लगातार दुई पटक विश्वको सबैभन्दा प्रशंसित कम्पनी बन्यो मेटलाईफ
न्यूयोर्क । मेटलाइ फर्च्युन म्यागजिनको २०२३ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू’ को सूचीमा पर्न सफल भएको छ । यससँगै कम्पनी लगातार दुई पटक आफ्नो नाम उक्त सूचीमा समावेश गर्न सफल भएको हो । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई समावेश गरिएको थियो । लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग सर्वेक्षण गरि बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फच्र्युनको कर्न फेरि नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ । मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले आफ्नो कम्पनीले थप समावेशी र समतामूलक कार्यस्थल र समाज निर्माण गर्ने प्रतिबद्धता राखेको बताए । ‘हामीेले गरिरहेका कामहरु प्रति हामी गौरवान्वित छौं, र यो सम्मान हाल र भविष्यमा सकारात्मक प्रभाव पार्नका लागि हाम्रा कर्मचारीहरुले देखाएको समर्पण र प्रतिवद्धताको एक उदाहरण हो,’ उनले भने ।
एनएमबि लघुवित्तको व्यवसायिक रणनीति तथा व्यवस्थापन तालिम सम्पन्न
पोखरा । एनएमबि लघुवित्तको व्यवसायिक रणनीति तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रदेश नं। ३ धुलिखेल प्रादेशिक कार्यालय अन्तर्गतका विभिन्न २२ वटा शाखाका शाखा प्रमुख र कर्मचारीहरुलाई लक्षित गरी २ दिने शाखा सञ्चालन, सम्पत्ति शुद्धीकरण र व्यावसायिक रणनीति व्यवस्थापन तालिम सम्पन्न गरेको हो । लघुवित्त वित्तीय संस्थाले यो तालिम पहिलो चरणमा गत माघ २७ र २८ गते होटल अरनिको, धुलिखेल काभ्रेमा र दोस्रो चरणमा फागुण २ र ३ गते त्रिशुली रिभरसाइड रिसोर्ट, मलेखु, धादिङमा आयोजना गरेको हो । तालिममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी, विभागीय प्रमुख भुवनेश्वर फुलारा, प्रदेश नं।३ अन्तर्गतको धुलिखेल प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख महेश पाठक, क्षेत्रीय प्रबन्धक मनोन कुमार घर्ति र सोही प्रादेशिक कार्यालय अन्तगर्तका २२ वटा शाखाका शाखा प्रबन्धक र कर्मचारी गरी करिब ७० जनाको सहभागिता रहेको लघुवित्तले जनाएको छ । कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत जैशी, शाखा सञ्चालन तथा सामान्य सेवा विभाग प्रमुख फुलारा र धुलिखेल प्रादेशिक कार्यालयको प्रादेशिक प्रमुख पाठकले सहभागीलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा शाखा सञ्चालन(केन्द्र बैठक व्यवस्थापन, सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधि नियन्त्रण, खरिद प्रक्रिया, फर्मरफरम्याटहरुको कार्यान्वयन, भाखा नाघेको कर्जा व्यवस्थापन सम्बन्धी तालिम दिइएको थियो । यसबाहेक कर्जा जोखिम तथा असुली सम्बन्धी रणनीतिहरु, ग्राहक पहिचान तथा बचत खाता व्यवस्थापन, केवाइसी केवाइसीएमएस एनएमबीएमएफ एमपासबुक, व्यावसायिक रणनीति(कृषिमा आधारित नयाँ कर्जा प्रोडक्ट सम्बन्धी विषय, उत्प्रेरणा, आन्तरिक नियन्त्रण प्रणाली र ग्राहक सदस्यहरु सँग गर्ने व्यावसायिक व्यवहार तथा सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिइएको थियो । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले तालिममा सहभागी सबै शाखाका शाखा प्रबन्धक र कर्मचारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै अन्य प्रदेश अन्तर्गतका सबै प्रादेशिक कार्यालयमा पनि २ दिने शाखा सञ्चालन, सम्पत्ति शुद्धीकरण र व्यावसायिक रणनीति व्यवस्थापन तालिम सञ्चालन भैरहेको विभागीय प्रमुख फुलाराले जानकारी दिए । पोखरा महानगरपालिका वडा नं। २५ हेम्जा, कास्कीमा केन्द्रीय कार्यालय र ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरेर १ लाख २० हजार हाराहारी विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।
