बागलुङको निसीखोलामा थपिँदै ८ झोलुङ्गे पुल
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए । उनी भन्छन्, ‘आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुनेछन् ।’ वडा नं १ को सेलाखेतघाट र आठबारेघाट, वडा नं ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नं ४ र ५ जोड्ने कारीखोला, वडा नं ५ को यारीखोला, वडा नं ६ मगरघाटखोला, वडा नं ३ को गतारेघाट तथा वडा नं २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण गरिँदै छ । स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा स्थानीयले समस्या भोग्नुपरेको बताए । पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने छ । ‘स्कूल पारी छ, खोला नतरेसम्म त्यहाँ पुग्न सकिन्न, केटाकेटीलाई स्कूल पठाउनै डर छ’, उनले भने । अघिल्लो वर्ष निसीखोलाको–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नं ७ को कुतखोलाघाट, वडा नं ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नं १ को माराघाट तथा वडा नं २ धौलेघाटमा पुल निर्माण गरिएको थियो । दुई करोड पाँच लाख रुपैयाँको लागतमा ती पुल निर्माण गरिएका गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । यस वर्ष तीन करोड ६४ लाख रुपैयाँको लागतमा आठ पुल निर्माण भइरहेका छन् । रासस
पर्वतमा कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै
पर्वत । राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैँ प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन् । पर्वतको अर्गानिक कफी सहकारी संस्था लिमिटेडले पर्वत कफी र धौलागिरि कफी ब्रान्डमा धुलो कफी बिक्री गर्न थालेको हो । कफीका दाना बिक्री गर्दा मूल्य पाउन नसकिने र कहिलेकाहीँ विदेशीले समेत कफीको गुणस्तर नभएको भन्दै फिर्ता पठाउँदा झन्झट हुन थालेपछि स्थानीय अर्गानिक कफीको प्रशोधन गरी धुलो बनाई बजारमा बिक्री गर्न थालेको हो । पर्वत जिल्लाको कफी देशकै उत्कृष्ट भएकाले युरोप, जापान र कोरियालगायतका देशमा निर्यात हुने गरेको थियो तर कहिलेकाहीँ गुणस्तरलगायतका बहानामा विदेशीले लिन आनाकानी गर्न थालेपछि आफैँले उत्पादन गर्न थालिएको सहकारी संस्थाका व्यवस्थापक भवानीप्रसाद शर्माले बताए । ‘जिल्लाको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन धुलो कफी बिक्री गर्न थालिएको हो । कृषकले आफूले उत्पादन गरेको फ्रेस चेरी जिल्ला कफी सहकारी सङ्घले खरिद गर्ने र विदेश निर्यात गर्ने गरेको भए पनि विभिन्न झन्झट बेहोर्नुपर्ने भएकाले आफैँ धुलो बनाएर बेच्न सुरु गरेका हौँ’, शर्माले भने । धुलो बनाएर बेच्दा स्थानीय बजारका साथै विभिन्न मेला महोत्सवमा समेत जिल्लाको कफीको प्रचार हुने भएकाले यसरी बेच्न सुरु गरिएको शर्माले बताए । उनका अनुसार अहिले जिल्लाको कफी पोखरा काठमाडौँका तारे होटल तथा क्याफेले खरिद गर्दै आएका छन् भने पोखरा, बागलुङ र पर्वतका सौगात गृहमा समेत राम्रो बिक्री हुने गरेको जानकारी दिए। पर्वतमा बर्सेनि २० मेट्रिक टनभन्दा बढी कफी उत्पादन हुने गरेको छ । कृषकले उत्पादन गरेको कफी फ्रेस चेरी तथा ‘पार्चमेन्ट’ जिल्ला कफी सहकारीले खरिद गरेर विभिन्न निर्यात गर्ने कम्पनीलाई बिक्री गर्दै आएको छ । यसबाट जिल्लामा प्रत्येक वर्ष एक करोडभन्दा बढी भित्रिने गरेको छ । यस जिल्लाका विभिन्न ठाउँमा उत्पादन हुने कफी केही वर्ष अघिसम्म त्यत्तिकै खेर जाने गरेको थियो । अहिले जिल्लाका सबै स्थानीय तहका साथै बागलुङ र म्याग्दीमा उत्पादित कफी स्थानीय बजारका साथै विदेशी बजारमा समेत निर्यात हुन थालेसँगै कृषकले राम्रो मूल्यसमेत पाएका छन् । सहकारीका अनुसार गत वर्ष मात्रै १७ टन कफी निर्यात भएको थियो । अहिले जिल्लाका ३५ वडामा कफी खेती हुँदै आएको छ । पछिल्लो समय जिल्लाका अधिकांश ठाउँमा नयाँ कृषकले व्यावसायिक कफी खेती सुरु गरेको भए पनि पुराना कृषकले राम्रो मूल्य पाउन नसक्दा बोटमै सुकेर जाने गरेको कृषकको भनाइ छ । बजारीकरणका लागि जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले समन्वय नगर्दा पनि कृषक निराश बनेका हुन् । उपयुक्त भौगोलिक र हावापानीका कारण पनि पर्वतमा उत्पादित कफीले राम्रो बजार पाउनुपर्ने भए पनि स्थानीय तहमा समेत प्रचारप्रसार हुन नसक्दा बजारीकरणमा समस्या भएको शर्माको भनाइ छ । रासस
२ लघुवित्तको सेयर खरिद गर्दा ५० प्रतिशतसम्म लाभांश पाइने
