काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीहरुले फागुनमा ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्स कम्पनी एशोसियसनको शुक्रबार बसेको बैठकले ०.२५ प्रतिशतले विकास बैंक र फाइनान्स कम्पनीहरुको ब्याजदर घटाउने निर्णय गरेको हो ।
पछिल्लो समय तरलता सहज भइरहेकाले दुवै संघले ब्याजदर घटाउने निर्णय गरेका हुन् । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटाका अनुसार अर्थतन्त्र सुधार हुँदै गएकाले सांकेतिक रुपमा ब्याजदर घटाउने निर्णय गरेको हो । उनले बैंकको सबै खाताको निक्षेपमा ०.२५ प्रतिशत ब्याजदर घटाउने निर्णय भएको बताए ।
‘विकास बैंकहरुको ब्याजदर १ प्रतिशत बढी नै छ, ब्याजदर घटाउने निर्णय पछि ग्राहकलाई राहत हुन्छ, अर्काे क्वार्टरमा कर्जाको ब्याज पनि घट्छ, बैशाख १ गतेदेखि सहज हुँदै जान्छ,’ उनले भने ।
अब विकास बैंकहरुले फागुनमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.७५ प्रतिशत र संस्थागतर्फ ९.७५ ब्याजदर निर्धारण गर्नेछन् । यस्तै, रेमिट्यान्स खातामा भने १२.७५ प्रतिशत ब्याजदर तोकिनेछ ।
यस्तै, फागुनमा फाइनान्स कम्पनीहरुले पनि ०.२५ प्रतिशत ब्याज घटाउने निर्णय गरेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका सीईओ लिलामणी न्यौपानेले बताए । उनका अनुसार फागुनमा फाइनान्स कम्पनीको मुद्दती खातामा १२.२० प्रतिशत ब्याजदर निर्धारण हुनेछ । बचत खातामा भने राष्ट्र बैंकको दायराभित्र रहेर निर्धारण गर्न सक्ने उनको भनाइ छ ।
वाणिज्य बैंकहरुले भने फागुनमा ब्याजदर स्थीर राख्ने निर्णय गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीले ब्याजदर घटाउँदा वाणिज्य बैंकलाई भने घटाउनै पर्ने दबाव परेको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ देखि लागू हुने गरी ब्याजदर प्रकाशन गर्नेछन् ।