पूर्वानुमान गरी तयारी हालतमा रहन प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौैं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी कर्मचारी जुनसुकै बेलामा शान्तिसुरक्षा अमनचयनका लागि आवश्यक तयारीमा रहनुपर्ने बताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले कुनै पनि अपराधका घटना हुन नदिन प्रहरी कर्मचारीको सक्रियता महत्वपूर्ण रहने उल्लेख गरे । प्रहरी महानिरीक्षक सिंहले जिम्मेवारीलाई पूर्ण रुपमा सम्पादन गर्न निर्देशन पनि दिएका छन् । उनले हालैका घटनाको समीक्षा गर्दै सम्भावित घटनाको पूर्वानुमान गरी तयारी अवस्थामा रहनपनि उपत्यकाका प्रहरीहरुलाई निर्देशन दिए । आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था भनेको प्रहरी नै भएको जनाउँदै प्रहरी महानिरीक्षक सिंहले भने,’हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु ।’ उनले घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी चुक्न नहुने बताए । उनले ट्राफिक जाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शितामा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यावसायिक भएर जिम्मेवारी बहन गर्नुपर्ने बताए । फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्न पनि आग्रह गरे । समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले सङ्गठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालयअन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिबद्ध रहेको बताए । रासस
गाडी निर्माता र बैंकर्सको चेपुवामा अटो व्यवसायी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा नयाँ गाडीहरु ल्याउन नसकिएको व्यवसायीहरुले बताएका छन् । चार पाँग्रे गाडी आयात खुला भएतापनि बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा गाडी निर्माता कम्पनीले दबाब दिन थालेको उनीहरुले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का महासचिव सुरेन्द्र कुमार उप्रेती बैंक तथा वित्तीय संस्थाले सहज रुपमा कर्जा नदिँदा गाडी निर्माता कम्पनीले दबाब दिन थालेको बताए । ‘आयात खुल्यो तर व्यवसायीले गाडी ल्याउन सकेका छैनन्, राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले अटो कर्जामा कडाइ गरेका छन्, नगद तिरेर गाडी खरिद गर्ने मानिस नहुँदा भएका गाडी समेत बिक्री भएन’, उनले भने । उनले अटो लोनमा गरिएको कडाई तथा जोमिख भारलाई नहटाईएसम्म अटो व्यवसाय सामान्य अवस्थामा फर्कन नसक्ने बताए । ‘अटो लोनमा कडाई गर्दा नयाँ गाडी खरिद गर्नेहरुलाई समस्या भयो, बैंक तथा वित्तीय लोन दिएनन, नगद पैसा तिरेर गाडी किन्नेहरु न्यून छन्’, उनले भने, भएका गाडी बिक्री भएका छैनन्, गाडी आयात रोकिनुभन्दा खुल्दा झन समस्या भयो ।’ उनले गाडी निर्माता कम्पनीहरुले व्यवसायीहरुलाई नयाँ गाडी लैजान प्रेसर गर्न थालेको बताए । ‘पहिला गाडी आयातमा प्रतिबन्ध लाग्दा हामी व्यवसायीलाई सजिलो थियो, अहिले आयात खुलेको छ, गाडी किन्ने मानिस नहुँदा तथा बैंकले फाइनान्समा कडाई गर्दा गाडी ल्याउन सक्ने अवस्था छैन’, उनले भने, ‘आयात खुला भयो, गाडी लैजाउँ भन्दै कम्पनीले फोर्स गर्न थालेको छ, पहिला एकलौटी काम भएको थियो, अहिले एलसी खेल्न र नयाँ गाडीहरु ल्याउन कम्पनीले दबाब दिन थाल्यो ।’ कर्जा नदिँदा ३२ सय गाडी रोकिए नाडाले बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा ७ महिनादेखि विभिन्न भन्सार नाकामा गाडीहरु रोकिएको जनाएको छ । नाडाले व्यवसायीहरुले ल्याएका कमर्सियल तथा निजी प्रयोजनका भेकल भन्सारमै राखिएको जनाएकोे छ । नाडा अध्यक्ष धुब्र थापा ७ महिनाादेखि ३ हजार २ सयभन्दा बढी गाडिहरु नाकामै राखिएको बताउँछन् । उनले बैंक तथा वित्तीय संस्थाले अटो लोन, हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्नुपर्ने, सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रक्रियामा हालको ५० प्रतिशतको सिमालाई बृद्धि गर्नुपर्ने लगायतका कुरा सम्बोधन नहुँदासम्म व्यवसायीहरु समस्यामा पर्ने बताए । यस्तै, नाडाले चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यवाहारिक बुँदाहरुको संशाेधनका लागि आग्रह गर्दै आएको छ । देशमा विदेशी मुद्राको सञ्चितीलाई देखाउँलै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न १० वस्तुको आयात माथि प्रतिबन्ध लगाएको थियो । आयातमा प्रतिबन्ध लगाएको साढे ८ महिनापछि सरकारले गत पुस १ गतेदेखि आयातमा लगाईएको प्रतिबन्ध फुकुवा गरेको थियो । नाडाले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै सरकार र राष्ट्र बैंक विरुद्ध आन्दोलन नै गरेका थिए ।
नेपाल टेलिकमको नेटवर्कमा समस्या
काठमाडाैं । नेपाल टेलिकमकाे नेटवर्कमा समस्या आएको छ । बुधबार दिउँसाेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको हो । दिउँसोदेखि टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने भइरहेको छ । त्यस्तै, फोन कलसँगै म्यासेजिङ र डेटामा समेत समस्या आइरहेको छ ।
तारागाउँ रिजेन्सीको नगद लाभांश पारित, सञ्चालक नियुक्ति प्रस्ताव स्थगित
काठमाडौं । तारागाउँ रिजेन्टी होटल्सको प्रस्तावित नगद लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले लाभांश करसमेत ८.४२ प्रतिशत नगद लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले चुक्ता पुँजीको सो मात्राको नगद लाभांश पाउने छन् । तर उक्त सभाले सञ्चालक नियुक्त सम्बन्धी प्रस्तावलाई भने हाल स्थगित गरेको छ । सभामा लगानीकर्ता तथा सेयरधनीहरुले कम्पनीको सञ्चालक नियुक्ति सम्बन्धी प्रकृया नपुगेकोभन्दै विवाद गरेपछि उक्त प्रस्ताव हाललाई स्थगित भएको हो । यो विषयमा नेपाल धितोपत्र बोर्डमा उजुरी समेत परिसकेको सेयरधनी तिलक कोइरालाले बताए । साथै, सञ्चालक नियुक्ति प्रकृया कानुनसंगत नभए अदालत जाने समेत उनले चेतावनी दिएका छन् । सम्बन्धित समाचार : तारागाउँ रिजेन्सी होटलविरुद्ध सेबोनमा उजुरी, कानुनसंगत नभए अदालत जाने लगानीकर्ताको चेतावनी
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा
खोटाङ। साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले ७० वर्षभन्दा माथिका चार सय सात ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका २१ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । वडा नं १ बाँझेच्यानडाँडाका एक सय दुई ज्येष्ठ नागरिक र चार पूर्ण अपाङ्गता भएका व्यक्ति, वडा नं २ रतन्छाका एक सय तीन ज्येष्ठ नागरिक र पाँच पूर्ण अपाङ्गता भएका व्यक्ति, वडा नं ३ खिदिमाका २६ ज्येष्ठ नागरिक र तीन अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गरिएको छ । यस्तै वडा नं ४ मात्तिमका ९८ ज्येष्ठ नागरिक र चार पूर्ण अपाङ्गता भएका व्यक्ति तथा वडा नं ५ मात्तिमबिर्ताका ७८ ज्येष्ठ नागरिक र पाँच पूर्ण अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य शाखा संयोजक रीता ढकालले जानकारी दिइन् । सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिकलाई स्वास्थ्यसम्बन्धी सेवा तथा सुविधा निःशुल्क उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले टोल र बस्तीमा पुगेर स्वास्थ्य बीमा परिचयपत्र वितरण गरिरहेको छ । स्वास्थ्य बीमा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालबाट रु एक लाखसम्मको औषधि उपचारमा छुट पाउने व्यवस्था छ । पूर्ण अपाङ्गता भएका नागरिकको हकमा एकाघरका अन्य सदस्यको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने जनाइएको छ । जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) स्थानीय तह साकेला गाउँपालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गर्ने जिल्लाकै पहिलो पालिका हो । जटिल प्रकारका रोग लागेर अन्यत्र उपचारमा जानुपर्ने बिरामीलाई अस्पतालसम्म जाने–आउने र उपचार गर्दा बिरामी तथा कुरुवाको खाने–बस्ने खर्च गाउँपालिकाले व्यहोर्ने व्यवस्थासमेत मिलाइएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्यसम्बन्धी जटिल किसिमका समस्या रहेकाले टोलटोलमा घुम्ती सेवा पु¥याउने योजनासमेत बनाइएको जनाइएको छ । यसअघि वडा नं १ बाँझेच्यानडाँडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २० जनाले पाठेघरमा हुने क्यान्सर रोगको उपचार गराएका थिए भने परिवारनियोजनको अस्थायी साधन इम्प्लान्ट आठजनाले राखेका थिए । त्यस्तै परिवारनियोजनको अस्थायी साधन इम्प्लान्ट झिक्ने नौ, पुनः झिकेर राख्न लगाउने दुई र यौन रोगसम्बन्धी १० नागरिकले उपचार सेवा लिएका थिए । शिविरबाट आङ (पाठेघर) खसेर बिरामी भएकी ७४ वर्षीया वृद्धालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणाका लागि घरधुरी सर्वेक्षण गरेर फागुनभित्रै पूर्ण खोप र दिगोपना घोषणा गर्ने तयारी गरिएको उपप्रमुख बिर्सिका राईले जानकारी दिइन् । रासस
रेसुङ्गा क्षेत्रमा थप ५ प्रजातिका चरा भेटिए
गुल्मी । गुल्मीको रेसुंगा वन क्षेत्रमा थप पाँच प्रजातिका चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीले रेसुङ्गामा चरासम्बन्धी अध्ययन गर्दा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी प्रजातीका चरा फेला परेका हुन् । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये हाल २९ प्रतिशत यहाँ पाइने गरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए । योसँगै रेसुङ्गामा दुई सय ५८ प्रजातिका चराहरु छन् । यसअघि दुई सय ५३ प्रजातिका थिए । यहाँ विश्वकै दुर्लभ मानिएका रणमत्त महाचील, चील, सेतो गिद्ध, गोमायु महाचील, डङ्गुर गिद्ध र सुन गिद्धहरु पाइन्छन् । चराको अध्ययनपछि पुस्तक विमोचन गर्दै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा चरासँगै ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल भएको बताए । उनका अनुसार यस क्षेत्र चराहरुको बासस्थान बन्दै गएको छ । यस क्षेत्रमा दुर्लभ चरा भेटिए पनि जलवायु परिवर्तनका कारण जोगाइराख्न चुनौती रहेको सङ्घले जनाएको छ । रेसुङ्गामा वन संरक्षण क्षेत्रको जङ्गल सात हजार नौ सय तीन हेक्टर क्षेत्रफल छ । यहाँ दुई सय ५८ चरासँगै, एक सय २५ वनस्पति, ७१ जडीबुटी, २५ स्तनधारी, १९ पुतली, १९ सरिसृप, ११ माछा र छ प्रजातीका उभयचय छन् । रेसुङ्गालाई सन् २००५ मा महत्वपूर्ण चराको क्षेत्रका रुपमा पहिचान गरिएको थियो । सामुन्द्रिक सतहदेखि दुई हजार तीन सय ५० मिटर उचाइमा रहेको रेसुङ्गा क्षेत्र ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र मानिन्छ ।
गोँगबु घटनाका दोषीलाई कारबाही गर्न सांसदको माग
काठमाडौैं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदरुले यही फागन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा बोल्दै उनीहरुले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसद सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँको मुटुमा भएको उक्त घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताए। सांसद विराजभक्त श्रेष्ठले काठमाडौँको गोँगबु बसपार्कमा भएको अमानवीय लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोँगबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद शङ्कर भण्डारीले गत फागुन १ गते गोँगबु बासपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई काम कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गरे । सांसद ज्ञानबहादुर शाहीले काठमाडौँको गोँगबुको घटनाका बारेमा अवगत गराउँदै तत्काल चुस्त