विकासन्युज

एनटीसीको सिममा बज्ने सूचनाको विषयमा संसदमा चर्चा, विकासन्युजले लेखेको थियो समाचार

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरुको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गरे । उनले अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो ? भन्दै प्रश्न गर्दै नेपालमा नाटक चलिरहेको टिप्पणी गरे । उनले भने- ‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग, अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ, त्यो के हो ? यो नाटक, के नाटक, के का लागि नाटक ? त्यसैले हामीले हाम्रो संसदलाई विभिन्न विषयहरुको छलफलको थलो बनाउनुपर्छ ।’ सांसद भण्डारीले संसदलाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोको रुपमा अघि बढाउनुपर्ने बताए । यसअघि विकासन्युजले एनटीसीले आफ्नो आम्दानी कटौति गरेर विभिन्न संस्थाको सूचना प्रसारण गरेको समाचार लेखेको थियो । सो समाचारमा ती संस्थाहरुले काम गरेर एक्सनमा उत्रिनु पर्ने अवस्थामा सूचना प्रवाह गरेर उक्त सूचनामा सरोकार नभएका सेवाग्राहीलाई पनि सुन्न बाध्य बनाएको उल्लेख गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राख्नुभन्दा भष्ट्राचार गर्नेलाई कारवाही गर्नु पर्ने विषय पनि समाचारमा उल्लेख थियो ।

यातायात व्यवस्था ऐन संशोधन गरौं, रोड सेफ्टी काउन्सिल बनाऔं : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरुको नियमन गर्न जरुरी रहेको बताए । रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्ने आवश्यकता भइसकेको बताउँदै सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । उनले दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताए । शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा राज्यको निर्देशक सिद्धान्तले भनेपनि सो अनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने उनको भनाई छ । उनले भने- ‘हामीले एउटा रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ, त्यसले सडक विभागले गरेका कामहरुको पनि नियमन गर्छ, अनुगमन गर्छ, यातायात व्यवस्था विभागको पनि अनुगमन गर्छ, यी कामहरु आज हुन सकेका छैनन्, एकातिर यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्नेछ, रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्नेछ, रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्नेछ, हेलमेटको गुणस्तरको जाँच गर्नुपर्छ । विश्वको अध्ययनले के देखाउँछ भने दुई पाङ्ग्रे सवारी साधनमा मृत्यु हुनेको मुख्य कारण हेलमेटको गुणस्तर हो, ७० प्रतिशत मानिसहरु कमजोर हेलमेट प्रयोग गरेका कारणले मृत्यु भइरहेका छन्, अधिकांश दुई पाङ्ग्रे सवारीसाधनमा मृत्यु पछाडि बस्ने यात्रुको हुन्छ, शहरमा सुरक्षित साइकल लेनको कुरा छ, व्यवस्थित फुटपाथको कुरा छ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री बजनाउने हाम्रो राज्यको निर्देशक सिद्धान्तले भनेको छ तर हाम्रा कुनैपनि सडकहरु अपाङ्गमैत्री छैनन् त्यसतिर ध्यान दिनुपर्छ, आधुनिक र सभ्य सडक बनाउनु पर्छ ।’ सांसद भट्टराईले नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग राखे ।

ताप्लेजुङमा चामल किन्ने उपभोक्ता बढे

ताप्लेजुङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङबाट चामल उपभोग गर्ने उपभोक्ता बढेका छन् । बजारमा चामलको मूल्य वृद्धि, ग्रामीण क्षेत्रसम्म सडकको पहुँच पुगेको लगायतका कारण उक्त कम्पनीबाट चामल लिने उपभोक्ता बढेका हुन् । पछिल्लो केही महिनायता हरेक महिनामा एक सय ५० क्विन्टलको हाराहारीमा चामल बिक्री हुँदै आएको कम्पनीले जनाएको छ । यस्तै, चामलको मूल्य समायोजन गरेर घटाएकाले पनि उपभोक्ता बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङका निमित्त प्रमुख गोपाल राईले बताए । कम्पनीले गएको पुस २० गतेदेखि बासमती चामलको मूल्य प्रतिकिलो रु नौले घटाएको छ । प्रतिकिलो रु एक सय १४ मा बिक्री हुँदै आएको उक्त चामल अहिले १०५ रुपैयाँमा पाइन्छ । यस्तै सोना चामल प्रतिकिलो ४७ र जिरामसिना ७० रुपैयाँका दरले पाइन्छ । बजारमा चामलको मूल्य वृद्धि भएकाले र गाउँगाउँसम्म सडकको पहुँच पुगेकाले पनि उपभोक्ताहरु बढ्दै गएको प्रमुख राईको भनाइ छ । विगत वर्षमा यहाँको चामल न्यून मात्रामा बिक्री हुन्थ्यो । बजार क्षेत्र र नजिकका गाउँका मानिसले मात्रै उपभोग गर्ने यहाँको चामल अहिले गाउँ–गाउँसम्म पुग्न थालेको छ । बजारमा अन्य काम विशेषले आएकाले पनि चामल लिएर फर्किने गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार टाढाबाट आएकालाई कारण नखुलाई १० बोरासम्म दिने गरिएको छ भने सोभन्दा बढी लिनेले कारण खुलाई वडाको सिफारिससमेत लिएर आउनुपर्ने हुन्छ । दसैँ, तिहार जस्ता चाडपर्वमा छुट गर्दै आएको कार्यालयले अन्य समयमा समेत अवस्था हेरी छुट गर्दै आएको छ । यस जिल्लामा वार्षिक झन्डै एक हजार क्विन्टलको हाराहारीमा चामल आउँछ । अहिले बिक्री भइरहेको सरदर अवस्थालाई हेर्दा अब थप गर्दै जानुपर्ने अवस्था आउन सक्ने कार्यालयको अनुमान छ । जिल्लाका केही गाउँपालिकाले पनि खाद्य डिपो सञ्चालनका लागि परामर्श लिइरहेको बताइएको छ । रासस