चितवन–२ मा चैत २० गते उम्मेदवारीको मनोनयन दर्ता
चितवन । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्वाचन कार्यालयलाई परिपत्र समेत गरेको कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए । अहिले कार्यालयले नामावली अद्यावधिकको काम गरिरहेको छ । फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने छ । गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उनको सांसद पद पनि खारेज भएको थियो । रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचनका लागि आयोगले तयारी गरेको हो । मङ्सिर ४ मा भएको निर्वाचनमा एक लाख २५ हजार एक सय ६५ मतदातामध्ये ८२ हजार नौ सय ३४ मत खसेको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी पुर्जाका अनुसार माघ ३ देखि २९ सम्म जिल्लामा पाँच सय ९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा उनीहरुले नामावली दर्ता गराएका हुन् । आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली सङ्कलनको काम रोकिएको छ ।
नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न
काठमाडौं । नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न भएको छ । एरु एकेडिमी ओसाका र क्योउदाइ रेमिट्यान्स/आईएमइको संयुक्त आयोजनामा पहिलोपटक जापानमा नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न भएको हाे । कार्यक्रमलाई ओसाका पर्यटन ब्यूरो, मानव संसाधन विकास र एशिया औधोगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, जेट्रो ओशाका ,मोरिकोसान कम्पनी ,स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लबहाउस ग्लोबल रिपब्लिक लगायतको सहकार्यमा सम्पन्न गरिएको थियो । यो प्रथम अनलाइन सेमिनार कार्यक्रममा जापान र नेपालका बिभिन्न क्षेत्रहरू जस्तैः– पर्यटन, होटल, इन्सोरेन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आईटी, उत्पादन उद्योग, रियल एस्टे तथा मानव संसाधन र नेपालका शैक्षिक संस्थाहरूसँग सहकार्य गरि ७० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई जापानको तर्फबाट एरु एकेडिमीका अध्यक्ष केईइची हासेगावा, चेयरमेन माकोतो साकिमुरा क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदुताबास जापान फुकुओकाका वाणिज्य दूत किमोतो युइचिरोले सम्बोधन गरेका थिए । नेपालको तर्फबाट आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाल, आईजिसि ग्रुप अफ कम्पनीका चेयरमेन गणेशमान लामा तथा काठमाडौं विश्व बिद्यालयका एकेडिमीआ इण्डस्ट्री समन्वय बिभाग निर्देशक डा. राम लामाले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली विद्यार्थी समाज जापानका महसचिब सञ्जय कार्कीले जापानमा नेपाली विद्यार्थीहरुको अवसर र चुनौती बिषयमा आफ्नो बिचार राखेका थिए । दुई चरणमा गरिएको कार्यक्रमको दोश्रो चरणमा सहभागि कम्पनीहरु लाई पर्यटन, होटल, इनसोरेन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आईटी, उत्पादन उद्योग, रियल एस्टेट तथा मानव संसाधन जस्ता बिभिन्न ग्रुपमा बिभाजन गरि व्यावसायिक परिचय एक अर्काप्रती आदान प्रदान होस भन्ने उद्देश्य सहितको अन्तरक्रिया कार्यक्रम गरिएको थियो । यसका अतिरिक्त नेपालबाट जापानमा विद्यार्थीहरु लगायत विभिन्न क्षेत्रका कामदारहरु पठाउन चाहाने र नेपालको विभिन्न क्षेत्रमा व्यावसायिक प्रवद्र्धन तथा