विकासन्युज

गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (कीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद् भवन पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनको सरकार बनिसकेपछि स्वाभाविकरूपमा राष्ट्र र जनताप्रति गम्भीर जिम्मेवारी हुने उल्लेख गरे । “भागबन्डामा अलमलिने भन्दा पनि देश र जनताको निम्ति के गर्ने भन्ने कुरा चिन्ताको विषय हुन्छ”, उनले भने, “कुनै पनि समस्याको वैज्ञानिक समाधान खोज्नुपर्छ, सहकार्यको निम्ति पनि औचित्यपूर्ण ढङ्गबाट पुष्टि गर्ने किसिमबाट अगाडि बढ्नुपर्छ, त्यसो भयो भने सबै समस्याको समाधान हुन्छ ।” नेता नेपालले राष्ट्रपतिको मतपरिणामलाई अत्यन्तै सकारात्मक र उत्साहवर्द्धक रूपमा लिएको बताए । राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले राष्ट्रलाई सर्वोपरी हितमा राखेर काम गर्नुपर्ने उनले उल्लेख गरे । राष्ट्रपतिले संविधानले दिएको दायराभित्र बसेर आफ्नो जिम्मेवारी पूरा गर्दै आजसम्मको सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरू संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशितालगायतका उपलब्धिको रक्षा गर्ने काममा जुट्नुपर्ने उनको भनाई थियो । यस्तै, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिबाट संविधानको रक्षा गर्दै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याएर मुलुकमा स्थायी शान्ति कायम गर्दै त्यसको आधारमा मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्ने दायित्व रहेको उल्लेख गरे । उपसभापति खड्काले लामो राजनीतिक जीवन बिताएका पौडेल राष्ट्रपतिमा चुनिएको भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेर अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ

काठमाडौं । राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् । राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरेका हुन । पूर्वसभामुख नेम्वाङले भने, “घोषणा भएको निर्वाचन परिणामलाई पनि मैले त्यसै रूपमा लिएको छु, राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधाई र शुभकामना छ ।” जनताले जनताका लागि संविधानसभाबाट संविधान बनाएपछि राष्ट्रपतिको महत्त्वपूर्ण निर्वाचनको चरणबाट गुज्रिएको उल्लेख गर्दै उनले भने, “यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । मलाई धेरै नै खुसी लागेको छ, यसलाई लोकतन्त्रको महत्त्वपूर्ण कडीका रूपमा म सम्झन्छु ।” जनताले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान र कानूनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिए । यसैबीच जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफूहरूले मत दिएर निर्वाचनमा विजयी तुल्याएकामा खुसी व्यक्त गर्दै कार्यकालको सफलतका लागि बधाई ज्ञापन गरे ।

नेप्सेमा २ कम्पनीको बोनस सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । प्राइम लाइफ इन्स्योरेनस र बुटवल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । प्राइम लाइफको १३ प्रतिशत बोनस वापतको ३६ लाख १३ हजार ५००.२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनस वापतको १६ लाख २७ हजार ३७८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद गरी कूल १२.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल बन्द गर्छु, बैंकहरुलाई लिलामीका सूचना निकाल्न दिन्नँ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाल बन्द गर्ने घोषणा गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलनको आयेजना गर्दै चैत्र २४ गतेदेखि अनिश्चितकालका लागि नेपाल बन्द गर्ने घोषणा गरेका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको ज्यादती विरुद्ध नेपाल बन्द गर्ने बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्थाको ज्यादतीकाविरुद्ध नेपाल बन्द गर्छौं, यो अभिायनमा कुनै तोडफोड हुँदैन, बैंकहरुले लिलामीका लागि ३५ दिने सूचना तत्काल निकाल्नु पर्छ,’ उनले भने । प्रसाईंले बैंक तथा वित्तीय संस्थाले दिएको समस्याबारे जानकारी लिन वेबसाइट र एप पनि बनाएका छन् । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान २०७९ लाई अझै विज्ञान तथा प्रविधिमैत्री बनाउने उदेश्यले वेबसाइट र एप बनाएको बताएका छन् । उनले आन्दोलनका क्रममा हरेक शनिवार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्बासीहरु, सर्वहारा वर्गहरु, फुटपाथमा व्यापार गर्नेहरु भेला पारेर माईतीघर मण्डलाबाट जुलुस ल्याई बानेश्वर चोकमा कोणसभा गर्ने पनि बताएका छन् ।