सरकार समग्र आर्थिक नीतिकै पुनरावलोकनको नजिक छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा रहेको बताएका छन् । अर्थमन्त्री पौडेलले मुलुकभित्र नै उत्पादन वृद्धि, रोजगारी सिर्जना, राष्ट्रिय आयमा वृद्धि र आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्नको लागि भएपनि समग्र आर्थिक नीतिकै पुनरावलोकन गर्ने पक्षमा रहेको बताएका हुन् । अर्थमन्त्री पौडेलले संचारकर्मीसँग कुरा गर्दै वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नको लागि मुलुकको आर्थिक नीतिकै पुनरावलोकन नजिक रहेको बताए । उनले वर्तमान सरकार आर्थिक नीतिको पुनरावलोकन गर्न सम्पूर्ण ध्यान केन्द्रित भएको बताए । उनले सरकारले मुलुकको आर्थिक नीति अनुसार आयात प्रतिस्थापन,निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने भन्दै आएपनि अपेक्षा अनुसार नतिजा आउन नसकेको स्वीकार गरे । उनले विगतमा नेपाल कतिपय वस्तुहरुमा आत्मनिर्भर रहेको भन्दै अहिले ती वस्तुहरुमा पनि परनिर्भरता बढ्दै गएको बताए । उनले वर्ततमा अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले नीतिहरु परिमार्जन गर्ने आवश्यक कदम चाल्नुपर्ने क्षणमा आएको बताए । आगामी वर्षको बजेट ल्याउने समयसम्म आर्थिक नीतिलाई पुनरावलोकनका काम सक्ने पक्षमा रहेको उनले बताए । त्यस्तै, अर्थमन्त्री पौडेलले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रमलाई सरकारको कार्यक्रमको रुपमा लिएको बताए । उनले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा वर्तमान अर्थतन्त्रका समस्या र समाधानको विषयमा समेटिएको बताए। उनले साझा कार्यक्रम कार्यान्वयनको चालू आर्थिक वर्षभित्र नै कार्यान्वयन गर्न सम्भव नभएको बताए । उनले वर्तमान अवस्थामा मुलुक आर्थिक सामथ्र्यमा कार्यान्वयन गर्न सम्भव नभएकाले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनको समय सीमा ५ वर्षको रहेको बताए । अर्थमन्त्री पौडेलले वर्तमान सरकारमा भएका दलहरुको सहकार्य पाँच वर्षका लागि भएको बताए । उनले ५ वर्षको कार्यक्रममा सरकारले अर्थतन्त्रका चुनौतीहरु पनि सामना गरी अर्थतन्त्रलाई सवल तुल्याएरै छोड्ने दावी गरे । उनले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम समावेश गरेका कार्यक्रमलाई सरकारले कार्यान्वयन गर्ने सामथ्र्य आर्जन गर्ने पनि बताए ।

