विकासन्युज

अरुण ३ जलविद्युत परियोजनाको उच्चस्तरीय भ्रमण, ६१.२ प्रतिशत काम सम्पन्न

काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो–प्यासिफिक) एने–म्यारी ट्रेवेलियनले अरुण ३ जलविद्युत परियोजनाको अनुगमन गरेकी छिन् । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको परियोजनाको विद्युत गृह स्थल तथा ट्रान्सफर्मर वेको अवलोकन गरेकी हुन् । उनले नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धी हासिल गर्नेतर्फ मुखरित रहेको भन्दै खुसी व्यक्त गरिन् । उनले नेपालले जलविद्युत उत्पादनमा नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका रहेकोमा प्रसंशा गरिन् । अरुण–३ जलविद्युत परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको छ । परियोजनाको उत्पादन तर्फको हालसम्म भौतिक प्रगति करिब ६१.२ प्रतिशत सम्पन्न भएको छ । विकासकर्ता स्वयंले परियोजना विद्युत गृहदेखि भारतको सीतामढीसम्म ४ सय केभी क्षमताको कुल २५३ किमी लामो अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको छ । सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय महत्वका पूर्वाधार परियोजनामा सार्वजनिक–निजी साझेदारीमा लगानी जुटाउने तथा विकास गर्ने नोडल एजेन्सीको रूपमा रहेको लगानी बोर्डको क्षमता विकास र संस्थागत सुदृढीकरणमा विगत लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको बेलायत सरकारले प्राविधिक सहयोगलाई निरन्तरता दिने उल्लेख गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण–३ जलिवद्युत परियोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा रहेको बताए । लगानी बोर्डले कोभिड १९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्न आवश्यक सबै सहजीकरण गरेको उनको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठूला जलविद्युत परियोजनाहरूले विद्युतको माग सम्बोधन हुने बताए । साथै, उनले क्षेत्रीय विद्युत व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरूबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए ।

७९ वर्षमा राष्ट्रपति बनेका रामचन्द्र पौडेलको यस्तो छ जीवनी

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) छन् । मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेलको स्थायी बसोबास व्यास–८ बेलथुम्की तनहुँ हो भने हालको ठेगाना काठमाडौं–१६ बोहोराटार बालाजु हो । उनले शास्त्री (संस्कृत साहित्य, २०२४), स्नातकोत्तर (नेपाली साहित्य २०२७) शिक्षा लिएका छन् । विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गरेका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दैगर्दा विसं २०१७ जेठ–असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौं अधिवेशनमा प्रतिनिधि भएका थिए । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरीे प्रधानमन्त्री बिपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका हुन् । नन्दीरात्रि माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनले नन्दीरात्रि मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष, रानीपोखरी मावि विद्यार्थी सङ्घको अध्यक्ष, जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व गरेका थिए । उनी विसं २०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको हैसियतमा २०१९–२०२० सालमा उपत्यका आन्दोलनमा र २०२०–२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा उनी गिरफ्तार भएका थिए । कांग्रेस तनहुँको सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६)को जिम्मेवारी सम्हाल्नुभएका नेता पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित कांग्रेस तनहुँ समितिको संयोजक २०३७, कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख २०४० र विसं २०४३ मा कांगेस केन्द्रीय सदस्य भएका थिए । कांगेस केन्द्रीय महामन्त्री (२०६२–२०६४), कांगेस केन्द्रीय उपसभापति (२०६४–२०७२), कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) भएका पौडेल २०७२ सालमा कांग्रेसको केन्द्रीय कार्यवाहक सभापति भएका थिए । भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं २०१८ मा काठमाडौंबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोगेका पौडेल विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार हुनुका साथै त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनका क्रममा राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका थिए । उहाँ २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४, २०७० मा लगातार प्रतिनिधिसभा निर्वाचन र संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । निर्वाचनपछि पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, विसं २०४९ मा कृषिमन्त्री भएका उनी २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । पौडेल २०५६ साल र त्यसपछि उपप्रधान तथा सूचना/सञ्चार मन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधान तथा गृहमन्त्री हुनुका साथै शान्ति समितिको संयोजक (२०६१–२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३–२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४–२०७०) को जिम्मेवारी सम्हालेका थिए । पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’को सम्मान– सन् २०२०) लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् । उनका नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५, नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद २०७५, कृषिक्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग २०७९, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास (माघ १९ को काण्डपछि)लगायत दर्जनौँ पुस्तक तथा विभिन्न विषयमा पत्रपत्रिका तथा अनलाइनमा समसामयिक लेख रचना प्रकाशित छन् । विसं २०२५ मा बिपी कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि तत्कालीन विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल जानु भई अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिएका थिए । त्यहाँ बिपीसँग पौडेलको पहिलो भेट भएको थियो । त्यसबेला बिपीले पौडेलसँगै जेलमा रहेका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेटेका थिए । राजनीतिक जीवनमा विसं २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका उनी समाजवादी चिन्तक र प्रयोगकर्ता तथा स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी हुनुका साथै स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याताको विशेष पहिचान बनाएका छन् । कांगे्रसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रूपमा परिचित उनले पार्टीका तत्कालीन सभापति बिपी कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैँ मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह गरेका थिए । यसैगरी सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका उनी विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुन् । पौडेलले नेपालका सबै जिल्ला तथा भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशको भ्रमण गरेका छन् । रासस

