काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।
उनले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरुको नियमन गर्न जरुरी रहेको बताए । रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्ने आवश्यकता भइसकेको बताउँदै सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
उनले दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताए । शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा राज्यको निर्देशक सिद्धान्तले भनेपनि सो अनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने उनको भनाई छ ।
उनले भने- ‘हामीले एउटा रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ, त्यसले सडक विभागले गरेका कामहरुको पनि नियमन गर्छ, अनुगमन गर्छ, यातायात व्यवस्था विभागको पनि अनुगमन गर्छ, यी कामहरु आज हुन सकेका छैनन्, एकातिर यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्नेछ, रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्नेछ, रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्नेछ, हेलमेटको गुणस्तरको जाँच गर्नुपर्छ । विश्वको अध्ययनले के देखाउँछ भने दुई पाङ्ग्रे सवारी साधनमा मृत्यु हुनेको मुख्य कारण हेलमेटको गुणस्तर हो, ७० प्रतिशत मानिसहरु कमजोर हेलमेट प्रयोग गरेका कारणले मृत्यु भइरहेका छन्, अधिकांश दुई पाङ्ग्रे सवारीसाधनमा मृत्यु पछाडि बस्ने यात्रुको हुन्छ, शहरमा सुरक्षित साइकल लेनको कुरा छ, व्यवस्थित फुटपाथको कुरा छ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री बजनाउने हाम्रो राज्यको निर्देशक सिद्धान्तले भनेको छ तर हाम्रा कुनैपनि सडकहरु अपाङ्गमैत्री छैनन् त्यसतिर ध्यान दिनुपर्छ, आधुनिक र सभ्य सडक बनाउनु पर्छ ।’
सांसद भट्टराईले नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग राखे ।