कामूका भरमा सर्वोच्च अदालत नचलाउन सांसदको ध्यानाकर्षण

काठमाडौं। एक वर्षदेखि कामूका भरमा सर्वोच्च अदालत सञ्चालन भइरहेकामा सरकारको ध्यान जानुपर्नेमा सांसदहरूले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै सभामुखसँग समय माग गरेर नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाअभियोगको प्रस्तावमा के भइरहेको छ भनी प्रश्न गरेका थिए । संसद्मा भएका कानुन अर्को अधिवेशनमा निष्क्रिय हुने, तर महाअभियोगका विषयमा संविधान र प्रतिनिधिसभा नियमावलीमा कुनै कुरा उल्लेख नभएकाले सर्वोच्चको अन्तरिम आदेशका आधारमा पेस गर्न सांसद केसीले माग गरे । अहिलेको जसरी महाअभियोगलाई तरबार झुन्ड्याए जसरी राख्नु कानुनको उपहास र संविधानवादको विरुद्धमा भएकाले यसलाई टुङ्गोमा पुर्‍याउन उनले आग्रह गरे । काँग्रेसकै सांसद डा प्रकाशशरण महतले नयाँबसपार्कमा सोमबार भएको घटनामा सरकारको ध्यानाकर्षण गराउँदै साना व्यवसायीको मोबाइललगायत पसलमा दिनदहाडै लुटपाट मच्चिँदा पनि सरकारले शान्ति सुरक्षा दिन नसकेको बताए । मिनी बस र बस व्यवसायीले कानुनअनुसार पार्किङ सुविधा पाउनुपर्ने र मजदुरका नाममा भएका गतिविधिका दोषीलाई छानबिन गरी कानुनी कारबाही गर्न उनले माग गरे । मजदुरका नाममा गैर मजदुर प्रवेश गरेर घटना भएको हो कि भनी उनले यथार्थ छानबिन हुनुपर्नेमा जोड दिए । यो घटनामा तत्काल परिमाण आउने गरी काम गर्न र यातायात मजदुरका जायज माग सम्बोधन गर्न पनि सांसद महतले आग्रह गरेका थिए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधानमा कतै जनयुद्ध नलेखिएको भए पनि फागुन १ गते किन सार्वजनिक बिदा दिइयो भनी प्रश्न गरे । राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् यात्रामा यातायात अवरुद्ध गर्दा आफैँ दुई घण्टा जाममा फसेको उल्लेख गर्दै उनले जनतालाई दुःख नदिई यात्रा गराउनुपर्नेमा जोड दिए । रासायनिक मल अभाव हुन थालेकाले बेलैमा मल आउने वातावरण बनाउन पनि सांसद सुवालले माग गरेका थिए । जलविद्युत् आयोजनालाई राष्ट्रियकरण गरिनुपर्ने उनको भनाइ थियो । सरकारी क्षेत्रबाट सञ्चालित उद्योगलाई निजीकरण गरिँदा कपडालगायत सबै चीजबीजमा परनिर्भर हुनुपर्ने घटनाबाट पाठ सिक्न पनि सांसद सुवालले सरकारको ध्यानाकर्षण गराएका थिए ।

नयाँ मोदी-लेखनाथ १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं ।  नयाँ मोदी–लेखनाथ प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र मोदी गाउँपालिका–२ देउपुर (पर्वत) १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइन बे निर्माण गरिएको छ । पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । आयोजना अर्न्तगत पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित स्वीचिङ स्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन र लाहाचोक सबस्टेसन गत वर्षको पुसमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो । लाहाचोक–लेखनाथ खण्ड प्रसारण लाइन निर्माण सम्पन्न गरी मंगलबार चार्ज गरिएसँगै नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘कोभिड–१९को महामारी, लाहाचोक–लेखनाथ खण्डअन्तर्गत माच्छापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिको विभिन्न ठाउँका स्थानीय बासिन्दाबाट प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै लामो समय अवरोध गर्दा निर्माण प्रभावित भएको थियो’ घिसिङले भने ‘आयोजना व्यवस्थापनको निरन्तरको प्रयास, स्थानीय तह, प्रशासनलगायत सबैको साथ र सहयोगमा समस्या समाधान गर्दै प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।’ त्यस क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाहरुबाट उत्पादित करिब २०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको उनले बताए । जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् नयाँ मोदी र लाहाचोक सबस्टेसनमा जोडी राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा विद्युत् आपूर्ति दिइएको छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखराबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । लाहाचोक सबस्टेसनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भई उपभोक्ताले भरपर्दो तथा गुणस्तरीय विद्युत् पाएको र प्राविधिक चुहावट समेत घटेको आयोजना प्रमुख रोशन अग्रवालले बताए । नयाँ मोदी– लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत १४० वटा टावर निर्माण गरिएको छ । लाहाचोक सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, ८ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका एउटा लाइन बे र चारवटा ११ केभीका फिडरहरु निर्माण गरिएको छ । कुल अनुमानित लागत २ अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र आयात–निर्यात (एक्जिम) बैंक, भारतको सहुलियतपूर्ण ऋण रहेको छ ।  