विशेष अदालतद्वारा पूर्वमन्त्रीसहित ७ जनालाई जरिवाना र कैद सजायको फैसला

काठमाडौं । विशेष अदालतले समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी हानी नोक्शानी पु¥याइ भ्रष्टाचार गरेको ठहर गर्दै  पूर्वमन्त्रीसहित ७ जनालाई जरिवाना र कैद सजायको फैसला गरेको छ । विशेष अदालतले तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने, प्रमोद मेहता, कुञ्ज विहारीप्रसाद चौधरी, हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र रविन्द्र कुमारले बदनियतपूर्वक समाज कल्याण परिषद्लाई २० करोड ७१ लाख ३४ हजार ८३० रुपैयाँ हानी नोक्शानी पु¥याएको पुष्टि भएको भन्दै कैद र जरिवानासँगै बिगो समेत असुल उपर गर्ने फैसला गरेको हो । न्यौपाने, मेहता, चौधरी र कुमारलाई भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम सजाय हुने साथै चौधरीको मृत्यु भइसकेकाले निजबाट बिगो मात्र असुल उपर गर्ने फैसला भएको विशेष अदालतका उप–रजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए । फैसला अनुसार बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा नै बिगो र थप ६ महिना कैद गरिने भएको छ । त्यस्तै मेहतालाई ८ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगो र थप ६ महिना जरिवाना हुने उल्लेख गरिएको छ । त्यसैगरी चौधरीलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगोको फैसला गरिएको छ । न्यौपानेलाई ८ वर्ष कैद, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो तोकिएको छ भने शर्मा, कर्ण र कुमारलाई पनि ८ वर्ष कैदका साथै २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो रकम तोकिएको छ । कुमारलाई थप ६ महिना कैद गरिने पनि उल्लेख गरिएको छ । अर्का प्रतिवादी रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरीवाना र त्यति नै बिगो समेत असुल उपर गर्ने ठहर भएको छ । त्यस्तै टेकबहादुर गुरुङलाई भने मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४०१ रुपैयाँ ८० पैसा जरिवाना गरिने उल्लेख गरिएको छ । सो बिगो भने माथि उल्लेखित कसुरदारहरुबाट असुल उपर गरिने विशेष अदालतका उप–रजिष्टार भट्टराईले जानकारी दिए ।