काठमाडौं । बिहीबार २ लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । महिला लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुई लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर खरिद गर्ने सेयरधनीहरुले लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् । महिला लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पाचौँ वार्षिक साधारण सभा फागुन २१ गते धुलिखेल, काभ्रेमा बिहान ११ बजे बोलाएको छ । यस्तै, मिथिला लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद गरी कूल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १४ औँ बार्षिक साधारणसभा फागुन १७ गते धनुषामा बिहान ११ बजे बोलाएको छ ।
एभरेष्ट बैंकले धितोमा रहेको जग्गासहित कार बेच्दै
काठमाडौं । एभरेष्ट बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको जडिबुटि शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी प्रधान ग्लास प्रालिका सञ्चालक अनिष प्रधान र नानीमैया प्रधान तथा जमानीकर्ता सुमन प्रधानले बैंकमा लिएको ऋण वापत राखिएको धितो सवारी लिलामी गरिएको छ । बैंकले सन् २०१९ मा बनेको पी ३–०१ ०२२ च ३५२१ नम्बरको महिन्द्रा बोलेरो पिकअप र सन् २०१९ मा नै बनेको बा ५ ख ८७८६ नम्बरको टाटा मोटर्सको सवारी बिक्रीमा राखिएको हो । यस्तै, बैंकले दिपायल शाखा कार्यालयबाट ऋणी कोट भैरव सुनचाँदी गहना पसलका सञ्चालक छत्र बहादुर सुनारको जग्गा बिक्री गर्ने भएको हो । बैंकले सुनारको नाममा रहेको दिपायल सिलगढी नगरपालिका ४ मा रहेको २७४.२४ वर्गमिटर क्षेत्रफलमा रहेको घरजग्गा बिक्रीमा राखेको हो ।
सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी शकुन्तला कुमारी थापा कार्कीको नाममा रहेको १ लाख ६० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य तोकिएको छैन । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर र मूल्य तोकेर ७ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । यसअघि बैंकले उक्त सेयर संस्थापक सेयरधनीहरुका लागि पुस २७ गते बिक्री खुला गरेको थियो । तर, संस्थापक सेयरधनीहरुले खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको हो ।
युपग्राम, अम्वेश्वरी, नयाँ तारा र गरिमामय सहकारीको एकीकृत कारोबार फागुन १० देखि
काठमाडौं । विभिन्न ४ वटा सहकारी संस्थाहरुले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । युपग्राम, अम्वेश्वरी, नयाँ तारा र गरिमामय बचत तथा ऋण सहकारी संस्थाले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । यी ४ वटा सहकारी संस्थाहरूको एकीकृत कारोबार पश्चात् गरिमामय बचत तथा ऋण सहकारी संस्थाको नामबाट संचालन हुनेछ । मर्जरपश्चात् संस्थाको प्रधान कार्यालय ललितपुरमा रहनेछ । यस्तै, सदस्य सेवा केन्द्रहरु महालक्ष्मी नगरपालिका ८ लुभु ललितपुर, काठमाडौं महानगरपालिका १४ कुलेश्वर, कलंकी र ललितपुर महानगरपालिका १९, कुमारीपाटीमा रहनेछन् । बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ३ गते मर्जरका लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । पछिल्लो समय सहकारी संस्थाहरुको संख्या घटाउन धमाधम मर्ज भइरहेका छन् ।
ग्याँस विष्फोट हुँदा चन्द्र भण्डारी र उनकी आमा घाइते, आइसियुमा उपचार हुँदै
काठमाडौं । गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ । बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार उनीहरुको स्वास्थ्य स्थिति गम्भीर छ । डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ । डा. भण्डारीको काठमाडौंस्थित बुद्धनगर निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा पोलेर घाइते भएका हुन् । बिहीबार राती १० बजे ग्याँस पड्किएको थियो ।
११.२५ प्रतिशत ब्याज पाइने ग्लोबल आइएमईको ऋणपत्रमा आवेदन दिने समय लम्बियो
काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । बैंकले माघ २९ गतेदेखि निष्काशन गरेको ५ अर्ब रुपैयाँको ऋणपत्रमा फागुन १४ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याएको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषका लागि ३० हजार कित्ता र बाँकी १९ लाख ३० हजार कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, सिडिएस एण्ड क्लिरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए रेटिङ प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।