अभिबृद्धि गर्न चाहाने जापानिज कम्पनीहरुलाई एक अर्काप्रती व्यावसायिक छलफल र ब्यापारिक साझेदारीको सम्भावना लगायतको बिषयमा अन्तरक्रिया गराइएको थियो । कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल जापान सम्बन्धको लामो इतिहास रहेको कुरा उल्लेख गरे । उनले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर आईटी लगायतको क्षेत्रको हाइ स्किल्ड म्यानपावर पनि प्रशस्त मात्रामा लिन सक्ने कुरा ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं विश्व बिद्यालयका एकेडिमीआ इण्डस्ट्री समन्वय बिभाग निर्देशक डा. राम लामाले जापानमा नेपाली लगायत एसियन मुलुकका विद्यार्थीहरु बढ्दो अवस्थामा रहेको र त्यस्तो विद्यार्थीहरुलाई मध्यनजर गर्दै काठमाडौं विश्वबिद्यालयले सम्बन्धित देशको विश्वबिद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य गरि सोही देशमा काठमाडौं विश्वबिद्यालयको डिग्री उपलब्ध गराउने सोच सहित अगाडि बढेको बिचार गरे । एरु एकेडिमीका अध्यक्ष केईइची हासेगावाले आफुहरुले विभिन्न देशका विद्यार्थीहरुलाई दिक्षित गरि उज्ज्वल भबिष्य निर्माणमा योगदान दिँदै आएको र आगामि दिनमा यो कार्यलाई अझै अगाडि बढाउदै लान नेपाल र जापानको सम्बन्धलाई मजबुत बनाउदै अगाडि बढ्न आजको कार्यक्रमले थप प्रेरित गरेको कुरा ब्यक्त गरे । कार्यक्रममा क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदुताबास जापान फुकुओकाका वाणिज्य दूत किमोतो युइचिरोले नेपालसँगको लामो व्यावसायिक सहकार्यसँगै सामाजिक र राष्ट्र हित सम्बन्धित रहेर विभिन्न माध्यमबाट सहयोग गर्न र योगदान दिन पाउदा खुसि लागेको कुरा ब्यक्त गरे । कार्यक्रमको व्यवस्थापन संयोजन समेत रहेका क्योउदाइ रेमिट्यान्सका म्यानेजर तथा एनआरएन जापानका पूर्व केन्द्रिय सल्लाहकार नरेन्द्र बस्नेत (दिनेश) ले जापानमा नेपालीहरुको अवस्था अवसर र समस्याको विषयमा प्रकाश पारे ।
एक वर्षपछि १२ प्रतिशत मूल्यवृद्धि हुने राष्ट्र बैंकको प्रक्षेपण
काठमाडौं । नेपाल राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९/८० (२०२२/२३) को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले २०७९ पौष २४ देखि पौष ३० सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत् गरेको मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको हो । राष्ट्र बैंकले २ हजार बढी उत्तरदाताहरुसँग गरिएकोसर्वेक्षणमा आधारित भएर सर्वेक्षण सार्वजनिक गरेको हो । ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। अबकोतीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ । यस्तै, खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबकोतीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको छ । गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ । खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पद्घार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ । तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजकोतुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ ।
लघुवित्तहरुले ग्राहकको १ अर्ब ६० करोड फिर्ता गर्ने, अब १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने
काठमाडौं । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाल लगायतको बैठकमा लघुवित्तहरुले वार्षिक १.५ प्रतिशत भन्दा बढी सेवा शुल्क नलिने सहमति पनि भएको छ । त्यसैगरी एउटा ग्राहकले एउटा भन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन मिलाउने सहमति भएको छ । यस्तै परिस्थितिजन्य कारणले ऋण तिर्न नसकेका ग्राहकहरुको विवरण एक महिनाभित्र तयार पार्ने र त्यस्ता ग्राहकहरुलाई ग्राहक संरक्षण कोषको रकमबाट आवश्यक व्यवस्थापन गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त संस्थाहरुले अर्थतन्त्र, रोजगारी, कर, वित्तीय साक्षरता र सामाजिक क्षेत्रमा गरेको योगदान तथा यस क्षेत्रमा देखापरेका समस्या समाधान गर्न नेपाल राष्ट्र बैकले अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल, अर्थमन्त्रालयका सचिव तोयम राया, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लघु वित्त संघ नेपालका अध्यक्ष जगत पोखरेल लगायत सहभागी थिए ।
प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्ट्जको सेवा नेपालमा
काठमाडौं । विदेशमा ख्याती प्राप्त हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ । ट्राभल एण्ड टुरमा सफलता हात पार्दै गरेको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले नेपालीहरुलाई विदेशका विभिन्न गन्तव्यमा भ्रमण गराउनका लागि सहकार्य गर्दै आएको छ । प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले मलेशियन एयरलाइन्स, रेलयुरोप, र सीडब्लूटीसँग सहकार्य गरेको छ भने यसले हर्ट्ज, थ्रीफिफ्टी, डलर र एस लगायतका ब्राण्डहरुसँग पनि काम गर्ने जनाइएको छ । साझेदारी पछि हर्ट्ज अब प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले प्रदान गर्दै आएको सुविधा नेपालीहरुको पहुँचमा हुने जनाइएको छ । यो सुविधा अनुसार अव नेपालीहरुले भ्रमण गर्दा गाडी भाडामा लिएर सुविधा प्रयोग गर्न सक्ने कम्पनीले जनाएकाे छ । हर्ट्जका एसिया प्रशान्त उपाध्यष इयोन म्याकनिलले ‘अन्तर्राष्ट्रिय हवाई यातायात संघको मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टूर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन् । यसैगरी प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले हर्ट्जसँग भएको यो साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताए । उनले भने ‘हर्ट्जको प्रतिनिधि भएको काम गर्न पाउँदा उत्साहित छौं, हामीलाई एक प्रतिष्ठित र प्रसिद्ध कम्पनीसँग काम गर्ने अवसर प्राप्त भएको छ । हामी उत्कृष्ट सेवा प्रदान गर्न तथा हर्ट्जसँग सफल साझेदारीको निर्माण गर्न कटिबद्ध छौँ, नेपाली बजारमा हर्ट्जको सेवा उपलब्ध हुँदा यात्रुहरूले सुविधान त पाउने नै छन् साथै छनोटको विकल्प पनि खुला हुने छ ।’ प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले हर्ट्जलाई दक्षिण एसियाली क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न र लगानी बढाउन मद्दत गर्नेछ । हर्ट्ज के हो त ? ग्लोबल होल्डिङ्स अन्तर्गत रहेको हर्ट्ज संस्थानले उत्तर तथा दक्षिण अमेरिका, युरोप, क्यारिबियन, अफ्रिका, मध्यपूर्व, एशिया, अष्ट्रेलिया र न्यूजील्याण्ड क्षेत्रमा हर्ट्ज, डलर र थ्रिफ्टी ब्राण्डहरू मार्फत गाडी भाडामा उपलब्ध गराउने व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । हर्ट्ज संस्थान संसारभरमै यस प्रकारले सवारी भाडामा उपलब्ध गराउने ठूलो कम्पनीहरूमध्ये एक हो । हर्ट्ज ब्राण्ड विश्वव्यापी रूपमै अधिक लोकप्रिय रहेको हो । यस अतिरिक्त हर्ट्ज संस्थानले केही विशिष्ट बजारहरूमा फायरफ्लाई कार रेन्टल, एस रेन्टल कार्स र हर्ट्ज २४/७ मार्फत थप सेवा दिँदै आएको छ र अस्ट्रेलिया र न्यूजील्याण्डमा फ्लेक्सिकार कार–साझेदारी व्यवसाय पनि सञ्चालन गर्दछ । यस कम्पनीका बारे थप जानकारीका लागि कृपया वेबसाइटमा हेर्न सकिनेछ । प्रेसिडेन्ट