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल ५२ रनले विजयी, अब एक खेल जिते पुग्ने

काठमाडाैं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रनमा सीमित बन्यो । जितसँगै नेपालले ३३ खेलमा ३४ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौ स्थानमा छ । समान ३३ खेल खेलको पपुवा न्यूगिनी ९ अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ । नेपालका लागि ओपन आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे । खेलमा आशिफ शेखले सर्वाधिक ११० रन बनाए । कुल ११० बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे । आशिफको यो पहिलो एक दिवसीय शतक हो । उनी एक दिवसीयमा खेलमा शतक प्रहार गर्ने नेपालका लागि पाँचौ खेलाडी बने । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । शतकसँगै आशिफले एक दिवसीय खेलमा एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने उनी नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एक दिवसीयमा एक हजार रन पूरा गरेका थिए । साथै नेपालका लागि ब्याटर कुशल भुर्तेलले ४५ रन, भिम सार्कीले ४४ रन, रोहित पौडेलले ३० रन बनाए । साथै आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन र दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछोनले सात र सोमपाल कामीले चार र कुशल मल्लले दुई रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीको सुरुवात राम्रो रह्यो । पहिलो विकेट ११ दशमलव दुई ओभरमा ७७ रनमा झरेको थियो । पपुवा न्यूगिनीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए भने ओपनर टोनी उराले ५० रन बनाए । साथै असाद भालाले ४२, रिले हेकुरेले २० रनको योगदान गरे । नेपालको जितमा सन्दीप लामिछानेले चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट लिए । विभिन्न सात राष्ट्र सहभागी यस सिरिजमा नेपालले अब तीन खेल खेल्न बाँकी छ । पपुवा न्यूगिनीसँगको एक र युएईसँगको दुई खेलमा विजयी भए नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछ । लिगका सबै खेल खेलिसकेको स्कटल्यान्ड ५० अङ्काका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । यी तीन टोलीमध्ये एक टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अङ्कसहित चौथो स्थानमा छ । कुल ३२ खेल खेलेको युएइ ३१ अङ्कका साथ छैटौ स्थानमा छ । नेपालले जारी शृङखलाको आफनो दोस्रो खेल यही फागुन २८ गते युएईसँग खेल्नेछ । रासस

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । यस्तै, नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाएका छन् । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका हुन् । निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । राष्ट्रपति पदको मतदानका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानका लागि नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो । पूर्व सभामुख समेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार थिए भने अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको मात्र साथ थियो । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

नागरिक लगानी कोषले चार संस्थालाई दियो साढे ७ लाख रुपैयाँ

काठमाडौ । नागरिक लगानी कोषले ४ वटा संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सहयाेग गरेकाे छ । काेषले ३३ औं वार्षिकोत्स्वको अवसरमा चार संस्थालाई साढे ७ लाख रुपैयाँ सहयाेग गरेकाे हाे । कोषले नेपालले सशस्त्र प्रहरी बल अन्तर्गतको नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुद लगायतका सामाग्री खरिद गर्न १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको छ । यस्तै, स्वास्थ्य क्षेत्र तर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका बिरामीहरुको पुर्नस्थापनको लागि फिजियोथेरापी, एम्वुलेन्स र एकिकृत स्वस्थ्य शिविर संचालनमा सहयोग पु¥याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउण्डेशन नेपाललाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । त्यसैगरी कोषले उपत्यका बाहिर फरक क्षमता भएका बालबालिकाहरुलाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरुको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुद सम्बन्धी कार्यको लागि २ लाख रुपैयाँको चेक प्रदान गरेको छ । यसअघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराईरहेको पदमपुर आधारभुत विद्यालय ढेढौली, चितवनलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

नेपाल क्लियरिङ्ग हाउसमा जोडियो सहकारी, एनसीएचएल र नेफ्स्कूनबीच सम्झौता

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्नेको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमाडौंको सोल्टी होटलमा जारी सिईओ वर्कशपमा दुई पक्ष बीच सम्झौता भएको हो । सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै नेफ्स्कूनले निमार्ण गरेको मीरा ईआरपी सफ्टवेयर प्रयोग गर्ने संस्थाका सदस्यहरुले बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर, बैंक तथा वित्तीय संस्थाबाट सहकारीमा रकम ट्रान्सफर, बिमाको प्रमियम भुक्तानी, विभिन्न सरकारी भुक्तानी, फोन रिचार्ज, खानेपानी, बिजुली लगायतको युटिलिटी भुक्तानी गर्न सक्नेछन् । एनसीएचएलका सिईओ प्रधानले नेफ्स्कूनमार्फत सहकारी क्षेत्रमा प्रवेश गर्न पाउँदा खुशी लागेको बताए । प्रत्येक संस्थासँग एनसीएचएल जोडिन नसकिने र नेफ्स्कूनसँग जोडिएपछि समग्र बचत तथा ऋण सहकारी संस्थाले सेवा लिन सकिने बताए । सम्झौताले बचत तथा ऋण सहकारी संस्थाहरुको डिजिटाईजमा कोशेढुंगा सावित हुने नेफ्स्कूनका सिईओ पोखरेलले बताए ।  