कैलालीमा ११ वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा

भजनी । निर्माण सुरु भएको ११ वर्षपछि हुलाकी राजमार्गअन्तर्गत कैलालीको भजनी नगरपालिका-३ मा पर्ने कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने आशा जगाएको छ । निर्माण कम्पनीले लापरवाहीका कारण ठेकीपुरस्थित कान्द्रा नदी पुलको काम ढिला हुँदा भोगेको सास्ती अब हट्ने विश्वासमा स्थानीयवासी छन् । पुलको बीचको स्पामको ढलान भएपछि पुल बन्ने आशा पलाएको भजनी नगरपालिकाका स्थानीय रुद्र चौधरी बताउँछन् । ‘पुलको काम प्रत्येक वर्ष सुरु हुँदा यस वर्ष काम सकिन्छ भन्ने आशा जाग्थ्यो । बर्खा लागेपछि हालत उस्तै हुन्थ्यो’, उनी भन्छन्, ‘अब लगभग पुलको काम सम्पन्न हुने देखिएको छ ।’ भजनी नगरपालिका-३ का वडाध्यक्ष विक्रम चौधरीले पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेपछि भजनीवासीको पुलबाट आवागमन गर्ने सपना पूरा हुन लागेको बताए । ‘दुई स्पामको काम गत वर्ष नै सम्पन्न भएको थियो । बाँकी रहेको एक स्पामको ढलान भएको छ । एक दशकपछि बल्ल पुल बन्ने आशा पलायो’, वडाअध्यक्ष चौधरीले भने, ‘अब पुल बन्छ । लामो समयदेखि स्थानीयवासीले देखेको पुल प्रयोग गर्ने सपना पूरा हुने भएको छ ।’ विशेषगरी बर्खाको समयमा भजनीका स्थानीयवासीलाई कान्द्रा नदीकै कारण ओहोरदोहोर गर्न निकै समस्या थियो । डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका भजनीका स्थानीयले डुङ्गामा सवार गरेवापत पनि पैसा तिर्नुपर्ने अवस्था थियो । हिउँदमा पनि नगरपालिकाले डुङ्गा सञ्चालनका लागि ठेक्का दिने भएपछि नदी तरेको पैसा तिर्दै आएका स्थानीयलाई पुल निर्माण भएपछि सबै कुराको सहज हुने स्थानीय दीपक बोहरा बताए । ‘बर्खाको समयमा भजनीका अधिकांश बस्ती बाढी र डुबानमा हुन्छन् । त्यो समयमा गाउँमा कोही बिरामी पर्दा पनि अस्पतालसम्म पुर्याउन निकै कठिन अवस्था छ । त्यसको कारण कान्द्रा नदी हो’, उनी भन्छन्, ‘पुल बनेपछि यस्ता कयौँ समस्याको समाधान हुनेमा हामी आशावादी छौँ । हाम्रा लागि पुल महत्वपूर्ण स्रोत बन्ने छ ।’ एक सय मिटर लामो सो पुलको विसं २०६८ जेठ ३१ मा ठेक्का सम्झौता भएको थियो । सुरुको समय डिजाइन परिवर्तनका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले बताएको छ । बिरुवा/लामा/शेर्पा साल्पा जेभीले निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि कैयौँपटक म्याद थप गर्दा पनि काम पूरा हुनसकेको थिएन । तीन करोड ४५ लाख २० हजार रुपैयाँ लागतमा पुल निर्माणको जिम्मा निर्माण कम्पनीले पाएको थियो । पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले जानकारी दिएका छन् । उनका अनुसार आगामी चैत मसान्तसम्म पुलको म्याद थप गरिएको छ । थप गरिएको समयभित्र निर्माण कार्य पूरा हुने बताइएको छ । ‘पुलको महत्वपूर्ण काम सम्पन्न भइसकेको छ । थपिएको समयमा काम पूरा हुन्छ । यस वर्षको वर्षायाममा भजनीका जनताले पुलमा ओहोरदोहोर गर्न पाउनेछन्’, सुनारले भने, ‘निर्माण कम्पनीको लापरवाहीका कारण पुल निर्माणको काम सम्पन्न हुन समय लागेको हो । अब भने काम सम्पन्न हुन्छ ।’ रासस

 यात्रुबाट बढी भाडा लिने २३ जना ट्याक्सी चालक कारबाहीमा

काठमाडौं । यात्रुबाट बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मंगलबार ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो । ट्याक्सीमा यात्रा गर्दा बढी भाडा लिएमा र मिटरमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरे । त्यसैगरी, सडकमा अनावश्यक रोकेर बस्ने राइड सेयरिङ गर्ने दुइपाङग्रे सवारी साधनका ४ हजार १ सय ९० जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । गत मंसिर २७ गतेदेखि शुरु भएको यस अभियानमा आजसम्म ४ हजार १ सय ९० जना चालकहरू कारबाहीमा परिसकेको भट्टले बताए ।