ग्रुप अफ कम्पनीज प्रेसिडेन्ट ग्रुप अफ कम्पनीज नेपालको पर्यटन क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो । सरल एकद्वार सेवा र उत्कृष्ट व्यावसायिकताले सबैको विश्वास जित्न सफल भएको छ । सन् १९७७ मा स्थापित यस समूहको संरचना आफ्ना ग्राहकको आवश्यकता पूरा गर्न सधैं तत्पर छ । प्रेसिडेन्ट ग्रुपले हाल नेपालमा एयर अरेबिया, इन्डिगो एयर, मलेशियन एयरलाइन्स, केन्या एयरवेज, एयर मोरिसस, रेल यूरोप, कार्लसन वागनलिट, हान एयर, कक्स एन्ड किङ्स र ट्युन प्रोटेक्टको प्रतिनिधित्व गर्दछ ।
चर्काे ब्याजको समस्या हल गर्न सांसदको माग
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले बैंक तथा वित्तीय संस्थाहरुको चर्काे ब्याजका कारण जनता आर्थिक र मानसिक समस्यामा परेका बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले बैंकले चर्को ब्याज लिएर स्थानीयलाई गाउँ नै छोड्नुपर्ने अवस्था आएको बताए । उनले यसको समाधानका लागि सरकारले तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने माग गरे। उनले सुकुम्वासीलाई जग्गा उपलब्ध गराएर जग्गाको मालिक बनाउने काम गर्न, मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न र स्वास्थ बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न माग गरे। नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलले सबैतिरका व्यापार व्यवसाय घाटामा रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले चर्काे ब्याज लिएर नाफा कमाएको टिप्पणी गरे। यस्तो अवस्थामा ती बैंक तथा वित्तीय संस्थाहरुलाई अध्ययन गर्ने तथा नियमन गर्ने निकायले प्रभावकारी रुपमा काम गर्नुपर्ने उनको भनाइ थियो । कुनै वित्तीय संस्थामा सुरुमा नौ प्रतिशत ब्याजमा ऋण पाइने भए पनि तिर्ने बेलामा १३/१४ प्रतिशत पुग्ने गरेकाले साना र मझौला ऋणीहरु गम्भीर समस्यामा परेको उनले बताए । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल विषय विज्ञ चिकित्सकसहितको उचित स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरे । उनले बाँदर र अन्य वन्यजन्तुले पाकेको बाली मासेर किसानलाई दुःख दिएको सम्बन्धमा तत्काल सरकारले उचित पहल गर्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले जनताले मतदानका समयमा राखेका आशा र भरोसाअनुसार नै जनप्रतिधिले काम गर्नुपर्ने बताए । नेपाली कांग्रेसका रामनाथ अधिकारीले गोँगबुमा भएको चोरी र लुटपाटको घटनाका सम्बन्धमा यथार्थ जानकारीका लागि सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे । साथै उनले घटनाका दोषीलाई कारबाही गर्न माग गरे। बूढीगण्डकी जलाशययुक्त आयोजनामा मुआब्जामा देखिएका समस्या हल गर्न र आयोजनाका कारण विस्थापित हुने स्थानीयको उचित पुनःस्थापनाको माग गरे । नेकपा (एमाले) का हेमराज राईले शून्य समय र विशेष समयमा उठेका विषयमा अविलम्ब सरकारले जवाफ दिएर जनतालाई राहत दिनुपर्ने बताए । नेपाली कांग्रेसका कान्तिका सेजुवालले सबै हवाई इन्धनको मूल्य बढ्दै जाँदा दुर्गमका नागरिकले सास्ती भोग्नुपरेको बताउँदै हवाई इन्धनको मूल्य घटाउन माग गरे। नेकपा (एमाले) का दामोदर पौडेल बैरागीले कास्कीमा रहेका पर्यटकीय क्षेत्रहरुको उचित प्रचारप्रसारमा ध्यान नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पोखरामा नयाँ विमानस्थल सञ्चालनपछि स्थगित भएको प्याराग्लाडिङ सञ्चालनको व्यवस्था गर्न माग गरे। नेपाली कांग्रेसका शान्ति विकले राज्यले हुनेखाने वर्गका लागि मात्र नभई हुँदा खाने वर्गका लागि पनि अनुभूत हुने गरी काम गर्नुपर्ने बताए ।