विदेशको तुलनामा नेपालमा ब्याजवृद्धि न्यून, यस्तो छ चार देशको ब्याजदर

काठमाडौं । पछिल्लो समय उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएको भन्दै आन्दोलित छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढी भएको भन्दै व्यापार व्यवसायमा पनि समस्या परेको उनीहरुको गुनासो छ । उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउन माग गर्दै विभिन्न निकायमा धाइरहेका पनि छन् । बैंकिङ्ग क्षेत्रमा तरलता अभाव हुँदा ब्याजदर बढाउनु परेको बैंकरहरु बताउँदै आएका छन् । केही उद्योगी व्यवसायीहरुले सडक आन्दोलन पनि गरिरहेका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सिथिल अर्थतन्त्र रुस र यूक्रेनबीच भएको युद्धका कारण पनि थप समस्यामा पर्यो । बजारमा वस्तुको मूल्यवृद्धि उच्च भएपछि लागत बढ्न पुग्यो । बैंकको ब्याजदर घटाउन चौतर्फी दबाव दिएपनि विश्वका अन्य देशहरुको तुलनामा नेपालको ब्याजदर खासै वृद्धि नभएको बैंकरहरु बताउँदै आएका छन् । नेपालमा ५ वर्षको अवधिमा ३५ प्रतिशतसम्म ब्याजदर बढेको तथ्यांकले देखाउँछ । सन् २०१९ मा नेपालमा बैंकको निक्षेपमा ९ प्रतिशत ब्याजदर थियो । जुन अहिले बढेर १२ प्रतिशतसम्म रहेको छ । जुन ५ वर्षको अवधिमा ३३ प्रतिशत मात्रै बढेको हो । अन्य देशको तुलनामा नेपालको ब्याजदर सस्तो रहेको बैंकरहरु बताउँछन् । नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष बसन्त लम्सालले अमेरिका, बेलायत लगायतका देशमा ब्याजदर बढेको तर नेपालमा सस्तो रहेको बताए । ‘अमेरिकामा कुनै बेला १ प्रतिशत ब्याजदर थियो भने अहिले ४÷५ प्रतिशत पुगेको छ, बेलायतमा ब्याजदर बढेको छ, नेपालको ब्याजदर अन्य देशको तुलनामा कम हो,’ उनले भने । विश्वका विभिन्न देशको ब्याजदर हेर्ने हो भने ६ वर्षको इतिहासमा ब्याज दोब्बरले बढेको छ । अमेरिका, बेलायत, यूरोप र भारतको ब्याजदरको अवस्था हेर्ने हो भने दोब्बरले बढेको छ । अमेरिकामा एक वर्षको अवधिमा ब्याजदर ८५० प्रतिशत बढेको छ । अमेरिकाको केन्द्रिय बैंकको तथ्याङ्क अनुसार जनवरी २०२२ देखि हालसम्म गरी एक वर्षको अवधिमा ८५० प्रतिशत ब्याजदर बढेको हो । जनवरी २०२२ मा ०.५ प्रतिशत ब्याजदर कायम थियो । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार हाल अमेरिकामा ४.७५ प्रतिशत ब्याजदर पुगेको छ । जुन अक्टोबर २००७ यताकै सबैभन्दा बढी हो । अमेरिकामा ५ वर्ष अघि अर्थात् सन् २०१९ मा २.५ प्रतिशत ब्याजदर थियो । केन्द्रिय बैंकले घटाउँदै सन् २०२० मा १.५ प्रतिशत र २०२१ मा ०.५ प्रतिशत झारेको थियो । तर, सन् २०२२ को जनवरीदेखि लगातार आठौं पटक ब्याजदर बढाएको हो । बेलायतमा एक वर्षको अवधिमा ९ सय प्रतिशत ब्याजदर बढेको छ । बैंक अफ इङ्गल्याण्डको तथ्याङ्क अनुसार जनवरी २०२२ मा बेलायतको ब्याजदर ०.४ प्रतिशत कायम थियो । जुन ९ सय प्रतिशत बढेर हाल ४ प्रतिशत ब्याजदर पुगेको बैंक अफ इङ्गल्याण्डले जनाएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा ०.८ प्रतिशत ब्याजदर कायम थियो । बैंकले ब्याजदर घटाएर सन् २०२१ मा ०.२ प्रतिशतमा झारेको थियो । तर, २०२२ को सुरुवातदेखि भने बढाउँदै हालसम्म कै उच्च ब्याजदर पुर्याएको हो । यूरोपमा ब्याजदर ३ प्रतिशत पुगेको छ । कुनै बेला ऋणात्मक रहेको ब्याजदर मार्च २०२३ मा पुग्दा ३ प्रतिशत पुगेको हो ।यूरोपियन केन्द्रीय बैंकको तथ्याङ्क अनुसार जनवरी २०२२ मा ब्याजदर शुन्य थियो । तर, एक वर्षको अवधिमा आइपुग्दा बढेर ३ प्रतिशत पुर्याएको हो । सन् २०१९, २०२० र २०२१ मा पनि यूरोपमा शून्य ब्याजदर थियो । सन् २०१४ बाट सन् २०२२ सम्म ऋणात्मक नीति अपनाउँदै आएको थियो । यसअघि निपेक्षकर्ताहरुले युरोपियन बैंकमा निपेक्ष जम्मा गर्दा बैंकलाई ०.५ प्रतिशत बुझाउनु पथ्र्याे । अब निक्षेपकर्ताले बैंकमा पैसा जम्मा गरे भने ३ प्रतिशत पाउन थालेका हुन् । भारतमा एक वर्षको अवधिमा ६३ प्रतिशत ब्याजदर बढेको छ । सन् २०२२ को जनवरीमा ४ प्रतिशत ब्याजदर रहेकोमा सन् २०२३ मार्चसम्म आईपुग्दा६३ प्रतिशत बढेर ६.५ प्रतिशत ब्याजदर पुगेको हो । रिजर्भ बैंक अफ इण्डियाका अनुसार सन् २०१९ मा ६.५ प्रतिशत ब्याजदर थियो । यस्तै, सन् २०२० मा ५.२ प्रतिशत र सन् २०२१ मा ४ प्रतिशत ब्याजदर कायम थियो । अर्थविद् डा.अच्युत वाग्ले नेपालको ब्याजदर विश्वकै सबैभन्दा उच्च ब्याजदर भएको बताउँछन् । हाल वाणिज्य बैंकको कूल लागत २० प्रतिशत र लघुवित्तको लागत २५ प्रतिशत पुगेको उनको भनाइ छ । राज्यको उद्यमशिलता प्रवद्र्धन गर्ने नीति नभएको र आफ्नै विनिमय दर नहुँदा ब्याजदर उच्च हुने गरेको उनले बताए । ‘वाणिज्य बैंकको कूल लागत २० प्रतिशत र लघुवित्तको २५ प्रतिशत पुगेको छ, संसारको उच्च ब्याजदर हुने मुलुकमा नेपाल पर्छ, नेपालको ब्याजदर संसारको सबैभन्दा धेरै ब्याजदर भएको देशमा पर्छ,’ उनले भने । उनका अनुसार नेपालमा सट्टेबाजीमा लगानी बढेको छ । जग्गा, सेयर बजार, सुनको सट्टेबाजी बजार बढेको र पछिल्लो समय ब्यापार पनि सट्टेबाजीमा सञ्चालन हुन थालेको उनले बताए । उद्यम गरेर ब्यापार गरेको भए ब्याजदर नबढ्ने उनको तर्क छ । विश्वमा खाद्य संकट र इन्धनको मूल्य बढेका कारण ब्याजदर बढेको उनको भनाइ छ । वस्तु उत्पादन लागत बढेकाले ब्याजदर बढ्न पुगेको उनको बुझाइ छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

काठमाडौं । नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्र । कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएका थिए । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, निर्वाचन आयोगका आयुक्तहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । आज सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले पार्टीको संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेता यादव बारा २ बाट निर्वाचित भएका थिए । सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति भएको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।