कर्मचारीलाई हेरफेर गरेर आतंकित मच्चाउने पक्षमा नभएको भन्दै कर्मचारको कार्ययोजना अनुसार काम आवश्यक रहेको समेत बताए ।
अध्यक्ष सिलवाललाई साक्षी राखेर आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले गरे मर्जर सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ । शुक्रबार नेपाल बीमा प्राधिकरणमा अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक अमित अग्रवालले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जरमा जाने सहमति भएको छ । सम्झौताअनुसार मर्जर पश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । यी दुवै कम्पनीमा संस्थापकहरुको क्रसहोल्डिङ लगानी रहेको छ । बजारको तीव्र प्रतिस्पर्धालाई ध्यानमा राख्दै एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दीर्घकालसम्म थप उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीले सम्झौता गरेका हुन् । साथै, दुबै कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई प्रभावकारी बनाउँदै आफ्ना सेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ छ । जसमा आईएमई जनरलले ६ प्रतिशत बोनस वितरण गरिसकेको छ भने प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । घोषित बोनसपश्चात् प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यससँगै मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।
जहाज दुर्घटना हुँदा देश हल्लिन्छ, सडकमा हजारौंको मृत्यु हुँदा कोही बोल्दैनन् : शौरभ ज्योती
काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएसनका पूर्व अध्यक्ष शौरभ ज्योतीले सडकमा हजारौं मान्छेको ज्यान जाँदा पनि कोही नबोल्ने गरेको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसियसनको ४६औं वार्षिक साधारणसभामा बोल्दै ज्योतीले जहाज दुर्घटना हुँदा सरकारले गम्भिर रुपमा चासो दिने गरेको भएपनि सडकमा मृत्युु हुनेका बारेमा भने कुनै वास्ता नगरेको बताएका हुन् । ‘जहाज दुर्घटना हुँदा देश हल्लिन्छ, अन्तर्राष्ट्रियस्तरमा समेत चासोको विषय बन्छ तर, सडक दुर्घटनामा परेर हजारौंको मृत्युु भइरहेको हुन्छ, कसैले चासो दिँदैनन्,’ उनले भने, ‘सडक सुरक्षाको विषयमा पनि सोच्न आवश्यक छ, सडकमा हजारौंको मृत्युु हुँदा किन कोही बोल्दैनन् ?’ उनले सडकमा हुने दुर्घटना न्यूनीकरणमा सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए । पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख रहेकाले बैंक तथा वित्तीय संथाहरुको ब्याजदर घट्ने अपेक्षा राखेको उनको भनाइ छ । ‘अहिले विस्तारै अर्थतन्त्र सुधार भइरहेको छ, तरलता पनि सहज हुँदैछ, अब ब्याज घटाउनुपर्छ,’ उनले भने । कार्यक्रममा बोल्दै उनले अटो मोबाइल्स क्षेत्रको दीर्घकालीन योजना के हो ? भनेर प्रश्न समेत गरे । नाडाले आफूले गर्नुपर्ने कामको स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे । ‘हामी सरकारलाई मात्रै यो भएन त्यो भएन भनेर प्रश्न गर्छौं तर हामीले कसरी काम गरिरहेका छौं, हामीले १० वर्ष भित्र यति जनालाई रोजगारी दिन्छौं भनेर किन योजना बनाउन सक्दैनौं ?’ उनले भने । अटोमोबाइल्सको विकासका लागि योजना बनाएर जानुपर्ने उनले बताए । साथै, अटो मोबाइल्स विलासिताको वस्तु नभएर आवश्यक वस्तु रहेको बताए ।