२९ हजारले लिए ई-सिम

काठमाडौं । नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए । नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो । साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुलचोक ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो भने मङ्सिर ८ देखि भने देशभर ई–सिम उपलब्ध गराइएको हो । ‘नेपाल टेलिकमका पुराना ग्राहकले ई-सिम लिन चाहेमा निःशुल्क प्राप्त गर्न सक्छन् । पोस्टपेडको नयाँ ई-सिम लिन चाहनेले अहिले बिक्री भइरहेकै मूल्यमा लिन सक्छन्’, प्रवक्ता अधिकारीले भने, ‘ई-सिममा ग्राहकले आफ्नो उपकरणअनुसार बढीमा २० वटासम्म नेटवर्कमा जोड्न सक्छन् ।’ तर एकपटक भने एउटा नेटवर्कमा मात्रै जोड्न सकिने उनको भनाइ छ । के हो ई-सिम ? ई-सिम इलेक्ट्रिक सिम हो । जुन मोबाइल डिभाइस तथा डिजिटल डिभाइसमै इम्बेड गर्न सकिन्छ । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा पनि प्रयोग गर्न सकिन्छ । ई–सिम उपलब्ध भएपछि भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता रहँदैन । ई-सिम प्रयोग गर्न मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । सिमकार्डमा प्रयोग हुने स्टोरेज, मेमोरी मोबाइल डिभाइसमा हुन्छ । ग्राहककर्ताले प्रयोग गर्ने मोबाइलमा भएको विशेषताअनुसार र ग्राहकले लिन चाहने सेवासँग ई–सिम जोडिन्छ । ई–सिम इम्बेड हुनाले सिमकार्डजस्तो हराउने, भाँचिने हुँदैन । यस्तो सुविधा यदि कुनै व्यक्ति विदेशमा गएको खण्डमा विदेशको नेटवर्क सेवा लिएर पुरानो नेटवर्क पनि राख्न सकिन्छ । त्यसलाई मोबाइलबाट हटाउन वा सिम निकाल्नुपर्ने झन्झट हुँदैन । विदेशमा उतैको ई–सिम लिएर सहजै विदेशी नेटवर्कसँग जोडिन सकिन्छ । सिमकार्ड प्रयोगमा रहँदा मोबाइल हराएको खण्डमा पुनः पहिले लिएको सिमको प्रक्रियाअनुसार प्राप्त गर्न सकिन्छ भने ई–सिम प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै मोबाइल हराएको खण्डमा हालसम्म दुई÷तीन पटकसम्म क्युआर स्क्यान गरी सोही सिम लिन सकिन्छ । जुन स्कानर ग्राहकले ई–सिम लिँदा नै प्राप्त गर्ने व्यवस्था हुन्छ । जसको सुरक्षा ग्राहक स्वंयमले नै गर्नुपर्छ । ई-सिम सपोर्ट गर्ने जुनसुकै ग्राहकले ई-सिम प्राप्त गर्न सक्ने व्यवस्था छ । सिमकार्डको प्राप्तिका लागि चाहिने कागजात र शुल्क ई-सिम प्राप्त गर्नका लागि पनि एउटै व्यवस्था छ । सिमकार्डमा भएको सबै सेवा ई-सिममा पनि रहेन र ई–सिममा थप सुविधा रहन्छ । ई-सिममार्फत एउटा फोनबाट अर्को फोनबाट डाटा सार्न, ई-सिममा उपलब्ध डाटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ । मोबाइलले ई-सिम सपोर्ट गर्छ भने जुन अपरेटरको सेवा लिन मन छ ग्राहककोमा आफ्नो केवाईसी अद्यावधिक गराएर सिम प्रोफाइल अपडेट गराए मात्र पुग्ने टेलिकमले जनाएको छ । विश्वभर सूचना प्रविधिले फड्को मारेको परिवेशमा नेपालमा पनि ई-सिमको माग पनि बढ्दै गएको छ । नयाँ प्रविधिको विकाससँगै भविष्यमा ई-सिमको माग बढ्नसक्ने सम्भावना रहेको प्रवक्ता अधिकारीले बताए । रासस

चितवन–२ उपनिर्वाचनका लागि दलहरूलाई चिन्ह प्रदान

काठमाडौं । आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो । सोही दफाको उपदफा (७) बमोजिम उपनिर्वाचन हुँदाका बखत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ती दलले २०७९ मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमका आधारमा उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज विज्ञप्ति जारी जानकारी दिए । नेपालको संविधानको धारा २७१, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को अनुसूची–१२ बमोजिम निवेदन पेस हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गर्ने व्यवस्था छ । निर्वाचनका लागि दर्ता भएका दलमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनःजागरण पार्टी, नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जय जन्मभूमि पार्टी नेपाल रहेका छन् ।