सुरक्षाको वयवस्था प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद ज्ञानु बस्नेत सुवेदीले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएकोप्रति आवश्यक व्यवस्था गर्न माग गरे । सांसद बनिताकुमारी सिंहले मधेसवासीको सुविधाका लागि निर्माण गरिएको हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद विश्वप्रकाश शर्माले दैनिक आत्महत्या गर्ने क्रम वृद्धि हुँदै गएको र मानसिक समस्या र झन्झटिलो प्रशासनिक सेवालाई नियन्त्रण गर्नुपर्ने माग गरे । सांसद शक्तिबहादुर बस्नेतले संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनिएता पनि निःशुल्न पाइने भनिएका औषधि सरकारी अस्पतालबाट नपाएको हुनाले तत्काल व्यवस्था गर्न माग गरे । सांसद शोभा ज्ञवालीले बर्दियामा बनेको पुल केही समयमै बिग्रिएको जानकारी गराउँदै तत्काल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद सरस्वती सुब्बाले काठमाडौँ सुकुम्वासीलाई हटाउनुअघि उनीहरुको आवासको हकको सुनिश्चित गर्न माग गरे । सांसद सरिता प्रर्साईले किसानले अतिआवश्यक पर्ने मल र बीउ समयमा नपाएको अवस्था भएको हुनाले किसानको समस्याप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सांसद सरिता भुसालले नवलपरासीका उखु किसानले लामो समयदेखि रकम भुक्तानी नभएको जानकारी गराउँदै उक्त किसानको भुक्तानी तत्काल दिन माग गरे । सांसद शान्ति चौधरीले बर्दिया, कैलाली, कञ्चनपुरमा सोनाहा जातिलाई आदिवासी र अल्पसङ्ख्यक जातिमा सूचीकृत गर्न माग गरे । सांसद सुमना श्रेष्ठले जनगणना भएको महिनौँ बितिसक्दा पनि त्यसको पूर्ण प्रतिवेदन सार्वजनिक नभएको हुँदा सरकारी नीति निर्माणमा कठिनाइ भएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरे । सांसद सुरेन्द्रराज आचार्यले कपिलवस्तुमा छाडा गाईगोरुका कारण कृषक मारका परेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद सोविता गौतमले सुलभ कर्जा नपाउँदा धेरै मानिसहरुले समस्या परेको हुनाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । सांसद हितराज पाण्डेले शान्ति प्रक्रियाका बाँकी रहेका काम अविलम्ब सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद हेमराज राईले जनताले समृद्धिका मताधिकारअनुसार काम गर्न आग्रह गरे । यसैगरी सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको बराह मन्दिरमा नदी कटानले सङ्कटग्रस्त हुँदै गएको जनाउँदै यसको संरक्षणको माग गरे । सांसद सन्तोष चालिसेले शिवपुरी आरक्ष क्षेत्रमा रहेको चेकपोष्टका कारण स्थानीयले गाउँबस्ती जान पनि शुल्क तिर्नुपर्ने अवस्था रहेको जनाउँदै ‘चेकपोष्ट’ तत्काल हटाउन माग गरे । रासस
२ करोडको लागतमा नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालन
नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनालले बताए । उनका अनुसार अब विभिन्न ठाउँबाट नेपालगञ्ज आउने यात्रुको सामानलाई छिटोछरितो तरिकाले उपलब्ध गराउन सकिनेछ । दुई करोड बढी रुपैयाँको लागतमा विमानस्थलको आगमन कक्षमा ‘कन्भेयर बेल्ट’ प्रणाली जडान गरिएको हो । यसअघि आगमन कक्षमा आएको यात्रुको सामानलाई कर्मचारीले हातले वितरण गर्दा निकै समय लाग्ने र झन्झटिलो समेत रहेको थियो । यो सेवा सञ्चालन भएपछि अब यात्रु र एयरलाइन्स दुवैलाई सामान लिन दिन सहज भएको छ । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा जडान गरिएको कन्भेयर बेल्टको लम्बाइ ४०।६ मिटर र लगेज हैन्डलिङ क्षमता प्रतिघण्टा दुई हजार चार सयदेखि तीन हजारसम्म रहेको छ । नेपालका विभिन्न आन्तरिक विमानस्थलमा यात्रुको सेवा सुविधा अभिवृद्धि गर्ने योजनाअनुरूप पहिलो चरणमा नेपालगञ्ज, विराटनगर र धनगढीमा ब्यागेज ‘ह्यान्डलिङ सिस्टम’अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । रासस